कहिले बढ्ला सेयर बजार ?
काठमाडौं । विगत तीन वर्षयता सेयर बजार निरन्तर ओरालो यात्रामा छ । कुनै समय ३२ सय अंकमा पुगेर लगानीकर्तालाई हर्षित बनाएको बजार पछिल्लो तीन वर्षयता निरन्तर घटिरहेको छ । जसले लगानीकर्ताहरूलाई बजारप्रतिको आकर्षण घटाइरहेको छ । सेयर बजार बढेको समयमा लगानी गर्नेको आकर्षण मात्रै होइन डिम्याट खाता खोलेर सर्वसाधारण सेयर (आईपीओ) भर्नेको संख्या पनि उत्तिकै बढी थियो । तर, अहिले बजारको विषयमा चासो दिनेहरूको संख्या सीमित छ । त्यस कारण पनि बजार बढ्न सकेको छैन भने सेयर कारोबार पनि न्यून थालेको छ । अहिले २ हजारको हाराहारीमा नेप्से परिसूचक छ । सिडिएस एण्ड क्लियरिङकाअनुसार हालसम्म ६२ लाख ४२ हजार ६४३ जनाले डिम्याट खाता खोलेका छन् । मेरो सेयरमा ५३ लाख दुई हजार ५९९ वटा खाता खुलेकोमा ३५ लाख ७४ हजार ४२५ वटा कारोबारमा सक्रिय छन् । अहिले निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार कहिले बढ्ला भन्ने उत्सुकता र चासो लगानीकर्ताहरूमा छ । धेरैले बजार बढ्नका लागि सेयर बजारमा खुकुलो नीति अपनाउनु पर्ने बताइरहेका छन् भने अहिले भएका केही नीतिहरू पनि परिवर्तन गर्नु पर्ने धारणा सरोकारवाला राखिरहेका छन् । बर्षमान पुन अर्थमन्त्री बनेपछि सेयर बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भएपनि त्यो सम्भव हुन सकेन । अर्थमन्त्रीका रूपमा पदभार ग्रहण गर्दै पुनले सेयर बजारलाई प्राथमिकता दिएर नीतिगत सुधारका लागि आफू तयार भएको बताएका थिए ।उनले सेयर बजार ६० लाख लगानीकर्ताको भविष्यसँग जोडिएकाले सुधारको कदम चाल्ने बताएका थिए यसले पनि लगानीकर्तामा एक किसिमका आसा पलाएको थियो । अर्थमन्त्री पुनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै बजार सुधारका लागि एक साताभित्र कार्ययोजना पेस गर्न धितोपत्र बोर्ड, नेप्से र सीडीएससीलाई निर्देशन पनि दिए । तर, सेयर बजार सुधारको लागि अहिलेसम्म कुनै पनि कदम अगाडि बढाउन सकेका छैनन् । उनी अर्थमन्त्रीका रूपमा नियुक्त हुँदा फागुन २३ गते बजार २०१७ बिन्दुमा थियो । पुनको नियुक्तिलाई स्वागत गरेको बजार बढेर फागुन ३० मा २१०८ बिन्दुमा पुगेको थियो । केही दिन सकारात्मक देखिएको सेयर बजारको यात्रा धेरै दिन टिक्नै सकेन । बजारले कहिले उकालो यात्रा तय गर्ला भन्ने चासोमा लगानीकर्ता छन् । बजारका जानकारहरू भने अर्थतन्त्रमा देखिएको समस्या समाधान नभएसम्म बजार बढ्न सक्ने संकेत नदेखिएको बताउँछन् । अहिले लगानीकर्तामा आत्मविश्वासको कमी भएकोले विश्वास बढाउनका लागि नीतिगत सुधार हुन आवश्यक रहेको उनीहरूको भनाइ छ । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल सरकारले लगानीकर्ताको मनोबल बढाउनमा ध्यान दिनु पर्ने बताउँछिन् । उनी अहिले लगानीकर्ताहरू थप लगानी गर्नेभन्दा पनि बजारबाट बाहिरिने कि भन्ने योजनामा रहेको सुनाउँछिन् । ‘अहिले लगानीकर्ताको ‘सेन्टिमेन्ट’ एकदमै कमजोर छ, यसलाई उकास्न अर्थमन्त्रीज्यूले धेरै कुरा गर्नै पर्दैन, सेयर धितो लगानीमा लगाएको सीमा हटाउनुपर्छ, कसैसँग सम्पति छ, त्यसलाई धितो राखेर कर्जा लिन्छु भन्दा पाउनु पर्छ, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार १२५ मा पुर्याएको छ, त्यसलाई १०० मा झार्नुपर्छ, यति दुई काम हुन सक्यो भने सेयर बजारले आफ्नो लय समात्छ,’ उनले भनिन् । सेयर बजारका १३ वटा उपसमूहहरू नकारात्मक छन् । यो अवधिमा सबैभन्दा धेरै बैंकिङ उपसमूह घटेको देखिन्छ । लघुवित्त उपसूचकमा भने निकै नै उतरचढाव भएको देखिन्छ उत्पादन तथा प्रसोधन उपसमूहको सूचकमा खासै दबाव परेको देखिँदैन । यसै वर्ष यस समूहमा तीनवटा कम्पनी सूचीकृत हुँदा पनि सूचक सन्तुलन देखिएको हुन सक्ने लगानीकर्ताहरुको बुझाइ छ । राज्य निरिह भएकै कारण सेयर बजारमा सुधार आउन नसकेको लगानीकर्ता तारा फुलेल बताउँछन् । ‘राज्य निरिह भएकै कारण बजारमा सुधार आउन नसकेको हो, उनी भन्छन्, ‘राज्यका नियामक निकाय विशेषगरी राष्ट्र बैंकको कडाइको कारण सेयर घटिरहेको छ ।’ उनका अनुसार बजार धेरै अघिबाट बढ्नुपर्ने भएपनि राजनीतिक अस्थिरता र सेयर बजारमा पनि राजनीतिक हालिमुहाली भएकै कारण सुधार आउन नसकेको हो । उनी भन्छन्, ‘अर्थमन्त्रीको नियुक्तिपछि सेयर बजारमा सुधार आउने आशा धेरैको थियो तर उहाँले बोल्ने काम मात्रै गर्नुभयो, व्यवहारिक रूपमा केही पनि काम गर्नुभएन, अहिलेको सेयर बजार बोलेर मात्रै सुधार हुने अवस्थामा छैन, त्यसैले केही काम गरेरै देखाउनु पर्ने अवस्था छ र मात्रै सुधारको बाटो खुल्छ ।’ निरन्तर ओरालो लागेको सेयर बजार सुधार नहुनुको मुख्य कारण लगानीकर्ताको मनोबल कमजोर रहेको लगानीकर्ता माधव खनाल बताउँछन् । ‘सेयर बजार भनेकै मनोबलले काम गर्ने ठाउँ हो, मनोबलले काम गर्ने ठाउँमा मनोबल नै कमजोर भएपछि बजार सुधार हुने आशा पनि कम भएको हो,’ उनले भने । ‘अहिले बजारमा आर्थिक मन्दी छ । तर, पनि बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको कमी भने छैन । ब्याजदर घट्दै गएको छ । यति हुँदा हुँदै पनि सेयर बजार उकालो लाग्न सकेको छैन, उनी भन्छन्, ‘आर्थिक मन्दी र राजनीतिक कारण नै अहिलेको बजार उकालो नलाग्नुको मुख्य कारण हो ।’ पछिल्ला सबै गतिविधिहरुलाई नियाल्ने हो भने अब सेयर बजारको ओरालो यात्राको करिब करि अन्तिम बिन्दुमा रहेको उनी बताउँछन् । ‘सेयर बजारको ओरालो यात्रा लगभग अन्त्यतिर छ, राज्यस्तरबाट केही सुधारका काम हुने हो भने बजार बढ्ने बेला आएको छ,’ उनले भने । सेयर बजारलाई बढाउनका लागि तरलता, ब्याजदर, राजस्व, आर्थिक गतिविधि वृद्धि हुँदै गइरहेका छन् । यसले पनि बजार बढाउन मद्दत पुग्ने उनीहरू बताउँछन् । अहिले सेयर बजार उठे पनि हिड्न बाँकी रहेको उनीहरूको धारणा छ । अहिले बजारमा माग न्यून छ । दैनिक तीन/चार अर्बको मात्रै कारोबार भइरहेको छ । बजार बढेको समयमा दैनिक २०÷२१ अर्ब रुपैयाँबराबरको कारोबार हुने गरेको थियो । बजारमा सर्वसाधारण सेयर निरन्तर बढ्न सकेमा, हकप्रद सेयर बढेमा, कम्पनीहरूले दिने प्रतिफल बढ्न सकेमा, बैंकले सस्तो ब्याजमा ऋण प्रवाह बढाएमा र आर्थिक गतिविधि बढाउन सकेमा बजार बढ्ने धारणा लगानीकर्ताको छ । अहिले लगानीकर्ताहरू घट्दो बजारमा बजारबाटै पलायन हुने कि भन्ने योजना बनाइरहेका छन् भने कपितय पलायन पनि भइसकेका छन् । यो परिस्थिति रोक्न सरकारले भूमिका खेल्नु पर्ने लगानीकर्ताको धारणा छ । अझै पनि बजारप्रति आम लगानीकर्ताको विश्वास गुमेमा थप नकारात्मक वातावरण सिर्जना हुन सक्ने उनीहरूको धारणा छ । तर, पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारको संकेतले बजार बढ्नेमा लगानीकर्ता आशावादी छन् ।
‘सहकारीको पैसा घरजग्गा र सेयरमा फस्यो, बैंकले लगानी बढाउने बित्तिकै सुधार हुन्छ’
अहिले बचत तथा ऋण सहकारी संस्थाहरू सकसमा छन् । बचतकर्ताको बचत फिर्ता गर्न नसकेर सहकारीहरू ठूलो घोचपेच र प्रहारको सामना गरिरहेका छन् । धेरैले घरजग्गामा सहकारीको लगानी फस्दा समस्या सिर्जना भइरहेको धारणा राखिरहेका छन् । यही बेला बचत तथा ऋण सहकारीहरूको छाता संस्था तथा अभिभावक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीको आयोजना गर्दैछ । बैशाख २५ र २६ गते हुने गोष्ठीको उद्देश्य, सहकारीको वर्तमान अवस्था तथा चुनौती र आगामी कार्यदिशाका विषयमा नेफ्स्कुनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनासँग कुराकानी गरेका छौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले लेखा सुपरिवेक्षण गोष्ठीको आयोजना गर्दैछ, यो गोष्ठीको उद्देश्य के हो ? राज्यका तीन महत्वपूर्ण अंगहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका भएजस्तै सहकारी संस्थामा पनि त्यस्तै संरचनाहरू हुन्छन् । सहकारीमा व्यवस्थापिकाको रूपमा साधारणसभाले काम गर्छ, कार्यपालिकाको रूपमा सञ्चालक समिति र न्यायपालिकाको रूपमा लेखा सुपरिवेक्षण समितिले काम गर्छ । सहकारी संस्थाहरूमा लेखा सुपरिवेक्षण समिति कमजोर भएको देखिन्छ । जब राज्यको एउटा अंग कमजोर हुँदा नागरिकका अधिकार कुण्ठित हुन्छन् । राज्य निरंकुश बन्दै जान्छ र त्यहाँभित्र अनेक किसिमका विकृतिहरू मौलाउँछन् । त्यसैगरी सहकारीभित्र पनि बलियो लेखा सुपरिवेक्षण समितिको परिकल्पना गर्नुपर्छ । जुन विषय अहिले व्यवहारमा लागू भएको छैन । अहिले लेखा सुपरिवेक्षण समिति तीन जनाको हुनु पर्ने प्रावधान छ । त्यो समितिका तीन जनालाई गणना गर्ने हो भने ३१ हजार सहकारीमा कुल ९३ हजार जना लेखासुपरीवेक्षण समितिमा छन् । योे ठूलो संख्या हो । तर, तिनीहरूको सक्रियता र ‘एक्सपोजर’ कमजोर देखिन्छ । वि.सं २०७१ सालमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनले समस्याग्रस्त सहकारीहरूमा लेखा सुपरिवेक्षण समिति प्रभावकारी नभएको निष्कर्ष छ । वि.सं २०८० सालमा बनेको सहकारी संस्था सुधार कार्यदलले पनि समस्या सिर्जना भएको सहकारी संस्थामा लेखा सुपरिवेक्षण समिति नाम मात्रैको भएको उल्लेख छ । त्यो कार्यदलमा राज्यका प्रतिनिधि, नेपाल राष्ट्र बैंक र सहकारीका विज्ञहरू पनि संलग्न हुनुहुन्थ्यो । लेखा सुपरिवेक्षण समिति कमजोर हुँदा संस्था नै कमजोर हुन्छ भन्ने निष्कर्ष त्यो प्रतिवेदनमा उल्लेख छ । हामीले यो विषयलाई चिर्नका लागि काम गर्नुपर्छ । लेखा सुपरिवेक्षण समिति संस्थाको आँखा हो । आँखा कमजोर भयो भने अलि पर देख्न सकिँदैन र के भइरहेको छ भन्ने जानकारी हुँदैन । जब ठक्कर लाग्छ, त्यसपछि मात्रै अनुभूति हुन्छ । हामीले संस्था चलाउँदा छामेर होइन, देखेर चलाउनुपर्छ भन्ने हो । देख्ने ठाउँ भनेको लेखा सुपरिवेक्षण समिति हो । यो समितिको क्षमता विकास गर्नुपर्छ भनेर राष्ट्रिय गोष्ठीको आयोजना गर्दैछौं । लेखा सुपरिवेक्षण समितिमा जुन किसिमको दख्खलता र क्षमता भएका व्यक्ति हुनु पर्ने हो, त्यो नभएर सञ्चालक समितिमा नअटाएकालाई ‘सेटल’ गर्नका लागि यो समितिमा राख्ने अभ्यास छ भन्ने पनि सुनिन्छ, यो गलत अभ्यासका कारण पनि संस्था कमजोर भएका हुन् कि ? यो कुरामा केही सत्यता छ । लेखा सुपरिवेक्षण समितिलाई कतिपय ठाउँमा जानेर वा नजानेर पनि उपसमितिका रूपमा राखिएको हामीले भेटेका छौं । त्यसलाई हामीले सच्याउन पनि लगाएका छौं । प्रायः ठाउँमा सञ्चालक समितिमा उम्मेद्वारी प्रस्तुत गरिएको र त्यसमा सीमित कोटाको कारण अटाउन नसकेपछि लेखा सुपरिवेक्षण समितिमा राख्ने अभ्यास छ । सञ्चालक समितिले गरेको निर्णयलाई पनि प्रमाणिकरण गर्ने काम लेखा सुपरिवेक्षण समितिले गर्न सक्नु पर्थ्याे । लेखा सुपरीवेक्षण समितिमा बस्ने व्यक्ति सञ्चालक समितिभन्दा भन्दा बढी जानेको/बुझेको हुनु पर्थ्याे । नेतृत्वले ठीक ढंगले काम गरेको छ कि छैन भन्ने विषयको ‘वाचडग’ को भूमिका त्यो समितिले गर्न सक्नु पर्थ्याे । तर, त्यो देखिएको छैन । यसले दीर्घकालीनरूपमा असर निम्त्याउँछ । यो विषयमा हामी सबै सजग बन्नुपर्छ । सहकारी क्षेत्रमा यस्ता किसिमका गोष्ठी तथा छलफल विभिन्न संघ/संस्थाले गरिरहेका छन् । तर, सञ्चालकको सीप विकास तथा क्षमता अभिवृद्धि हुन सकेको देखिँदैन । अब हामीले यस्ता गोष्ठीको आवश्यकता, औचित्य र प्रभावकारीतामाथि नै प्रश्न उठाउने बेला भएको हो ? पक्कै पनि, अब यसको मोडेलका विषयमा पनि बहस हुन आवश्यक छ । नेफ्स्कुनले वि.सं २०६८ सालबाट नै शिखर गोष्ठी आयोजना गर्ने अभ्यासको सुरुवात गरेको हो । त्यसमा सञ्चालक समितिको सहभागिता थियो । वि.सं २०७१ सालमा पनि साकोस शिखर गोष्ठी आयोजना गर्दा सञ्चालक अर्थात् संस्थाको नेतृत्व गर्ने व्यक्ति नै सहभागी भए । जहाँ पनि सञ्चालक तथा संस्थाको नेतृत्वले अवसर पाउने भएपछि हामीले अब व्यवस्थापक र लेखा सुपरिवेक्षण समितिलाई पनि अवसर दिनुपर्छ भन्ने मानसिकताका साथ वि.सं २०७२ सालमा सीईओहरूको राष्ट्रिय गोष्ठी आयोजना गर्यौं । वि.सं २०७३ सालमा लेखा सुपरिवेक्षण समितिको पहिलो राष्ट्रिय गोष्ठी गर्यौं । र, वि.सं २०८० सालमा राष्ट्रिय सहकारी बैंकले पनि लेखासुपरिवेक्षण समितिलाई नै लक्षित गरेर राष्ट्रिय गोष्ठी गर्यो । तर, त्यहाँ पनि हेर्दा सञ्चालक समितिबाटै सहभागी भएको देख्यौं । अहिले पनि हामी लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी आयोजना गर्दैछौं । धेरैले यही वर्ष राष्ट्र्यि सहकारी बैंकले आयोजना गरेको फेरि नेफ्स्कुनले किन आयोजना गर्नु पर्यो भनेर पनि जिज्ञासा राखिरहनु भएको छ । एउटा संस्थाभित्र तीन जनाको लेखा सुपरिवेक्षण समिति हुन्छ । बैंकको गोष्ठीमा तीन सय जना सहभागी भएका होलान् । गत वर्ष तीन सय जनाले सिके पनि ५० जना त संस्थाबाट बाहिरिसकेको होलान् । कतिपयको जिम्मेवारी पनि परिवर्तन भइसकेको होला । बाँकीले सिक्नु पर्दैन त भन्ने प्रश्न पनि आउँछ । ३१ हजार सहकारीकामध्ये सीमितले मात्रै अवसर पाएका छन् । यो निरन्तर गर्नु पर्ने गोष्ठी हो । सबैलाई सिक्ने अवसर दिनुपर्छ भन्ने धारणा हाम्रो हो । आँखा धमिलो भयो भने समयमै परीक्षण गर्नुपर्छ । भोलि जाँच गरौंला भनेर बसियो भने अन्धोपनको समस्या सिर्जना हुन सक्छ । हामीले त्यो आँखा परीक्षण गर्न खोजेका हौं । नेफ्स्कुनले विगतमा गरेका गोष्ठीहरूबाट सहकारी क्षेत्रका लागि के उपलब्धि मिल्यो ? र, यो गोष्ठीले के निचोड निकाल्छ ? हामीले पहिलो गोष्ठीबाट घोषणापत्र जारी गर्यौं । त्यसमा आन्तरिक लेखा सुपरिवेक्षणको निर्देशिका बनायौं र अहिले मनिटरिङमा रहेका सात सय सहकारीमा नीतिगत व्यवस्था नै भएको छ । पहिलो गोष्ठीमै २५ करोडभन्दा बढी पुँजी परिचालन गर्ने सहकारीमा आन्तरिक लेखा अधिकृतको प्रावधान गर्नु पर्ने भनेर घोषणापत्र मार्फत् नै व्यवस्था गर्यौं । अहिले अधिकांश सहकारीमा आन्तरिक लेखा अधिकृतको व्यवस्था छ । त्यो पहिलो गोष्ठीको उपलब्धि हो । त्यसको समीक्षा यो गोष्ठीमा पनि हुन्छ । सबै विषय कार्यान्वयन भने हुन सकेको छैन । यसमा सम्बन्धित संस्थाको तत्परता पनि चाहिन्छ । नीति नियम कार्यान्वयन गराउनका लागि हाम्रो पनि जिम्मेवारी पक्कै हुन्छ । अहिले सहकारी क्षेत्रमा ठूलो सकस सिर्जना भएको छ, यो समस्या कहिलेसम्म समाधान हुन सक्ला भनेर अनुमान गर्न सकिन्छ ? मान्छेको ‘माइन्डसेट’ महत्वपूर्ण हो । अहिले सहकारीमा आत्मविश्वासको कमी छ । बाहिर चर्चा भएजस्तो समस्या सहकारीमा छैन । हो, अहिले नगदको अभाव छ । भएको सम्पत्तिलाई तत्कालै नगदमा रुपान्तरण गर्न नसकिएला । तर, सहकारी डुबिहालेको स्थिति होइन । त्यो पैसा कतै छ नै । तर, त्यसलाई व्यवस्थापन गर्नु मात्रै समस्या हो । यसमा राज्यको नीतिले पनि फरक पर्छ । अहिले अधिकांश सहकारीको पैसा जग्गामा फसेको छ । सहकारीको पैसा घरजग्गामा लगाउन पाइँदैन । तर, त्यही काम गरेर केही सहकारीले गलत गरे । घुमाउरो बाटोबाट पनि पैसा जग्गामै पस्यो । एउटा ऋणी ऋण माग्न आयो । उसले ऋण लिएर उद्यमभन्दा पनि जग्गामै लगानी गरको देखिन्छ । ‘पिक आवर’मा जग्गामा लगानी हुँदा बैंकले पनि केही कडाइ गरेपछि समस्या सिर्जना भएको हो । त्यसपछि जग्गाको मूल्य घट्यो । र, सहकारीको पैसा जग्गामा फस्यो । जग्गाको कित्ताकाटमा खुकुलो भयो र बैंकले जग्गामा लगानी बढाउने बित्तिकै यो समस्याको समाधान हुन्छ । अर्को, सहकारीको पैसा सेयर बजारमा पनि फसेको छ । सदस्यले संस्थाबाट ऋण लिएर सेयरमा लगानी गरे । त्यही बेला बजार घट्दा पैसा डुब्यो । कममा बेचेर घाटा खानुभन्दा लगानीकर्ता पर्खेर बसेका छन् । ऋण लिएका ऋणीले पैसा फिर्ता नगरेपछि काउन्टरमा बसेका कर्मचारीले बचत फिर्ताका लागि आउनेलाई कसरी दिन सक्छ ? सेयर बजारमा सकारात्मक लक्षण देखियो भने र घरजग्गाको कित्ताकाट बढ्यो भने सहकारीको समस्या छिट्टै समाधान हुन्छ । यो समस्या धेरै समय लम्बिदैन । सञ्चालकहरूको कमजोरी र गलत नियतका कारण सहकारीमा समस्या आयो भन्ने बुझाइ धेरैको छ । यो समस्या सिर्जना हुनुमा कर्मचारी कत्तिको दोषी छन् ? दुवै पक्षको संलग्नता नभएर बदमासी नै हुँदैन । एउटा नियतवस् बदमासी भएको छ । गलत नियत नहुँदासम्म यो सम्भव नै छैन । अर्को, ज्ञानको अभावले पनि भएको हुन सक्छ । ऋण लगानी, धितो र पुँजी परिचालन सम्बन्धि आधारभूत ज्ञान नहुँदा पनि यो समस्या सिर्जना भएको हुन सक्छ । यी दुइटै विषयलाई एउटै डालोमा हाल्नु हुँदैन । कर्मचारी सबै दोषी छन् भनेर आरोप लगाउन पनि हुँदैन । कतिपयले राम्रो गर्दा गर्दै पनि समस्या आएको हुन सक्छ । सबैलाई एउटै डालोमा हालेर मूल्यांकन गरियो भने अन्याय हुन्छ । त्यो संस्थाको हिस्सेदार म पनि हो भनेर सदस्यले बुझिदिएको भए यो समस्या नै आउने थिएन । त्यहाँ ज्ञानको अभाव पनि देखियो । सदस्यलाई सिकाउने काम संस्थाको हो । तर, बुझाउन सकेनन् । हरेक मान्छेलाई सहकारी के हो ? सहकारीमा सदस्य बन्दा आफ्नो जिम्मेवारी के हो ? सेयर किनेपछि त्यहाँको जोखिमको हिस्सा पनि किनेको हुँ भन्ने ज्ञान सदस्यमा हुनुपर्छ । त्यो ज्ञान नहुँदा पनि वर्तमान स्थिति देखिएको हो । सहकारी संस्थाहरू समस्यामा पर्दा बचतकर्ताहरू त डुबे नै । तर, त्यो संस्थाबाट ऋण लिने ऋणीहरू अब ऋण तिर्नु पर्दैन भनेर ढुक्कका साथ बसिरहेका छन् भन्ने सुनिन्छ, त्यस्ता ऋणीलाई तपाईंको सन्देश के छ ? उहाँहरू ढिलोचाँडो कानूनको कठघरामा आउनु हुन्छ । ऋण लिएको कुनै प्रमाण छैन भने भन्न सकिन्नँ । तर, कुनै कागजमा हस्ताक्षर गरेर ऋण लिइएको छ भने कुनै पनि बेला त्यस्ता ऋणीले ऋण तिर्नु नै पर्छ । उसले तिर्न सकेन भने उसको सन्ततिले तिर्नुपर्छ । उसले अहिले नै तिर्दा सहज र थोरै तिर्नुपर्छ । तर, त्यो रकम उसको सन्ततिसम्म पुग्यो भने पछि गाह्रो हुन सक्छ । अरुको पैसा लिएर तिर्दिनँ भन्ने मानसिकता राख्नु अपराध हो । त्यस्तो मानसिकता कसैले पनि राख्नु हुँदैन । लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीको तयारी के-कस्तो भइरहेको छ ? हामीले स्रोत व्यक्तिबाट स्रोत सामग्री संकलन गरिहरेका छौं । दर्ताको काम पनि भइरहेको छ । २० गतेसम्म दर्ताको समय छ । यो गोष्ठी लेखा सुपरिवेक्षण समितिलाई लक्षित भएकोले सञ्चालक समितिको निर्णय कुर्नु पर्ने हुँदा दर्ताको समय २० गतेसम्मको राखिएको हो । अन्य तयारीहरू पुरा भइसकेको छ । केही काम गरिनै रहेका छौं । लेखा सुपरिवेक्षण समितिलाई तपाईंको सन्देश के छ ? लेखा सुपरिवेक्षण समितिले सञ्चालक समितिले अवसर दिन्छ र सीप सिकौंला भनेर पर्खनु हुँदैन । अवसर आफैंले खोज्नुपर्छ । लेखा सुपरिवेक्षण समितिलाई सशक्त बनाउने विषयमा सञ्चालक समिति पनि उदासिन देखिन्छ । लेखा सुपरिवेक्षण समिति र सञ्चालक समिति एक अर्काका परिपुरक र सहयात्री हुन् भन्ने ढंगबाट काम गर्नुपर्छ । यो गोष्ठीका लागि सञ्चालक समितिबाट पठाउन खोजिएको तर लेखा सुपरिवेक्षण समितिबाट जाने व्यक्ति तयार भएनन् भन्ने सन्देश पनि हामी समक्ष आइपुगेको छ । त्यस्तो हुनु हुँदैन । लेखा सुपरिवेक्षण समितिले सञ्चालक समितिको कमजोरी सच्याउनका लागि सुझाव दिने काम गर्ने हो, आएका अवसरलाई पनि ग्रहण नगर्दा भोलि पछुताउने अवस्था आउन सक्छ । त्यसैले सिक्ने प्लेटफर्महरू गुमाउनु हुँदैन । यसमा अन्तर्राष्ट्रिय स्रोत व्यक्ति आउनु हुन्छ । उनीहरूको ज्ञान, सीप र अनुभव हामीले पनि सिकेर व्यवहारमा लागू गर्न सक्नुपर्छ ।
यसकारण बढ्दैछ बैंकिङमा तनाव
‘सोचे झैँ जिन्दगी रैनछ’ भने जस्तै जब मानिसको अपेक्षा र वास्तविकताबीच खाडल बढ्दै जान्छ तब तनाव उत्पन्न हुन्छ । तनाव व्यक्तिको शारीरिक र मानसिक अवस्थामा आउने नकारात्मक परिवर्तन हो, जुन प्रतिकूल वातावरणका कारण सिर्जना हुन्छ । तनाव व्यक्तिमा अनुभूति हुने मानसिक दबाबको अवस्था हो । शारीरिक र मानसिक रूपमा देखापर्ने बेचैनी नै तनाव हो । यो वास्तवमा अमूर्त चिज हो । यसलाई देख्न, छुन र अंकगणितीय मापदण्डमा मापन गर्न पनि सकिँदैन । यो केवल मानव अन्तःस्मरण वा मानसपटलमा महसुस मात्र गर्न सकिन्छ । व्यक्तिमा जब आफूसँग भएको ज्ञान, स्रोत र समयबाट कुनै परिस्थिति सम्हाल्न सम्भव हुँदैन भन्ने अनुभूित हुन्छ, तब तनाव सिर्जना हुन्छ । तनाव एकातिर विकासका लागि आधारशिला हो भने अर्कातर्फ द्वन्द्वको पूर्वसर्त पनि हो । यो मानव प्रजातिको माग र आपूर्तिबीचमा आएको बेमेल हो । तनाव सुरुमा रचनात्मक हुन्छ भने बढी भएमा हानिकारक हुन्छ । विनाशतर्फ अग्रसर गराउँछ जो विध्वंसकारी हुन सक्छ । तसर्थ बेलैमा तनाव व्यवस्थापन गर्नु जरुरी छ । तनावले उत्तेजना, असन्तुष्टि, नैराश्यजस्ता मानसिक परिवर्तन ल्याउँछ भने टाउको दुख्ने, ढाड दुख्ने, अपच, अनिन्द्रा, क्यान्सर, मधुमेह, रिँगटा लाग्ने, पेटको रोग बढ्ने, रिसाउने, थकान, दुव्र्यसन, आत्महत्या जस्ता शारीरिक परिवर्तन ल्याउँछ । यसले व्यक्तिको उत्पादकत्व, कार्य प्रतिबद्धता र कार्यक्षमतामा ह्रास ल्याउँछ । जब व्यक्तिले तनावसँग जुधेर सफलता हासिल गर्दछ तब मात्र उसको तनाव कम हुन्छ । मानिस जन्मजात नै स्वतन्त्रता रूचाउने प्राणी हो । जब मानव स्वतन्त्रतामाथि प्रहार हुन्छ, तब तनाव उत्पन्न हुन्छ । व्यक्तिको जीवन सफलता र असफलताको सम्मिश्रण भएकाले असफलता नै तनावको मुख्य कारण बन्न सक्छ । त्यसो त अवास्तविक एवम महत्वाकांक्षी लक्ष्य लिनु, छोटो समयमा जीवनमा क्रान्तिकारी परिवर्तन गर्न खोज्नु, सेवामा प्रवेश गर्नासाथ सहरमा घर गाडीको सपना देख्नु र ‘सरस्वती’ लाईभन्दा ‘लक्ष्मी’ लाई बढी माया गर्ने संस्कार बढ्दै जानु जस्ता विविध कारणले पनि तनाव बढ्दै गएको देखिन्छ । विशेषतः तनावग्रस्त व्यक्तिहरूमा धूमपान अधिक गर्ने, लागूऔषध र मादक पदार्थ सेवन गर्ने, उत्प्रेरणामा कमी, कार्यसम्पादन स्तरमा ह्रास, बीचैमा जागिर छाड्ने, गुणस्तरमा ह्रास, कम सुत्ने, व्यायाम नगर्ने र खाना राम्ररी नखाने जस्ता असामान्य व्यवहारसमेत देखापर्छ । अहिले व्यवस्थापन, प्रशासन, औद्यौगिक क्षेत्र, शैक्षिक क्षेत्र, चिकित्सा, राजनीति र मनोविज्ञानमा समेत तनावसम्बन्धी कुराले उच्च प्राथमिकता पाएको छ । यसैगरी, मानिस शारीरिक र मानसिक रूपमा स्वस्थ रहे मात्र व्यक्तिले आफूलाई परिवर्तित वातावरणअनुरूप परिवर्तन वा परिमार्जन गर्न सक्छ, भावनात्मक द्वन्द्वबाट विचलित हुँदैन । जीवनको अर्थ बुझी त्यसैअनुरूप चल्दछ । आफ्नो क्षेत्रमा सामथ्र्यको पूर्ण उपयोग गर्दछ । सुमधुर पारस्परिक सम्बन्ध विकास गर्दछ । फलतः उत्पाकदत्व, संगठनप्रतिको प्रतिबद्धता, कार्यसन्तुष्टि बढ्छ भने संगठन छोड्ने र आपसी मनमुटावको क्रम घट्न थाल्छ । जसबाट समग्रमा संगठनको निर्दिष्ट लक्ष्य प्राप्त गर्दै संगठनलाई दीर्घकालसम्म टिकाउनका लागि तनावको मात्रालाई निराकरण गर्दै जानु आवश्यक देखिन्छ । कुनै कुराको चिन्ता गर्नु स्वाभाविक हो । तर, चिन्तामा डुबिरहनु चाहिँ हानिकारक हुनसक्छ । चिन्ताले चितामा पुर्याउन सक्छ भन्ने कुरा पनि हेक्का हुनु जरुरी हुन्छ । दिनरात तनाव वा चिन्ता लिँदा व्यक्ति डिप्रेसनमा पुग्न सक्छ । साथै, डिप्रेसनको समयमै पहिचान भई परिवारको सहारा र सहयोग मिलेन भने अवस्था थप गम्भीर हुनसक्छ । आजभोलि अस्पतालका मानसिक रोग विभागमा डिप्रेसनकाे सिकार भएका सबै उमेर समूहका मानिस भेटिन्छन् । वास्तवमा जब मस्तिष्कले पूरा आराम पाउँदैन, तब त्यसमा एक किसिमको दबाब बनिरहन्छ । यसकारण तनाव बिस्तारै डिप्रेसनमा बदलिन्छ । तसर्थ तनावग्रस्त मानिसलाई औषधिभन्दा पनि माया, हेरचाह र हौसला आवश्यक हुन्छ । यस कारण तनावको समयमै निराकरण गर्नु जरुरी हुन्छ । बैंकिङ क्षेत्रमा बढ्दो तनावका कारणहरू सर्वसाधारणको बचत रकममा व्यवसाय गर्ने जोखिमपूर्ण र चुनौतीपूर्ण क्षेत्र बैंक हो । तसर्थ बैंकका निक्षेपकर्ताहरू बैंकका राजा हुन्, भगवान् हुन्, व्यवसाय सफलताका आधारस्तम्भ हुन् र सेवा नै धर्म हो भन्ने मूल मर्मका साथ मुस्कानसहितको सेवा दिनुपर्नेमा ठुस्कानसहितको सेवा व्याप्त छ, जुन कर्मचारी तनावको उपज हो । मूलतः बैंकिङ क्षेत्रमा तनावका मुख्य कारणमा अधिक कार्यभार, अव्यावहारिक लक्ष्य र कार्यजीवन सन्तुलित नहुनुलाई लिन सकिन्छ । बैंकिङ क्षेत्रमा माथिल्लो तहबाट तल्लो तहका कर्मचारी निकै पेलिएको, कर्मचारीको क्षमताबाट प्राप्त गर्न नसकिने लक्ष्य निर्धारण गरी अनावश्यक यातना दिइने गरेको, सानो गल्तीमा पनि मानसिक दबाव दिने लगायतका कारण बैंकिङ जागिर छाडेर विदेश जाने दर बढ्दै गएको र डिप्रेसनको सिकार हुने वा आत्महत्या गर्ने खतरा दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बैंकका कर्मचारीहरू बिहान नौ बजे नै कार्यालय उपस्थित हुनुपर्ने र साँझ हिसाबकिताब नमिल्दासम्म घर फर्कन नमिल्ने र फर्कने समयको कहिल्यै टुङ्गो नहुनाले पारिवारिक झगडा बढ्ने, पारिवारिक सम्बन्ध बिग्रने, कार्यजीवन सन्तुलन नहुने, पारिवारिक र सामाजिक जीवनको अनुभूति लिन नपाउने साथै चाहेर पनि समाजप्रतिको जिम्मेवारी बहन गर्न नसक्ने जस्ता समस्या सिर्जना हुन्छन् । बैंकिङ क्षेत्रमा आर्थिक सुविधा, कार्य विशिष्टीकरण, तालिम, कार्य परिक्रमण, सरुवा (शाखा र ग्रामीण क्षेत्रमा कर्मचारी जानै नचाहने), अधिक कार्यभार, माथिल्लो तहको अनावश्यक दबाबका कारण कर्मचारीप्रतिको गुनासो बजारभरि व्याप्त छन् । यसैगरी पछिल्लो समय बैंकिङ कर्मचारीप्रति निरन्तर आक्रमणका धम्कीहरू सुनिन्छन्, जुन् किमार्थ अस्वीकार्य छ । बैंकिङ अराजकता फैलाउँदै श्रमजीवी बौद्धिक वर्गमा कालोमोसो अभियानलगायतका भौतिक आक्रमणजस्ता गतिविधि बढ्दै जाने र सम्बद्ध निकायको मौनता रहिरहने हो भने कर्मचारीको तनावको स्तर कहाँ पुग्ला ? बेलैमा सोच्न आवश्यक छ । मानिस जन्मजात नै समानता खोज्ने न्यायप्रेमी प्राणी भएकाले नेपालको सार्वजनिक सेवामा वृत्तिपथ पूर्वानुमानयोग्य रहेको, स्वदेशी तथा विदेशी तालिमको पर्याप्त अवसर रहेको साथै अध्ययनका लागि पर्याप्त समय र अवसर रहेको तर वित्तीय क्षेत्रमा असारको गोरुजस्तो सधैँ काममा पेलिनुपर्ने, वृत्तिपथ अनिश्चित रहेको, तालिमका अवसर पर्याप्त नरहेको, कार्यसम्पादनको स्तर र तलब सुविधामा तातात्म्य नमिलेको, माथिल्लो र तल्लो तहका कर्मचारीमा सेवा सुविधामा अन्तर रहेको जस्ता कारण कर्मचारीमा नैराश्य बढ्दै गएको छ । यसैगरी स्वास्थ्य जस्तो संवेदनशील विषयमा समेत कर्मचारी स्वंयकाे वा घर परिवारको सदस्यको अस्पतालमा भर्ना हुँदाको बखतमा समेत कार्यालयबाट अनावश्यक दबाब आउने गरेको बजारमा प्रशस्त सुन्न पाइन्छ । बैंक जस्तो संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीमा तनाव बढ्दै जाने हो भने तिनको मनोबल र उत्प्रेरणाले कति समय काम गर्ला ? घटना वा समस्या भएपछिको सावधानी भनेको मृत्यु पछाडिको स्वास्थ्य परीक्षण गरेजस्तै हो, जसको कुनै अर्थ रहँदैन । मृत्युपश्चात् चिहान लानुको कुनै विकल्प नभएकाले समस्या देखिनुअगावै सचेत हुनु जरुरी हुन्छ । तनावका मुख्य कारणहरू निम्नबमोजिम छन् : १. व्यक्तिगत कारण : व्यक्ति स्वयमका कारण तनाव सिर्जना हुने हुँदा यसप्रति व्यक्ति स्वयम संयमित हुन आवश्यक छ । तनावको मुख्य व्यक्तिगत कारणहरू देहायबमोजिम छन् : – अनिश्चित भविष्य – आत्मसंयम नहुनु – नकारात्मक सोचाइ र अनुभूति – आर्थिक समस्या – पारिवारिक द्वन्द्व – अपूर्ण ज्ञान – सामाजिक अपहेलना – एक्लोपना – मन नपरेका व्यक्तिसँग काम गर्नुपर्ने बाध्यता – अधिक कार्यभार – वास्तविकता स्वीकार नगर्ने प्रवृत्ति – प्रेममा फाटो आउनु – महत्वाकांक्षी लक्ष्य – जीवन बाँच्न कठिन हुनु – पढाइमा असफलता – जीवनप्रति नकारात्मक सोच – अस्वस्थकर जीवनशैली – सफलताको आवश्यकता – असम्भव लक्ष्य प्राप्तिका लागि होडबाजी – विचारमा भिन्नता – व्यक्तिगत रिसइबी र झगडा – तुलना गर्ने बानी – जागिर गुमाउनु – वैवाहिक सम्बन्ध टुट्नु । २. सांगठनिक कारण : संगठन कर्मचारीको रचनात्मक र सिर्जनशीलता प्रस्तुत गर्दै श्रम बेच्ने ठाउँ भएकाले कर्मचारीहरूबीच समान अवसर, व्यवहार र सुविधा उपलब्ध गराउन नसक्दा तनावको मात्रा बढ्दै जान्छ । तनावका सांगठिनक कारणहरू निम्नबमोजिम छन् : – संगठनकाे कार्य ढाँचा स्पष्ट नहुनु – कार्य जीवन सन्तुलनमा समस्या – पर्याप्त स्रोत साधनको अभाव – अपर्याप्त तलब र सुविधा – सरुवा र पदस्थापनामा बढ्दो धाँधली – अत्यधिक राजनीतिक दबाब – तनाव व्यवस्थापनप्रति नेतृत्व सचेत नहुनु – समान अवसरको अभाव – निर्णयमा पर्याप्त अख्तियार प्रत्यायोजन नहुनु – कार्य उत्प्रेरणाको अभाव – तनाव व्यवस्थापनसम्बन्धी तालिमको अभाव – प्रशासनमा बढ्दो राजनीतिक प्रभाव – वृत्ति विकास योजनाको अभाव – हाकिम कर्मचारीबीच मनमुटाव – नातावाद, कृपावाद र चाकडीवाद हाबी – कर्मचारीबीच द्वन्द्व – ट्रेड युिनयनले कर्मचारीबीच फुट ल्याएको – कमजोर कार्यसम्पादन मूल्यांकन – कार्यसम्पादन र सेवा सुविधामा तादात्म्य नहुनु – ट्रेड युनियनको गलत अभ्यास – महिला कर्मचारीप्रति बक्रदृष्टि – सामूहिक सौदाबाजीको अभाव – दण्ड पुरस्कारमा विभेद – सेवा सुविधामा असमानता – सेवाको अनिश्चितता र असुरक्षा – सञ्चारमा बहुअवरोध – व्यक्तिगत लक्ष्य र सांगठिनक लक्ष्यबीच बेमेल – गुनासो सुनुवाइ संयन्त्र नहुनु – श्रमप्रति सम्मानको संस्कार नुहुनु – पदोन्नतिको अवसरमा विभेद – पदस्थापनामा गैरप्रणालीको हाबी – व्यक्तिप्रधान नीति बन्नु – व्यक्ति हेरेर नीति तोडिनु ३. नीतिगत कारण : जब संगठनले कर्मचारीहरूबीच समान नीतिगत व्यवहारको आभास दिलाउन सक्दैन, तब कर्मचारीहरूमा नैराश्य, अपमान र तनाव बढ्न थाल्छ । संगठनका नीति, व्यवहार र शैली व्यक्ति हेरेर परिवर्तन गर्नुहुँदैन । कर्मचारी तनावका नीतिगत कारणहरू निम्नबमोजिम छन् : – तनाव व्यवस्थापनमा नीतिगतको अभाव – कार्यविधिमा एकरूपताको अभाव – नीतिको वाष्पीकरण – कानुनी अस्थिरता – राजनीति र प्रशासनमा कार्य क्षेत्र स्पष्ट नहुन – संगठनकाे लक्ष्य स्पष्ट नहुनु – सेवा सुविधामा संगठनबीच नीतिगत एकरूपता नहुनु ४. अन्य कारण : तनाव व्यक्तिगत, सांगठनिक र नीतिगतबाहेक अन्य कारणबाट पनि हुने गर्दछ, जुन निम्नबमोजिम रहेका छन् : – तनाव व्यवस्थापनमा परामर्शको अभाव – रामो कार्य वातावरण नहुनु – क्षमताको कदर नहुनु – बढ्दो जनअपेक्षा र दबाब – प्रविधिमा निरन्तर परिवर्तन भइरहनु – सामाजिक असुरक्षा – जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था – सामाजिक दबाब – पारिवारिक जिम्मेवारी – व्यक्तिगत सम्बन्ध तनाव व्यवस्थापनका उपाय तनाव व्यवस्थापनको सर्वोत्तम उपाय तनावको कारण पहिचान गरी त्यसको सही सम्बोधन गर्नु हो । परिवर्तित वातावरण अनुकूल व्यक्तिको व्यवहारमा पनि रूपान्तरण गर्ने र तनावलाई सिर्जनात्मक र रचनात्मक बनाई व्यक्तिको शारीरिक तथा मानसिक सन्तुलन कायम राख्ने काम नै तनाव व्यवस्थापन हो । तनावलाई व्यक्ति र संगठनको हित संरक्षण गर्ने काममा उपयोग गर्ने प्रक्रिया नै तनाव व्यवस्थापन हो । व्यवस्थापकीय दृष्टिकोणले हेर्दा निश्चित स्तरको तनावलाई उपयुक्त मानिन्छ । किनकि सामान्य स्तरको तनावले मानिसलाई उत्प्रेरित गर्दछ, कार्यसम्पादन बढ्छ र सफलताका ढोकाहरू खुलाउँछ । तनाव व्यवस्थापन तनावग्रस्त व्यक्ति आफैँले गर्नुपर्दछ । तनाव व्यवस्थापन बैंकिङ जोखिम र द्वन्द्व नियन्त्रणको मेरुदण्ड हो । तनाव बढ्यो भने रोग प्रतिरोधात्मक क्षमता कमजोर रहन्छ । तनाव घट्यो भने उत्प्रेरणा, मनोबल र संगठनप्रतिको प्रतिबद्धता र उत्पादकत्व बढेर जान्छ । अथाह सम्भावना भएको मानव संशाधन जसले संगठनका अन्य स्रोत साधनको सिर्जना, उपयोग र नियन्त्रण गर्दछ, त्यस्तो संशाधनको सम्भावना र क्षमताको प्रचुर मात्रामा उपयोग गर्दै प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धात्मक र तुलनात्मक लाभ हासिल गर्न सकिने कुरामा दुई मत नहोला । तनाव मानव जीवनको अनिवार्य सर्त हो । यो व्यक्तिगत वा सामूहिक हुनसक्छ । यसको प्रभाव अल्पकालीन र दीर्घकालीन दुवै हुनसक्छ । निश्चित स्तरसम्मको तनावले व्यक्तिको मनोबल, प्रतिबद्धता, उत्पे्ररणा, उत्पादकत्व बढाइ सफलतातर्फ अग्रसर गराई मानव जीवनलाई सार्थक तुल्याउँछ । यसैगरी सीमाभन्दा बढी तनाव भएमा यसले शारीरिक र मानसिक रूपमा शिथिल मात्र नबनाई डिप्रेसन हुँदै आत्महत्यासम्म पुर्याएका उदाहरण प्रशस्त देख्न सकिन्छ । तनावको मुख्य कारण व्यक्ति आफैँ भएकाले समाधानमा पनि आफैँले भूमिका खेल्न सकेमा जीवन शान्त हुनेछ । साथै मानिस जन्मजात नै स्वतन्त्र प्राणी भएकाले र कसैको हैकमवादमा बस्न नचाहने भएको हुँदा व्यक्ति आफूले आफूलाई बुझेर आत्मसंयम, आत्मनियन्त्रण, आत्मअनुशासन, आत्मसम्मान, स्वनिर्देशित र स्वउत्प्रेरणामा जोड दिनुपर्दछ । अर्कोतर्फ संगठनले कर्मचारीलाई मेसिन र तलबी कर्मचारीका रूपमा मात्र नलिई आधुनिक व्यवस्थापनका सिद्धान्त र अभ्यासको मर्मलाई बुझेर मानवीय संवेदना र श्रमको उचित सम्मान गर्दै सङ्गठनमा बढ्दो तनाव व्यवस्थापन गर्न निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ : १. व्यक्तिगत प्रयास तनाव मुख्यतः व्यक्ति आफैँका कारणले सिर्जना हुने भएकाले यसको निराकरणमा पनि व्यक्ति विशेषको भूमिका नै बढी हुने गर्दछ । तनावको मुख्य कारण व्यक्ति स्वयम् भएकाले यसको निदानको लागि मुख्य डाक्टर पनि व्यक्ति स्वयम् बन्नुपर्दछ । तसर्थ व्यक्तिले तनावको मात्रा कम गर्न र आफूलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नुका साथै संगठनलाई प्रतिस्पर्धी बनाउँदै निर्दिष्ट गन्तव्यमा पुर्याउन तनाव निराकरणका लागि निम्न उपायहरू अवलम्बन गर्नसक्छ : – जीवनमा व्यावहारिक लक्ष्य निर्धारण गर्ने – जीवनमा ठूलो सपना नदेख्ने – ज्ञान मार्ग, भक्ति मार्ग र कर्मयोग मार्गमा लाग्ने – निष्काम कर्म गर्ने – जगत् नै भगवान् हुन् भगवान् नै जगत् सम्झने – नियत राम्रो राख्ने – निर्दोषपूर्वक जीवनयापन गर्ने – सामूहिक घुलमिल हुने – खराब मानिसको सङ्गत नगर्ने – नैतिकताको पालना गर्ने – योग्य व्यक्तिको सल्लाह लिएर मात्र काम गर्ने – आत्मनियन्त्रण गर्ने – मोह, लोभ र क्रोध त्याग्ने – मानव जीवन सेवाको लागि सम्झने – नियमित र सन्तुलित आहार र व्यायाम गर्ने – समय व्यवस्थापनमा जोड दिने – सिर्जनात्मक र रचनात्मक कार्यमा जोड दिने – जीवनलाई सन्तुलित तुल्याउने – यथार्थता र वास्तविकतालाई स्वीकार गर्ने – सकारात्मक सोचको विकास गर्ने – ईश्वरप्रति आस्था राख्ने अति परिश्रमी वा अति अल्छी नहुने – साधारण जीवन बिताउने – हल्लाका पछाडि नलाग्ने – साहस देखाउन – पर्याप्त मात्रामा ध्यान, योग र प्राणायाम गर्ने – सचेत र सतर्क भइरहने – तुलना गर्ने प्रवृति बन्द गर्ने – कसैलाई हानी नपु¥याउने – कर्मशील, सिर्जनशील, श्रमशील, उद्यमशील – नकारात्मक सोचाइलाई त्याग्ने र उत्पादनशील हुने – विपश्यना ध्यान गर्ने, चित्त एकाग्र पार्ने – मनोवैज्ञानिक परामर्श र उपचार गर्ने – बाहिर घाममा निस्कने – प्रियजनसँग समय व्यतित गर्ने – पर्याप्त मस्त सुत्ने – आफ्नो रुचिको क्षेत्रमा समय दिने – एकान्तमा बस्ने बानी त्याग्ने – धार्मिक र सामाजिक क्रियाकलापमा सहभागी हुने – आफ्नो वचनको परिपालना गर्ने – सुखदुःखमा समान भाव राख्ने – सक्रिय जीवन बिताउने – कामको मात्रा नै घटाउने – संस्कारको विकास गर्ने – छिट्टै छलाङ मार्ने सोच नलिने – नियमित पत्रपत्रिका पढ्ने र टेलिभिजनमा समाचार हेर्ने फिल्महरू हेर्ने – सकारात्मक सोचका बारेमा लेख्ने, पढ्ने । २. संगठनात्मक प्रयास संगठन कर्मचारीको श्रम बेच्ने ठाउँ हो । सङ्गठनले व्यक्तिको श्रम, क्षमता, मानवता र सिर्जनशीलतालाई सम्मान गर्दै न्यायोचित व्यवहार प्रदान गर्न सक्नुपर्दछ । साथै सङ्गठनले व्यक्तिको लक्ष्यलाई साङ्गठनिक लक्ष्यसँग समाहित गराउँदै एउटै गन्तव्यतर्फ केन्द्रित हुनुपर्दछ । तनाव निराकरणका लागि सङ्गठनले कर्मचारीमा विभेद अन्त्य गर्नुपर्दछ । कर्मचारीले श्रम मात्र बेचेको हो जिन्दगी समर्पण गरेको होइन, भन्ने कुरालाई मनन गर्दै कर्मचारीका तनाव निराकरण गर्न निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ : – सङ्गठनको लक्ष्य र योजना स्पष्ट बनाउने – कार्य विवरण स्पष्ट बनाउने – सेवाको सुरक्षाको सुनिश्चितता गर्ने – कार्य विभाजन स्पष्ट बनाउने – समान, निष्पक्ष र न्यायपूर्ण व्यवहार गर्ने – उपयुक्त कार्य वातावरण बनाउने – सहभागितामूलक व्यवस्थापनमा जोड दिने – समान अवसर प्रदान गर्ने – तनावसम्बन्धी चेतना बढाउने – स्रोत साधनको समान वितरण गर्ने – ठिक व्यक्ति ठिक ठाउँमा व्यवस्थापन गर्ने – स्पष्ट भूमिका र जिम्मेवारी दिने – गुनासो सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाउने – निर्णयमा सहभागी गराउने – कर्मचारीको क्षमता र कार्यभारबीच सन्तुलन कायम गर्ने – विभेदको न्यूनीकरण गर्ने – कार्यजीवन सन्तुलन कायम गर्ने – दोहोरो सञ्चार प्रणालीको प्रयोग गर्ने – खुलाद्वार नीति अवलम्बन गर्ने – कर्मचारीको हकअधिकार सुनिश्चित गर्ने – पुरस्कार र दण्ड प्रणालीको अवलम्बन गर्ने – दण्डहीनता र अराजकताको अन्त्य गर्ने – कर्मचारीलाई नियमित तालिम र मनोरञ्जन जस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याउने – समयसमयमा भ्रमण, वनभोज, अन्तरक्रियामा सहभागी गराउने – कामदारको समस्यालाई गम्भीरतापूर्वक सुन्ने – व्यवस्थापनका आधुनिक सिद्धान्त प्रयोग गर्ने – कर्मचारीको संवेदनाको सम्मान गर्ने – विधिको शासन कायम गर्ने, शासनको विधि होइन – कर्मचारीलाई मित्रवत् व्यवहार गर्ने – नियमित कार्य परिक्रमण गर्ने – पारिश्रमिक पदमा आधारित नभई कार्यसम्पादनमा आधारित बनाउने – सजाय दिँदा सफाइको मौका दिने – कर्मचारीको कम्तीमा जीवन निर्वाह गर्न पुग्ने गरी सेवा सुविधा प्रदान गर्ने – समानताको भावना राख्ने – कार्य सम्पादन मूल्यांकन निष्पक्ष र विकास गर्ने – संगठनमा श्रमको सम्मान गर्ने संस्कारको पारदर्शी बनाउने – तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ भनेर खबरदार होइन, रचनात्मक अनुशासनमा जोड दिने – संगठनका नीति, व्यवहार र शैली व्यक्ति हेरेर परिवर्तन गर्नुहुँदैन निष्कर्ष तनाव मानव जीवनको अनिवार्य सर्त हो । यो व्यक्तिगत र सामूहिक दुवै हुनसक्छ । यसको प्रभाव अल्पकालीन र दीर्घकालीन दुवै हुनसक्छ । निश्चित स्तरसम्मको तनावले व्यक्तिको मनोबल, प्रतिबद्धता, उत्पे्ररणा र उत्पादकत्व बढाई सफलतातर्फ अग्रसर गराइ मानव चोलालाई सार्थक तुल्याउँछ र निश्चित सीमाभन्दा तनाव बढी भएमा यसले शारीरिक र मानसिक रूपमा शिथिल मात्र नबनाई डिप्रेसनको सिकार हुँदै आत्महत्यासम्म पुर्याउने हुन्छ । कर्मचारीको तनावलाई कम गर्न प्रत्येक संगठनले व्यक्तिगत र सांगठनिक समस्याहरू बुबुझ्नुपर्दछ । कर्मचारीको घरायसी समस्या र पारिवारिक समस्याका कारण कार्यजीवन सन्तुलन नहुँदा संगठनले निर्दिष्ट गरेका लक्ष्य प्राप्त गर्न सकिँदैन । यसै गरी, व्यक्ति र संगठनको लक्ष्य सन्तुलन नभएमा व्यक्ति र सङ्गठनबीच टकराव बढ्न गई द्वन्द्व सिर्जना हुन्छ । आजको परिवर्तित र यान्त्रिक युगमा संगठनमा कर्मचारीको तनाव निराकरण गर्न चिकित्सा मनोवैज्ञानिक एवं मनोचिकित्साको सहयोग लिनु उपयुक्त हुन्छ । यसबाट व्यक्तिको सम्पूर्ण प्रयत्न संगठनको लक्ष्य प्राप्तितर्फ केन्द्रीत गर्दै निर्दिष्ट लक्ष्य प्राप्त गरी कर्मचारी र संगठन दुवैको हित हुने कुरामा शंका गर्ने ठाउँ रहँदैन । तनावको मुख्य कारण व्यक्ति आफैँ भएकाले समाधानमा पनि आफैँले भूमिका खेल्न सकेमा जीवन अर्थमय, शान्तिमय र अनुकरणीय हुँदै जाने कुरामा दुई मत नहोला । संगठनमा कर्मचारीले पारिश्रमिकका लागि श्रम मात्र बेचेको हो, जीवन समर्पण गरेको होइन । तसर्थ संगठनले मानवीय श्रम र संवेदनशीलता बुझेर त्यहीअनुरूपको व्यवहार गर्न सकेमा पनि धेरै हदसम्म तनाव व्यवस्थापन गर्न सकिने देखिन्छ । मानिस स्वभावैले जन्मजात नै स्वतन्त्र प्राणी भएकाले र कसैको हैकमवादमा बस्न नचाहने भएकाले व्यक्तिले आफूलाई बुझेर आत्मसंयम हुने, आत्मनियन्त्रण गर्ने, आत्मसम्मान गर्ने, आत्मअनुशासित हुने, आफूलाई नियमन गर्ने, स्वनिर्देशित हुने र आत्मउत्प्रेरित हुने हो भने धेरै मात्रामा तनाव आफैँ कम हुँदै जाने अपेक्षा राख्न सकिन्छ । (तिमल्सिना राष्ट्रिय जीवन बीमा कम्पनीका सहायक व्यवस्थापक हुन् । नेपाल राष्ट्र बैंकको ६९ औ वाषिर्कोत्सव विशेषांकबाट)