भारतीय क्रिकेटर धोनीसँग साढे १० अर्बको सम्पत्ति, दर्जनौं व्यवसायमा लगानी
काठमाडौं । महेन्द्र सिंह (एमएस) धोनी भारतका सबैभन्दा धनी क्रिकेटर हुन् । उनको कुल सम्पत्ति १० अर्ब ४० करोड रुपैयाँभन्दा बढी छ । उनको उत्कृष्ट क्रिकेट करियरले उनको कमाइमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । यद्यपि, धोनीका धेरै यस्ता व्यवसाय र उद्यमहरूमा पनि लगानी छ, जसले उनको सम्पत्ति बढाउन मद्दत गरिरहेकाे छ । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान एमएस धोनी चर्चित कपडा ब्रान्ड ‘सेभेन’ का मालिक हुन् । उनले विज्ञापनबाट पनि मनग्ये आम्दानी गर्छन्। चेन्नई सुपर किङ्स स्टारसँगै उनका अन्य धेरै व्यवसायहरू छन् । धोनीको गृहनगर राँचीमा माही रेसिडेन्सी नामक मिड रेन्ज होटल छ। यो एयरबीएनबी, ओयो र मेक माई ट्रिप जस्ता लोकप्रिय हस्पिटालिटी प्लेटफर्महरूमा सूचीबद्ध छ । धोनीले बैंगलोरमा एमएस धोनी ग्लोबल स्कुल पनि खोलेका छन्। यो सीबीएसई अंग्रेजी माध्यमको विद्यालय हो । माइक्रोसफ्टका सत्य नाडेलासँग साझेदारी गरेर यस विद्यालयले विद्यार्थीहरूलाई फरक प्रकारको शैक्षिक अनुभव प्रदान गर्दछ । धोनीले बेभरेज ब्रान्ड र चकलेट कम्पनी सेभेन इंक ब्रुजमा पनि लगानी गरेका छन् । यसले धोनीको सिग्नेचर हेलिकप्टर शटबाट प्रेरित भएर कप्टर सेभेन लन्च गरेको थियो । क्रिकेट स्टार धोनीले ठूलो जिम चेन पनि चलाउँछन् । यसको नाम धोनी स्पोर्ट्सफिट हो । उनी यसका मालिक हुन् । यो जिम चेन देशभरि २ सयभन्दा बढी स्थानमा सञ्चालन छन् । धोनीले आफ्ना विभिन्न व्यावसायिक उद्यममार्फत क्रिकेट आइकनको रूपमा आफ्नो हैसियत मात्र सीमित गर्दैनन्, यसले उनलाई एक सचेत उद्यमीका रूपमा पनि स्थापित गरेको छ। एजेन्सी
चितवनमा एक अर्ब लगानीकाे रिसोर्ट सञ्चालन
चितवन । कालिका नगरपालिका–१ स्थित लंकालाइनमा १ अर्ब रुपैयाँभन्दा माथिको लगानीमा ‘मुनाल एण्ड मयूर’ रिसोर्ट सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहन अनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट सञ्चालन गर्दै आएका छन् । जहाँ बाह्य पर्यटक हेलिकप्टरमार्फत पुग्ने गर्दछन् ।उनले भने, ‘लंकालाइनमा सञ्चालित रिसोर्टको विशेषता भनेकै हिमाल, पहाड र तराई सबै भूगोलका परिकार, रहनसहन र संस्कृतिलाई एकै स्थानमा पस्किने नै हो ।’ रिसोर्टका अर्का सञ्चालक सुशील चौधरीका अनुसार स्वस्थ रहन रिसोर्टका सबै कोठामा ‘वेलनेस प्रविधि’ समेत जडान गरिएका छन् । उनले भने, ‘रिसोर्टलाई प्रविधि र सेवा सुविधाका दृष्टिकोणले उत्कृष्ट बनाउने प्रयास गरिएको छ, सबै भौगोलिक क्षेत्रअनुसारका संस्कृति, रहनसहन, जनजीवन झल्काउने तीन भिल्ला रिसोर्टमा छन्, पौडीपोखरी भिल्लाभित्रै छन्, एउटा भिल्ला सञ्चालनमा आइसकेको छ, दुई सञ्चालनको अन्तिम तयारीमा छन् ।’ उनका अनुसार दुई बिघा क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा थारु सांस्कृति झल्किने आठ कोठा पनि छन् । रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी मलेसियन नागरिक डोनाल्ड चले निर्वाह गरिरहेका छन् । उनले भने, ‘यो रिसोर्टलाई विश्वकै नमूना रिसोर्टमध्येको एक बनाउने प्रयासमा छौँ, संस्कृति, रहनसहन, जनजीवनअनुसारको परिकार त छँदै छ, यहाँभित्र पोलिक्लिनिकसमेत छ, विश्वमा बनेका आधुनिक उपकरणको प्रयोग गरेर एलोपेथी र नेचुरोपेथीको समिश्रणमार्फत उपचारको व्यवस्थासमेत गरिएको छ ।’ पर्यटन व्यवसायी लामा, चौधरी र राजेन्द्र महतोको साझेदारीमा सो रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाका अनुसार अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा रहेको छ भने निजी भिल्ला लिएर बस्ने पाहुनाले निजी स्वीमिङ पुल, साउना, ज्याकुचीलगायतको सुविधा पाउने छन् । यहाँ हिमाल वरपरको स्याउका परिकार, भिर मौरीको मह, यार्सागुम्बालगायत जडीबुटी, जडीबुटीबाट निर्मित तेल, हिमाली खाद्यान्न बिक्रीका लागि राखिएका छन् । व्यवसायी लामाले भने, ‘चितवनको थारु परिकार, जनजीवन रिसोर्टमा पाइन्छ, रिसोर्टमा हालसम्म ५० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । आगामी ६ महिनाभित्रमा पूर्णरुपमा सञ्चालन आउँदै गर्दा लगानी १ अर्बमाथि नै पुग्ने छ ।’ यहाँ आएका पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज, सिराइचुली, देवघाटलगायतका पर्यटकीय गन्तव्यमा घुमाउने व्यवस्था मिलाएको व्यवसायी चौधरीले बताए । हालै रिसोर्टको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुभारम्भ गरेका हुन् । रासस
साउन पहिलो साता मौद्रिक नीति आउँदै, ‘फ्लेक्जिबल मुड’मा गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन पहिलो सातामा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने किसिमले तयारी गालेको हो । उनका अनुसार राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि मौद्रिक नीतिको मस्यौदा निर्माण गरिरहेको छ । वर्तमान अर्थतन्त्रको अवस्था र यसलाई समाधानको बाटो दिने किसिमले मौद्रिक नीति बनिरहेको उनको भनाइ छ । ‘राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटिसकेको छ, अहिले मौद्रिक नीतिको मस्यौदा बनिरहेको छ, साउन पहिलो साता सार्वजनिक गर्ने किसिमले तयारी भइरहेको छ,’ डा. पोखरेलले विकासन्युजसँग भने । अहिले राष्ट्र बैंकले कृषि र साना तथा मझौला उद्यममा बढी प्राथमिकता दिएर नीति निर्माण गरिरहेको छ । वर्तमान अर्थतन्त्रमा संकचुन सिर्जना भएकोले यो समस्या समाधानका लागि अहिले राष्ट्र बैंकले विभिन्न सरोकारवालाहरूसँग छलफल पनि गरिरहेको छ । सरोकारवालासँग छलफल गरेर राष्ट्र बैंकले राय सुझाव संकलन पनि गरिरहेको छ । अहिले मौद्रिक नीतिमा माग राख्दै विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्ति तथा संघ संस्थाका पदाधिकारीहरू राष्ट्र बैंक पुगिरहेका छन् । बजारमा रहेको आर्थिक शिथिलता हटाउन बैंकरदेखि उद्योगी व्यवसायीको लर्को राष्ट्र बैंकमा लागिरहेको छ । अहिलेको मुख्य समस्या भनेको कर्जाको मागको हो । कर्जाको माग नहुँदा बैंकमा तरलता थुप्रिरहेको छ । राष्ट्र बैंकसामु नीतिगत व्यवस्थामार्फत् कर्जाको माग बढाउनु पर्ने चुनौती छ । यो समस्याको समाधानका लागि उद्योगी व्यवसायीले परियोजना धितोको माग राखिरहेका छन् । यस पटक गभर्नर अधिकारी पनि मौद्रिक नीतिमार्फत् केही नयाँपन दिन खोजिरहेका छन् । आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिमार्फत् उनी केही अविस्मरणीय कार्य गर्न खोजिरहेका छन् । उसो त उनी आफैं पनि विभिन्न सार्वजनिक कार्यक्रममा आगामी वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले अर्थतन्त्रको मार्गचित्र कोर्ने प्रयास गर्ने बताउँदै आएका छन् । मौद्रिक नीति आशा जगाउने गरी आउने उनी बताउँदै आएका छन् । सहप्रवाक्ता पोखरेल पनि यस पटकको मौद्रिक नीति सबैले चासोका साथ हेरेका बताउँछन् । गभर्नरको अन्तिम मौद्रिक नीति भएकोले पनि धेरैको चासो मौद्रिक नीतिमार्फत् के आउँछ भन्ने रहेको उनको भनाइ छ ।