बैंकर्सले त्रुटि गरेमा ५ करोड जरिवानादेखि बरखास्तसम्म, किन कठोर बन्यो राष्ट्र बैंक ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्मचारीप्रति नेपाल राष्ट्र बैंक कडा बनेको छ । राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै बैंकका कुनै पदाधिकारी वा कर्मचारीको कामकारबाहीको कारणले भएको देखिएमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रचलित कानुन वा संस्थाको विनियमावली बमोजिम कारबाही गर्नु पर्ने व्यवस्था गरेको छ । तर, संस्थाले उक्त कारबाही नगरेमा नेपाल राष्ट्र बैंकले त्यस्तो पदाधिकारी वा कर्मचारीलाई कारबाही गरी त्यसरी कारबाही नगर्ने संस्थाको सञ्चालक वा सम्बन्धित पदाधिकारीलाई परिपालनको अवस्था, विषयको गाम्भीर्यता र सूचक संस्थाको प्रकृतिअनुसार १० लाख देखि ५ करोड रुपैयाँसम्मको जरिवाना वा पदबाट हटाउने वा दुवै कारबाही गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि यस्तो व्यवस्था गरिएको थिएन । यस्तै, राष्ट्र बैंकले १५ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने सेयरधनीको व्यक्तिगत विवरण राख्नुपर्ने उल्लेख छ । यसअघि १० प्रतिशतमात्रै व्यवस्था थियो । संस्थाले प्रचलित कानुनमा भएको परिवर्तन, जोखिम मूल्याङ्कन, व्यवसाय र प्रविधिमा भएको परिवर्तन, कसूर गर्ने तरिका तथा प्रवृत्तिमा आएको परिवर्तन समेतको आधारमा वार्षिक रूपमा कम्तीमा एक पटक जोखिममा आधारित नीति, कार्यविधि तथा कार्ययोजनामा आवश्यक संशोधन गरी सुपरभाइजरी इनफर्मेसन सिस्टम (एसआईएस) मा अद्यावधिक गर्नुपर्ने उल्लेख छ । संस्थाले जोखिम मूल्यांकन गर्नुअघि मूल्यांकनको पद्धति तथा वस्तुगत आधार तयार गरी सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखासमक्ष पेश गर्नुपर्ने, क्रियाकलाप तथा आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणका सम्बन्धमा वर्षभरि गरेका काम कारवाहीको समीक्षासहितको वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र एसआईएसमार्फत पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

धमाधम नेपाल आउन थाले श्रीलंकाली, घटे भारतीय पर्यटक

काठमाडौं । सन् २०२४ को सेप्टेम्बर महिनामा ९६ हजारभन्दा धेरै पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डकाे तथ्यांकअनुसार हवाई मार्ग भएर ९६ हजार ५ सय ५ जना पर्यटक नेपाल घुम्न आएका हुन् । २०२३ को सेप्टेम्बर महिनामा ९१ हजार १२ जना मात्र पर्यटक आएका थिए । सेप्टेम्बर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट मात्रै २२ हजार ९ सय ८४ पर्यटकले  नेपाल घुमेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष १९.९ प्रतिशतले भारतीय पर्यटक आगमन घटेको छ । वर्षायाममा धेरै प्राकृतिक विपत्ति र सडक दुर्घटनाका कारण भारतबाट नेपाल भ्रमण आउने भारतीय पर्यटक संख्यामा ठूलो गिरावट आएको छ । भारतीय पर्यटक दुर्घटनामा परेपछि यसको असर पर्यटक आगमनमा परेकाे हाे । युएईबाट सेप्टेम्बर महिनामा १० हजार ८४, चीनबाट ८ हजार ४२, अष्ट्रेलियाबाट ५ हजार  ३८ र श्रीलंकाबाट ४ हजार ९ सय १५ पर्यटक नेपाल आएका छन् । नेपाल र कोलम्बो सिधा उडानका कारण श्रीलंकाली पर्यटक आगमनमा वृद्धि भएको हो । यस्तै,  युकेबाट ४ हजार ४ सय ९३ र बङ्गलादेशबाट ४ हजार १ सय ३, जर्मनीबाट २ हजार ७ सय ४, कोरियाबाट २ हजार ३ सय १५ र मलेसियाबाट २ हजार २ सय ८० जना पर्यटक सेप्टेम्बर महिनामा नेपाल घुम्न आएका छन् । सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख १६ हजार ६ सय ३९ पर्यटक नेपाल आएका छन् ।

आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण, मौद्रिक नीतिको तारिफ

काठमाडौं । चालु आर्थिक वर्ष (सन् २०२५)मा नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष (सन् २०२४)को ३.९ प्रतिशतबाट बढेर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ, जसलाई उच्च पर्यटक आगमन, जलविद्युत र धान उत्पादनको वृद्धिले निर्देशित गरेको हुने विश्व बैंकको बुधबार सार्वजनिक नेपाल डेभलपमेन्ट अपडेट : अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव विषयक प्रतिवेदनमा उल्लेख छ । नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष (सन् २०२६)मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरूमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण  योगदान रहनेछ । यद्यपि प्रतिवेदनले बहु जोखिमहरू पनि पहिचान गरेको छ, जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिमसहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्नेगरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिमहरू रहेका छन् । ‘नेपालको अर्थतन्त्र क्रमिक सुधारको मार्गमा छ,’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले भने, ‘बजेटरी प्रक्रियामा सुधार ल्याउँदै पूरा हुने चरणमा रहेका परियोजनाहरूलाई सम्पन्न गरेर पुँजीगत खर्च बढाउने हाम्रो प्राथमिकताले बृहत अर्थतन्त्रको स्थायित्व सुदृढ गर्नेछ, आन्तरिक उत्पादन बढाउनेछ र धेरै रोजगारी सिर्जना हुनेछन् ।’ आप्रवासी श्रमिक प्राप्त गर्ने गल्फ मुलुकहरू र मलेसियामा आएका झट्काहरूले पनि वृद्धिलाई धिमा गर्न सक्छ, खासगरी घरपरिवारको उपभोग, गरिबी निवारण र मानव पुँजी विकासमा भूमिका खेल्ने अन्तर्राष्ट्रिय विपे्रषणमा यसले असर पुर्‍याउनेछ । तथापि, नेपालको आप्रवासन अत्यन्त महँगो, असमान अवसरहरू र धेरैका लागि प्रक्रिया नै चुनौतीपूर्ण रहेको अवस्था कायम छ । प्रतिवेदनले नेपालको आप्रवासनको फाइदा र लागतका पछिल्ला तथ्यहरू प्रस्तुत गर्दै दिगोपन र प्रतिफल विस्तारको सुनिश्चितता गर्ने उद्देश्यले समावेशी आप्रवासन व्यवस्थापन प्रणाली निर्माणका लागि आवश्यक प्रमुख नीतिगत हस्तक्षेपहरूलाई प्राथमिकताका साथ उल्लेख गरेको छ । ‘वृद्धिको गतिलाई कायम राख्नु नेपालको विकासका लागि महत्त्वपूर्ण छ । यसका लागि प्रमुख क्षेत्रहरू जस्तै- पूर्वाधार, सुशासन, मानव पुँजी विकास र निजी क्षेत्रमा निरन्तर सुधारको आवश्यकता पर्दछ,’ विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भने, ‘नेपालले विदेशी कामदारहरूबाट रेमिट्यान्सबाट धेरै फाइदा हासिल गरेको छ र यी प्रवाहहरूको व्यवस्थापनमा सुधार, विदेशमा काम खोज्ने नेपालीहरूलाई राम्रोसँग सहयोग गर्न र नेपालमा दक्ष नेपालीहरूलाई उत्पादनशील बनाउन वातावरण सिर्जना गर्ने जीवन्त घरेलु अर्थतन्त्रको निर्माण नेपालको भविष्यको लागि महत्त्वपूर्ण छ ।’ सुदृढ र थप समावेशी आप्रवासन व्यवस्थापन प्रणालीले पारदर्शी भर्ना प्रक्रिया स्थापित गर्नेछ, श्रमिकलाई विदेश जान राम्रो तयारी गराउनेछ, श्रम बजारमा आप्रवासीहरूको सुरक्षा र आवतजावतलाई सुनिश्चित गर्नेछ, दीर्घकालका सीप र गन्तव्य विविधिकरणका लागि योजना बनाउनेछ र फर्किएका श्रमिकहरूको पुँजी र सिपलाई प्रभावकारी उपयोग गर्नका लागि सहयोगी वातावरण निर्माण गर्ने विश्व बैंकको रिर्पोटमा उल्लेख गरिएको छ ।