बाढी प्रभावित क्षेत्रमा संक्रमण फैलन नदिन अपनाइँदै छ यी उपाय

काठमाडौं । असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी-पहिरोले देश अहिले आक्रान्तमा छ । २ सय बढी नागरिकले ज्यान गुमाएका छन् भने २७ जना बेपत्ता भएकाे गृह मन्त्रालयले जनाएकाे छ । यस्तै, बाँचेकाहरूको पनि घरगोठ बाँकी छैन । कोही आफन्तको घरमा त कोही सामुदायिक स्थलमा आश्रय लिरहेका छन् । बाढीले विशेषगरी काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो क्षति पुर्‍याएकाे छ । खोला किनारमा बस्नेहरू अहिले घरभित्रको पानी र हिलो फाल्नमै व्यस्त छन् । विपदबाट सबैभन्दा ठूलो जनधनको क्षति काभ्रे जिल्लामा भएको छ भने ललितपुर, काठमाडौं लगायतका क्षेत्रमा पनि जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा अहिले थुप्रिएको फोहोरले दुर्गन्ध फैलन थालेको छ । जसबाट महामारी फैलने जोखिम बढेको चिकित्सकहरूले जनाएका छन् । विपद्को बेला दूषित खाना र पानीका कारण हैजा र झाडापखाला फैलन सक्ने जोखिम हुन्छ भने कीटजन्य रोगहरूको जोखिम पनि उत्तिकै रहन्छ । बाढीसँग हिलो घरभित्र पसेकाले पानीको मुहानमा पनि ढलको पानी हुनसक्ने भन्दै खानपानमा सतर्कता अपनाउन चिकित्सकले अनुराेध गरेका छन् । यो बेलामा लामखुट्टेको टोकाइबाट लाग्ने रोगहरू पनि फैलने जोखिम रहेको विज्ञहरू बताउँछन् । कुन पालिकाले के गरिरहेकाे छ ?  गोदावरी नगरपालिका ललितपुरको दक्षिणी भेगमा धनजनको क्षति पुर्‍याएकाे छ । ललितपुरको गोदावरी नगरपालिकामा १९ जनाको मृत्यु भएको छ भने सडकहरू पनि अवरुद्ध भएका छन् । धेरै ठाउँमा खानेपानीको  समेत समस्या भएकाे  छ । केही पानीकाे मुहानमा बाढी पसेकाे छ । स्वास्थ्यकाे जोखिमलाई मध्यनजर गर्दे अहिले उद्धार राहतको कामसँगै स्वास्थ्यकर्मी पनि परिचालन गरिएको पालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले प्रत्येक वडा कार्यालयमार्फत सचेतनाका कार्यक्रम पनि सुरु गरेको बताए । पानी उमालेर र पिउस गरेर खान पनि सल्लाह दिएका छौं,’ प्रमुख महर्जन भन्छन्, ‘अहिलेसम्म स्वास्थ्य समस्या भएको देखिएको छैन, जोखिम हुनसक्छ भन्दै हामीले सचेत गराएका छौं । ’ ललितपुर महानगर ललितपुर महानगरले भने प्रभावित क्षेत्रमा अहिले डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली खटाएको छ । डा. सवेन्द्र गैरेको नेतृत्वमा महानगरले हरेक वडामा डाक्टरसहितको टोली परिचालन गरेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । उनले आवश्यक औषधि बोकेर टोली प्रभावित क्षेत्रमा गएको जानकारी दिए । काठमाडौं महानगर यता काठमाडौं महानगरले भने नियमित सरसफाइ कार्यलाई तीव्र पारेको जनाएको छ । बाढीले फोहोरको थुप्रो भएका क्षेत्रमा हटाउने, सरसफाइ गर्ने कार्यलाई जोड दिएको महानगरका सहायक प्रवक्ता नमराज ढकालले बताए । उनले प्रभावितहरूलाई केही दिन विद्यालयमा ल्याएर राखेको र अहिले अवस्था सामान्य हुँदा आ-आफ्नो घर फर्किसकेको जानकारी दिए । ‘अहिले जोखिम भनेको सरसफाइको कमीका कारण लाग्ने रोगहरूको हो, यो कार्य हामीले गर्दै आएका छौं,’ उनी भन्छन्, ‘महानगरभित्र अहिले स्वास्थ्यकर्मी नै पठाउनु पर्ने अवस्था छैन । यस्तो अवस्था आउन नदिन हामीले हाम्रा नियमित कार्यलाई जोड दिएका छौं । ’ कस्तो छ प्रभावित क्षेत्र ? डा. सवेन्द्र गैरे अहिले ललितपुर महानगरकाे प्रभावित घरघरमा पुगिरहेका छन् । उनीसँग नर्सलगायत अन्य स्वास्थ्यकर्मीको टोली पनि छ । मंगलबार उनको टोली ललितपुरको बागडोलमा पुगेको थियो । जहाँ क्रिस्चियनकाे एउटै चर्चमा दुई सयभन्दा बढी प्रभावितहरू बसिरहेका छन् । बाढीले उनीहरूको घर मात्र होइन, अन्नपात, भाँडाकुँडा सबै बगाएको छ । महानगरले खानबस्नको व्यवस्था गरे पनि यति धेरै मान्छे एकै ठाउँमा बस्दा जोखिम हुने सम्भावना रहेको छ । डा. गैरेको टोलीले सबैको स्वास्थ्य परीक्षण गरी पानी उमालेर खान र सरसफाइमा ध्यान दिन सल्लाह दिएको छ । उनीहरूलाई जाँच गर्दा गम्भीर समस्या नदेखे पनि कसैलाई ज्वरो, कसैलाई टनशिलको समस्या देखिएको डा. गैरेले जानकारी दिए । उनी भन्छन्, ‘हामीले सबैको जाँच गर्दा ठूलो समस्या देखिएन तर, बालबालिका, वृद्धवृद्धा सबै एकै ठाउँमा बस्दा जोखिम हुने सम्भावना छ ।’ डा. गैरेले यस्तो बेला हुन सक्ने जोखिमबारे जानकारी गराउँदै केही समस्या देखिनेबित्तिकै आफूलाई सम्पर्क गर्न भनेको बताए । उनले प्रभावितहरू अहिले घरभित्र पसेको पानी र हिलो फाल्नमा व्यस्त रहेको बताए । उनकाे टाेलीले जाँच गर्दै आवश्यक पर्नेलाई औषधि वितरण गरिरहेकाे छ । स्वास्थ्य मन्त्रालयले के गरिरहेको छ ? बाढी-पहिरोले जोखिम निम्त्याएको क्षेत्रमा संक्रमण फलन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजग रहन आग्रह गरेकाे छ । खानेपानीमा ढलको दूषित पानी पसेको हुन सक्ने भन्दै पानी उमालेर मात्र पिउन भनेको छ भने सरसफाइमा पनि ध्यान दिन प्रभावितहरूलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रका हरेक घाइते भएका नागरिकलाई निःशुल्क उपचार गरिरहेको जनाएको छ । यस्तै, बाढी-पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा फोन गर्न र एम्बुलेन्सको लागि १०२ मा फोन गर्न आग्रह गरेको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत एंव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी रविकान्त मिश्रले सरकारले पालिकासँग समन्वय गरेर स्वास्थ्य सेवा दिने काम गरिरहेको जानकारी दिए । उनले खाना र दूषित पानीबाट झाडापखाला, हैजा, आउँ, टाइफाइडलगायतका समस्या देखिनसक्ने सँगै कीटजन्य समस्या पनि देखिन सक्ने भन्दै सजग रहन आग्रह गरेका छन् । इपिडिमियोलोजी तथा रोग निण्न्त्रण महाशाखाले संक्रामक रोग फैलन नदिन र जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको जनाएको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले केन्द्रदेखि तलसम्मका सबै निकायलाई तयारी अवस्थामा राख्न निर्देशन दिसकेको बताउँदै संकटको अवस्था आउन नदिने बताए । बाढी प्रभावित क्षेत्रमा आउन सक्छन् यस्ता जोखिम बाढी प्रभावित क्षेत्रमा विभिन्न प्रकारका स्वास्थ्य जोखिमहरू आउने सम्भावना रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउँछन् । यस्तो बेलामा पानीजन्य रोगहरू जस्तै झाडापखाला, हैजा, टाइफाइड र हेपाटाइटिस फैलिन सक्ने सम्भावना धेरै हुन्छ । दूषित पानीको प्रयोगले यी रोग लाग्ने जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् । बाढीपछि मानिसहरू अस्थायी शिविरमा बस्न बाध्य हुन्छन्, जहाँ पर्याप्त सरसफाइ र स्वास्थ्य सुविधाको कमी हुनसक्नाले संक्रमणको जोखिम बढाउँछ । बाढीका कारण पानी जम्नाले यो बेला मच्छरको संख्या वृद्धि हुन्छ, जसले डेंगु, मलेरिया, र चिकुनगुनिया जस्ता रोगहरूको प्रकोप फैलिन सक्छ । लामो समयसम्म पानीमा रहेर काम गर्दा छालासम्बन्धी समस्या जस्तै चिलाउने, घाउखटिरा, फंगस संक्रमण हुन सक्छ। संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन यस्तो बेलामा बासी सडेगलेका खानेकुरा नखान र पानी पनि उमालेर, फिल्टर गरेर पिउस राखेर मात्र पिउन आग्रह गर्छन् । काँचो खानेकुरा फलफुल खाँदा पनि राम्रोसँग धोई पखाली खानुपर्नेमा उनले जाेड दिए । ‘यो बेलामा यस्ता सतर्कता अपनायो भने आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन मद्दत गर्छ,’ उनी भन्छन्, ‘यदि यति गर्दा पनि समस्या देखिहाल्यो भने तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ, हामीले स्वास्थ्य संस्था जान लापरवाही गर्‍याैं भने ज्यान नै जोखिममा पर्न सक्छ ।’

६० कम्पनीले घोषणा गरे लाभांश, सेयरधनीले १७१४ प्रतिशतसम्म पाउने

काठमाडौं । कम्पनीहरू धमाधम लाभांश घोषणा गरिरहेका छन् । गत वर्ष कमाएको नाफाबाट कम्पनीहरू आफ्ना सेयरधनीलाई लाभांश वितरणमा लागिपरेका छन् । हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २० वटा कम्पनी, २५ वटा म्युचुअल फण्ड र अन्य १५ कम्पनीले गरी हालसम्म ६० वटा कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्ने भएका हुन् । लाभांश घोषणा गरेका अधिकांश म्युचुअल फण्ड र मर्चेन्ट बैंकले लाभांश वितरण प्रक्रियासमेत अघि बढाइसकेका छन् । साथै केही कम्पनीले भने लाभांश पारितका लागि वार्षिक साधारणसभा आह्वान गरेका छन् भनेर केही कम्पनी नियामक निकायबाट स्वीकृतिको प्रक्रियामा रहेका छन् । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सिटिजन्स बैंकले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । कामना सेवा विकास बैंकले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको ७ प्रतिशतका दरले २२ करोड ९६ लाख ८१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले १६ करोड ४० लाख ५८ हजार रुपैयाँ नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । ओरियण्टल होटल्स लिमिटेडले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँको ५ प्रतिशतका दरले ५ करोड ६४ लाख ४ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले २९ लाख ६८ हजार रुपैयाँ बराबरको नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आशा लघुवित्तले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख २० हजार रुपैयाँ बोनस सेयर र ०.२५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गुराँस लघुवित्तले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.७५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सुपरमाई हाइड्रोपावरले चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश (करसहित) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । माण्डु हाइड्रोपावर कम्पनीले चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भगवती हाइड्रोपावरले गत वर्षको नाफाबाट चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको ४ प्रतिशत अर्थात् २ करोड २८ लाख ८२ हजार रुपैयाँ बोनस सेयर र १०.७३ प्रतिशत अर्थात् ६ करोड १४ लाख २१ हजार रुपैयाँ नगद गरी कुल १०.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साहस उर्जा कम्पनीले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत अर्थात् १ करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सुपर मादी हाइड्रोपावर कम्पनीले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजननका लागि ५५ लाख २६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मन्दाकिनी हाइड्रोपावर कम्पनीले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । रु रु जलविद्युत परियोजनाले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाथवे इन्भेष्टमेन्ट नेपालले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सीईडीबी हाइड्रोपावर कम्पनीले दुई आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ । नेपाल ल्यूव आयलले गत आव २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । युनिलिभर नेपालले गत आव २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई १ हजार ७१४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अपी पावर कम्पनीले गत आव २०८०/८१ को खुद नाफाबाट सेयरधनीहरूलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो । तर, विद्युत नियमन आयोगले कम्पनीको लाभांश रोकेको जनाएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०७९/८० को नाफाबाट चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशतका दरले ७६ करोड ९० लाख ६५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । म्युचुअल फण्ड मर्चेन्ट बैंकहरूले सञ्चालन गरिरहेका विभिन्न सामूहिक लगानी कोष (म्युचुअल फण्ड)हरूमध्ये २५ वटा म्युचुअल फण्डले मात्रै गत वर्षको नाफाबाट प्रतिफल वितरण गर्ने भएका हुन् । पुँजी बजारमा ३६ वटा म्युचुअल फण्ड सूचीकरण भई कारोबारमा छन् । अझै ११ वटा म्युचुअल फण्डले आफ्ना इकाईधनीहरूलाई प्रतिफल वितरण गर्न बाँकी रहेको छ । लक्ष्मी सनराइज क्यापिटले विभिन्न ४ वटा म्युचुअल फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गरेको हो । क्यापिटलका अनुसार सनराइज फर्स्ट म्युचुअल फण्डले १२.५ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्डले ४.५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । यस्तै, एनआईसी एशिया क्यापिटलले विभिन्न ५ वटा म्युचुअल फण्डका इकाईधनीलाई गत वर्षको नाफाबाट प्रतिफल वितरण गरेको छ । एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड) ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार ५ सय रुपैयाँ प्रतिफल वितरण गरेको छ । यस्तै, कुमारी क्यापिटलले कुमारी इक्वीटी फण्डका इकाईधनीहरूलाई ९.५० प्रतिशत अर्थात् ९ करोड ५० लाख रुपैयाँ र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरूलाई ९.५० प्रतिशत अर्थात् ११ करोड ६३ लाख ८१ हजार ८९६ रुपैयाँ नगद लाभांश वितरण गरेको छ । सानिमा क्यापिटलका सानिमा इक्विटी फण्डले १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डले १० प्रतिशत र सानिमा ग्रोथ फन्डले १० प्रतिशत नगद लाभांश वितरण गरेको छ । आरविवि मर्चेन्ट बैंकिङले आरविवि म्युचुअल फण्ड १ ले ३.८१ प्रतिशत अर्थात् ४ करोड ७५ लाख ७२ हजार ३२३ रुपैयाँ र आरविवि म्युचुअल फण्ड २ ले ८.७४ प्रतिशत अर्थात् ७ करोड ३९ लाख ४६ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ । सिद्धार्थ क्यापिटलको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले ७ प्रतिशतका दरले ५ करोड ६४ लाख ६ हजार रुपैयाँ, एनआइएमबि एस क्यापिटलको एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई ६.३५ प्रतिशत र ग्लोबल आइएमई क्यापिटलको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका नबिल फ्लेक्सी क्याप फण्डले ५ प्रतिशत अर्थात् ३ करोड १२ लाख १५ हजार रुपैयाँ र नबिल ब्यालेन्स्ड फण्ड २ ले ८ प्रतिशत, प्रभु क्यापिटलको प्रभु सेलेक्ट फण्डले १० प्रतिशत र प्रभु स्मार्ट फण्डले ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् । यस्तै, सिटिजन्स क्यापिटलका सिटिजन्स म्युचुअल फण्ड १ ले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० प्रतिशत, एनएमबि क्यापिटलका एनएमबि फिफ्टीले १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड ३ ले १० प्रतिशत प्रतिफल वितरण गर्ने भएका छन् । अन्य कम्पनीको लाभांश पुँजी बजारमा सूचीकृत नभएका विभिन्न कम्पनीले पनि गत आव २०८०/८१ को नाफाबाट लाभांश वितरण गरेका छन् । एनआईसी एशिया क्यापिटलले चुक्ता पुँजीको ५२.५३ प्रतिशत, सिटिजन्स क्यापिटलले १५.१५ प्रतिशत (३ करोड १० लाख रुपैयाँ), मुक्तिनाथ क्यापिटलले ७.५ प्रतिशत, कुमारी क्यापिटलले १५ प्रतिशत (६ करोड रुपैयाँ), लक्ष्मी सनराईज क्यापिटलले ७.५ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । यस्तै, सिद्धार्थ क्यापिटल लिमिटेडले २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ५ करोड ११ लाख ५७ हजार ८९४ रुपैयाँ, आरविवि मर्चेन्ट बैंकिङले १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् । यस्तै, सिविआईएल सेक्युरिटिजले चुक्ता पुँजीको ५.२६ प्रतिशत अर्थात् १ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ, नबिल स्टक डिलरले ८ प्रतिशत नगद लाभांश र इम्पेरियल सेक्युरिटिज कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएका छन् । यस्तै, पूर्वाञ्चल ल्यूव आयलले ०.५२ प्रतिशत अर्थात् ३ करोड १५ लाख ७८ हजार रुपैयाँ, शिवम होल्डिङ्ग्स लिमिटेडले चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशत अर्थात् ११ करोड ६० लाख रुपैयाँ, आशुतोष इनर्जीले ५.२६३ प्रतिशत अर्थात् २ करोड ५२ लाख ६३ हजार रुपैयाँ, बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले चुक्ता पुँजी ४ करोड ९५ लाख रुपैयाँको १४.७४ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

‘अग्रिम टिकट बुकिङ रोक्ने व्यवसायीको तयारी, ‘जोखिम लिन्नौं, बुकिङको पैसा पनि फिर्ता गर्छौं’

फाइल फाेटाे काठमाडौं । यातायात व्यवसायीले दशैंको लागि अग्रिम टिकट बुकिङ रोक्ने तयारी गरेका छन् । वर्षातका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किएसँगै यात्रा कष्टकर बन्दा टिकट बुकिङ रोक्ने तयारी व्यवसायीले गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अब दशैंको बुकिङ नै बन्द गर्न लागिएको बताउँछन् । यो अवस्थामा कुनै हालतमा यात्रुलाई गन्तव्यमा लैजान नसकिने उनले बताए । उनले भने, ‘विषम परिस्थिति, वर्षालगायत कारण राज्यले व्यवस्थापन गर्न सकिरहेको छैन । विपी राजमार्ग ठप्पै छ, त्यहाँ ६०० सवारी साधन रोकिएका छन्, चालक खान नपाएको भनेर आफूलाई फोन गरिरहेका छन् । दुवैपट्टि पहिरो गएर बीचमा जोखिमपूर्ण अवस्थामा गाडी अड्किरहेका छन्, हामीले खाना नै पुर्‍याउन सकिरहेका छैनौं । सरकारले पनि सकेको छैन, अनि कसरी चलाउन सकिन्छ गाडी ?’ वरिष्ठ उपाध्यक्ष सिटौलाले नागढुङ्गाबाट बाहिर जान चार दिनअघिका गाडी बल्ल पठाइएको बताए । ‘जाम जारी छ, धादिङ र दाउन्नेमा पहिरो खसिरहेकै छ, देशभरको सडक अस्तव्यस्त भएका कारण समस्या ठूलो छ । फेरि वर्षा हुने भनिरहेको छ, बीचमा रोकिएका गाडी र यात्रु जोखिममा परे  जिम्मा कसले लिन्छ ? वर्षा नहुँदा पनि सुक्खा पहिरो खसिरहेको छ, यातायात रोकिँदा अब हाम्रो सबै ‘सेडुअल’ बिग्रियो, अब हामीले टिकट बुक गर्न सक्ने अवस्था छैन । यदि गाडी समयमा आउने अवस्था नरहे यात्रुका पैसा फिर्ता गर्नेछौं ।” वर्षाका कारण विपत्तिको सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न ढिला गर्न नहुनेमा उनले सरकारलाई सुझाव दिए । मान्छेको ज्यान बचाउन राज्यले ध्यान दिनुपर्छ भन्दै सिटौलाले दशैंपछि पनि मनाउन सकिने भएकाले अहिले ख्याल गर्नुपर्ने बताए । आज पनि बिहान ११ बजेदेखि गाडी रोक्न अनुरोध आएको सुनाउँदै सिटाैलाले एक ठाउँमा भए गाडी रोकौंला, पन्छाएपछि सहज हुन्छ जाउँला भन्ने अवस्था नभएकाे बताए । पहिरोको त्रास कायमै रहेको अवस्थामा बेलैमा सरकारले निर्णय गरोस् भन्ने आफूहरूकाे माग रहेकाे उनकाे भनाइ छ । यही असोज ११ गतेदेखि नै काठमाडौंको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन् । सामान्य रूपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भएलगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारीसाधन काठमाडौंबाट छुटाउन थालिएको थियो । राजमार्गमा सुस्त गतिमा मात्रै सवारी साधन चल्नसक्ने अवस्थामा यातायातको चाप अत्यधिक हुँदा र चालकको ‘ओभरटेक’ गर्ने पुरानै नराम्रो बानीले सडक खुले पनि जामको समस्या कायमै छ । यद्यपि बीचबीचमा पुनः पहिरो खस्ने क्रम जारी तथा ठाउँठाउँमा एकतर्फी सडकले जाम थपिएको छ । सडक यात्रा जोखिमपूर्ण रहेपछि अहिले हवाई यात्रुको सङ्ख्या थेगिनसक्नु भएको छ । नारायणगढबाट बुटवल हुँदै जाने सडकको दाउन्ने खण्डमा सडक भाँसिएका कारण उक्त खण्ड पनि पूर्णरूपमा बन्द हुँदा सवारीसाधनको चाप थपिएको छ । बिपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । काठमाडौं–नारायणगढ सडकका दर्जनौं ठाउँँमा भत्किएको सडक गाडीको अत्यधिक चापका कारण राम्री सवारीसाधन सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्न सक्ने अवस्थासमेत छैन । हेर्दा कामचलाउका रूपमा मात्रै यातायात सञ्चालन गरिएको छ । सामान्य पानी परेको खण्डमा यातायात पूर्णरूपमा अवरुद्ध हुने अवस्था रहेको नेपाल प्रहरीका सहायक प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउँछन् । समयमै गन्तव्यमा यातायातका साधन जान नसकेपछि यातायातको ‘चेन ब्रेक’ हुने अवस्थाले गर्दा यात्रुको चाप बढ्ने, यातायात अव्यवस्थित हुने, यात्रुको तँछाडमछाड हुने र त्यसले दशैंसम्म नै यात्रा कष्टकर हुनसक्ने देखिएको छ । यातायात व्यवस्था विभागले यही असोज १४ गतेदेखि देशभर बाटो इजाजत खुला गरेकाले अब गाडीको चाप झन् बढ्न थालेको छ । पानी पर्दै नपरेको खण्डमा दशैं आसपाससम्म यातायात पूर्णरुपमा सहज पार्ने प्रयास जारी रहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारी अहिले कसरी हुन्छ रोकिएका यातायातलाई गन्तव्यमा पुर्‍याउने र यातायात सहज आवागमन पार्ने भन्नेमै सरकारको ध्यान रहेको बताउँछन् । ‘प्राथमिकताका आधारमा अत्यावश्यक र यात्रुवाहक साधनलाई पठाउने गरिएको छ, त्यसपछि खाद्यान्न, इन्धनलगायत बोकेका अत्यावश्यक सवारी साधनलाई प्राथमिकतामा राखेर व्यवस्था भइरहेको छ, ’उनले भने । प्रवक्ता तिवारीका अनुसार केही ठाउँमा पहिरो गएको र झ्याप्ले खोलामा पनि एकतर्फी जस्तै छ । त्यसैले समस्या भएको उनले बताए । अब दाउन्नेमा पनि एकतर्फी खुलेको र धादिङको पहिरो हटाइसकेका कारण यातायात आवागमन सहज बन्दै जाने उनले बताए । उनका अनुसार अहिले बिहान ११ देखि १ बजेसम्म बीचबीचमा सवारी साधन रोकेर दुईतर्फी यातायात खुलाउने गरी काम अघि बढाउने निर्णय भएको छ । अबको केही दिनमा पुरानै अवस्थामा यातायात आवागमन सहज हुनेगरी व्यवस्थापन कार्यलाई तीव्रता दिइएको उनले जानकारी दिए । यो चाडपर्वमा १८ लाख मानिसले राजधानी छाड्ने अनुमान यसअघि नै गरिएको थियो । ‘अहिले घर जान हतार नगरौं’ यातायात क्षेत्रका विज्ञ आशिष गजुरेल अहिलेको अवस्थामा यातायात सहज बनाउन सकिने अवस्था छ भने सहज बनाउने, होइन अवस्था जटिल छ भन्ने देखिएको त्यो सडक बन्द नै गरेर काम गर्नुपर्ने बताउँछन् । उनले भने,  ‘कहाँ–कहाँ व्यवस्थापन गर्न सकिन्छ गर्ने र सुधार गर्नसक्ने ठाउँमा सुधार गर्नुपर्छ, तत्काल व्यवस्थापन गर्न सकिँदैन भने बन्द नै गर्नुपर्छ, दशैं छ भनेर जोखिममा यात्रा गराउनु हुन्न ।’ अहिले पनि सडकमा पहिरो खस्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उल्लेख गर्दै उनले सुधार गरेर सञ्चालन गर्दा जोखिम छैन भन्ने लागेको क्षेत्रमा सञ्चालन गर्ने तर सडक व्यवस्थापनमा समय लाग्ने छ भने हतार गर्न नहुने सुझाव दिए । ‘दशैंमा यात्रुको चाप छ भनेर ज्यानको जोखिम राखेर सवारी साधन सञ्चालन गर्नु भएन,’ उनले भने, ‘त्यसैगरी सञ्चालन गर्दा झ्याप्ले खोलामा त्यती ठूलो घटना भयो, गाडी नचलाउ भन्दाभन्दै चलाएका कारण झ्याप्ले खोलामा घटना भएको थाहा नै छ ।’ उनका अनुसार जहाँ पनि सडक खनेको ठाउँमा सानो ठूलो पहिरो खसरिहेको र यसले जोखिम कायम छ भनेर देखाउँछ । आगामी दिनमा पनि ठूलो क्षति गराउन सक्ने विज्ञ गजुरेलकाे भनाइ छ । ‘यो अवस्थामा जबरजस्ती गरेर घर जानलाई हतार गर्नु हुँदैन, ज्यान रह्यो भने दशैं त फेरि पनि मनाउन पाइहालिन्छ, ‘ उनले भने, ‘यात्रुले पनि जबरजस्ती जान नखोजौं, सरकारले पनि जोखिम छ भनेर यकिन भएको ठाउँमा गाडी जान रोक्नैपर्छ ।’