मन्त्रालयको उच्च व्यवस्थापनसँग अर्थमन्त्रीको गुनासो- ‘आर्थिक वृद्धि सोचेजस्तो नहुने भयो’
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले सोचेअनुरूप आर्थिक वृद्धि हुने अवस्था नदेखिएको बताएका छन् । उनले आइतबार अर्थमन्त्रालयको उच्च व्यवस्थापनसँग छलफल गर्दै सुरुवाती दिनमा आर्थिक वृद्धि राम्रै हुने देखिए पनि पछिल्लो घटनाक्रमले सोचेअनुरूपको आर्थिक वृद्धि हुने नदेखिएको गुनासो गरे । उनले अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा असोजको दोस्रो साताको बाढी पहिरोले धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले आर्थिक वृद्धि अपेक्षाकृत नहुने बताएका हुन् । अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढी पहिरोले गर्दा मानवीय क्षतिका साथसाथै निजी आवास, सडक, जलविद्युत, शैक्षिक संस्था, कृषि, व्यवसायलगायतका क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने धारणा राखेका हुन् । योबेला राहत र पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गर्न पनि निर्देशन दिएका छन् । बाढी पहिरो जानुअघि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंक लगायतले नेपालको अर्थतन्त्र सुधारोन्मुख भएको बताएका थिए ।
बाढीका कारण बीमा कम्पनीमा ७ अर्ब २८ करोडको दाबी पर्ने अनुमान, कुन कम्पनीमा कति ?
काठमाडौं । बाढी-पहिरोका कारण बीमा कम्पनीहरूलाई ७ अर्ब बढी भार पर्ने भएको छ । बीमा कम्पनीहरूले बाढी-पहिरोको क्षतिबाट ७ अर्ब २८ करोड रुपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान गरेका छन् । देशभर बाढीले विध्वंश मच्चाएपछि प्राधिकरणले बीमा कम्पनीहरूलाई सम्भावित दाबीको प्रारम्भिक तथ्यांक बुझाउन निर्देशन दिएको थियो । सोहीअनुसार कम्पनीहरूले प्राधिकरणलाई प्रारम्भिक तथ्यांक बुझाएका छन् । कम्पनीहरुले बुझाएको तथ्यांकमा २ हजार ३३७ वटा दाबी पर्ने अनुमान गरिएको छ । जसको दाबी रकम ७ अर्ब २८ करोड ८५ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । हालसम्म ७०९ वटा दाबी परिसकेको कम्पनीहरूले जनाइएको छ । हालसम्म २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँको दाबी परेको छ । कुन कम्पनीमा कति दाबी ? सबैभन्दा धेरै भार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई पर्ने अनुमान गरिएको छ । सिद्धार्थ प्रिमियरलाई १ अर्ब ८१ लाख रुपैयाँ बढीको दाबी पर्ने अनुमान छ । यो कम्पनीमा ३१९ वटा दाबी पर्नसक्ने जनाइएकाे छ । यसैगरी, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा १ अर्ब ४४ करोड १० लाख रुपैयाँ बढीको १४७ वटा दाबी परिसकेको छ । हिमालयन एभरेष्टमा १ अर्ब १७ करोड ४७ लाख रुपैयाँ बढीको २१६ वटा दाबी पर्ने अनुमान गरिएको छ भने नेको इन्स्योरेन्समा ८९ करोड ८४ लाख २७ हजार रुपैयाँको २२३ वटा दाबी परिसकेको छ । यसैगरी, शिखरमा ४६ करोड ५८ लाख ५१ हजार रुपैयाँको ३२२ वटा दाबी, नेशनल इन्स्योरेन्स कम्पनीमा २३ करोड ६६ लाख १३ हजार रुपैयाँको २५ वटा, आईजीआई प्रुडेन्सियलमा २० करोड ६४ लाख ४० हजार रुपैयाँको २४८ वटा दाबी र नेपाल इन्स्योरेन्समा १५ करोड २४ लाख ९६ हजार रुपैयाँको १२८ वटा दाबी पर्ने अनुमान गरिएको छ ।
‘यात्रुको चाप बढ्दा भाडा महँगो भएको हो, एयरलाइन्सहरूसँग उडान थप्न आग्रह गरेका छौं’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । उनले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताएका हुन् । मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रिकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गरे । उनले चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूको संख्या बढी हुने भएकाले विमानको टिकट महँगो हुने गरेको बताए । उनले यात्रुहरू सहरबाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महँगो भएको बताए । मन्त्री पाण्डेले सरकारले महँगो हुन नदिनका लागि अनुगमन र नियमन गरिरहेको पनि दाबी गरे । यस पटक धेरै टिकटहरू पहिला नै बिक्री भइसकेको र विपत्ति आइसकेपछि हवाई मार्गको यात्रा रोज्दा टिकटको चाप बढेको बताए । उनले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर्नसक्ने समयसम्म उडान गरिरहेको जानकारी दिए । उनले यात्रुको चापअनुसार उडान बढाइदिन पनि एयरलाइन्सहरूसँग आग्रह गरेकाे पनि बताए ।