टोयोटामा हलचल ! ३३ अर्बको प्रश्न सामना गर्दै अध्यक्ष टोयोडा

काठमाडौं । टोयोटा मोटरका अध्यक्ष अकीयो टोयोडालाई आगामी बिहीबार जापानी अटोमोबाइल कम्पनीको वार्षिक सेयरधनी बैठकमा एक महत्त्वपूर्ण आपूर्तिकर्तालाई निजीकरण गर्ने ३३ अर्ब डलरको डिलबारे प्रश्नहरू सामना गर्नुपर्ने सम्भावना देखिएको छ । यो वर्षको बैठक बिहीबार बिहान १० बजे सुरु हुँदैछ र यो तीन वर्षमा पहिलो पटक हो जब टोयोडाविरुद्ध कुनै सेयरधनी सल्लाहकार संस्था उभिएको छैन । तर पनि टोयोटाका संस्थापकका नाति टोयोडाले कम्पनीको सुशासनबारे केही कठिन प्रश्नहरू सामना गर्नुपर्ने देखिएको छ- यदि आपूर्तिकर्ता कम्पनी टोयोटा इन्डस्ट्रीजको यस हप्ता भएको बैठकलाई आधार मान्ने हो भने । मंगलबार भएको टोयोटा इन्डस्ट्रीजको बैठकमा सेयरधनीहरूले ४.७ ट्रिलियन येन (३३ अर्ब डलर) को निजीकरण प्रस्तावलाई अल्पसंख्यक सेयरधनीहरूप्रति अनुचित भन्दै असहमति जनाएका थिए । विश्वकै सबैभन्दा बढी बिक्री हुने अटोमोबाइल कम्पनी टोयोटा मोटरले यस आपूर्तिकर्तालाई एक जटिल चरणबद्ध सम्झौतामार्फत निजी बनाउने योजना बनाएको छ, जसअन्तर्गत प्रति सेयर १६ हजार ३०० येनको प्रस्ताव गरिएको छ । यो मूल्य टोयोटा मोटरका सेयरधनीहरूका लागि आकर्षक हुन सक्दछ, तर लन्डनस्थित जेनर एसेट म्यानेजमेन्टलगायत आलोचकहरूले उक्त प्रस्तावमा विशेषगरी अल्पसंख्यक सेयरधनीहरूको व्यवहारबारे चिन्ता व्यक्त गरेका छन् । 'यो निर्णय अल्पसंख्यक सेयरधनीहरूलाई बेवास्ता गरेर गरिएको होइन, बरु सबै पक्षलाई ध्यानमा राखेर गरिएको हो,' टोयोटा इन्डस्ट्रीजका अध्यक्ष कोइची इतोले मंगलबारको बैठकमा भने । यो सम्झौताअनुसार एउटा नयाँ होल्डिङ कम्पनी स्थापना गरिनेछ । सूचीकृत नभएको रियल इस्टेट कम्पनी टोयोटा फुडोसानले १८० अर्ब येन लगानी गर्नेछ भने टोयोडाले १ अर्ब येन लगानी गर्नेछन् । टोयोटा मोटरले भने ७०० अर्ब येनको गैर-मताधिकारयुक्त प्रिफर्ड सेयरमा लगानी गर्नेछ । मंगलबारको बैठक करिब दुई घण्टा बसेको थियो जुन टोयोटा इन्डस्ट्रीजको इतिहासमै सबैभन्दा लामो बैठक हो । कम्पनीका अनुसार कार्यकारीहरूले लगभग दुई दर्जन प्रश्नहरू उठाएका थिए जुन हालसम्मकै धेरै हो । हङकङस्थित ओएसिस म्यानेजमेन्टले मूल्य अझ बढाउन दबाब दिने बताएको छ ।उसले टोयोटा मोटर र टोयोटा इन्डस्ट्रीज दुवैमा सेयर राखेको छ । टोयोटाले भनेको छ कि यो अधिग्रहणले टोयोटा इन्डस्ट्रीजलाई समूहका अन्य कम्पनीहरूसँग सहकार्य अझ सशक्त बनाउन मद्दत गर्नेछ । किनभने टोयोटा आफैलाई अब 'मोबिलिटी कम्पनी'का रूपमा रूपान्तरण गर्दैछ । यस वर्ष प्रख्यात सल्लाहकार संस्थाहरू ग्लास लुइस र इन्स्टिच्युसनल सेयरधनी सर्भिसेस (आईएसएस) दुवैले टोयोडालाई पुनःनिर्वाचन गर्न सिफारिस गरेका छन् । ग्लास लुइसले विगत दुई वर्ष र आईएसएसले गत वर्ष टोयोडाविरुद्ध सिफारिस गरेका थिए । टोयोडाको पदविको समीक्षामा सुशासनसम्बन्धी व्यापक चिन्ताहरू उठाइएको थियो । तर यसपालिको सिफारिस परिवर्तनको कारण यी सल्लाहकारहरूले स्पष्ट रूपमा भनेका छैनन् । टोयोडाप्रतिको सेयरधनी समर्थन पछिल्ला वर्षहरूमा घट्दै आएको छ । उनी २०२४ मा ७२ प्रतिशत मत समर्थनका साथ बोर्डमा पुनःनिर्वाचित भए- जुन टोयोटाको निर्देशकका रूपमा हालसम्मकै न्यून समर्थन भएको उनले स्वयम् भनेका थिए । अघिल्ला दुई वर्षमा यो समर्थन दर क्रमशः ८५ प्रतिशत र ९६ प्रतिशत थियो । टोयोडाले २०२४ को जुलाईमा आफ्नै समाचार मिडियासँगको अन्तर्वार्तामा भनेका थिए, 'यदि सेयरधनीहरूको समर्थन अझै घटिरहने हो भने मेरो बोर्डको सिट पनि जोखिममा पर्न सक्छ ।  बीवाईडीविरुद्ध जीली र ग्रेट वाल एकजुट, मूल्य युद्धले तात्यो बजार

रातो बंगलाले सवा एक अर्ब लगानीमा बिल्डिङ बनाउँदै, आम्दानी निरन्तर बढ्दै

काठमाडौं । सन् १९९२ बाट सञ्चालनमा आएको रातो बंगला स्कुल पछिल्लो समय निरन्तर आम्दानी बढाउँदै गएको छ । ललितपुरको पाटन ढोकामा अवस्थित रातो बंगलाको सुरुवात १६ जना विद्यार्थीबाट सुरू भएको हो । सुरुवातमा कक्षा तीन र चारबाट पढाउन सुरु गरिएको यो स्कुलमा अहिले १२ कक्षासम्म पढाइ हुन्छ । स्कुलको सञ्चालन आम्दानी बढ्दै गएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष (सन् २०२४) मा रातो बंगलाले ६७ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२३ मा ५५ करोड ९० लाख, सन् २०२२ मा ४१ करोड ३० लाख, २०२१ मा २८ करोड ४० लाख र २०२० मा ३६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । स्कुलको आम्दानी निरन्तर बढ्दै गएको देखिन्छ । पछिल्लो पाँच वर्षमा स्कुलको आम्दानी ८४ प्रतिशत बढेको छ ।  रातो बंगलाकी अध्यक्ष शान्ता दिक्षितले सुरुमा आफ्नो घरको कोठाबाट विद्यालय सञ्चालन गरेकी थिइन । १६ जना बच्चा पढाएर सुरू गरेको विद्यालयका अहिले करिब १ हजार ५० जना विद्यार्थी छन् । स्कुलले सन् २००४ देखि क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनको ‘ए’ लेभल कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । ‘ए’ लेभल कक्षाका लागि नयाँ भवन निर्माण थालेको स्कुलले जानकारी दिएको छ । सो भवनका लागि एक अर्ब २० करोड रुपैयाँ लगानी लाग्ने बताइएको छ ।  त्यसका लागि स्कुलले ६७ प्रतिशत बैंकको ऋण र बाँकी ३३ प्रतिशत स्वपुँजी (इक्विटी) हुने लगानी लगानी संरचना तयार पारेको छ । स्कुलले ८० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।  सम्बन्धित सामग्री :  घरको कोठा र १६ विद्यार्थीबाट सुरु भएको रातो बंगाला : सबैको रोजाइ, देशकै महँगो

नाडाभित्र हाम्रा पीडा समेटिन नसक्दा नाइमा खोलेका हौं : रितुसिंह वैद्य

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्ट एण्ड म्यानुफ्क्चर्स एशोसिएसन (नाइमा) की अध्यक्ष रितुसिंह वैद्यले  अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा) मा आफ्ना पीडा तथा गुनासो नसुनेकाले नाइमाको जन्म भएको बताएकी छन् । नाडामा राजनीतिक गतिविधि बढ्दै गएको र नीतिगत तहमा प्रभावकारी लबिङ गर्न नसकेकाले नाइमा संस्था जन्मिएको व्यवसायीहरूले बताउँदै आएका छन् । यसै विषयसँग केन्द्रित रही हामीले अध्यक्ष वैद्यलाई ५ प्रश्न गरेका छौं :  तपाईंहरूले नाइमा खोल्नुपर्ने अवस्था किन आइलाग्यो ? नाइमा खोलिनुको मुख्य कारण नाडाभित्र धेरै सदस्य हुनु हो । त्यहाँ हाम्रा पीडा तथा गुनासोहरू कसैले सुनिदिएनन् । हामी आयातकर्ताहरूलाई आफ्नै एजेण्डा तथा आफ्नै पोलिसी चाहिएको थियो । पछिल्लो समय नीतिगत लबिङमा नाडा निकै कमजोर भयो अनि हाम्रा मुद्दा पनि उठाउन सकेन । त्यसकारण हामीले नाइमा खोल्न बाध्य भएका हौं ।   सरकारले ल्याएको बजेटप्रति नाइमाको दृष्टिकोण कस्तो छ ? सरकारले बजेट स्वागतयोग्य छ । यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं । विद्युतीय सवारीसाधनमा कर बढाएको छैन, जसले गर्दा हामीलाई ठूलो राहत भएको छ । हामी एकदमै खुसी छौं । नाइमाको तर्फबाट सरकारलाई धन्यवाद दिन चाहन्छु।  आवश्यकताभन्दा बढी ल्याएका ईभीले बजार पाउनेमा तपाईंहरू कत्तिको विश्वस्त हुनुहुन्छ ? हाम्रा साथीहरूरुले आआफ्नो योजनाअनुसार नै बजेट आउनुभन्दा अगाडि भित्र्याउनुभएको हो । करको विषयलाई लिएर अहिले बजारमा आवश्यकताभन्दा बढी ईभी गाडी ल्याएको छ भन्नु हल्ला हो । यसमा उहाँहरूले आफ्नो तरिकाले बिक्री गर्नुहुन्छ होला, यसमा कुनै समस्या छैन । दुई-तीन महिनामै सबै बिक्री भइसक्छन् । बन्दरगाहमा एउटा पनि गाडी भेटिने छैन ।  नेपालको अटो क्षेत्रलाई सुधार गर्न नाइमाको भूमिका कस्तो रहनेछ ? सबैभन्दा पहिले नाइमा खोलेको धेरै समय भएको छैन । यसको खास उद्देश्य नेपालको अटोमोबाइल क्षेत्रका समस्याहरू सरकारसमक्ष पुर्याउनु हो । हाम्रो  संरचना नै फरक किसिमको छ । नाइमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको मोबिलिटी क्षेत्रको सामूहिक आवाजलाई प्रतिनिधित्व गर्न, रणनीतिक सहकार्य, विकास र पैरवी गर्न एकीकृत मञ्चका रूपमा काम गर्नेछ । नाइमा र नाडा अब कसरी अगाडि बढ्नेछन् ?  हामी नाडासँग सहकार्य गर्न तयार छौं । अहिले हामी नाइमा मोबिलिटी एक्स्पोको तयारीमा जुटिरहेका छौं । यदि नाडाले एक्स्पोमा सहकार्य गर्छ भने हामी तयार छौं ।  सरकारी निकायसँग सहकार्य गरेर अगाडि बढ्न कत्तिको चुनौती छ  ? सरकारले निजी क्षेत्रलाई सधैं सकारात्मक रूपमा हेरिदिनुपर्छ । हामी सरकारसँग सहकार्य गरेरै जान्छौं । हाम्रा धेरै समस्या छन्, यी सबै समस्या सरकारले सम्बोधन गर्नेछ, यसमा हामी आशावादी छौं । नाइमाको आफ्नै योजना छ । हामीले खोलेको एक महिना पनि पुरा भएको छैन, जुन हामीले चाँडै पहिलो सिरिज सुरु गर्दैछौं । नाइमा मोबिलिटी एक्स्पो तपाईं साउन २१ गते देख्न सक्नुहुनेछ । हामी अटो क्षेत्रका समस्याहरूलाई लिएर अगाडि बढ्नेछौं ।