संसदमा ओली, प्रचण्ड र कमल थापाको भावुक सम्बोधन

काठमाडौं, २४ असोज । मुलुकको ३८ औं प्रधानमन्त्री चयन गर्न जारी व्यवस्थापिका संसदको बैठकमा केपी ओलीदेखि प्रचण्ड र कमल थापासम्मले भावुक सम्बोधन गर्दै राष्ट्रियता र लोकतन्त्रका पक्षमा उभिने प्रतिज्ञा गरेका छन् । तीनै जना नेताहरुले मुलुक गम्भिर चुनौतीपूर्ण अवस्थामा पुगेको बताउँदै राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि एक ठाउँमा उभिने प्रतिज्ञा समेत गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले सिंहदरबारमा फोटो झुठ्याउने उदेश्यले उम्मेदवार नबनेको बताए भने प्रचण्डले काँग्रेसले विपीको बाटो छाडेर मात्रिकाको बाटो अंगालेको बताए । उता, कमल थापाले देश गम्भिर संकटमा परेकाले केपी ओलीलाई सहयोग गरेको बताए । मलाई भोट हाल्नेले पश्चाताप गर्नु पर्दैनः केपी ओली एमाले अध्यक्ष तथा प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीले काँग्रेस सभापति सुशिल कोइरालालाई उम्मेदवारी फिर्ता दिन आग्रह गरे । संसदमा आफ्नो उम्मेदवारीबारे बोल्दै उनले काँग्रेसकै नेताहरु, सांसद र जनताको आकांक्षा अनुसार उम्मेदवारी फिर्ता लिएर सहमति र सहकार्यको यात्रामा सरिक हुन अनुरोध गरेका हुन् । ओलीले नयाँ संबिधान कार्यान्वयन र विकास तथा समृद्धिको बाटोमा अघि बढ्न काँग्रेसँगको सहकार्य जारी रहने उनले प्रतिवद्धता समेत व्यक्त गरेका छन् । देशभर आफ्ना बारेमा भ्रम फैलाईएको बताउँदै ओलीले व्यवहारिक रुपमा आफुमाथी लागेको आरोप चिर्ने बताए । आफुले सिंहदरबारमा फोटो झुण्ठ्याउन आफुले उम्मेदवारी नदिएको उनले दावी गरेका छन् । देशका लागि केहि गरौं र छिमेकीसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन आफुले उम्मेदवारी दिएको ओलीको स्पष्टोक्ति दिएका छन् । आफु तराई मधेश वा अन्य कुनै पनि क्षेत्रका जनताको बिरोधी नभएको र सबै समस्याहरु वार्ता र सम्वादका माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । ओलीले भूकम्पपछि आक्रान्त बनेको मुलुकलाई पूननिर्माणको बाटोमा अघि बढाउने पनि बताए । उनले आफ्नो पक्षमा मतदान गर्नेहरुलाई पश्चाताप गर्ने अवसर नदिने दावी पनि गरेका छन् । आफुलाई मतदान नगर्नेहरुले भोली केपी ओलीलाई किन मतदान नगरेको भनेर कुरीकुरी लाग्ने पनि बताए । काँग्रेसले धोका दियो, गद्धारी गर्योः प्रचण्ड एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्व सहमति विपरिद काँग्रेसले प्रधानमन्त्रीमा उम्मेदवारी दिएर मुलुक र जनताप्रति गद्धारी गरेको आरोप लगाए । संसदमा एमाले अध्यक्ष तथा प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीको प्रस्तावमा आफ्ना भनाई राख्दै उनले नयाँ संबिधान जारी गरेपछि एमाले नेतृत्वमा राष्ट्रिय सहमितको सरकार गठन गर्ने सहमति उल्टाएर काँग्रेसले जनतालाई धोका दिएको आरोप लगाएका हुन् । काँग्रेसले विपी कोइरालाको बाटो छाडेर मातृका कोइरालाको बाटो अंगालेको बताउँदै विदेशीको गुलामी गर्ने काँग्रेस प्रवृति अझै बढेको बताए । प्रमुख पार्टीहरुबिच एकता र सहकार्य मार्फत संबिधान कार्यान्वयनमा लाग्नु पर्ने समयमा काँग्रेसले खुट्टा कमाएर विदेशी शक्तिको चाकडी गरेको आरोप पनि लगाए । राष्ट्रियता र प्रजातन्त्रका लागि एमालेलाई समर्थनः कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको बताए । व्यवस्थापिका संसदमा ओलीको उम्मेदवारीको समर्थनमा बोल्दै उनले दुई उम्मेदवारमध्ये एक रोज्नै पर्ने अवस्थामा राष्ट्रियता र प्रजातन्त्रका पक्षमा प्रतिवद्ध ओलीलाई समर्थन गर्ने निर्णय गरेको बताए । प्रमुख तिन दलले सहमतिय सरकार गठन गर्न नसकेपछि आफुले बाध्य भएर राष्ट्रवादी उम्मेदवारका पक्षमा लागेको बताएका थिए । थापाले मुलुक बिषम परिस्थितीमा रहेको र भूकम्पले निम्त्याएको क्षतिको पुननिर्माणमा जुट्ने पर्ने समयमा तीन दलको एकता टुटेकोमा दुःख लागेको पनि बताएका थिए ।

बाहिरिदै गरेको सरकारले ढोकावाट फर्केर पैसा बाढ्यो, निर्णय रोकः अर्थसमिति

काठमाडौं, २४ असोज । काम चलाउ सरकारले अन्तिम क्षणमा निर्णय गरेर राज्यकोषको दुरुपयोग गरेको आरोप संसदीय समितिले लगाएको छ । यसअघि नै पदत्याग गरिसकेको कोइराला सरकारले आर्थिक सहायता र उपचार खर्चको नाममा राज्यकोषको दुरुपयोग गरेको ठहर संसदको अर्थसमितिले गरेको हो । ‘काम चलाउ सरकारले बाहिरिदै गर्दा ढोकामा पुगेपछि फर्केर आर्थिक सहायता र उपचार खर्चको नाममा राज्यकोषको करोडौ रकम बाढेको छ, उपचार खर्च र आर्थिक सहायता दिने सम्बन्धि निर्देशिकाको ठाडो उल्लघन भएकोले सो निर्णय तत्काल रोक्न निर्देशन दिने निर्णय भयो,’ आइतवार समितिको बैठक पछि सभापति प्रकाश ज्वालाले भने । उनले केहि ब्यक्तिलाई पुरानो निर्णयमा नाम थपेर पनि दिइएको बताए । केहि ब्यक्तिको नाम अहिले पनि थप्ने र रकम बाढ्ने प्रबन्ध मिलाइएको ज्वालाको भनाइ छ । उपचार खर्च र आर्थिक सहायता दिने सम्बन्धि निर्देशिका भएपनि त्यस्तो निर्देशिकाको उल्लघन गरेर जथाभाबी रकम बाडिएको सभापति ज्वालाको भनाइ छ । ‘उपचार खर्च दिने हो भने ब्यक्तिलाई पैसा दिने ब्यवस्था निर्देशिकामा छैन, नेपालमा उपचार गरेको हो भने स्वास्थ्य मन्त्रालय मार्फत उपचार गर्ने अस्पताललाई र विदेशमा हो भने मेडिकल बोर्डको सिफारिसमा सम्बन्धित देशको दुतावास मार्फत रकम दिने ब्यवस्था छ,’ सभापति ज्वालाले भने । सरकारले आफ्ना मान्छेलाई विभिन्न बहाना बनाएर दशै खर्च बाढेको उनको भनाइ छ । ‘भूकम्पको कारण घर भत्किएका सर्वसाधारण अझै पनि अस्थायी टहरमा दयनीय जिवन जिउन बाध्य छन्, भारतको नाकाबन्दीले देश संकटको भूमरीमा छ, यस्तो बेलामा आसेपासेलाई विभिन्न वहानामा दशै खर्च बाढेर राज्यकोषमाथि लुट हुन दिनु हुदैन, सो निर्णय तत्काल रोक्नुपर्छ,’ ज्वालाले भने । बैठकमा बोल्ने अधिकांश सांसदले सो निर्णय रोक्न निर्देशन दिनु पर्ने आवाज उठाएका थिए । ‘यो बेथिति हो, नियम ब्यवस्थाको उल्लघन हो, यस्तो कार्य रोक्न तत्काल निर्देशन दिनु पर्छ,’ सांसद भरतमोहन अधिकारीले भने । यस्तै सांसद शक्ति बस्नेतले पनि निर्णय सच्याउन निर्देशन दिनुपर्ने धारणा राखे । ‘काम चलाउ सरकारले यस्तो निर्णय गर्नै हुदैन, निर्णय सच्याउन निर्देशन दिनै पर्छ,’ बस्नेतले भने । सांसद अब्दुल रज्जाकले पनि निर्णय अपारदर्शी भएको आरोप लगाए । ‘मेरै क्षेत्रका ३/४ जनाले पाउनु भएको रहेछ, उनीहरुलाई कसरी र किन पैसा दिइयो मलाई नै थाहा भएन,’ रज्जाकले भने । उनले आर्थिक सहायता र उपचार खर्च पाउनेको विवरण माग्नुपर्ने भनाइ राखे । सभाषद डा. सुवोध पोख्रेलले भ्रष्टाचारको आरोप लागेका पूर्वमन्त्रीलाई पनि आर्थिक सहायता दिने कार्य नराम्रो भएको भन्दै सो निर्णय रोक्ने निर्देशन दिनु पर्ने धारणा राखे । सांसद मनोहर नारायण श्रेष्ठले मन्त्री बन्ने वित्तीकै उपचारको नाममा राज्यकोषको ठूलो रकम खर्च गर्ने परिपाटी बढेको भन्दै स्वास्थ्य परिक्षण गरेर स्वस्थ मान्छेलाई मात्रै मन्त्रीमा नियुक्त गर्नुपर्ने ब्यवस्था गराउनु पर्ने धारणा राखे । सांसद केदार सन्जेलले सरकारको निर्णय गलत भएकोले सच्याउन निर्देशन दिनु पर्ने धारणा राखे । बैठकले कोइराला सरकारले हालै गरेको आर्थिक सहायता र उपचार खर्च दिने सम्बन्धि निर्णय तत्काल रोक्न दोस्रो संविधान सभा गठन भएयताको आर्थिक सहायता र उपचार खर्चको विवरण माग गर्ने निर्णय गरेको छ ।

ग्याँस बुलेटले युपी र बिहारका लाखौं भारतीयको ज्यान जोखिममा

काठमाडौं, २३ असोज । नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरले भारतीय सिमा क्षेत्रमा रोकिएका ग्याँस बुलेटले लाखौं भारतीय जनताको जिवन जोखिममा पारेको बताएका छन् । भारतीय नाका बन्दीका कारण सिमा क्षेत्रमा हाल एलपी ग्याँस र पेट्रोलियम पदार्थले भरिएका एक हजार भन्दा बढि गाडी दुई महिनादेखि रोकिएका छन् । एलपी ग्याँस भरिएका बुलेटहरु बिस्फोट हुने सम्भावना बढ्दै गएको र त्यसले लाखौं भारतीयको हताहती हुन सक्ने उनले दावी गरे । ‘महिनौंदेखि एलपी ग्याँसका बुलेटहरु तातो घाममा सुकाएर राख्नु भनेको त लाईन मिलाएर बम राखे जस्तै हो, मानव वस्तीहरुको बिचमा बुलेट छन, एउटा भड्कियो भने लाखौं भारतीयको ज्यान जान सक्छ ।’ घिमिरले भने । ग्यासका बुलेटलाई आगोे नजिक राखिएको बमको संज्ञा दिँदै उनले भने ‘यो नाका बन्दीबाट नेपाललाई भन्दा पनि भारतलाई ठुलो क्षति र जोखिम छ । अहिले बिहार र युपीका सिमामा एलपीजी र पेट्रोलियम पदार्थ बोकेका हजारौं गाडी छन् र तीनले भारतीयलाई उच्च जोखिममा पारेको छ ।’ घिमिरेका अनुसार बिगत दुई महिनादेखि युपि र बिहार राज्यका ६ वटा नाकामा गरेर ३५० बुलेट लाईनमा छन् । त्यसले निम्त्याउन सक्ने जोखिमको आंकलन गर्दै घिमिरेले भने ‘यो घामका कारण आफैं तात्ने बस्तु हो । हाम्रा उद्योगहरुमा चारैतिर पानीको फोहरा राखिएका हुन्छन् । यसलाई समय समयमा चिस्याईरहनु पर्छ । भारतमा रोकिएका ग्यासँ बुलेटमा त त्यस्तो कुनै सुबिधा छैन् ।’ बुलेटहरुकै नजिक मानिसहरुले चुरोट खाईरहने, नजिकै आलु पकौडा बनाउँन आगो बालिरहने तथा घामले पनि निरन्तर तातिरहेकाले बुलेटहरु उच्च जोखिममा रहेको उनले दावी गरे । ‘ती बुलेटहरु टाईम बम जस्तै हुन, कल्पना गरौं, कुनै आतंकवादीले एउटा बुलेटमा आगो झोसिदियो भने के हुन्छ ? कति भारतीय धनजनको क्षति हुन्छ होला ?’ घिमिरेले प्रश्न गरे ।