विकास बैंकहरू पनि पुँजी कोषको दबाबमा, वित्त कम्पनी सहज अवस्थामा
काठमाडौं । आधा दर्जन विकास बैंकको प्राथमिक पुँजी कोष टाइट हुँदा चालु आर्थिक वर्षको नाफाबाट आगामी लाभांश बाँड्न नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आधा दर्जन विकास बैंकको पुँजी कोष टाइट अवस्थामा रहेको छ । प्राथमिक पुँजी कोष कायम गर्न नसकेका बैंकहरूले सेयरधनीलाई लाभांश विपतरण गर्न पाउँदैनन् । राष्ट्र बैंकका अनुसार हाल प्राथमिक पुँजी कोषको सीमा साढे ८ प्रतिशत कायम गर्नु पर्ने प्रवाधान छ । सो व्यवस्था कायम गर्न नसक्ने बैंकले आगामी वर्ष लाभांश बाँड्न नपाउने व्यवस्था छ । राष्ट्र बैंकले ९ प्रतिशतभन्दा कम प्राथमिक पुँजी कोष भएका विकास बैंकलाई वाच गरेर हेरिरहेको हुन्छ । जसअनुसार गत पुस मसान्तसम्म मुक्तिनाथ विकास बैंकको पुँजी कोष ८.२६ प्रतिशतमा झरेको छ । यस आधारमा बैंकले नियामकको प्रावधान अनुसार पुँजी कोष पुर्याउन नसक्दा आगामी वर्ष लाभांश वितरण गर्न नपाउने भएको हो । पुस मसान्तसम्मको तथ्याङ्क अनुसार मुक्तिनाथले आगामी वर्ष लाभांश वितरण गर्न नपाउने भएपनि अन्य बैंक पनि सीमा नजिक रहेकाले सकस अवस्था देखिन्छ । महालक्ष्मी विकास बैंकको पुँजी कोष ९.७० प्रतिशत र लुम्बिनी विकास बैंकको ९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, ज्योति विकास बैंकको ५.५९ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ८.७४ प्रतिशत, कामना सेवा विकास बैंकको ८.८९ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ८.७१ प्रतिशत पुँजी कोष रहेको छ । यस्तै, अधिकांश वित्त कम्पनीहरू सहज अवस्था रहेपनि गुडविल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र आइसीएफसी फाइनान्स कम्पनीलाई भने सकस अवस्था देखिन्छ । राष्ट्र बैंकको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार गुडविल फाइनान्सको ८.६७ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ९.४६ प्रतिशत र आइसीएफसी फाइनान्सको ९.७८ प्रतिशत पुँजी कोष रहेको छ ।
दुई घण्टा लामो बयान दिएर विनोदले भने : ममाथि राजनीति भयो
काठमाडौं । उद्योगी विनोद चौधरीले बयान दिएर निस्किँदै आफूमाथि राजनीति भइरहेको बताए । उनले आफूमाथि राजनीतिक स्टन्ट भइरहेको पनि बताउँदै स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने धारणा पनि राखेका छन् । सरकारी वकिलको कार्यालयमा बयान दिएर निस्किँदै उनले यस्तो बताएका हुन् । बाँसबारी जग्गा प्रकरणमा आज बिहान बयान दिएर उनी निस्किएका हुन् । उनले दुई घण्टा बढी समय बयान दिएका छन् । उनी बिहीबार बिहानै बयानका लागि सरकारी वकिल कार्यालय पुगेका थिए । बुधबार सीआईबीले उनीमाथि अनुसन्धान भइरहेको भनेर सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो । काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले छानबिन गरिरहेको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको भन्दै सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । सोही प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि पनि छानबिन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए ।
रित्तिदै त्रिभुवन विश्वविद्यालय, खाली हुन थाले कक्षा कोठा
काठमाडौं । नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पनि विद्यार्थीको संख्या वर्षेनी घट्दै गएको छ । प्लस टु तथा स्नातकसम्म पढाइ हुने कलेजहरूले विद्यार्थीको संख्या घटिरहेको बताइरहँदा त्रिभुवन विश्वविद्यालयमा पनि स्नातकोत्तर र दर्शनाचार्य (एमफील) अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै गएको हो । एउटा सेमेस्टरमा एक सय जनासम्म हुनु पर्ने विद्यार्थी १४/१५ जना मात्रै रहेको बुझिएको छ । एमफीलमा पनि ३५ जनाको सिट संख्या रहेकोमा १५/२० जना मात्रै विद्यार्थी भर्ना भएको त्रिविले जनाएको छ । विगत पाँच वर्षदेखि घट्दो अवस्थामा रहेको विद्यार्थीको संख्या २०८० सम्म आइपुग्दा ह्वात्तै घटेको त्रिविको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायका १६ वटा विभागमा अहिले कुल २ सय ४३ विद्यार्थी मात्र छन् । केन्द्रिय शिक्षाशास्त्र विभागका सूचना अधिकारी बैकुण्ठ अर्याल १६ वटा विभागमा एक हजार ३५० जना विद्यार्थी आवश्यक रहेकोमा २४३ जना मात्रै रहेको बताउँछन् । समाजशास्त्र पढ्ने विद्यार्थी पाउनै मुस्किल त्रिभुवन विश्वविद्यालयको केन्द्रिय समाजशास्त्र विभागमा अध्ययन गर्ने विद्यार्थीको संख्या पनि घटेको छ । केही वर्ष पहिले करिब दुई सय विद्यार्थीसम्म भर्ना हुने विभागमा अहिले मुस्किलले ३० जना छन् । सो विभागका सहायक प्रमुख रोजिना महत गत विगतका वर्षहरूको तुलनामा अहिले विद्यार्थीको संख्या ह्वात्तै घटेको बताउँछिन् । एमफीलमा समाजशास्त्र विषय अध्ययन गर्ने विद्यार्थीको संख्या भने बढेको उनको भनाइ छ । अहिले एमफील अध्ययन गर्ने विद्यार्थीको संख्या ६० पुगेको छ । जबको एमफीलमा ३५ जनाको मात्रै सिट रहेको थियो । उनका अनुसार स्नातकोत्तरमा ३० जना विद्यार्थीलाई भर्ना गराउनका लागि तीन पटक सूचना निकालेर भर्ना गराउनु परेको हो । उनी स्नातक तहका विद्यार्थीको परिक्षाफल सार्वजनिकमा ढिलाइ हुँदा स्नातकोत्तरमा विद्यार्थीको अभाव हुने गरेको तर्क दिन्छिन् । यस्तै, मानवशास्त्र (एन्थ्रोपोलोजी) विभागमा पनि विद्यार्थीको संख्या न्यून नै छ । स्नातकोत्तरमा आवश्यक सिट संख्या एक सय भए पनि अहिलेसम्म मुस्किलले १४ जना विद्यार्थी मात्रै भर्ना भएका छन् । मानवशास्त्र विभाग सहायक प्रमुख उडेन श्रेष्ठका अनुसार दुई/तीन पटक प्रवेश परीक्षा लिए पनि जम्मा १४ जना विद्यार्थीले मात्रै भर्ना गरेका छन् । गत वर्ष २० जना विद्यार्थी भर्ना भएका थिए । श्रेष्ठका अनुसार कुनै तीन वर्षे र कुनै चार वर्षे स्नातक हुँदा पनि समस्या भएको बताउँछन् । उनले पनि विद्यार्थीको परिक्षाफल समयमै प्रकाशित नहुँदा विद्यार्थीको संख्या न्यून भएको धारणा राख्छन् । यो विभागमा एमफिलमा ३५ जनाको सिट संख्यामा भए पनि १५जना विद्यार्थी मात्रै भर्ना भएका छन् । गत वर्ष २२ जना विद्यार्थी भर्ना भएकोमा अहिले १५ जना विद्यार्थी मात्रै रहेको उनले बताए । आईटीमा व्यवस्थापनको कमजोरी विश्वविद्यालयको अन्य विभागमा विद्यार्थीको संख्या घटे पनि कम्प्यूटर विज्ञान र सूचना प्रविधि विभागमा भने विद्यार्थी खासै घटेका छैनन् । आवश्यक सिट संख्याको हाराहारीमा विद्यार्थी रहेको विभागले जनाएको छ । कम्प्यूटर विज्ञान र सूचना प्रविधि केन्द्रीय विभागका प्रमुख सविन सायामी अन्य विभागको तुलनामा यस विभागमा विद्यार्थी नघटेको बताउँछन् । उनका अनुसार गत वर्ष यस विभागमा ६० जना विद्यार्थीका लागि सिट भए पनि ५० जना मात्रै भर्ना भएका थिए । उनी त्रिभुवन विश्वविद्यालयको प्रणालीले नै विद्यार्थी घटेको बताउँछन् । ‘अब यो विभागले आफ्नो शैक्षिक प्रणाली परिवर्तन गर्नुपर्छ, नभए आगामी वर्षमा विद्यार्थीको संख्या नराम्ररी घट्नेछ, प्रणालीमा सुधार हुन सकेन भने अवस्था झन जोखिम हुन सक्छ,’ उनले भने । उनका अनुसार आईटी विषय पढ्ने विद्यार्थीलाई काम पाउन पनि सहज हुने गरेको छ । उनीहरूलाई स्नातक तह सकिने बित्तिकै कामका लागि धेरै अवसर आउने गरेको उनको भनाइ छ । स्नातकोत्तर र पीएचडी नपढे पनि विद्यार्थीले राम्रो अवसर पाउने गरेको उनले बताए । ‘आईटी पढेका विद्यार्थी कोही मन्त्रालय, कोही निजी कम्पनी, कोही आफ्नै इन्सिच्युट सञ्चालन गरिरहेका हुन्छन् । तर, त्रिविमा पढाइ दिउसो हुन्छ, दिउँसो आफ्नो काम छोडेर विद्यार्थी पढ्न आउँदैनन्,’ उनी भन्छन्, ‘त्यसैले पनि यो विभागमा विद्यार्थीको संख्यामा कमी भएको हो ।’ अहिले अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट मान्यता प्राप्त धेरै कलेजले आईटी विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरेका छन् । अन्य कलेजले सेल्फ स्टडी गराइरहेका छन् । तर, त्रिविमा त्यस्तो छैन । ‘आईटी क्षेत्र विद्यार्थीको अहिलेको रोजाइको विषय हो, अब यो मोडालिटीमा हामी जान सकेनौं भने विद्यार्थीको संख्या घट्दै जान्छ, विभागले पीएचडी पढाउन सुरु गरेको ५ वर्ष भयो, यो वर्ष पीएचडी भर्नाका लागि तीन जना विद्यार्थी भर्ना भएका छन्, ५ वर्षको अवधीमा अहिले सम्म १० जनाले पीएचडीको पढाइ सुरु गरे्का छन्,’ उनले भने । ललितकलाको हालत पनि उस्तै ललितकला केन्द्रिय विभागमा पनि विद्यार्थीको अभाव नै छ । यो वर्ष स्नातकोत्तरमा १६ जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष १९ विद्यार्थी भर्ना भएका थिए । विभागका साहयक प्रमुख ज्ञानुराजा महर्जनका अनुसार एमफिलमा यो वर्ष ४ जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष पाँच जना विद्यार्थी भर्ना भएका थिए । स्नातकोत्तर र एमफिलमा अध्ययन गर्न कम्तिमा पनि १० जना विद्यार्थी आवश्यक पर्छ । महर्जन भन्छन्, ‘जति विद्यार्थी आए पनि उनीहरूलाई पढाउने गरेका छौं, विद्यार्थीको निकै अभाव छ ।’ नेपालीमा औसत आकर्षण त्रिभुवन विश्वविद्यालयको अधिकांश विभागमा विद्यार्थीको संख्या घट्दा नेपाली विभागमा भने विद्यार्थी बढेका छन् । नेपाली केन्द्रिय विभागमा गत वर्ष भन्दा यो वर्ष स्नातकोत्तर र एमफिल पढ्ने विद्यार्थीको संख्या बढेको छ । तर, आवश्यक सिट संख्या भने त्यहाँ पनि पुरा भएको छैन । गत वर्ष स्नातकोत्तरमा कुल १० जना विद्यार्थी भर्ना भएका थिए । यो वर्ष बढेर संख्या २८ पुगेको छ । तर, यो प्रयाप्त भने होइन । यस्तै, केन्द्रिय बौद्ध अध्ययन विभागमा पनि गत वर्षभन्दा यो वर्ष विद्यार्थीको संख्या बढेको छ । विगतका वर्षमा १४/१५ मात्र विद्यार्थी भर्ना हुने गरेकोमा यो वर्ष भने विद्यार्थीको संख्या बढेको छ । स्नातकोत्तरमा यो वर्ष दई सिफ्ट गरेर १ सय विद्यार्थी भर्ना भएका छन् । यस्तै एमफिलमा पनि विद्यार्थीको संख्या बढेको विभागका प्रमुख डा.चन्द्रकला घिमिरेले बताइन् । उनका अनुसार एमफिलमा यो वर्ष २० जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष ११ विद्यार्थी मात्र भर्ना भएका थिए । लकडाउनको समयमा यो विभागमा विद्यार्थीको संख्या ह्वात्तै घटेको थियो । तर, यो वर्ष भने विद्यार्थीको संख्या बढेको छ उनको भनाइ छ । किन घट्दैछन् विद्यार्थी ? कुनैबेला विद्यार्थीको चाप देखिने त्रिभुवन विश्व विद्यालयमा अहिले विद्यार्थी खोज्नु पर्ने अवस्था सिर्जना भएको छ । विभिन्न विषयका विभाग प्रमुखहरू विद्यार्थीको संख्या यसरी घट्नुमा दुइटा कारण सुनाउँछन् । एउटा विद्यार्थीहरूको विदेश मोह र अर्को स्नातक तहमा अध्ययनरत विद्यार्थीको समयमै परिक्षाफल सार्वजनिक नहुनु । केन्द्रिय शिक्षा विभागका सूचना अधिकारी बैकुण्ठ अर्याल विद्यार्थीको विदेश मोहले विद्यार्थीको संख्या घटेको बताउँछन् । उनी प्लसटु पास गर्ने वित्तिकै विद्यार्थी विदेश पलायन हुँदा त्यसको असर माथिल्लो तहमा परेर स्नातक, स्नातकोत्तर र एमफिलमा विद्यार्थीको संख्या घटेको बताउँछन् । कम्प्यूटर विज्ञान र सूचना प्रविधि केन्द्रीय विभाग प्रमुख सविन सायामी भने त्रिविकै लापरवाहीले विद्यार्थी भर्ना हुन छोडेको बताउँछन् । उनी भन्छन्, ‘पुरानो विश्व विद्यालय अहिले पनि उही पुरानो शैली र प्रणालीमा सञ्चालन भइरहेको छ, अब पनि केही नगर्ने हो भने आगामी वर्ष यति विद्यार्थी पनि पाउन मुस्किल हुन्छ, त्यसैले त्रिविले समयमै सजग बन्नुपर्छ ।’