साउनमा विकास बैंकको नाफा ८५ करोड, आधा दर्जन बैंक घाटामा
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन) मा विकास बैंकहरुले ८५ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार साउनमा विकास बैंकहरुले ८५ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । केन्द्रीय बैंकका अनुसार साउनमा ६ वटा विकास बैंकले घाटामा छन् भने ११ विकास बैंक नाफामा छन् । धेरै नाफा आर्जन गर्नेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक अगाडि छ । साइन रेसुङ्गाले साउनमा २० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा मुक्तिनाथ विकास बैंकले १६ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख, गरिमा विकास बैंकले ९ करोड ४६ लाख र कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । सबैभन्दा धेरै घाटा बेहोर्नेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । एक्सेलले खुद ६ करोड ३७ लाख रुपैयाँ घाटा बेहोरेको छ । ग्रिन डेभलपमेन्ट बैंकले ८६ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ५४ लाख, नारायणी डेभलपमेन्ट बैंकले ५१ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ४८ र मितेरी डेभलपमेन्ट बैंकले २२ लाख रुपैयाँ घाटामा छन् । कुन विकास बैंकको खुद घाटा, नाफा कति ?
सेयरधितो कर्जामा कुमारी बैंक आक्रामक, साउनमा लगानीकर्ताले कति लगे ऋण ?
काठमाडौं । साउनमा वाणिज्य बैंकहरुले ३ अर्ब ६२ करोड रुपैयाँ मात्रै सेयरधितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको पहिलो महिनामा ३ अर्ब ६२ करोड ४० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका हुन् । हालसम्म भने बैंकहरुले कुल ७१ अर्ब ६९ करोड ३० लाख रुपैयाँ लगानी गरेका छन् । गत असारसम्म बैंकहरुले कुल ७० अर्ब ३४ करोड ४० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका थिए । एक महिनामा झिनो अंकको ऋण बैंकहरुले प्रवाह गरेका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवका लागि सेयर बजारका लगानीकर्तामैत्री मौद्रिक नीति सार्वजनिक गरेका थिए । उनले संस्थागत ऋणमा सिमा खारेज गरेका थिए भने व्यक्तिगत तर्फको सेयरधितो कर्जामा १५ करोडको सीमा यथावत नै राखेका थिए । सो नीतिको लगानीकर्ताले पनि स्वागत गरेका थिए । त्यसपछि केही हदसम्म सेयर बजार पनि बढेको थियो । तर, कर्जा प्रवाह भने सन्तोषजनक रुपमा बढ्न सकेको छैन । एक महिनाको अवधिमा कुमारी बैंकले ९० करोड १० लाख, ग्लोबल आएमईले ६० करोड ६० लाख, प्राइम कमर्सियलले ४८ करोड ४० लाख, लक्ष्मी सनराइजले ४७ करोड ५० लाख, नेपाल इनभेष्टमेन्ट मेगा बैंकले ३३ करोड ८० लाख, एनएमबिले २४ करोड ९० लाख, नेपाल एसबिआईले २२ करोड ७० लाख रुपैयाँ र नेपाल बैंकले १४ करोड ६० लाख र सिद्धार्थ बैंकले ११ करोड ६० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको छ । यस्तै, सिद्धार्थ बैंकले ११ करोड ६० लाख, माछापुच्छ्रेले ४ करोड ४० लाख र सिटिजन्सले ३ करोड ४० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । अन्य ८ बैंकको सेयरधितो कर्जा घटेको छ । साउनमा कृषि विकास बैंक, हिमालयन, सानिमा, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, प्रभु, एनआइसी एसिया र नबिल बैंकले सेयरधितो कर्जा घटाएका छन् ।
साउनमा बढी नाफा गर्ने टप बैंक बन्यो ग्लोबल आइएमई, नबिललाई पछ्याउँदै कृषि विकास
काठमाडौं । वाणिज्य बैंकहरूले साउनमा ९ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको पहिलो महिनामा बैंकहरूले सो नाफा गरेका हुन् । तथ्यांकअनुसार सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले गरेको छ । ग्लोबलले साउनमा ८९ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, नाफा बढी गर्ने बैंकको दोस्रो स्थानामा नबिल बैंक रहेको छ । नबिलले साउनमा ८० करोड ३० लाख रुपैयाँ नाफा गरेको छ । सरकारी स्वामित्वको कृषि विकास बैंक नाफा बढी गर्ने बैंकको तेस्रो नम्बरमा छ । कृषि विकास बैंकले साउनमा कुल ७१ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, हिमालयनले ५८ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७० लाख, प्रभुले ५३ करोड ८० लाख, प्राइम कमर्सियलले ५० करोड ५० लाख, कुमारीले ५० करोड ३० लाख, लक्ष्मी सनराइजले ४३ करोड ३० लाख र एनएमबिले ४२ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, एभरेष्ट बैंकले ४२ करोेड २० लाख, सानिमाले ३८ करोड २० लाख, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड सिद्धार्थले ३४ करोड ८० लाख, सिटिजन्सले ३४ करोड २० लाख, नेपाल एसबिआईले ३३ करोड ३० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३१ करोड १० लाख, एनआइसी एसियाले २६ करोड ६० लाख, नेपाल बैंकले २२ करोड ३० लाख र माछापुच्छ्रेले २० करोड २० लाख रुपैयाँ नाफा गरेको छ ।