जापानमा आफ्नैहरूबाट ठगिन्छन् नेपाली विद्यार्थी, कोठा पाउन मुस्किल
जापान । नेपाली विद्यार्थीहरूको शैक्षिक गन्तव्यका रूपमा पछिल्लो समय जापान अग्रस्थानमा आउँछ । जापानमा आएर अध्ययन तथा काम गर्ने नेपाली विद्यार्थीहरूको संख्या बढ्दै गएको छ । हाल करिब ६० हजार नेपाली विद्यार्थी जापानका विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययनरत रहेको विभिन्न सरकारी तथ्यांकले देखाउँछ । विद्यार्थीले अनुमति लिएर सातामा २८ घण्टासम्म काम गर्दै भाषा तथा व्यावसायिक शिक्षा लिन सक्ने सुविधा भएकोले पनि जापानमा आउने नेपाली विद्यार्थीको संख्या बढेको हो । यो सुविधाले नै नेपाली विद्यार्थीलाई आकर्षित गरिरहेको छ । भाषा तथा सिप विकास भइसकेपछि रोजगारीका अवसरहरू प्रशस्त भएकोले पनि नेपाली यहाँका विभिन्न शहरमा आउने गरेका छन् । अवसरहरू राम्रो भएपनि पछिल्लो समय विद्यार्थीको संख्या बढेसँगै गलत क्रियाकलापले पनि प्रशय पाइरहेका छन् । पछिल्लो समय नेपाली विद्यार्थीले नेपालीलाई नै ठग्ने गलत क्रियाकलाप जापानमा बढेका छन् । रोजगारीको अभाव, भाषा र सिपको कमीले नेपाली विद्यार्थीले नेपालीलाई नै ठगी गर्ने घटनाहरू बढ्दै गएका हुन् । जापानको फुकुओका सहर अवस्थित निसिनिहोन कोकुसाई निहोंगो गाक्कोमा अध्ययनरत केही नेपाली विद्यार्थीले आफ्नै देशका नागरिकबाट ठगीमा परेको गुनासो गरेका हुन् । पीडित विद्यार्थीहरूको भनाइअनुसार उनीहरूलाई कोठा खोजिदिने बहानामा ठूलो रकम असुलेर ठगिएको हो । उनीहरूले होस्टलबाट कोठा खोज्दा एक नेपाली दिदीको सहयोग मागेको तर उनले ठूलो रकम असुलेर सम्पर्कविहीन भएको पीडित एक विद्यार्थीले भने । ‘हामीले जापानमा सहयोग गर्ने गरेको सुनेर परिचित नेपाली दिदी (युमी गुरुङ) सँग सहयोग माग्यौं । तर, उनले जनक थापा र उमेश तामाङ नामका व्यक्तिसँग सम्पर्क गराइन्, उनीहरूले हाम्रो जाइरो कार्ड र इनकान समेत लिए । कोठा नखोजेर पैसा लिएर सम्पर्कविहीन बने,’ ती विद्यार्थीले गुनासो गरे । कोठा व्यवस्थापनको क्रममा नक्कली कागजात बनाइ विद्यार्थीहरूलाई कोठा सारिएको थियो । उनीहरूले बैंकबाट भाडा काटिने र पानी निःशुल्क हुने आश्वासनसमेत दिएका थिए । तर, पछि पानीको बिल अरूकै नाममा अएको र रुम भाडा नगदमा मागिएको उनीहरूको भनाइ छ । आफूहरूले आफ्नो गाक्कोमा गएर कागजात देखाउँदा नेपाली शिक्षकले कागजात नक्कली भएको जानकारी दिए । पछि उनीहरूले प्रहरीलाई पनि खबर गरेको बुझिएको छ । प्रहरीले अनुसन्धान गर्दा रकम ठगी गर्ने नियतका साथ उनीहरूले आपतकालीन सम्पर्क नम्बर र पानी–बिजुलीमा मनलाग्दी नाम राखेको फेला परेको छ । उनीहरूका अनुसार उनीहरूले ४ लाख रुपैयाँसम्म ठगी गरेका छन् । पछि प्रहरीको सहयोगमा ठगी गर्नेले पैसा फिर्ता गरिसकेको पनि बुझिएको छ । उनीहरूले अरूलाई पनि यस्तो ठगीबाट बच्न आग्रह गरेका छन् । जापान कानूनी रूपमा निकै सशक्त देश भएकोले ठगीको शिकार भएर चुप बस्नुभन्दा कानूनी सहायता लिनु नै उचित हुने राय उनीहरूको छ । जापानमा नेपाली विद्यार्थीहरू अलपत्र पर्ने, हराउने तथा चोरी डकैतीको शिकार बन्ने गरेका घटनाहरू बेला बखत सार्वजनिक हुने गरेका छन् । यसबाट बच्नका लागि विद्यार्थीलाई सरोकारवालाले सुझाव दिएका छन् ।
वैदेशिक रोजगार बीमाको पुलले चार कम्पनीलाई फाइदैफाइदा, ६ कम्पनी मारमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई पुल प्रणालीमा लैजान केही साताअघि एउटा मोडालिटी निर्माण गर्यो । चालु आर्थिक वर्ष २०८१/०८२ को सुरुदेखि नै पुल प्रणाली लागू गर्नेगरी प्राधिकरणले निर्देशिका नै बनायो । वैदेशिक रोजगार म्यादी बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै प्राधिकरणले पुल प्रणाली लागू गरेको जनाएको छ । वैदेशिक रोजगार म्यादी बीमाको व्यवसाय पाउन बीमा कम्पनीहरूसँग म्यानपावर कम्पनीले कमिसन लिने गरेको भन्दै यस व्यवसायलाई पुल प्रणालीमा लैजानुपर्ने धारणा केही जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले गर्दै आएका थिए । यस्तै, अन्य केही कम्पनीका सीईओहरूले भने म्यानपावर कम्पनीसँग ती जीवन बीमा कम्पनीले उधारोमा पोलिसी बिक्री गरेको आरोप लगाएका थिए । म्यानपावरले उक्त उधारो तिर्न आनाकानी गरेपछि पुल प्रणालीमा जान उनीहरूले दबाब सिर्जना गरेको आरोप पनि छ । बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्ने निचोड निकालेर प्राधिकरणले पुल प्रणाली नै लागू गर्यो । कस्तो छ मोडालिटी ? प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशन, २०८१ सार्वजनिक गरेको छ । सो निर्देशनअनुसार अब कुनै पनि कम्पनीले जति नै व्यवसाय गरे पनि त्यसको ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्छ । एक प्रतिशत भने प्रशासनिक, उक्त पोलिसी जारी गर्दा लाग्ने खर्चलगायत खर्चका लागि कम्पनीले स्वयं आफैले राख्न पाउँछ । यसैगरी, सबै कम्पनीले आफूले संकलन गरेको बीमाशुल्कको बाँकी ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्ने निर्देशनमा भनिएको छ । उक्त पुलमा जम्मा भएको रकमको ३१ प्रतिशत रकम सबै बीमा कम्पनीहरूले आफूले गरिएको व्यवसायको अनुपातमा विभाजन हुन्छ । त्यसैगरी, बाँकी ६९ प्रतिशत रकम यस बीमा व्यवसाय गर्ने सबै कम्पनीलाई बराबर भाग हुन्छ । निर्देशनअनुसार चालु आवका लागि १५ वटा कम्पनीले यस व्यवसाय गर्न इच्छुक रहेकाले उनीहरूलाई त्यो ६९ प्रतिशत रकम बराबर अर्थात ४.६० प्रतिशतका दरले बाँढिन्छ । त्यस्तै, आव २०८२/०८३ मा संकलन गरेको रकमको १ प्रतिशत स्वयं कम्पनीले राख्ने र ९९ प्रतिशत पुलमा जम्मा गर्नुपर्छ । पुलमा जम्मा गरिएको रकमको ८५.५० प्रतिशत रकम सबै बीमा कम्पनीलाई बराबर भाग लाग्छ । बाँकी १४.५० प्रतिशत भने कम्पनी व्यापार गरेको अनुपातमा भाग लाग्छ । त्यस्तै, आव ०८३/०८४ मा भने पुलमा जम्मा गरिएको सबै रकम सबै कम्पनीलाई बराबर भाग लाग्छ । यसो गर्दा केही धेरै व्यवसाय गर्ने कम्पनीहरूले आफूले संकलन गरेको रकम पनि अन्य कम्पनीलाई बाँढिन्छ । कम व्यवसाय गर्ने अर्थात तुलनात्मक रूपमा कम बीमाशुल्क संकलन गर्ने कम्पनीले आफूले गरेको व्यवसायभन्दा बढी थप रकम प्राप्त गर्ने अवस्था सिर्जना हुन्छ । अर्थात् केही कम्पनीलाई यस प्रणालीले फाइदा र केही कम्पनीलाई यसले घाटा पुर्याएको बीमाका जानकारहरू बताउँछन् । कति हुन्छ नाफा-घाटा ? कुन कम्पनीलाई यो प्रणालीबाट कति फाइदा र कुन कम्पनीलाई कति घाटा भनेर विश्लेषण गर्नुपूर्व नेपालमा हाल कति जीवन बीमा कम्पनी छन् ? त्यसमध्ये गत चालु आवमा कुन-कुन कम्पनीले यो बीमा पोलिसी जारी गरे ? कुन-कुन कम्पनीले गरेनन् ? भन्ने कुरा बुझ्नु जरुरी छ । हाल नेपालमा तीन लघु जीवन बीमा कम्पनी छन् । १४ वटा ठूला जीवन बीमा कम्पनी छन् । समग्रमा १७ जीवन बीमा कम्पनी छन् । विदेशी २ जीवन बीमा कम्पनी मेट लाइफ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले भने यो पोलिसी जारी नगर्ने भएका छन् । तसर्थ यो पोलिसि जारी गर्ने कम्पनीको संख्या १५ वटा रह्यो । कुन कम्पनीलाई कति फाइदा भन्नुपूर्व यो पोलिसी जारी गर्ने कम्पनीले गत आवमा गरेको कारोबारका आधारमा यहाँ विश्लेषण गरिएको छ । गत आवमा १५ मध्ये हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगार म्यादी बीमा पोलिसी बिक्री गरेका थिएनन् । यसैगरी, तीन लघु जीवन बीमाहरू गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले पनि गत वर्ष याे पोलिसी बिक्री गरेका थिएनन् । तयी कम्पनीहरूलाई पुल प्रणालीले घाटा हुन्छ या नाफा हुन्छ भनेरे विश्लेषण गर्ने आधार नै छैन । यीबाहेक गत आवमा १० जीवन बीमा कम्पनीले वैदेशिक रोजगार पोलिसी बिक्री गरेका थिए । अब हामीले कुन कम्पनीलाई कति नाफा वा घाटा भनेर विश्लेषण गर्न गत वर्षको तथ्यांकलाई केलाएर विश्लेषण गर्नेछाैं । उल्लेखित तथ्यांकअनुसार गत वर्ष ३ अर्ब १२ करोड ६८ लाख रुपैयाँ वैदेशिक रोजगारी म्यादी जीवन बीमाबापत बीमा शुल्क संकलन भएको रहेछ । यही तथ्यांकलाई आधार मानेर हिसाब गर्दा उक्त रकमको ९९ प्रतिशत रकम बीमा पुलको कोषमा जम्मा हुन्छ । अर्थात् ३ अर्ब ९ करोड ५५ लाख रुपैयाँ पुलमा जम्मा हुन्छ । सो पुलमा जम्मा गरिएको रकमको ३१ प्रतिशत अर्थात ९५ करोड ९६ लाख रुपैयाँ कम्पनीको व्यापारको अनुपातमा भाग गरिन्छ । बाँकी ६९ प्रतिशत अर्थात २ अर्ब १३ करोड ५८ लाख रुपैयाँ १५ कम्पनीलाई बराबर भाग लगाइन्छ । यो रकम १५ कम्पनीलाई भाग गर्दा एक कम्पनीको भागमा १४ करोड २३ लाख ८६ हजार रुपैयाँ हुन जान्छ । सन नेपाल लाइफ सन नेपालले गत आवमा ८६ करोड ३० लाख ४९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । त्यसको एक प्रतिशत अर्थात ८४ लाख ३० हजार कम्पनीले खर्च कटाएर बाँकी ८३ करोड ४६ लाख १८ हजार रुपैयाँ पुलमा जम्मा गरिदिन्छ । यस कम्पनीले पुलको ६९ प्रतिशत अर्थात २ अर्ब १३ करोड ५८ लाख रुपैयाँबाट १४ करोड २३ लाख ८६ हजार प्राप्त गर्छ । र, ३१ प्रतिशत अर्थात् ९५ करोड ९६ लाख रुपैयाँको २६.९६ प्रतिशत रकम प्राप्त गर्छ । सो बापत २५ करोड ८७ लाख रुपैयाँ प्राप्त गर्छ । समग्रमा सन नेपालले ८४ लाख ३० हजार, १४ करोड २३ लाख ८६ हजार र २५ करोड ८७ लाख गरी कुल ५० करोड ५७ लाख ३८ हजार रुपैयाँ प्राप्त गर्छ । यहाँ कम्पनीलाई ३३ करोड ७३ लाख १० हजार रुपैयाँ घाटा भएको देखिएको छ । नेपाल लाइफ नेपाल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत बापत ६२ लाख ०८ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट १९ करोड ४ लाख ८० हजार गरी कुल ३३ करोड ९० लाख ७४ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ६२ करोड ८ लाख ६ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात् कम्पनीलाई २८ करोड १७ लाख ३१ हजार रुपैयाँ घाटा लागेको छ । आइएमई लाइफ आइएमई लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत बापत ३५ लाख ३५ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट १० करोड ८४ लाख ३४ हजार गरी कुल २५ करोड ४३ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ३५ करोड ३५ लाख ७३ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ९ करोड ९२ लाख १७ हजार रुपैयाँ घाटा हुने भएको छ । एशियन लाइफ एशियन लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत ३० लाख ३१ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ९ करोड २९ लाख ८५ हजार गरी कुल २३ करोड ८४ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले ३० करोड ३१ लाख ४० हजार बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ६ करोड ४७ लाख ३७ हजार रुपैयाँ घाटा हुने भएको छ । नेशनल लाइफ नेशनल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २७ लाख १ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ८ करोड २८ लाख १३ हजार गरी कुल २२ करोड ७९ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २७ करोड १ लाख ११ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ४ करोड २२ लाख ११ हजार रुपैयाँ घाटा हुने भएको छ । सूर्यज्योति लाइफ सूर्यजोति लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २५ लाख रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ७ करोड ६६ लाख ७२ हजार गरी कुल २२ करोड १५ लाख रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २५ करोड ८६ हजार बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई २ करोड ८५ लाख २७ हजार रुपैयाँ घाटा हुने भएको छ । सानिमा रिलायन्स लाइफ सानिमा रिलायन्स लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत २० लाख ५६ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ६ करोड ३० लाख ४५ हजार गरी कुल २१ करोड १० लाख ४३ हजार रुपैयाँ प्राप्त गर्छ । कम्पनीले २० करोड ५६ लाख बीमाशुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ५६ लाख ३१ हजार रुपैयाँ नाफा हुने देखिएको छ । रिलायबल लाइफ रिलायबल लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १७ लाख ८० हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ५ करोड ४६ लाख १ हजार गरी कुल १९ करोड ८७ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १७ करोड ८० लाख बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई २ करोड ७ लाख ६६ हजार रुपैयाँ फाइदा हुने देखिएको छ । सिटिजन लाइफ सिटिजन लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १० लाख ५ हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ३ करोड ८ लाख गरी कुल १७ करोड ४१ लाख ९४ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १० करोड ५ लाख बीमा शुल्क संकलन गरेको थियो । अर्थात कम्पनीलाई ७ करोड ३६ लाख २२ हजार रुपैयाँ फाइदा हुने देखिएको छ । प्रभु महालक्ष्मी लाइफ प्रभु महालक्ष्मी लाइफलाई आफ्नो व्यवसायको एक प्रतिशत वापत १ लाख ८० हजार रुपैयाँ, पुलमा जम्मा भएको ६९ प्रतिशत रकमबाट भागमा पर्ने रकम १४ करोड २३ लाख ८६ हजार रुपैयाँ र ३१ प्रतिशतबाट प्राप्त हुने रकमबाट ५६ लाख ६१ हजार गरी कुल १४ करोड ८२ लाख २७ हजार रुपैयाँ प्राप्त हुने देखिएको छ । कम्पनीले १८ लाख ७८ हजार बीमा शुल्क संकलन गरेको थियो । अर्थात् कम्पनीलाई १४ करोड ६३ लाख ५३ हजार रुपैयाँ फाइदा हुने देखिएको छ ।
यी हुन् विश्वका १० महँगा कलेज, कति लाग्छ शुल्क ?
काठमाडौं । आजभोलि विश्वभरका विद्यार्थी आफ्नो अध्ययनको सिलसिलामा विभिन्न देशमा पुग्छन् । नेपालका विद्यार्थी पनि आफूलाई मन परेको विषय पढ्न विभिन्न देशमा पुगेका छन् । विशेषगरी नेपाली विद्यार्थीको प्रमुख गन्तव्यमा जापान, अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका देश रहेका छन् । कतिपय विद्यार्थी विश्वका महँगा कलेजमा पनि अध्ययन गरिरहेका छन् । कतिपय विद्यार्थीलाई कुन कलेज कति महँगा छन् र त्यहाँ कस्ता विषयहरू पढाइ हुन्छन् भन्ने थाहा नहुन सक्छ । अझ कतिपयलाई आफूले पढ्न चाहेको विषय पढ्दा कति पैसा लाग्छ भन्नेसमेत थाहा भएको हुँदैन । आउनुहोस् आज हामी विश्वका १० कलेज जहाँ पढाइ हुने विषय र पढ्दा लाग्ने खर्चबारे छाेटकरीमा चर्चा गर्नेछाैं । हार्वी मड कलेज हार्वी मड कलेज संसारको सबैभन्दा महँगो कलेज हो । यो संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको क्लेयरमोन्टमा अवस्थित निजी लिबरल आर्ट्स कलेज हो । यस कलेजलाई विज्ञान, इन्जिनियरिङ, गणित, र कम्प्युटर विज्ञानमा केन्द्रित शिक्षा प्रदान गर्ने संस्थाको रूपमा चिनिन्छ । यो एउटा यस्तो कलेज हो जसले आफ्ना सबै विषयहरूमा स्नातक तहको विज्ञान बिएस्सी उपाधि प्रदान गर्छ । यो कलेजमा पढ्न वार्षिक शुल्क ८० हजार ३६ अमेरिकी डलर तिर्नुपर्छ । कलेजमा ९ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । ९ सय जना फ्याकल्टीज (संकाय सदस्य) कार्यरत छन् । यहाँ जीवविज्ञान, रसायन विज्ञान, कम्प्युटर विज्ञान, इन्जिनियरिङ, गणित र भौतिक विज्ञान अध्ययन गराइन्छ । यो कलेज सन् १९५५ मा स्थापना भएको हो । कोलम्बिया विश्वविद्यालय कोलम्बिया विश्वविद्यालय संसारको दोस्रो सबैभन्दा महँगो कलेज हो । यहाँ अध्ययन गर्ने विद्यार्थीले वार्षिक ७१ हजार १ सय ७ अमेरिकी डलर तिरिरहेका छन् । यो अमेरिकाको न्यूयोर्क सिटीमा अवस्थित एउटा निजी आइवी लिग अनुसन्धान विश्वविद्यालय हो । यसलाई देशको सबैभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालमध्ये एकमा चिनिन्छ । कोलम्बिया विश्वविद्यालयमा करिब ३३ हजार विद्यार्थी र ४ हजार फ्याकल्टीज छन् । यो विश्वविद्यालय १७५४ मा बेलायतका राजा जर्ज द्वितीयको शाही चार्टरद्वारा किंग्स कलेजको रूपमा स्थापना गरिएको थियो । साथै यो अमेरिकी क्रान्तिअघि स्थापना गरिएका नवउपनिवेशकालीन कलेजहरूमध्ये एक हो । यहाँ वास्तुकला, व्यवसाय, इन्जिनियरिङ, पत्रकारिता ,कानुन, चिकित्सा अध्यापन गराइन्छ । अमेरिकाका ४४औं राष्ट्रपति बाराक ओबामा, अमेरिकाका संस्थापक सदस्य अलेक्जन्डर ह्यामिल्टन र अर्बपति वारेन बफेटले पनि यही कलेजमा पढेका हुन् । ब्राउन विश्वविद्यालय ब्राउन विश्वविद्यालय संसारको तेस्रो सबैभन्दा महँगो कलेज हो । यहाँ अध्ययन गर्न विद्यार्थीले वार्षिक ७० हजार ४ सय २५ डलर तिर्नुपर्छ । यो अमेरिकाको रोड आइल्याण्डको प्रोभिडेन्समा अवस्थित एउटा निजी आइवी लिग अनुसन्धान विश्वविद्यालय हो । यस विश्वविद्यालयलाई यसको लचिलो पाठ्यक्रमको लागि चिन्ने गरिन्छ । कलेजले विद्यार्थीलाई आफ्नै अध्ययन योजना बनाउन अनुमति दिन्छ । ब्राउन विश्वविद्यालयमा करिब १० हजार विद्यार्थी र ७ सय फ्याकल्टीज छन् । यस कलेजको स्थापना १७६४ मा ‘कलेज इन द इङ्ग्लिश कालोनी अफ रोड आइल्याण्ड एण्ड प्रोभिडेन्स प्लान्टेशन’ को रूपमा भएको थियो । यो पनि अमेरिकी क्रान्तिअघि चार्टर प्राप्त नौ उपनिवेशकालीन कलेजहरूमध्ये एक हो । यहाँ मानवशास्त्र,अर्थशास्त्र, इतिहास, स्नायुविज्ञान, दर्शनशास्त्र, मनोविज्ञानको पढाइ हुन्छ । युनिभर्सिटी अफ सिकागो युनिभर्सिटी अफ सिकागो संसारको चौंथो सबैभन्दा महँगो कलेज हो । जसमा वार्षिक शुल्क ६९ हजार ९ सय ६० डलर रहेको छ । यो अमेरिकाको सिकागोमा अवस्थित एउटा निजी अनुसन्धान विश्वविद्यालय हो । यसलाई शैक्षिक कठोरता, बौद्धिक विविधता र नवीनताका लागि चिनिन्छ । यस विश्वविद्यालयमा करिब १ हजार ७ सय विद्यार्थी र २ हजार ३ सय संकाय सदस्य छन् । १८९० मा यो विश्वविद्यालयको स्थापना प्रसिद्ध व्यवसायी र परोपकारी जोहन डी. रकफेलरले गरेका थिए । युनिभर्सिटी अफ सिकागो एसोसिएसन अफ अमेरिकन युनिभर्सिटिजका संस्थापक सदस्यहरूमध्ये एक हो । डार्टमाउथ कलेज यो कलेज विश्वको पाँचौं सबैभन्दा महँगो कलेजका रूपमा चिनिन्छ । यहाँ पढ्न वार्षिक शुल्क ६९ हजार ८ सय ७९ डलर लाग्छ । यो अमेरिकाकाे न्यू ह्याम्पशायरकाे एक निजी आइवी लीग अनुसन्धान विश्वविद्यालय हो । यो उदार कला शिक्षा, स्नातक फोकस र बाहिरी गतिविधिहरूको लागि परिचित छ । यसमा लगभग ७ हजार विद्यार्थी र ६ सय संकाय सदस्य छन् । कलेजको स्थापना १७६९ मा मण्डलीका मन्त्री इलिजर व्हीलकद्वारा गरिएको थियो । यो अमेरिकी क्रान्तिअघि चार्टर्ड नौ औपनिवेशिक कलेजहरू मध्ये एक हो। यो कलेजमा जीवविज्ञान, इन्जिनियरिङ, संगीत, मनोविज्ञान, थिएटर आदिकाे अध्यापन गराइन्छ । प्रख्यात वकिल र राजनेता डेनियल वेबस्टर, अभिनेत्री मेरिल स्ट्रिप, अभिनेत्री र लेखिका मिन्डी कलिङ यो कलेजका पूर्वविद्यार्थी हुन् । क्लेरमन्ट म्याकेना कलेज यो कलेज संसारको छैठौं सबैभन्दा महँगो कलेज हो । जसमा वार्षिक शुल्क मात्र ६९ हजार ७ सय २५ डलर लाग्छ । यो अमेरिकाकाे क्यालिफोर्नियामा रहेको एक निजी उदार कला कलेज हो । यो नेतृत्व, सामाजिक उत्तरदायित्व र सार्वजनिक मामिलाहरूका लागि परिचित छ । यसमा लगभग १ हजार ३ सय स्नातक विद्यार्थी र ९० संकाय सदस्य छन् । कलेज १९९४ मा स्थापना भएको हो र कलेजमा लेखा, अन्तर्राष्ट्रिय सम्बन्ध, दर्शन, विज्ञान व्यवस्थापन, समाजशास्त्र पढाइ हुन्छ । टफ्ट्स विश्वविद्यालय टफ्ट्स विश्वविद्यालय विश्वको सातौं सबैभन्दा महँगो कलेज हो । यहाँ वार्षिक शुल्क ६९ हजार १ सय ९० डलर छ । अमेरिकामा रहेकाे याे निजी अनुसन्धान विश्वविद्यालय हो । यसको अन्तःविषय दृष्टिकोण, शैक्षिक उत्कृष्टता र सिभिक इंग्गेजमेन्टको लागि परिचित छ । यसमा लगभग १२ हजार विद्यार्थी र १ हजार ५ सय संकाय सदस्य छन् । विश्वविद्यालय १८५२ मा क्रिश्चियन युनिभर्सलिस्टहरूद्वारा स्थापित गरिएको थियो । यो न्यू इङ्गल्याण्ड स्मल कलेज एथ्लेटिक कन्फेरेन्सको सदस्यहरूमध्ये एक हो । यहाँ बायोमेडिकल इन्जिनियरिङ, वातावरणीय अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिक विज्ञान, मनोविज्ञान, समाजशास्त्र विषय अध्ययापन गराइन्छ । एमहर्स्ट कलेज एमहर्स्ट कलेज संसारको आठौं महँगो कलेज हो । यहाँ वार्षिक ६८ हजार ६ सय ३४ डलर तिर्नुपर्छ । यो पनि अमेरिकाकाे एक निजी उदार कला कलेज हो । यो यसको खुला पाठ्यक्रम, शैक्षिक कठोरता र विविधताको लागि परिचित छ । यसमा लगभग १ हजार ८ सय विद्यार्थी छन् भने २ सय संकाय सदस्यहरू छन् । यसको स्थापना १८८१ मा भएको थियो । यहाँ कला, इतिहास, अर्थशास्त्र, अंग्रेजी, गणित, संगीत र भौतिकशास्त्रको पढाइ हुन्छ । साउथर्न क्यालिफोर्निया विश्वविद्यालय साउथर्न क्यालिफोर्निया विश्वविद्यालय संसारको नवौं सबैभन्दा महँगो कलेज हो । यहाँ अध्ययन गर्ने विद्यार्थी वार्षिक शुल्क २८ हजार ६ सय २८ डलर तिर्नुपर्छ । यो अमेरिकाकाे लस एन्जलसमा अवस्थित छ । यहाँ लगभग ४७ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् भने ४ हजार संकाय सदस्य छन्। विश्वविद्यालय १८८० मा नागरिक अगुवाको समूहले स्थापना गरेको कलेज हो । यहाँ वास्तुकला, सिनेमा कला, इन्जिनियरिङ, पत्रकारिता, औषधी, साेसल वर्क विषयमा पढाइ हुन्छ । यहाँ फिल्म मेकर जर्ज लुकास, अन्तरिक्षयात्री नेल आर्म्सट्राेङ, कलाकार विल फेररलगायतले अध्ययन गरेका थिए । कार्नेगी मेलन विश्वविद्यालय यो विश्वविद्यालय संसारको दशौं महँगो कलेज हो । यहाँ अध्ययन गर्न वार्षिक शुल्क ६८ हजार ४ सय ७८ तिर्नुपर्छ । यो अमेरिकाको पेन्सिलभेनियामा रहेकाे एक अनुसन्धानात्मक विश्वविद्यालय हो । यो कलेज विज्ञान विषयका लागि उत्कृष्ट मानिन्छ । यहाँ अहिले १४ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् भने १ हजार ४ सय संकाय सदस्य छन् । यो विश्वविद्यालयको स्थापना १९०० मा भएको हो । यो विश्वविद्यालयमा कम्प्युटर विज्ञान, नाटक, इलेक्ट्रिकल इन्जिनियरिङ, मनोविज्ञान, रोबोटिक्स, तथ्यांक अध्यापन गराइन्छ । यी कलेजमा अध्ययन गर्न के गर्नुपर्छ ? यदि तपाईं संसारका शीर्ष सबैभन्दा १० महँगा कलेजमा पढ्न इच्छुक हुनुहुन्छ भने विविध विषयमा जान्नुपर्ने हुन्छ । विश्वका धेरैजसो कलेजहरूले एसएटी, एसिटी टफेलजस्ता मानकीकृत परीक्षा दिनुपर्छ । कसैकाे आफ्नै भर्नाको लागि छुट्टै खालकाे परीक्षा लिन्छन् । तपाईंले परीक्षामा राम्रो अंक प्राप्त गर्नुका साथै अन्तिम म्यादअघि आफ्नो आवेदन पेश गर्न आवश्यक छ ।