अर्थसमितिमा गभर्नरदेखि सेयर बजारको चर्चा, ‘बजार एकाएक कसले उचाल्यो ?’

काठमाडौं । प्रतिनिधिसभाको अर्थसमिति बैठकमा सेयर बजारबारे छलफल भएको छ । बिहीबार बसेको बैठकमा सांसदहरुले सेयर बजारको विषयमा आफ्नो धारणा राखेका छन् । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले कम्पनीको वित्तीय स्थिति हेरेर लगानी गर्नु पर्ने बताए । ‘पुँजी बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि नियामक धितोपत्र बोर्ड, नेप्सेले सूक्ष्म निगरानी राख्दै अनुगमन नियमन गर्नुपर्छ’ लगानीकर्ता फस्नु हुँदैन,’ उनले भने । यस्तै, पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फरक व्यवहार देखाएको बताएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकारका पालामा कडा मौद्रिक नीति लिएको तर आफू निकट केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा निकै खुकुलो मौद्रिक नीति लिएको धारणा राखे । ‘पछिल्लो समय गभर्नर साबको व्यवहार, कार्यशैली फेरिएकै हो । नेपाली कांग्रेसको पालामा र नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारका पालामा उहाँले कडा मौद्रिक नीति ल्याएरै कसेकै हो । तर, अहिले उहाँ आफू निकट सरकार छ, प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहयोग गर्ने गरी खुकुलो मौद्रिक नीति लिनुभयो,’ उनले भने । उनले सेयर बजार बढ्नु राम्रो भएपनि पहिले नै सुधारका नीति लिनुपर्नेमा गभर्नरले रोक्ने काम गरेको उनले धारणा राखे । उनले सेयरकर्जाको सीमा पहिले नै हटाउनु पर्ने भएपनि अहिले हटाएर एमालेको सरकारलाई सहयोग गरेको बताए । यस्तै, बैठकमा सांसद सूर्यबहादुर थापाले पछिल्लो समय बजारमा देखिएको ठूलो आरोह अवरोहको विषयमा चर्चा गरे । उनले कसैको अभिव्यक्ति सेयर बजार घट्न र बढ्न नहुने धारणा पनि राखे । उनले पुँजी बजारको कमजोरी सुधार गर्दै अगाडि बढ्नु पर्ने धारणा राखे । यस्तै, बैठकमा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले चन्द्रागिरि हिल्स कम्पनीको बुक भ्यालु कम भएको अवस्थामा पनि यसको शेयरमूल्य प्रतिकित्ता १ हजार २०० रुपैयाँसम्म कसरी पुग्यो भन्दै प्रश्न गरे । उनले कमजोर कम्पनीको मूल्य पनि कसरी आकासिन्छ भन्ने प्रश्न गरे । सांसद नारायणी शर्माले सेयर बजारमा लगानीकर्ताहरुलाई कसरी जोगाउने भन्ने विषयमा सरकार चिन्तित बन्नुपर्ने धारणा राखिन् । उनले कहिले सेयर अप्रतयातिस बढ्ने र कहिले अप्रत्यासित घट्नेभित्रको कारण पत्ता लगाउनु पर्ने बताइन् । उनले हालसम्म धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुन नसक्नु विडम्वना रहेको तर्क राखिन् । त्यस्तै सासंद छिरिङ लामाले पनि सेयर बजार एकाएक बढ्ने र एकाएक घट्ने कसरी हुन्छ भन्ने जिज्ञासा राखिन् । सांसदहरुले सेयर बजारमा देखिएका इन्साइडर ट्रेडिङदेखि अन्य समस्याहरु सुधार गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् ।

सकसपूर्ण बीमा दाबी भुक्तानी, कम्पनीहरूले दुःख दिँदा नियामक धाउने बढे

काठमाडौं । बीमा दाबी भुक्तानी नपाएर नेपाल बीमा प्राधिकरणमा उजुरी दिनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बीमा कम्पनीहरू जवाफदेही नहुँदा र आम जनताले बीमाका नियम तथा सर्तहरू नबुझ्दा प्राधिकरणमा उजुरीको चाङ लागेको हो । बीमा भनेको परम विश्वासको अवधारणमा चल्ने विषय हो । अर्थात बीमित र बीमकबीच परम विश्वास हुन्छ भन्ने अवधारणा हो । यो अवधारणा विश्वका देशहरूमा सायदै सत्य सावित होला । तर, नेपालको सन्दर्भमा भने बीमा परम अविश्वासको अवधारणा अन्तर्गत सञ्चालन भएको हो कि भन्ने जस्तो परिदृश्य बनिरहेको छ । भलै बीमा धोकाधडी भने विश्वका जुनै पनि देशमा नहुने होइन । तर, दाबी भुक्तानीको सन्दर्भमा भने विदेशी कम्पनीहरू जवाफदेही नै हुने बीमाका जानकारहरू बताउँछन् । नेपालका कम्पनीहरूले समयमा दाबी भुक्तानी नदिँदा बीमितहरू प्राधिकरणको शरणमा पुग्ने गरेको बीमा विज्ञ भोजराज शर्मा बताउँछन् । ‘केही कम्पनीहरूले कुनै विषय देखाएर दाबी भुक्तानीमा झुलाउने, ढिला गर्ने र सकभर दिन नपरे हुन्थ्यो भन्ने सोचले गर्दा प्राधिकरणको शरणमा बीमितहरू पुगेका हुन्,’ उनी भन्छन् । उसो त उनले यसरी प्राधिकरणमा उजुरी बढ्नुमा बीमा कम्पनीहरूको मात्र दोष भने नरहेको बताउँछन् । उनका अनुसार बीमितहरूमा पनि बीमा गर्दाको बीमालेख र त्यसको सर्तहरू नबुझेर पनि दाबी भुक्तानी दिलाइदिन गुहार गर्दै प्राधिकरण पुग्छन् । यसैगरी केही बीमितहरूले फ्रड गरेर, केहीले बुझेर पनि प्राधिकरणमा जादाँ केही प्राप्त हुन्छ कि भन्ने सोचेर पनि उजुरी दिने गरेको विज्ञ शर्मा बताउँछन् । प्रचुर मात्रामा आम जनतालाई बीमासम्बन्धी शिक्षा दिएर, बीमा बारे सबैलाई सचेत गराएर र कम्पनीहरू पनि जवाफदेही भएर अघि बढ्दा यसरी उजुरी दिनेको संख्या घट्ने उनको भनाइ छ । कम्पनीले अत्यावश्यक कागजातका आधारमा केही भुक्तानी तत्कालै दिनुपर्ने उनको धारणा रहेको छ । बीमा क्षेत्रको नियामक प्राधिकरणले प्रभावकारी रुपमा नियमन तथा कमजोरी गर्ने कम्पनीलाई कारवाही नगर्दा पनि कम्पनीहरुको मनोमानी बढेको बीमाका जानकारहरु बताउँछन् । बीमकहरू भने बीमा कम्पनीहरूको कुनै कैफियत नरहेको दाबी गर्छन् । बीमा कम्पनीहरूको छाता संस्था नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री दाबी भुक्तानीको शन्दर्भमा बीमा कम्पनीहरूमा कुनै समस्या नभएको दाबी गर्छन् । सगरमाथा लुम्बिनी इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका क्षेत्रीले बीमितहरूले बीमाको नियम तथा सर्तहरू नबुझेर प्राधिकरण धाउने गरेको बताए । उनले बीमा फ्रडका कारण पनि प्राधिकरणमा उजुरी बढेको हुन सक्ने अनुमान प्रस्तुत गरे । प्राधिकरणमा उजुरीको चाङ अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आव २०८०/०८१ मा उजुरीको संख्या ५७.४१ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार अघिल्लो आवमा १५५ वटा उजुरी परेका थिए भने गत आवमा २४४ वटा उजुरी परेका छन् । आव २०७५/०७६ मा १०० वटा उजुरी परेको प्राधिकरणमा आव ०७६/०७७ मा उजुरीको संख्या २६ प्रतिशतले बढेर १२६ वटा उजुरी परेको थियो । त्यसैगरी ०७७/०७८ मा १३७, ०७८/०९७ र ०७९/०८० मा समान १५५ वटाका दरले उजुरी परेको थियो । आव २०७५/०७६ मा ८५ वटा उजुरी परेको प्राधिकरणमा आव ०७६/०७७ मा ९१, आव ०७७/०७८ मा ९३, आव ०७८/०९७ मा १५२, आव ०७९/०८० मा समान १४९ र आव २०८०/०८१ मा १५० वटा उजुरी फर्छ्यौट गरेको छ । अझै १८७ वटा उजुरी फच्छ्र्यौट गर्न बाँकी रहेको प्राधिकणले जनाएको छ । फर्छ्यौट नभएका उजुरीहरू क्रमशः आउँदा वर्षहरूमा सर्दै जान्छ । र, फैसला पनि आउँदा वर्षहरुमा नै हुने गर्दछ । कर्मचारी अभावका कारण प्राधिकरणले समयमा उजुरीहरूलाई फर्छ्यौट गर्न नसकेको बताएको छ । प्राधिकरणको उजुरी शाखामा अहिले एक उप-निर्देशक र २ जना सहायक निर्देशक गरी जम्मा ३ जनाको दरबन्दी छ । प्राधिकरणमा विगत ५ वर्षदेखिका केही उजुरीहरु फर्छ्यौट हुन बाँकी नै छ । प्राधिकरणले मानिसहरुमा जनचेतनाको कमीका कारण उजुरीको संख्या बढ्ने गरेको बताएको छ । प्राधिकरणकी सहायक गुनासो अधिकारी रन्जिता केसीले बीमितहरुले बीमाको सर्तहरु नबुझी पोलिसि खरिद गर्ने लहडले उजुरी बढ्को बताइन् । ‘बीमा गर्दा सर्तहरु हुन्छन् । मानिसहरु बीमा गरेपछि पैसा पाइन्छ भन्ने बुझ्छन् । त्यसको सर्तहरुलाई ध्यान दिँइदैनन् । यसकारणले पनि उजुरी बढ्ने गरेको छ,’ उनले भनिन् । प्राधिकरणले अहिले प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । उक्त कार्यलय विस्तारसँगै जनतालाई कम्पनीविरुद्ध असन्तुष्टि भएमा उजुरी दिन सकिन्छ भरेर प्राधिकरणले सुसूचित गराएको उनले उल्लेख गरिन् । यसरी जनताहरू थप सचेत भएर पनि उजुरीको संख्या बढेको उनको भनाइ छ ।

हेलिकप्टर दुर्घटना : समितिको बैठकमा पाइलटको दोष रहेको चर्चा, ‘हेलिकप्टर थोत्रो हो कि सिस्टम थोत्रो ?’

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाइलटको दोष रहेको चर्चा भएको छ । घटनाबारे छलफल गर्न बिहीबार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यस घटनामा पाइलटको दोष रहेको बताएका हुन् । सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट (भीएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको उनकाे दाबी छ । महानिर्देशक अधिकारीले भीएफआरको अनुमति विपरित हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेस गरे । उनले भने, ‘टावरबाट सम्पर्क विच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअरअनुसार नै खोजी गर्‍यौं, जबसम्म हामी क्रयास साइट आइडेन्टिफाई हुँदासम्म हिजोको मौसमको अवस्था पनि त्यस्तै थियो, तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउना साथ खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो ।’ उनले प्रारमम्भिक अनुसन्धानमा खराब मौसम हुँदाहुँदै हेलिकप्टर प्रवेश गरेको र खराब मौसम देखिएपछि काठमाडौं नै फर्कने बेला हेलिकप्टर दुर्घटनामा परेको देखिने बताए । उनले भने, ‘ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादल भित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ, यो चाहीँ पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो, यो कानुनले बर्जित गरेको विषय हो, यो रुटकज भनेको चाहिँ भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा, यसको डिटेल इन्भेष्टिगेसन सरकारले गठन गरेको आयोगले नै बताउला । ’ यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले मौसम खराबका कारण काठमाडौं फर्किन खोज्दा हेलिकप्टर बादलभित्र छिरेको र सोही बेला दुर्घटना भएको हुन सक्ने उनुमान बैठकमा प्रस्तुत गरेका छन् । उनले हेलिकप्टर देब्रेतर्फ मोडिन खोज्दा खसेको हुन सक्ने धारणा राखे । ‘मौसम अनुकुल भएन भनेर पाइलटले हेलिकप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिन्छ,’ मन्त्री पाण्डेले समितिको बैठकमा भने । उनका अनुसार फर्किने बेला देब्रेतिर मोडिन खोज्दा बुट्यानहरु काटिएको देखिन्छ । त्यसपछि अलि पर दायाँतिरका बुट्यानहरु काटिएका छन् । त्यतातिर त्यतातिर झोलाहरु र जुत्ताहरु खसेको देखिन्छ । त्यसको करिब ५० मिटर पर पुगेपछि हेलिकप्टर भुइँमा जोतिएर जलेको देखिएको उनको भनाइ छ । बैठकमा मौसम खराब भएको समयमा उडान अनुमति किन दिइयो भन्ने प्रश्न उठेको छ । तर, महानिर्देशक अधिकारीले त्यतिबेला मौसम सफा रहेको प्रतिक्रिया दिएका छन् । सांसद प्रभु साहले नेपालको हवाई क्षेत्र सुरक्षित छैन भन्ने आशङ्का केही दिनयताका घटनाले पुष्टि गर्दै गएको बताउँदै यसलाई सुधार गर्नुपर्ने बताए । ‘केही व्यक्तिहरू यसलाई ढाकछोप गर्नुपर्छ भन्नुहुन्छ । तर ढाकछोप होइन सुधार गर्नुपर्छ’, उनले भने,‘एक महिनामा यसरी दुर्घटना हुनु भनेको हाम्रो सरकारी निकाय साँच्चै घामड रहेछ भन्ने देखिन्छ, उनले प्रश्न गर्दै भने, ‘यो दुर्घटना हेलिकप्टर थोत्रो हो कि हाम्रो सिस्टम थोत्रो हो ।’ उनले आफै हेलिकोप्टर नउड्ने भन्दै नियमनकर्ताले जिम्मेवारी लिनुपर्ने बताए ।