नक्कली सेयरको बिगबिगिले त्रसित लगानीकर्ता राष्ट्र बैंकको पछिल्लो निर्देशनले थप सशंकित
९ चैत । नेप्से परिसुचकमा एकोहोरो गिरावट आएको छ । बिहान कारोबार खुलेदेखि नै घट्ने क्रममा रहेको नेप्से करिब साढे सात अंक तल आएको हो । चैत महिनाको दोस्रो सातासम्म नेप्से परिसुचकमा सुधार हुन नसकेपनि अन्तिम साताबाट सुधार हुने गरेको यस अघिका बर्षहरुमा देखिदै आएको हो । अहिलेको गिरावटमा बजारमा पस्नेले बैसाख देखि असार मसान्तमा मुल्य परिवर्तनबाट राम्रो फाइदा पाएको देखिदै आएको छ । तर यसपटक परिदृश्यमा केही परिवर्तन देखिने सम्भावना छ । बजारमा नक्कली सेयरको बिगबिगी सार्वजनिक भएसंगै अत्तालिएका लगानीकर्ता राष्ट्र बैंकको पछिल्लो निर्देशनले थप सशंकित भएको छ । हालै राष्ट्र बैंकले कर्जाको बर्गिकरण गर्दै भाका ननाघेका र तीन महिनासम्म भाका नाघेका कर्जालाई सुक्ष्म निगरानीमा राख्न र पाँच प्रतिशत जोखिम वापतको व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यो निर्देशनले वित्तीय क्षेत्रले अर्बाै रुपैयाँ सम्भावित जोखिम वापतको व्यवस्थामा छुट्याउनु पर्ने अंकलन गरिएको छ । यसको सिधा असर बैंकहरुको नाफामा पर्ने देखिएपछि लगानीकर्ता कारोबार गर्न सशंकित देखिएका हुन् । कतिपय बैंकहरुहरु यसले नाफामा ५० प्रतिशतसम्म कमी आउने बताइरहेका छन् । त्यसो भएमा अघिल्लो पटक २० प्रतिशत लाभांश दिन सक्षम बैंक तथा वित्तीय संस्थाको लाभांश दिने दरमा पनि कमि आएर १० प्रतिशत हुने देखिन्छ । राष्ट्र बैंकले यो निर्देशनलाई नसच्याएमा बैंकहरुको नाफा मात्र नभएर सेयर बजार पनि ओरालो लाग्ने छ । सेयर बजारमा हाल पनि करिब ७० प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाको रहेको छ । यसबीच यस निर्देशनलाई लिएर केही सकारातमक पहलहर भइरहेको बुझिएको छ । बैंक तथा वित्तीय संस्थाका संघहरुले यस बिषयमा राष्ट्र बैंकसंग छलफल गर्ने भएको छ । राष्ट्र बैंकले पनि छलफल गर्न तयार रहेको जवाफ दिएको छ । त्यसैले हाल लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहनु ठिक हुने विश्लेषकहरु बताउँछन् । यस दिन भने बजारमा सुचीकृत जलविद्युत् समुहको परिसुचक बाहेक सबै घटेका छन् । बीमा, बैंकिङ, बिकास बैंक लगायतको समुह उच्च अंकले घटेको छ । यस दिन १९ करोड रुपैयाँको सेयर करोबार भएको छ । ग्लोबल आइएमइ र चिलिमे जलविद्युत्को मात्र एक करोड रुपैयाँभन्दा बढिको सेयर काराबोर भएको छ । यस दिन नेशनल लाइफ इन्स्योरेन्स, साहरा बिकास बैंकको सेयर मूल्य नौं देखि १० प्रतिशतको दरमा वृद्धि भएको छ ।
महासंघको कार्यसमिति बैठक २७ गते, साधारणसभा र उद्योग वाणिज्य दिवस अन्यौलमा
९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिको बैठक कात्तिक २७ गते बस्ने भएको छ । सोमबार बसेको पदाधिकारीहरुको बैठकले पूर्वनिर्धारित साधारणसभाको एक दिन अगाडि कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको हो । महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई प्रहरीले पक्राउ गरेको एक हप्तापछि बसेको पदाधिकारीको बैठकले २० दिनपछि कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो । विधानअनुसार कार्यसमितिको बैठक बोलाउँदा १५ दिनअघि सूचना जारी गर्नु पर्ने, चैत २४, २५ र २६ गते नेपाल बन्द हुने भएकाले २७ गते कार्यसमितिको बैठक बोलाएको महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाले बताए । चैत २८ गते उद्योग वाणिज्य दिवस मनाउने र २९ गते साधारणसभा गर्ने यसअघि कार्यसमितिले तय गरेको कार्यक्रम यथावत रहने वा स्थगित हुनेबारे अन्यौल नै देखिएको छ । ‘यी विषयमा निर्णय गर्ने अधिकार कार्यसमितिलाई छ । कार्यसमितिले जे निर्णय गर्छ, त्यही अनुसार हुन्छ’–मुरारकाले भने । यथास्थितिमा उद्योग वाणिज्य दिवस मनाउन र साधारणसभा गर्ने अप्ठ्यारो भएको कार्यसमितिका सदस्यहरु बताउँछन् । ‘महासंघको अध्यक्ष प्रहरी कस्टोडिमा छन् । उनले राजीनामा दिएका पनि छैनन् । महासंघको कार्यसमितिले उनलाई पदमुक्त गर्ने निर्णय पनि गरेको छैन’– कार्यसमिति सदस्यले भने–‘यो परिस्थतिमा उद्योग वाणिज्य दिवस कार्यक्रम फितलो हुन्छ ।’ महासंघको विधानअनुसार अध्यक्षको पद रिक्त भएमा रिक्त भएपछि हुने पहिलो साधारणसभाले अध्यक्ष चयन गर्नुपर्छ । यसअघि नै बोलाईएको साधारणसभामा अध्यक्षको निर्वाचन गर्ने एजेन्डा राखिएको छैन । २७ गते हुने कार्यसमितिको बैठकले उद्योग वाणिज्य दिवस कार्यक्रम स्थगित गर्ने र अध्यक्षको निर्वाचन एजेण्डा समेत लैजाने गरि साधारणसभा केही एक÷दुई महिना पर सार्न सक्ने सम्भावना देखिएको छ ।
पेट्रोल किन्दा विदेशिने रकम ११ प्रतिशतले घट्यो
विकासन्युज/काठमाडौं । ९ चैत । चालु आर्थिक बर्षको सात महिनामा गत पेट्रोलियम पदार्थको आयातको लागि विदेशिने रकम घटेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निकै घटेकोले नेपालमा परिमाण नघटेपनि रकम भने घटेको हो । गत माघ महिनासम्म पेट्रोलियम पदार्थको आयात अघिल्लो बर्षको यहि अवधिको तुलनामा करिब ११ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । अघिल्लो बर्षको माघ महिनासम्ममा ७३ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएकोमा चालु आर्थिक बर्षको सोही अवघिमा ६५ अर्ब ३४ करोड रुपैयाँ बराबरको मात्रै आयात भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले पेट्रोलियम पदार्थ अघिल्लो बर्षको भन्दा १० दशमलब ९ प्रतिशतले कम आयात भएको देखाएको छ । गत बर्षको माघ मसान्तमा यस्तो आयात अघिल्लो बर्षको तुलनामा २३ दशमलब ३ प्रतिशतले बढेर ७३ अर्ब ३३ करोड रुपैयाँ पुगेको थियो । मूल्य घटेकै कारण पेट्रोलियमको आयात कम भए जस्तो देखिएको नेपाल आयाल निगमका प्रबक्ता मुकुन्द घिमिरेले जानकारी दिए । पेट्रोलियम पदार्थको माग बढी रहेको सन्दर्भमा आयात कम भएको देखिएको कारण मूल्य घट्नै भएको उनको भनाइ छ । ‘केहि बर्षदेखि निरन्तर रुपमा बढेको पेट्रोलियम पदार्थको माग यो बर्ष पनि बढेको छ,’ प्रवक्ता घिमिरेले भने– राष्ट्र बैंकले रकमको आधारमा मात्र तथ्यांक राख्ने भएकोले कम भए जस्तो देखिएको हो । चालु आर्थिक बर्षको फागुन महिनासम्ममा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य २७ प्रतिशतले घटिसकेको घिमिरेले जानकारी दिए । सोही अवधिमा डिजेलको माग ४ प्रतिशतले, पेट्रोलको ५ प्रतिशतले, हवाइ इन्धनको ८ प्रतिशतले र खाना पकाउने ग्यासको १० प्रतिशतले खपत बढेको घिमिरेको भनाइ छ ।