१२५ अर्ब रुपैयाँ पुग्यो सेयर कर्जा, अझै बढेन बजार
काठमाडौं । बैंकहरूको सेयर धितो कर्जा (मार्जिन नेचर लोन) १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब २५ अर्ब ५२ करोड ७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत वर्षको वैशाखमा बैंकहरूले ८६ अर्ब १८ करोड ५४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूले सेयर कर्जा ४५.६४ प्रतिशत अर्थात् ३९ अर्ब ३३ करोड ५२ लाख रुपैयाँ सेयर कर्जा बढाएका हुन् । चालु आवको वैशाखसम्ममा वाणिज्य बैंकहरूले मात्रै १ खर्ब ३ अर्ब १३ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत वर्षको वैशाखसम्ममा वाणिज्य बैंकहरूले ६७ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ सेयर कर्जा दिएका थिए । गत वर्षको तुलनामा बैंकहरूको सेयर कर्जा ५३.१४ प्रतिशत अर्थात् ३५ अर्ब ७९ करोड १७ लाख रुपैयाँ बढाएको राष्ट्र बैंकले जनाएको छ । स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकाल सेयर कर्जा वृद्धि भएपनि बजार उकालो लाग्न नसकेको बताउँछन् । साथै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजी बजारका लागि कति प्रतिशत फाइनान्सिङ गर्ने हो स्पष्ट व्यवस्था हुनुपर्ने उनको भनाइ छ । सेयर कर्जामा सीमा लगाउन नहुने उनले बताए । ‘ऋणीको क्षमता, व्यवसाय विस्तारको आवश्यकताका आधारमा कर्जा लिने हो । व्यक्तिगत रूपमा सीमा लगाउनु हुँदैन । जस्तो भोलिदेखि पेट्रोल पाइँदैन भन्ने सूचना आउनेबित्तिकै पेट्रोलपम्पमा लाइन लाग्छ । तर, सधैं पेट्रोल पाइन्छ भन्ने हो भने आफूलाई जति चाहिने त्यति हाल्छन् । त्योबेला खासै अभाव सिर्जना हुँदैन,’ उनले भने, ‘कर्जा पनि यस्तै हो । कोर क्यापिटल, पुँजीको निश्चित प्रतिशत कर्जा सेयर बजारमा जानुपर्छ भनेर स्पष्ट तोक्नुपर्छ ।’ चालु आवको १० महिनामा नेपाल एसबिआई बैंकले सेयर धितो कर्जा सर्वाधिक बढाएको छ । नेपाल एसबिआइको कर्जा ३८८.५९ प्रतिशत बढाएर ६१ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको सेयर कर्जा १२ करोड ५७ लाख रुपैयाँ मात्रै थियो । माछापुच्छ्रे बैंकले २९१.९५ प्रतिशत बढाएर १ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, कृषि विकास बैंकको १५७.८२ प्रतिशत बढाएर ३ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ, कुमारी बैंकले १४६.६१ प्रतिशत बढाएर ९ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ, एनएमबि बैंकले १२८ प्रतिशत बढाएर २ अर्ब २ करोड ९१ लाख रुपैयाँ सेयर धितो कर्जामा लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार प्राइम बैंकले ९२.१३ प्रतिशत बढाएर ७ अर्ब ८२ करोड १४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ६४.५८ प्रतिशत बढाएर ५ अर्ब ४५ करोड १६ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले ६४.५१ प्रतिशत बढाएर ११ अर्ब ५९ करोड १४ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले ६३.९४ प्रतिशत बढाएर ३ अर्ब २७ करोड ४४ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन् । प्रभु बैंकले ५८.१० प्रतिशत बढाएर ४ अर्ब ७० करोड ३१ लाख रुपैयाँ, सानिमा बैंकले ५३.२३ प्रतिशत बढाएर २ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ, सिटिजन्स बैंकले ४९.२५ प्रतिशत बढाएर ६ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४६.१५ प्रतिशत बढाएर २ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ४०.९० प्रतिशत बढाएर ७ अर्ब ८६ करोड १० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्क छ । वैशाखसम्ममा राष्ट्रिय वाणिज्य बैंकले ३८.२७ प्रतिशत बढाएर ५ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ, नेपाल बैंकले ३३.७५ प्रतिशत बढाएर ७ अर्ब ७७ करोड १९ लाख रुपैयाँ, नबिल बैंकले २८.४२ प्रतिशत बढाएर १४ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ, हिमालयन बैंकले १७.२२ प्रतिशत बढाएर २ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ मार्जिन नेचर लोन प्रवाह गरेका छन् । तर, यस अवधिमा एनआईसी एशिया बैंकले भने सेयर कर्जा घटाएको छ । चालु आवको १० महिनामा एनआईसी एशिया बैंकले ४६.७६ प्रतिशत घटाएर २ अर्ब १७ करोड ६१ लाख रुपैयाँ मात्रै सेयर कर्जा प्रवाह गरेको छ । अध्यक्ष ढकालका अनुसार सेयर कर्जामा एक/दुई प्रतिशत मात्रै छुट्याएर बाँकी कर्जा कृषि, पर्यटन, उद्योग लगायतमा दिएपनि हुन्छ । बजारमा रहेका म्यानुपुलेसन हटाउन पनि सबै तयार हुनुपर्ने र बजारप्रति राज्यको दृटिकोण सकारात्मक बनाउनुपर्ने उनको भनाइ छ । नेपाल स्टक ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनाली बैंकबाट प्रवाह भएको सेयर कर्जा प्रिआईपीओमा लगानी भइरहेको बताउँछन् । उनका अनुसार ब्याजदर न्यून बिन्दुमा पनि अझै घटिरहेको भएपनि बजार बढ्न सकेको छैन । किनभने आईपीओको प्रक्रियामा रहेका कम्पनीमा ठूलो पैसा गएको देखिन्छ । धेरैले आफैंसँग भएको रकम अथवा बैंकबाट लिएको ऋण त्यहाँ डाइभर्ट गरेकाले ब्याजदर घट्दा दोस्रो बजारमा छिर्नुपर्ने पैसा कम मात्रै छिरेर धेरै उता छिर्ने गरेको उनको भनाइ छ ।
जेठमा मात्रै २ खर्ब ८१ अर्ब खर्च, एकैदिन २२ अर्ब २२ करोड निकासा
काठमाडौं । जेठ र असारमा सरकारी बजेट ठूलो मात्रमा खर्च गर्ने प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाएको छ । जसकारण सरकारी भुक्तानी प्रणालीमा ठूलो चाप परेको छ । सरकारी आयव्यायको अभिलेख राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार अरू बेला खासै खर्च नहुने बजेट अहिले ठूलो मात्रामा भइरहेको छ । राज्यको ढुकुटीबाट जेठ महिनामा मात्रै २ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँ बजेट सकिएको छ । सरकारी भुक्तानीको प्रवृत्ति हेर्ने हो भने जेठ १ गते मात्रै सरकारले ६ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ । जेठ ७ मा मात्रै सरकारले ३ अर्ब ७८ करोड खर्च गरेको देखिन्छ । जेठ १४ मा एकैदिन २२ अर्ब २२ करोड सरकारले खर्च गरेको तथ्यांकले देखाएको छ । जेठ २१ मा ३ अर्ब ३२ करोड, जेठ २८ मा २ अर्ब ८७ करोड, जेठ ३० मा ८ अर्ब २८ करोड बजेट सरकारले खर्च गरेको छ । जेठमा भएको यतिधेरै खर्चले झरीसँगै सरकारी बजेट बगिरहेको प्रष्ट देखाएको छ । जेठ र असारमा हुने खर्चमाथि हरेक वर्ष प्रश्न उठ्दै आएको छ । खासगरी मौसम शुरु हुने महिा भएकाले यतिबेला हुने विकासे खर्चको गुणस्तरीयतामाथि विज्ञहरूले प्रश्न उठाउने गरेका छन् । सरकारी प्रतिवेदनहरुले समेत जेठ–असारमा हुने विकासमाथि प्रश्न उठाउँदै आएका छन् । खासगरी सार्वजनिक खर्च पुनरावलोकन आयोगदेखि उच्चस्तरीय आर्थिक सुधार आयोगसम्मले नै आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति ठिक नभएको निष्कर्ष निकाल्दै यसलाई सुधार्न सरकारलाई सुझाएका थिए । समग्रमा चालु आर्थिक वर्षको सरकारी खर्च जेठ ३० गतेसम्म १२ खर्ब ७९ अर्ब सरकारले खर्च गरेको छ । कुल बजेटमध्ये चालुतर्फ ८ खर्ब ४९ अर्ब, पुँजीगत (विकास) तर्फ १ खर्ब ४१ अर्ब, वित्तीय व्यवस्थातर्फ २ खर्ब ८७ अर्ब सरकारी बजेट खर्च भएको छ । २०८१ को जेठ १५ मा चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट ल्याइएको थियो । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याए पनि कार्यान्वयनको मुखमा अर्थात असारको अन्त्यमा सत्तासमीकरण परिवर्तनसँगै नेकपा एमाले–नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनेको थियो । बजेट कार्यान्वयनको जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेलले पाएका थिए । चालु आर्थिक वर्ष सकिन महिना दिन बाँकी रहँदा कुल बजेटमध्ये ५ खर्ब ८० अर्ब अझै खर्च हुन सकेको छैन । त्यसो त, यो बजेट पूरै खर्च गर्न नसक्ने सरकारले बताइसकेको छ । गत जेठ १५ मा आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै बजेटसँगै चालु आर्थिक वर्ष २०८१/८२ मा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको सरकारले त्यो पनि हासिल नहुने स्पष्ट पारिसकेको छ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको छ ।
जसले आफ्नो कलेजोको टुक्रा काटेर बुवाको प्राण जोगाए
काठमाडौं । ‘बेलाबेला हातखुट्टा झमझम हुन्छ अनि एलर्जी जस्तै पनि हुँदो रहेछ, अरू त सबै नर्मल भइसक्यो, तर अझै बेडरेस्टमा छु,’ बिहीबार नेपाल मेडिसिटी अस्पतालमा भेटिएका आयुष कार्कीले भने । आयुष जसले आफ्नो कलेजाको टुक्रा काटेर बुवाको कलेजोमा जोडेका छन् । उनैको कलेजोले बुवाको प्राण जोगिएको छ । २४ दिन अगाडि बिना हिचकिचाहट आयुषले यो कदम नचालेका हुँदा हुन् सायद उनले बुवा गुमाइसक्नुपर्थ्यो । आफ्नै अङ्गले बुवाको प्राण जोगिँदा उनी निकै खुसी छन्। भन्छन्, ‘बुवाले दिएको यो जीवन बुवाकै लागि चाहिन्छ भने हरेक अंग दिन तयार छु, जसले कलेजको टुक्रा भन्दै हुर्काए, त्यही टुक्राले आमाको सिन्दुर र बुवाको श्वास जोगाउन पाउनु मेरा लागि सबैभन्दा खुसी हो । सबै सन्तान यस्तै हुँदैनन्, कसैले चाहेर पनि गर्न सक्दैनन्, कसैको चाहना नै हुँदैन । धेरैमध्ये कमै सन्तान आयुषजस्तै भाग्यमानी बन्न सक्छन्, जो आफ्ना बाआमाको लागी शरीर चिरेर दिन तयार हुन्छन् । आयुषको घर पोखरा हो । उनी अहिले २६ वर्षका भए । आजभन्दा सात वर्षअघि उनका बुवा ५६ वर्षीय ईश्वर कार्कीको कलेजोमा समस्या देखिएपछि आयुषले आफ्नो अङ्ग दिने निर्णय गरेका थिए । ईश्वर अहिले मेडिसिटी अस्पतालमै आराम गरिरहेका छन् । व्यक्तिको शरीर यस्तो चतुर हुन्छ कि उसलाई आफ्ना र अरूको अंग मजाले छुट्याउन सक्छ । अरूको अंगलाई आफ्नो अंगसम्म मिसाउन समय लाग्छ । त्यो बेलासम्म प्रायः बिरामी चिकित्सकको निगरानीमा बस्नुपर्छ । आयुष बुवाआमा खुसी भएकोमा निकै हर्षित छन् । भन्छन्, ‘ ‘बुबाको आँखामा हेर्छु आँसु र हाँसो सम्मीश्रण पाउँछु, आमाको अनुहारमा हेर्छु उस्तै देख्छु, ७ वर्षको प्रयासपछि हाम्रो परिवारमा खुसी फर्किएको छ,’ उनले भने । उनी घरको जेठो सन्तान हुन् । उनका एक भाइ छन् । पोखरा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका उनले बुवाको उपचारका लागि पढाइ छोड्नुपर्यो । ७ वर्ष अगाडिको त्यो घटना ७ वर्ष अघि माघ २५ गते आयुषको परिवार चितवन घुम्न गयो । पोखराबाट चितवन जाँदा ईश्वरले नै गाडी चलाएका थिए । घुमेर फर्किने बेलामा ईश्वरलाई असहज महसुस भयो । पटकपटक बान्ता हुन थाल्यो । गाडी आयुष आफैले चलाएर घर फर्के । त्यो दिन अस्पताल नगई घरमै आराम गरे । ईश्वरलाई विस्तारै फरक लक्षण देखापर्न थाल्यो । उनले मोबाइल हातमा हुँदा कता गयो भन्न थाले, गाडी पार्किङमै हुँदा पनि खोइ कता छ ? भनेर सोध्न थाले । उनका क्रियाकलापले सबैजना छक्क परे । त्यसपछि उनलाई पोखराको ग्यालेक्सी अस्पतालमा लगियो । त्यहाँ जाँच गर्दा उनलाई सिरोसिस रोग लागेको पत्ता लाग्यो जुन कलेजोको खराबीका कारण भएको हो । ईश्वरले समस्या निदान हुँदा रोग तेस्रो चरणमा पुगिसकेको थियो । त्यही भएर डाक्टरहरूले छिटै उपचार गर्न सल्लाह दिए । त्यसपछि आयुषले ढिलो नगरिकन बुवालाई ललितपुरको नक्खुमा रहेको अस्पतालमा ल्याए । आयुषलाई उपचार गर्दा ठिक भइहाल्छ होला भन्ने लाग्यो । अस्पताल ल्याएर उपचार गरी औषधी खाँदा ठीक भएजस्तै देखिन थाल्यो । यतिबेलासम्म पनि सामान्य नै लागेको थियो । एक–दुई महिना सञ्चो हुने फेरि समस्या हुनेक्रम बढ्दै गयो । यो क्रम लामै समसम्म चल्यो । काठमाडौं आऊजाऊ गरेको देख्दा धेरैजनाले आयुषलाई भारतमा गएर उपचार गर्न सल्लाह दिए । उनका आफन्तहरू भारतमा पनि थिए । अहिले पनि धेरैजसो नेपाली बिरामी हुँदा उपचारका लागि भारत नै जान्छन् । ईश्वरलाई पनि भारतमै लिएर उपचार गर्न गाउँ आफन्तहरूले सल्लाह दिए । ‘छिमेकी तथा आफन्तीको सल्लाहबमोजिम मैले बुवालाई लिएर बुवालाई इण्डिया उपचार गर्न गएँ,’ उनले भने । आयुषले बुवालाई भारतको गंगाराम अस्पताल लगे । त्यहाँ जाँच गर्दा चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने उल्लेख गर्दै तत्कालै नगरे पनि हुने जानकारी दिए । नेपालमा गएर काजगपत्र बनाएर बिस्तारै आउनु भन्दै फर्काइदियो । नेपाल फर्किसकेपछि ६ महिनासम्म ईश्वर निको भयो । फेरि ६÷७ महिनापछि उस्तै समस्या सुरु भयो । आयुषले फेरि मेडिसिटी अस्पताल ल्याए । धेरै समय नेपाल अनि भारतका अस्पताल धाउने क्रम चलिरह्यो । फेरि आफन्तहरूले भारतको अपोलो अस्पताल पनि राम्रो भन्दै एक पटक त्यहाँ जान सल्लाह दिए । आयुषले फेरि बुवालाई बोकेर भारत गए । त्यहाँ जाँदा फेरि अर्को तनाव थपियो । चिकित्सकले कलेजोमात्र नभइ मिर्गौला पनि प्रत्यारोपण गर्नुपर्ने बताए । ‘अपोलोमा अर्को पीडा थपियो अनि नेपाल आएर सोच्नुपर्छ भन्दै घर फर्कियौं,’आयुषले भने । अनि भयो प्रत्यारोपण कहिले काठमाडौं, कहिले पोखरा, कहिले भारतका अस्पताल धाउँदा आयुष र आमाको बेहाल भइसकेको थियो । मेडिसिटीका चिकित्सकहरूको सल्लाहमा कलेजो प्रत्यारोपण गर्ने निर्णय भयो । कागजात मिलाउनु पर्ने प्रक्रिया उत्तिकै झन्झटिलो हुन्छ । अंग प्रत्यारोपण गर्न भने जति सजिलो छैन । परिवारभित्रैको अंग दिन चाहनेहरूले पनि चाहाना राखेरमात्र हुँदैन, यसका लागि रगतदेखि हरेक कुराहरू मिल्नुपर्ने हुन्छ । वडाको सिफारिस, पालिकाको सिफारिस, नाता प्रमाणीकरणदेखि लिएर हरेक कागजात तयार पार्नुपर्छ । ‘कागजात, रगत जाँच गर्न समय लाग्यो यो बीचमा बाबा पनि बिरामी भइरहनु भयोे, एकातिर प्रत्यारोपणको तयारी चलेको थियो अर्कोतिर बुवालाई आईसीयुमै राखेका थियौं, सारै नै तनावको अवस्था थियो,’ उनले भोग्नुपरेको पीडा सुनाए । यो तयारी गरिसकेपछि आयुषले आफ्नो स्वास्थ्यको पनि उत्तिकै हेरचाह गरे । चिकित्सकको सल्लाहपछि बल्ल जेठ ८ गते मेडिसिटी अस्पतालमा आयुषले आफ्नो कलेजेको टुक्रा काटेर बुवाको कलेजोमा जोडिदिए । १३ घण्टा लामो अप्रसेनपछि बाउ–छोराको अप्रेसन सफल भएपछि आमा र भाइको मुहारमा खुसी फर्कियो । चिकित्सकहरूले अंग प्रत्यारोपण जोखिम हुन सक्ने पहिल्यै भनेका थिए । तर बुवाका लागि जस्तोसुकै जोखिम लिन आयुष तयार थिए । भन्छन्, ‘मेरो आँट, बुवाको धैर्यता, आमाको मिहिनेत र चिकित्सकको प्रयासले ७ वर्षपछि बुवालाई कलेजो झिकेर दिन सफल भएँ ।’ सबैलाई यस्तो अवसर मिल्दैन आयुष आफ्नो शरीरको अंग चिरेर आफ्नै जन्मदातालाई दिने अवसर सबैलाई नमिल्ने बताउँछन् । यो मानेमा आफूलाई निकै भाग्यमानी भन्छन् । बुवालाई कलेजो दिने निर्णयले उनलाई धेरैले धेरैथरिका कुरा सुनाए । धेरैले सानै उमेर छ, अहिले नै अंग दिए भोलि के होला, बिहे पनि भएको छैन भन्नसमेत भने । तर उनले कसैका कुरा सुनेनन् । आफ्नो निर्णयमा अडिग रहिरहे । र अन्ततः बुवाको प्राण पनि बचाए । किड्नीको समस्या आफै निको शरीरका एक अर्को अंगको सम्बन्ध कति हुँदो रहेछ भन्ने कुरा ईश्वरमा देखिएको स्वास्थ्य समस्याले पनि थाहा हुन्छ । कलेजोमा खराबी आउँदा मिर्गौलामा समेत समस्या भएको भन्दै मिर्गौलासमेत प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो। कलेजो प्रत्यारोपण गरेसँगै अहिले मिर्गौलाले पनि काम गर्न थालेको छ । जति स्वस्थ हुँदा काम गर्थ्यो त्यो मात्रामा नगरेपनि तत्काल प्रत्यारोपण गर्नुपर्ने अवस्था नरहेको चिकित्सकको भनाइ छ ।