नेपालले कार्बन बिक्रीबाट १ अर्ब ६० करोड पाउँदै

काठमाडौं । विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ । नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा ६ वर्षमा २.४ मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो । प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र १ अर्ब ६० करोड प्राप्त गर्ने मन्त्रालयले जनाएको छ । वन मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुंगानाका अनुसार विश्व बैंकसँग सुरुमा सम्झौता गर्दा उक्त रकम वन विकास कोषमार्फत आउने गरी सम्झौता भएको थियो । अर्थ मन्त्रालयले मुलुकको कानुनी प्रावधानअनुसार त्यस्तो रकम सर्व सञ्चिति कोषमार्फत आउनुपर्ने र त्यसपछि मात्र वन विकास कोषमा हस्तान्तरण हुने भनेपछि विश्व बैंकले त्यसबारेमा स्पष्ट पार्न सरकारसँग अनुरोध गरेको उनले जानकारी दिए । कार्बन व्यापारबाट प्राप्त हुने रकम स्थानीय लाभग्राही आदिवासी–जनजाति समुदायमा ८० प्रतिशत खर्च गर्नुपर्ने प्रावधान छ । ‘यसका लागि सरकारले योजना बनाएर स्वीकृत गरिसकेको छ,’ प्रवक्ता ढुंगानाले भने । कार्बन व्यापारका सम्बन्धमा खासगरी सन् २०१८ मा नेपालको राष्ट्रिय रेडप्लस रणनीति, राष्ट्रिय वन आधार तह स्वीकृत भएको थियो । त्यसपछि सन् २०१९ देखि २०२४ सम्म तराई भूपरिधिका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रमअन्तर्गत कार्बन व्यापारबाट प्राप्त लाभको बाँडफाँड योजना तयार गरिएको थियो । उक्त कार्यक्रम १३ जिल्लाका एक दशमलव सात मिलियन हेक्टरमा लागू भएको केन्द्रका प्रमुख एवं सहसचिव नवराज पुडासैनीले जानकारी दिए । नेपालको वन क्षेत्रबाट औसतमा प्रतिहेक्टर एक सय ६७ टन कार्बन सञ्चिति भएको छ । सहसचिव पुडासैनीले भने, ‘नेपालको तराई भूपरिधि क्षेत्रका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गरी सन् २०२८ सम्म करिब तीन करोड ४२ लाख टन कार्बनडाइअक्साइड ग्यास उत्सर्जन कम गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा २०२३ मा मापन गर्दा २३ लाख टन कार्बन उत्सर्जन कटौती भएको छ ।’ ‘लिफ कोलिजन’मा सम्झौता गर्दै नेपाल पहिलो चरणको कार्बन व्यापारपछि नेपालका तर्फबाट ‘उत्सर्जन घटाउन वन वित्त बढाउने साझेदारी कार्यक्रम’ (लिफ कोलिजन) सम्बन्धी प्रस्ताव पेस भई सन् २०२१ नोभेम्बर ३ मा हस्ताक्षर भएको थियो । लिफ कोलिजन बजारमुखी तथा नतिजामा आधारित संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, नर्वे र दक्षिण कोरियासहित २६ निजी कम्पनीको साझेदारी संयन्त्र हो । घाना, ब्राजिल र कोष्टारिकाले यसमा कार्बनको मूल्य निर्धारण गरी सम्झौता गरिसकेका छन् । नेपालले आगामी नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको बाकुमा हुने जलवायुसम्बन्धी २९औँ अन्तर्राष्ट्रिय सम्मेलनका बेला त्यस्तो सम्झौता गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । यसमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशस्थित वनमा सञ्चित कार्बन बिक्री गर्नका लागि आवश्यक तयारीसम्बन्धी क्रियाकलाप सञ्चालन गरिएको सहसचिव पुडासैनीले जानकारी दिए । नेपालले सन् २०२८ सम्मका लागि हुने यस सम्झौताअनुसार उक्त तीन प्रदेशमा तीन दशमलव दुई मिलियन हेक्टर वन क्षेत्रमा सात मिलियन टन कार्बन सञ्चिति गरिनेछ । यस कार्बन सञ्चितिबापत नेपालले एक सय मिलियन अमेरिकी डलर रकम प्राप्त गर्नेछ । यस सम्झौतामा कार्बनको मूल्य निजी कम्पनीसँग प्रतिटन २५ डलर र सार्वभौम मुलुकसँग १० डलर प्रतिटन निर्धारण हुनेछ । कार्बन व्यापारसम्बन्धी विज्ञ तथा मन्त्रालयका पूर्वसहसचिव पुरुषोत्तम घिमिरेले कार्बन व्यापारका सम्बन्धमा वन मन्त्रालयले निजी क्षेत्रलाई स्वागत गरेर अघि बढ्न सके मात्र सफलता प्राप्त हुने धारणा राखे । उनले भने, ‘कार्बन व्यापार गर्न निजी क्षेत्रलाई नल्याई सम्भव हुँदैन । निजी क्षेत्रलाई यसमा अनुमति दिइसकेपछि कानुनी दायरामा राखेर नियमन गर्दा हुन्छ, बाँकी काममा भने स्वतन्त्रता दिनुपर्छ । हरेक पटक मन्त्रालयले काममा हस्तक्षेप गर्न हुँदैन ।’ निजी क्षेत्रका जग्गामा वनजंगल उत्पादन गरेर कार्बन व्यापारका लागि प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । ‘रेडप्लस’ के हो ? पृथ्वीको सबैभन्दा बाहिरी सतहमा रहेर पृथ्वीबाट परावर्तन भई बाहिर निस्किने तापिए किरणहरुलाई रोक्ने र पृथ्वीको तापक्रम क्रमिक रुपमा बढाउन भूमिका खेल्ने ग्यासहरूलाई हरितगृह ग्यास भनिन्छ । हरितगृह ग्यासहरुमा सबैभन्दा बढी भूमिका खेल्न सक्ने ग्यासका रुपमा कार्बनडाइअक्साइड ग्यासलाई मानिएको छ । त्यस्तै, जलवायु परिवर्तनको मुख्य कारण पनि विभिन्न स्वरुपमा रहेको हरितगृह ग्यासहरु वायुमण्डलमा प्रवेश गर्नुलाई मानिएको छ । वन विनाश तथा वन क्षयीकरणबाट हुने कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने, वनको प्रभावकारी संरक्षण गर्ने र यसको दिगो व्यवस्थापनमार्फत कार्बन सञ्चिति क्षमता अभिवृद्धि गराउने कार्य गरेबापत विकासोन्मुख मुलुकलाई विकसित राष्ट्रहरुबाट प्रोत्साहनस्वरुप प्राप्त हुने भुक्तानीको अवधारणालाई समग्रमा रेडप्लस भनिएको हो । यस कार्यक्रमअन्तर्गत वन विनाशका माध्यमबाट हुने उत्सर्जन न्यूनीकरण, वन क्षयीकरणका माध्यमबाट हुने उत्सर्जन न्यूनीकरण, वन कार्बन सञ्चितिको संरक्षण, वनको दिगो व्यवस्थापन र वन कार्बनको सञ्चितिमा अभिवृद्धि गर्ने कार्य गरिन्छ । नेपालले पनि रेडमार्फत सन् २००८ देखि विभिन्न क्रियाकलाप गर्दै आइरहेको छ । सन् २०१८ मा तयार भएको राष्ट्रिय रेड रणनीति कार्बन व्यापार तथा रेडप्लस कार्यक्रमको कोसेढुंगा हो । रेडप्लस कार्यक्रमको सिलसिलामा नेपाल तयारी चरणबाट कार्यान्वयन चरणमा प्रवेश गर्न लागेको छ । रासस

विदेश पढ्ने योजनामा हुनुहुन्छ ? यी हुन सक्छन् पूर्ण छात्रवृत्ति

काठमाडौं । पैसा छैन भन्दैमा अब कुनै पनि विद्यार्थीले पढाइबाट वञ्चित हुन पर्दैन । बस् यसका लागि तपाईं मेहनती र क्षमतावान हुनुपर्‍यो । यतिमात्र होइन, विश्वभरका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ । तपाईं विश्वका जुनसुकै कलेजमा आफ्नो एक पैसा खर्च नगरी स्नातक, स्नातकोत्तर र पीएचडीसम्मकै अध्ययन गर्न सकिन्छ । क्षमतावान विद्यार्थीलाई विभिन्न देश वा सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छ । जहाँ तपाईंलाई अध्ययन गर्न मात्र होइन, आवतजावत, बस्ने खानलगायत स्वास्थ्य कोषको पनि सुविधा छ । आउनूहोस् यस्ता सुविधा दिने विश्वका १० संस्थाबारे छोटकरीमा जानकारी राखौं । १.येल विश्वविद्यालय छात्रवृत्ति अमरेिकामा रहेकाे यो विश्वविद्यालयले स्नातक विद्यार्थीहरूको लागि आवश्यकतामा आधारित छात्रवृत्ति प्रदान गर्दछ । जसलाई येल छात्रवृत्ति भनिन्छ । यो छात्रवृत्ति वास्तवमा एउटा अनुदान हो, जुन फिर्ता गर्नुपर्ने हुँदैन । जसको अर्थ विद्यार्थीहरूले स्नातकपछि यसलाई फिर्ता गर्नु पर्दैन । यो नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उपलब्ध छ । जसले वित्तीय आवश्यकताको आधारमा योग्यता प्राप्त गर्छन् । यस छात्रवृत्तिले औसतमा ५० हजार डलरसम्मको सहायता प्रदान गर्दछ । २. मेक्स्ट छात्रवृत्ति जापानको शिक्षा, संस्कृति मन्त्रालय र खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयद्वारा यो छात्रवृत्ति प्रदान गरिन्छ । यो विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई जापानमा अध्ययन गर्नका लागि गरिएकाे डिजाइन गरिएको हो । यो जापानको टोक्यो विश्वविद्यालय, क्योकुशु विश्वविद्यालय, ओसाका विश्वविद्यालय, टोक्यो मेधा विश्वपिद्यालय र क्योटो विश्वविद्यालयबाट दिइन्छ । जहाँ स्नातक, स्नातकोत्तर र अनुसन्धान गर्ने विद्यार्थीका लागि छात्रवृत्ति दिने गरिन्छ । जसमा लागि १ लाख १७ हजार येनदेखि २ लाख ४२ हजारसम्मको मासिक रकम उपलब्ध गराउने गरिन्छ । जसमा नेपाललगायतका अन्य देशका विद्यार्थीले पनि सहभागिता जनाउन सक्छन् । ३. फुलब्राइट विदेशी विद्यार्थी कार्यक्रम फुलब्राइट विदेशी विद्यार्थी कार्यक्रमले विभिन्न क्षेत्रमा स्नातक डिग्री, विशेषगरी मास्टर्स र पीएचडी कार्यक्रमहरूमा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने गर्दछ । यसमा आवेदन दिन अमेरिकाबाहेक अन्य सबै देशका विद्यार्थीहरू पाउनेछन् । अमेरिकी अध्ययनमा आफ्नो शिक्षा अगाडि बढाउन अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि याे ठूलो अवसर हो । जसले पर्याप्त वित्तीय सहयोग प्राप्त गर्नमा मद्दत गर्दछ । यस छात्रवृत्तिले पूर्ण वित्त पोषण प्रदान गर्दछ, जसमा ट्यूसन शुल्क, हवाई यात्रा खर्च, जीविकोपार्जन भत्ता, स्वास्थ्य बीमा र थप लाभहरू समावेश छन् । यसको उद्देश्य अमेरिका र अन्य देशबीचको आपसी समझदारी र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नु हो । ४.मोनाश विश्वविद्यालय छात्रवृत्ति मोनाश विश्वविद्यालयले आफ्नो स्नातक कार्यक्रमहरूमा भर्ना हुन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि मोनाश ह्युमनिटेरियन छात्रवृत्ति प्रदान गर्दछ । यस छात्रवृत्तिले सम्पूर्ण ट्यूशन शुल्क कभर गर्छ र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई वार्षिक ६ हजार डलर भत्ता पनि प्रदान गर्छ । यो नेपाली र अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि खुला छ तर अस्ट्रेलियाका नागरिकहरूका लागि उपलब्ध छैन । ५.स्ट्यानफोर्ड विश्वविद्यालय छात्रवृत्ति स्ट्यानफाेर्ड विश्वविद्यालयअन्तर्गत स्नातक तहमा आवेदन दिने विद्यार्थीहरूले आफ्नो भर्ना आवेदनको साथ आवश्यकतामा आधारित आर्थिक सहायता कार्यक्रमको लागि निवेदन गर्न सक्छन् । नाइट–हेनेसी छात्रवृत्तिअन्तर्गत विद्यार्थीहरूले कुनै पनि स्ट्यानफोर्ड स्नातक डिग्रीका लागि तीन वर्षसम्मको वित्तीय सहयोग प्राप्त गर्न सक्छन्, जसमा ट्यूशन शुल्क, जीविकोपार्जन खर्च र वार्षिक यात्रा भत्ताको कभर समावेश छ । नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्थानान्तरण भत्ता प्राप्त गर्न सक्छन् र दोस्रो तथा तेस्रो वर्षका विद्यार्थीहरूले शैक्षिक गतिविधिहरूका लागि थप कोषको खोजी गर्न सक्छन्। यो वित्तीय सहयोग सम्बन्धित डिग्री कार्यक्रममा लागू हुन्छ, तर छात्रवृत्ति जित्नेहरूले अर्को स्नातक कार्यक्रमका लागि अतिरिक्त कोषको अनुरोध गर्न सक्छन् । यद्यपि यो ग्यारेन्टी गरिएको हुँदैन। यदि कार्यक्रम तीन वर्षभन्दा बढी समयको छ भने वित्तीय सहयोग सम्बन्धित विभाग वा विद्यालयको मानक प्रतिबद्धतासँग मेल खाने गरी मिलाइन्छ। ६. चिभनिङ छात्रवृत्ति चिभनिङ छात्रवृत्तिले पूर्ण वित्त पोषण प्रदान गर्छ, जसमा हवाई उडान खर्च, आवास र कोर्स शुल्क समावेश छन् । यसले प्राप्तकर्ताहरूलाई आफ्ना व्यावसायिक लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न र एक वर्षको लागि युकेमा परिवर्तनकारी अनुभव लिन अनुमति दिन्छ । चिभनिङ छात्रवृत्ति युके सरकारको विश्वव्यापी छात्रवृत्ति कार्यक्रम हो ।  यी छात्रवृत्तिहरू असाधारण नेतृत्व क्षमतायुक्त उत्कृष्ट विद्यार्थीहरूलाई प्रदान गरिन्छ । ७.नेदरल्याण्ड सरकारी छात्रवृत्ति यो एक शैक्षिक उपलब्धिमा आधारित छात्रवृत्ति हो । जसले ट्यूशन शुल्क कभर गर्छ । यो गैर इयु, गैर ईईए देशका विद्यार्थीहरूका लागि योग्य छ । हल्यान्ड छात्रवृत्ति कार्यक्रम (एचएसपी) ले जीविकोपार्जन खर्चको लागि आर्थिक सहयोग प्रदान गर्दछ । त्यसैगरी, ओरेन्ज ट्यूलिप छात्रवृत्ति –ओटीएस) विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको छ । ओटीएसकाका लागि आवेदन दिने विद्यार्थीहरूले भीयूएफपी र एचएसपीसँगै आवेदन दिनुपर्ने हुन्छ । ८.गेट्स क्याम्ब्रिज छात्रवृत्ति गेट्स क्याम्ब्रिज छात्रवृत्तिले त्यहाँ अध्ययनका लागि सबै खर्चहरू कभर गर्छ र थप कोष प्रदान गर्दछ । विश्वविद्यालय रचना शुल्क वार्षिक मर्मत भत्ता २० हजार युरोसम्म ४ वर्षको लागि प्रदान गरिन्छ । हवाई यात्रा खर्च, भिसा खर्च,  स्वास्थ्य शुल्क, स्वास्थयबीमाको पनि सुविधा हुन्छ । यस छात्रवृत्तिले गेट्स क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई व्यापक सहयोग प्रदान गर्दछ । ९. केएआइएसटी विश्वविद्यालय छात्रवृत्ति   केएआइएसटी विश्वविद्यालयले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्ति अवसरहरू प्रदान गर्छ । जसमा प्रतिष्ठित प्रेसिडेन्सियल साइन्स छात्रवृत्ति, नेशनल एक्सिलेन्स छात्रवृत्ति, नेशनल छात्रवृत्ति, कम आय परिवार छात्रवृत्ति, वित्तीय सहायता छात्रवृत्ति, र बाह्य छात्रवृत्तिहरू समावेश छन् । यी छात्रवृत्तिहरू विद्यार्थीहरूको विविध आर्थिक अवस्थालाई समर्थन गर्न डिजाइन गरिएका हुन्। यसको उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक र आर्थिक रूपमा सहयोग पुर्‍याउनु हो । जसले उनीहरूलाई आफ्नो अध्ययनमा केन्द्रित हुन र शैक्षिक सफलतामा प्रगति गर्न सक्षम बनाउँछ। यीमध्ये धेरै कार्यक्रमहरूले ट्यूशन शुल्क मात्र नभई जीविकोपार्जन खर्चको लागि पनि सहयोग प्रदान गर्छन् । विविध छात्रवृत्ति अवसरहरू उपलब्ध गराएर विभिन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई आर्थिक बोझ बिना आफ्नो शिक्षा अगाडि बढाउन मौका दिन चाहन्छ । यसले विविध र समावेशी शैक्षिक समुदायलाई प्रोत्साहन दिन मद्दत गर्दछ । १०.टर्की सरकार छात्रवृत्ति टर्की सरकार छात्रवृत्ति टर्कीका विश्वविद्यालयहरूले प्रदान गर्ने विभिन्न विषयहरूमा स्नातक, स्नातकोत्तर, पीएचडी र पोस्ट डक डिग्रीहरूका लागि उपलब्ध छन् ।  टर्की सरकारद्वारा प्रायोजित यस छात्रवृत्तिले पूर्ण वित्त पोषण प्रदान गर्दछ, जसमा ट्यूशन शुल्क, भत्ता, र अन्य लाभहरू समावेश छन् । यो छात्रवृत्ति टर्कीका नागरिकहरू बाहेक सबै राष्ट्रियताका आवेदनदाताहरूका लागि खुला छ।

एभरेष्ट बैंकका चार सेयरधनीले थपे सेयर, दुई नयाँ लगानीकर्ता भित्रिए

काठमाडौं । एभरेष्ट बैंकमा नयाँ दुई ठूला सेयरधनी थपिएका छन् । गत आर्थिक वर्ष २०८०/८१ को असारसम्म बैंकमा नयाँ दुई ठूला सेयरधनी थपिएका हुन् भने चार जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्व बढाएका छन् । बैंकमा आनन्द रत्न तुलाधर र नेपाल लाइफ इन्स्योरेन्स ठूला सेयरधनीका रूपमा थपिएका हुन् । बैंकका अनुसार तुलाधरसँग ०.७६ प्रतिशत अर्थात् ८ लाख ८९ हजार १२७ कित्ता र नेपाल लाइफसँग ०.५२ प्रतिशत अर्थात् ६ लाख ७ हजार ९५८ कित्ता साधारण सेयर स्वामित्व रहेको छ । यस्तै, बैंकका ठूला सेयरधनीसमेत रहेका चार जनाले आफ्नो स्वामित्व बढाएका छन् । बैंकका संस्थापक सेयधरधनी शान्तदेव पाठक, अरुणमान शेरचन, रविकृष्ण श्रेष्ठ र किरणकृष्ण श्रेष्ठले आफ्नो स्वामित्व बढाएका हुन् । सर्वसाधारण समूहतर्फको सेयर खरिद गरेर उनीहरूले आफ्नो सेयर स्वामित्व बढाएका हुन् । संस्थापक पाठकले ३.८८ प्रतिशत अर्थात् ४५ लाख ७० हजार ८०५ कित्ता साधारण सेयर खरिद गरेर बैंकमा ५.०६ प्रतिशत अर्थात् ५९ लाख ५४ हजार ६९६ कित्ता सेयर स्वामित्व पुर्‍याएका छन् । उनीसँग संस्थापक समूहको १.१८ प्रतिशत अर्थात १३ लाख लाख ८३ हजार ८९१ कित्ता सेयर रहेको छ । यस्तै, संस्थापक अरुणमान शेरचनले २.२५ प्रतिशत अर्थात् २६ लाख ४९ हजार ६०३ कित्ता साधारण सेयर खरिद गरेर बैंकमा ३.२ प्रतिशत अर्थात् ३७ लाख ६१ हजार ७८२ कित्ता सेयर स्वामित्व पुर्‍याएका छन् । जसमध्ये शेरचनसँग ०.९५ प्रतिशत अर्थात् ११ लाख १२ हजार १७९ कित्ता सेयर छ । यस्तै, संस्थापक सेयरधनी रहेका रविकृष्ण श्रेष्ठ र किरण कृष्ण श्रेष्ठले समान ०.८५ प्रतिशतका दरले १० लाख ३ हजार ५४३ कित्ता सेयर खरिद गरेका हुन् । यससँगै दुवै जनाको सेयर स्वामित्व समान २.७३ प्रतिशत अर्थात् ३२ लाख १७ हजार ३८१ कित्ता सेयर पुगेको छ । जसमध्ये २२ लाख १३ हजार ८३८ कित्ता संस्थापक सेयर रहेको बैंकले जनाएको छ । गत असारसम्म बैंकमा सबैभन्दा ठूलो सेयरधनी भारतको पन्जाब नेशनल बैंक रहेको छ । पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात् २ करोड ३५ लाख ६५ हजार १२० कित्ता सेयर स्वामित्व रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पन्जाब नेशनल बैंकको २ करोड १४ लाख २२ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको थियो । यस्तै, गत असारसम्म प्रतिमा श्रेष्ठको १४.७७ प्रतिशत अर्थात् १ करोड ५३ लाख ८६ हजार ७२२ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । अघिल्लो वर्ष श्रेष्ठको १ करोड ५८ लाख ६ हजार १११ कित्ता सेयर थियो । यस्तै, होटल स्नो लायनको ९.३० प्रतिशत अर्थात् १० लाख ९४९ हजार ७६९ कित्ता सेयर लगानी रहेको छ । यसअघि अघिल्लो वर्ष होटल स्नो लायनको ९.३१ प्रतिशत अर्थात् ९९ लाख ५४ हजार ३३६ कित्ता सेयर स्वामित्व थियो । गत असारसम्म विष्णुकृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात् १ करोड ८ लाख ३ हजार ६६२ कित्ता सेयर स्वामित्व रहेको बैंकको भनाइ छ । अघिल्लो वर्ष श्रेष्ठको ९८ लाख २१ हजार ५११ कित्ता सेयर मात्रै स्वामित्व थियो ।