आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने, प्रतिव्यक्ति आय १४ सय ५६ पुग्ने अनुमान
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति प्रतिवेदन संसदमा पेस गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितका विपक्षी दलको अवरोधका बीच उनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेस गरेका हुन् । उनले आर्थिक सर्वेक्षण पेस गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान प्रस्तुत गरेका छन् । उनले निर्माण क्षेत्र सिथिल भए पनि कृषि र सेवा क्षेत्रमा भएको सुधारले ३.९ प्रतिशतको आर्थिक बृद्धि हुने अनुमान सार्वजनिक गरेका हुन् । उनले प्रदेशगत रुपमा बागमती, गण्डकी र लुम्बिनीको औसत आर्थिक वृद्धिदर सन्तोषजनक रहेको बताएका छन् । चालु आवमा कुल लगानी २.८ प्रतिशत बढेर १७ अर्ब ४१ अर्ब ४८ करोड रुपैयाँ पुग्ने र प्रतिव्यक्ति आय १ हजार ४५६ रुपैयाँ अमेरिकी डलर पुग्ने अनुमान रहेको उनको भनाइ छ । [pdf id=486214]
बीमाको दायरा बढाउन जोखिम पनि बढ्नुपर्छ : सीईओ पन्त
बीमा क्षेत्रमा साढे तीन दशक अनुभव भएका सुनिल बल्लभ पन्त एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । एनएलजीमा दोस्रो कार्यकाल सीईओका रुपमा काम गरिरहेका पन्त बीमा क्षेत्रका एक अनुभवी सीईओमध्येमा पर्छन् । बीमा क्षेत्रमा विशेष योगदान गरेबापत सरकारबाट समेत सुकीर्तिमय राष्ट्रदिप पदकबाट सम्मानित भइसकेका सीईओ पन्तसँग वर्तमान बीमा क्षेत्र, यस क्षेत्रका चुनौति र अवसर र आगामी कार्यदिशाका विषयमा विकासन्युजका लागि सीआर भण्डारीले संक्षिप्त कुराकानी गरेका छन् । बीमा कम्पनीहरू बलियो हुँदा खोज तथा अनुसन्धानमा काम गर्छन, नयाँ-नयाँ बीमा पोलिसी ल्याउँछन्, त्यसले बीमा क्षेत्रलाई धेरै अगाडि बढाउँछ भन्ने सोचका साथ कम्पनीहरूबीच मर्ज वा पुँजी वृद्धि गरियो । पुँजी वृद्धिसँगै तपाईको कम्पनीले यसतर्र्फ के-के काम गरिरहेको छ ? एनएलजी इन्स्योरेन्सले मर्जरमा नगई आफैं हकप्रद सेयर मार्फत चुक्ता पुँजी वृद्धि गरिरहेको छ । बीमा प्राधिकरणले दिएको निर्देशन बमोजिमको चुक्ता पुँजी पुर्याउन कम्पनी तयार छ । कम्पनीले रिटेन्सन क्यापासिटी र इनोभेसनका लागि दुईवटा प्रडक्टहरू बजारमा ल्याइसकेको छ । विद्युतीय सवारी साधन र युटिलिटी मार्फत् स्वास्थ्य र दुर्घटना बीमा प्रडक्ट बजार आइसकेका छन् । अर्थतन्त्रमा संकुचन आउँदा बीमा क्षेत्रलाई प्रत्यक्ष असर गर्यो । यो संकटबाट माथि उठ्न त्यस कम्पनीले कस्ता किसिमका नविनतम् अभ्यास गरिरहेको छ ? बीमा क्षेत्र सबैभन्दा भायब्रेन्ट कृषि क्षेत्रमा पोलीसी जारी गरेर हुन्छ । तर, कम्पनीहरू असाध्यै असहज परिस्थितीमा अगाडि बढिरहेका छन् । तथापि नविनतम् प्रडक्टहरूले नयाँ वा अनट्याप्ट क्षेत्रहरू ट्याप भएर बीमा व्यवसाय अभिवृद्धि हुने विश्वास छ । बैंकहरूले नयाँ कर्जा लगानी गर्न सकेका छैनन, त्यसैले बीमा कम्पनीको व्यापार घटेको भनेर बीमकहरूबाट पटक–पटक सुनिन्छ । बीमा कम्पनीहरू किन आफ्नो तरिकाले अगाडि बढ्न सकिरहेका छैनन् ? व्यापार विस्तारमा बैंकप्रतिको निर्भरता कम गर्न बीमा कम्पनीहरूले नयाँ के काम गरिरहेका छन् ? बैंकिङ, यातायात र निर्माण क्षेत्रमा बीमा म्यान्डेटोरी हो । त्यसबाहेक प्रोफेसनल इन्डेम्निटी पोलीसी, विद्यार्थी योजना, लायबिलिटी पोलीसी बजारीकरण गर्न सक्यो भने निर्भरता रहनु पर्ने आवश्यकता देखिँदैन । र, बीमा कम्पनीहरू त्यसतर्फ पनि अगाडि बढिसकेका छन् । वर्तमान समयमा बीमा कम्पनीहरूका लागि नयाँ अवसर के(के छन् ? सबैभन्दा ठूलो अवसरका रूपमा प्रोफेसनल इन्डेम्निटी पोलिसी र लायबिलीटी पोलिसी नै हो । अहिलेको जोखिमका कारण यी दुइटा आवश्यक छन् । जति जोखिम बढ्यो, त्यति नै बीमाको दायरा बढ्दै जाने हो । यी दईटा पोलिसी र क्षेत्रगत हिसाबले बीमाको क्षेत्र असाध्यै बढी छ । वर्तमान समयमा बीमा व्यवसायमा समस्या, जोखिम र अवरोध के-के छन् ? बीमा बजार नै अभिवृद्धि नै नहुनु बीमा व्यवसायका लागि चुनौति हो । साथै, भइरहेको बजार पनि संकुचन हुनु सबैभन्दा ठूलो चुनौति हो । ठूल्ठूला आयोजना तथा परियोजना, जलविद्युत आयोजनाको पुनर्बीमा राम्रोसँग र समयसीमा भित्र सम्पन्न नहुँदा ठूलो चुनौति र अवरोध श्रृजना भएको छ । सरकारले कृषि बीमा योजना अगाडि सारेको भएपनि अनुदान रकम समयमा प्राप्त नहुँदा रोक्नु पर्दा दुख लागेको छ । यो समस्या चाँडै समाधान भयो भने केही हदसम्म बीमा व्यवसाय सहज रूपमा अगाडि बढ्छ । बीमा कम्पनीहरूको संरक्षण र प्रवर्द्दनमा नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिका के हो ? बीमा प्राधिकरणले जारी गरेका नीति निर्देशनहरूलाई पूर्ण रूपले पालना गर्नुपर्छ । त्यसको लागि जनशक्ति उत्पादन गर्नुपर्छ । जनशक्तिलाई तालिम दिएर योग्य बनाउनुपर्छ । र, प्राधिकरणले बीमा कम्पनीका जनशक्तिलाई पनि योग्य बनाउनुपर्छ । त्यसपछि बीमा प्राधिकरण र बीमा कम्पनीहरूको काम गर्ने शैलीमा गुणात्मक परिवर्तन आउँछ । नियमसंगत काम गर्न सहज रहन्छ । बीमा सम्बन्धि जनचेतनालाई अभिवृद्धि गर्ने, दूरदराजमा बीमाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता र प्रभावकारीताका साथ अगाडि बढाउनुपर्छ । नयाँ अनट्याप सेक्टरको रिसर्च एण्ड डेभलपमेन्ट गरेर बीमा योग्य जोखिम पहिचान गरि बीमाको दायरा बढाउन सक्यो भने सबै लाभान्वित हुन सक्छन् ।
संसारकै लोकप्रिय पर्यटन गन्तव्य बन्यो अमेरिका, पछ्याउँदै स्पेन, जापान र फ्रान्स
काठमाडौं । वर्ल्ड इकोनोमिक फोरम (डब्लूईएफ) ले हालै ‘ट्राभल एन्ड टुरिज्म डेभलपमेन्ट इन्डेक्स’ (टीटीडीआई) सार्वजनिक गरेको छ । यो सूचकांकले यात्रा र पर्यटनका हिसाबले शीर्ष १० देशहरूलाई सूचीकृत गर्छ । यस सूचकांकमा सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा अमेरिका शीर्ष स्थानमा छ भने ‘पृथ्वीको स्वर्ग’ भनेर चिनिने युरोपेली देश स्विजरल्यान्ड १०औं स्थानमा छ । टीटीडीआई सूचकांकमा देशहरूको सूचीकरणले यात्रा र पर्यटन क्षेत्रमा दिगो विकासलाई बढावा दिने कारक र नीतिहरूलाई ध्यानमा राख्छ, जसले देशको विकासमा योगदान पुर्याउँछ । सन् २०२४ को लागि यस सूचकांकमा १ सय १९ देश समावेश गरिएको छ र विश्वका शीर्ष १० देशले सबैभन्दा बढी पर्यटक भित्र्याउने गरेका छन् । यी हुन् शीर्ष १० देश १. अमेरिका (स्कोर ५.२४) २. स्पेन (स्कोर (५.१८) ३. जापान (स्कोर ५.०९) ४. फ्रान्स (स्कोर ५.०७) ५. अस्ट्रेलिया (स्कोर ५.००) ६. जर्मनी (स्कोर ५.००) ७. बेलायत (स्कोर ४.९६) ८. चीन (स्कोर ४.९४) ९. इटाली (स्कोर ४.९०) १०. स्विजरल्यान्ड (स्कोर ४.८१) टीटीडीआई सूचकांकमा घुम्नैपर्ने शीर्ष पाँच देश अमेरिका अमेरिकामा स्ट्याच्यु अफ लिबर्टी, ग्रान क्यानन, ग्लेसियर नेसनल पार्क, येलोस्टोन नेसनल पार्क जस्ता ठाउँहरू घुम्नका लागि प्रसिद्ध छन् । यहाँ तपाईं सान फ्रान्सिस्को, लस एन्जलस, न्युयोर्क जस्ता सुन्दर सहरहरू पनि भ्रमण गर्न सक्नुहुन्छ । सन् २०२३ मा अमेरिकामा ८ करोड विदेशी पर्यटक आएका थिए, जसले देशको कुल गार्हस्थ उत्पादन ९जीडीपी० मा १८ खर्ब डलर योगदान पुगेको थियो । स्पेन आफ्नो विशेष वास्तुकलाका लागि प्रसिद्ध स्पेनमा तपाईं बार्सिलोना र ग्रानाडा जस्ता सहरहरू भ्रमण गर्न सक्नुहुन्छ । देशका समुद्र तटहरू धेरै सुन्दर छन् र यहाँका सबै चाडपर्वहरू पनि धेरै रंगीबिरंगी छन् । सन् २०२३ मा ७ करोड पर्यटक स्पेन घुम्न गएका थिए, जसबाट १ खर्ब ५० अर्ब डलर राजस्व संकलन भएको छ । जापान पर्यटकहरूलाई जापानका परम्परा र आधुनिक आविष्कारको अद्भुत संयोजन मनपर्छ । क्योटो सहरका मन्दिरहरू र टोकियो सहरका उज्यालो सडकहरू निकै प्रसिद्ध छन् । सन् २०२३ मा ३ करोड विदेशी पर्यटकले जापान घुमेका छन् । जसले देशको अर्थतन्त्रमा ३ खर्ब डलरको फाइदा पुगेको छ । फ्रान्स प्रतिष्ठित आइफेल टावरको देश फ्रान्स पर्यटकहरू माझ धेरै लोकप्रिय छ । यहाँको प्रोभेन्स क्षेत्रका गाउँहरू संसारको सबैभन्दा सुन्दर गाउँहरूमा गनिन्छन् । प्रत्येक वर्ष ८ करोड पर्यटकहरू फ्रान्स भ्रमण गर्छन् । जसबाट २ खर्ब डलर पर्यटन राजस्व संकलन हुन्छ । अस्ट्रेलिया प्राकृतिक सौन्दर्य र विभिन्न प्रकारका वन्यजन्तुहरूले भरिपूर्ण अस्ट्रेलियाले हरेक वर्ष ठूलो संख्यामा पर्यटकहरूलाई आकर्षित गर्छ । सिड्नी, मेलबर्न जस्ता सहरहरूमा यात्रा गर्दा तपाईंले फरक र अनुपम अनुभव प्राप्त गर्न सक्नुहुनेछ । सन् २०२३ मा अस्ट्रेलियामा ८० लाख पर्यटक आएका थिए जसले देशको अर्थतन्त्रमा ६० अर्ब डलरको फाइदा पुगेको थियो ।