निक्षेपको ब्याजदर ३१% र कर्जाको २४% ले घट्यो, यस्तो छ नयाँ ब्याजदर
काठमाडौं । एक वर्षको अवधिमा वाणिजय बैंकको कर्जाको ब्याजदर ३१.३८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.५३ प्रतिशत छ । २०८० भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.०६ प्रतिशत रहेकोमा अहिले घटेर ५.५३ प्रतिशतको बिन्दुमा पुगेको हो । यस्तै, हाल विकास बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.३१ प्रतिशत र वित्त कम्पनीहरुको ७.५५ प्रतिशत रहेको छ । २०८० को सोही अवधिमा विकास बैंकहरुको ९.४३ प्रतिशत र वित्त कम्पनीहरुको १०.२७ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८१ भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत, विकास बैंकहरुको १०.८९ प्रतिशत र वित्त कम्पनीहरुको १२.१४ प्रतिशत रहेको छ । यो एक वर्षको अवधिमा वाणिज्य बैंकको कर्जाको ब्याजदर २१.४२ प्रतिशतले घटेको छ । २०८० भदौमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.२३ प्रतिशत, विकास बैंकहरुको १३.९९ प्रतिशत र वित्त कम्पनीहरुको १४.६८ प्रतिशत रहेकोथियो । २०८० भदौमा ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ५.९५ प्रतिशत रहेकोमा २०८१ भदौमा २.८९ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० भदौमा ५.८८ प्रतिशत रहेकोमा २०८१ भदौमा ३.०० प्रतिशत रहेको छ । २०८१ भदौमा वाणिज्य बैंकहरुको औसत आधार दर ७.४९ प्रतिशत, विकास बैंकहरुको ९.१५ प्रतिशत र वित्त कम्पनीहरुको १०.६५ प्रतिशत रहेको छ । २०८० भदौमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.१४ प्रतिशत, विकास बैंकहरुको १२.१२ प्रतिशत र वित्त कम्पनीहरुको १३.५२ प्रतिशत रहेको थियो ।
लघुवित्तमा बैंकहरूको डेढ खर्ब लगानी, ग्लोबल आइएमईको उच्च
काठमाडौं । बैंकहरूको लघुवित्त वित्तीय संस्थाहरूमा डेढ खर्ब रुपैयाँ कर्जा लगानी रहेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को साउनसम्म बैंकहरूले १ खर्ब ६४ अर्ब ६५ करोड रुपैयाँ लघुवित्त संस्थाहरूलाई कर्जा प्रवाह गरेका हुन् । गत वर्षको साउनसम्म बैंकहरूले लघुवित्त संस्थालाई १ खर्ब ४४ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूले लघुवित्तलाई दिएको कर्जा १३.८९ प्रतिशत अर्थात् २० अर्ब ९ करोड रुपैयाँ बढाएका हुन् । समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लघुवित्तलाई दिने कर्जा बढाएको छ । यस बैंकले गत वर्षको साउनको तुलनामा ५४.१६ प्रतिशत बढाएर १२ अर्ब ४६ करोड रुपैयाँ कर्जा लघुवित्त संस्थाहरूमा प्रवाह गरेको हो । तर, लघुवित्त वित्तीय संस्थामा सबैभन्दा धेरै कर्जा भने ग्लोबल आइएमई बैंकले गरेको देखिन्छ । ग्लोबल आइएमई बैंकले १२.९२ प्रतिशत बढाएर १६ अर्ब ४२ करोड रुपैयाँ लघुवित्तमा कर्जा लगानी गरेको छ । यस्तै नबिल बैंकले ४३.८० प्रतिशत बढाएर १२ अर्ब ५४ करोड रुपैयाँ, सानिमा बैंकले ३०.७८ प्रतिशत बढाएर ५ अर्ब ४० करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २२.६६ प्रतिशत बढाएर ५ अर्ब ६५ करोड रुपैयाँ, कुमारी बैंकले १८.५५ प्रतिशत बढाएर ११ अर्ब ९५ करोड रुपैयाँ लघुवित्तलाई कर्जा लगानी गरेका हुन् । यस्तै एनएमबी बैंकले १५.८७ प्रतिशत बढाएर ८ अर्ब ६ करोड रुपैयाँ, सिद्धार्थ बैंकले १३.१३ प्रतिशत बढाएर ५ अर्ब ७३ करोड रुपैयाँ, माछापुच्छ«े बैंकले १२.२५ प्रतिशत बढाएर ४ अर्ब ९५ करोड रुपैयाँ, नेपाल बैंकले १०.२० प्रतिशत बढाएर ६ अर्ब रुपैयाँ लघुवित्तलाई कर्जा दिएका हुन् । लक्ष्मी सनराइज बैंकले ९.०४ प्रतिशत बढाएर ८ अर्ब ५७ करोड रुपैयाँ, प्राइम बैंकले ७.५६ प्रतिशत बढाएर ९ अर्ब ६४ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले ०.०२ प्रतिशत बढाएर ६ अर्ब ३७ करोड रुपैयाँ लघुवित्तमा लगानी गरेका हुन् । गत वर्ष लघुवित्तमा लगानी नगरेको प्रभु बैंकले यसपटक भने १० अर्ब ११ करोड रुपैयाँ लगानी गरेको छ । तर, यस अवधिमा विभिन्न ६ वटा बैंकले भने लघुवित्तमा जाने कर्जा घटाएका छन् । एनआईसी एशिया बैंकले ३४.६७ प्रतिशत घटाएर ६ अर्ब ३२ करोड रुपैयाँ, सिटिजन्स बैंकले २५.८८ प्रतिशत घटाएर १ अर्ब ९८ करोड रुपैयाँ, कृषि विकास बैंकले २२.६२ प्रतिशत घटाएर ३ अर्ब २४ करोड रुपैयाँ लघुवित्तमा लगानी गरेका हुन् । यस्तै हिमालयन बैंकले १२.१२ प्रतिशत घटाएर ९ अर्ब ३० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ११.९३ प्रतिशत घटाएर १२ अर्ब ३१ करोड रुपैयाँ र एभरेष्ट बैंकले ७.४५ प्रतिशत घटाएर ७ अर्ब ५६ करोड रुपैयाँ लघुवित्त संस्थामा लगानी गरेका हुन् ।
लघु, सम्पत्ती र कृषि बीमाको हिस्सा बढ्यो, मोटरको यथावत
काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लघु बीमाको हिस्सा ह्वात्तै बढेको छ । साथै सम्पत्ती र कृषि बीमाको हिस्सा पनि वृद्धि भएको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बढीको निर्जीवन बीमा व्यवसाय भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । त्यसमध्ये लघु बीमा व्यवसायको १.४४ प्रतिशत रहेकाे छ । अर्थात् ११ करोड ३८ लाख रुपैयाँ बराबरको लघु बीमाको व्यापार भएको प्राधिकरणकाे भनाइ छ । गत आर्थिक वर्षको सोही अवधिमा लघु बीमाको व्यवसाय हिस्सा ०.०६ प्रतिशत थियो । अर्थात् गत आवको २ महिनामा ४८ लाख रुपैयाँको लघु बीमाको व्यापार भएको थियो । जबकी गत वर्ष निर्जीवन बीमाको कुल व्यापार ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ थियो । यसैगरी, चालु आवको २ महिनामा सम्पत्ती बीमाको हिस्सा बढेर २९.६८ प्रतिशत पुगेको छ । निर्जीवन बीमा क्षेत्रमा सम्पत्ती बीमाको हिस्सा सबैभन्दा धेरै छ । गत आवको सोही अवधिमा सम्पत्ती बीमाको हिस्स २६.७५ प्रतिशत थियो । र, मोटर बीमाको हिस्सा २८.०५ प्रतिशत थियो । विगतमा सबैभन्दा ठुलो बजार मोटरको थियो । तर, अब सम्पत्तीले मोटरलाई उछिनेको अवस्था छ । चालु आवको २ महिनामा मोटर बीमाको हिस्सा यथावत अर्थात् २८.०५ प्रतिशत रहेको छ । चालु आवको दुई महिनामा मोटर बीमाबाट २ अर्ब २० करोड ४१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ भने सम्पत्ती बीमाबाट २ अर्ब ३३ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यस्तै, सामून्द्रिक बीमाको हिस्सा पनि घटेको छ । गत आवको २ महिनामा समून्द्रिक बीमाको हिस्सा ६.६९ प्रतिशत थियो । यस्तो हिस्सा घटेर ५.८८ प्रतिशतमा झरेको छ । यसैगरी, हवाई बीमाको हिस्सा ६.९६ प्रतिशतबाट झरेर ५.७१ ओर्लिएको छ भने इन्जिनियरिङको १२.९१ बाट ११.७६ प्रतिशतमा झरेको छ । विविध तर्फ विविध १३.५३ प्रतिशत १२.३४ प्रतिशतमा झर्दा कृषिको भने सामान्य वृद्धि देखिएको छ । गत आवको दुई महिनामा कृषि बीमाको हिस्सा ५ प्रतिशत थियो । यस्तो हिस्सा वृद्धि भएर अहिले ५.१० प्रतिशतमा पुगेको छ ।