यो बर्ष नै ४ बाणिज्य बैंक साढे ५ अर्बको एफपिओ जारी गर्दै

काठमाडौं, ७ असोज । चालु आर्थिक बर्षभित्रमै विभिन्न ४ बाणिज्य बैंकहरुको साढे ५ अर्ब रुपैयाँभन्दा बढीको साधारण सेयर आउने भएको छ । बैंकहरुले आफ्नो चुक्ता पूजी बृद्धि गर्नको लागि फरदर पब्लिक अफरिङ (एफपिओ) जारी गर्न लागेका हुन् । बैंकले पूजी बृद्धि गर्नको लागि बनाएको योजनामा चालु आर्थिक बर्ष २०७२/७३ मा नविल, नेपाल इन्भेष्टमेन्ट, एनएमबी र मेगा बैंकले ५ अर्ब ६७ करोड ३० लाख रुपैयाँ बराबरको एफपिओ जारी गर्ने उल्लेख गरिएको छ । नविल बैंकले चालु आर्थिक बर्षमा १ अर्ब रुपैयाँ बराबरको एफपिओ जारी गर्ने कार्ययोजना बनाएको छ । तर यस्तो सेयर कति रुपैयाँमा सर्वसाधारणलाई जारी गर्ने भन्ने तय भएको छैन । नविल बैंकले भने विषेश अग्राधिकार सेयर (इरिडेमेवल प्रिफरेन्स सेयर) जारी गर्न लागेको छ । यस्तो सेयरमा प्रतिफल पहिला नै निश्चित गरिएको हुन्छ भने यस्तो सेयर कम्पनी रहुन्जेल कायम रहन्छ । कम्पनीले जारी गर्ने साधारण अग्राधिकार सेयरको निश्चित समयपछि पैसा फिर्ता पाइन्छ भने यस्तो सेयरमा पनि प्रतिफल निश्चित गरिएको हुन्छ । नविल बैंकले कति रुपैयाँमा एफपिओ जारी गर्ने र प्रतिफल कति प्रतिशत निश्चित गर्ने भन्ने तयारी गरिरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक बर्षमा ८० करोड रुपैयाँ बराबरको एफपिओ जारी गर्ने भएको छ । उसले जारी गर्ने सेयरको मूल्य पनि तय भएको छैन । एनएमबी बैंकले चालु आर्थिक बर्षमा नै ८७ करोड ३० लाख रुपैयाँ बराबरको एफपिओ जारी गर्ने भएको छ । सो बैंकले पनि सर्वसाधारणलाई कति रुपैयाँमा एफपिओ विक्री गर्न लागेको हो भन्ने तय गरिसकेको छैन । मेगा बैंकले चालु आर्थिक बर्षमा नै ३ अर्ब रुपैयाँ बराबरको एफपिओ जारी गर्ने भएको छ ।बैंकले तयार पारेको कार्ययोजनामा चालु आर्थिक बर्षमा नै ३ अर्ब रुपैयाँको एफपिओ जारी गर्ने उल्लेख गरिएको छ । मेगा बैंकको एफपिओको मूल्य पनि तय भएको छैन ।

नबिल बैंकले २ अर्बको सेयर जारी गर्ने, २ अर्व २१ करोडको बोनस सेयर दिने

काठमाडौं, ६ असोज । नबिल बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको सेयर निश्काशन गर्ने प्रस्ताव राष्ट्र बैंकमा पेश गरेको छ । भदौं मसान्तमा पेश गरेको पुँजी वृद्धि योजनामा २ अर्ब रुपैयाँको थप सेयर सर्वसाधारणमा जारी गर्ने र २ अर्ब २१ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने उल्लेख गरिएको छ । गत वर्षको नाफाबाट १ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने जनाएको छ । गत वर्ष बैंकले २ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसरी बोनस सेयर जारी गर्दा बैंकको चुक्ता पुँजी ४ अर्ब ७५ करोड ४० लाख रुपैयाँ हुन्छ । चालु आर्थिक २०७२/७२ को नाफाबाट ३१ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने वितरण गर्ने छ । आगामी आर्थिक बर्ष २०७३/७४ को नाफाबाट ८२ करोड रुपैयाँ बराबरको बोनस सेयर प्रदान गर्ने योजना बनाएको छ । बैंकले दुई आर्थिक वर्षमा दुई पटक गरी २ अर्बको रुपैयाँको फर्दर इस्यू (पुनःसर्वसाधारणमा सेयर दिने) गर्नेछ । आर्थिक वर्ष २०७२/७३ मा एक अर्ब र २०७३/७४ मा एक अर्बको फर्दर इस्यू गर्ने बैंकको प्रस्ताव छ । बैंकले further issue of Ireedemable preference share  जारी गर्ने भनेको छ । यस्तो सेयरमा निश्चित प्रतिशत लाभांश दिने प्रतिवद्धता गरिएको हुन्छ । अन्य सेयरधनीलाई भन्दा पहिला यस्तो सेयरधनीलाई लाभांश छुट्याईन्छ । त्यसपछि प्रवद्र्धक तथा साधारण सेयरधनीलाई लाभांश दिइन्छ जुन इरेइडिमएवल प्रिफिरेन्स सेयरधनीलाई भन्दा बढी वा घटी हुनसक्छ । कम्पनी लिक्वीडेशनमा गएको अवस्थमा इरेइडिमएवल प्रिफिरेन्स सेयरधनीलाई फिर्ता दिनुपर्ने पुँजी पहिला फिर्ता गरेर अरु सेयरधनीलाई फिर्ता गरिन्छ । यसरी बैंकले २०७३/७४ मा बैंकको चुक्ता पूजी ८ अर्ब २८ करोड ७० लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । यसअघि नविल बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले बोनस सेयर जारी गरेर पुँजी वृद्धि गर्न लागिएको विकासन्युजलाई बताएका थिए । तर राष्ट्र बैंकबाट प्राप्त विवरण जोशीले बताएको भन्दा फरक पाईएको छ । गत आर्थिक वर्षमा २ अर्ब १० करोड नाफा गरेको बताउँदै जोशील भनेको थिए–‘आगामी दुई आर्थिक वर्षमा पनि कम्तिमा ४ अर्ब ५० करोड नाफा गर्न सकिने भएकोले आठ अर्ब रुपैयाँ पुर्याउने थप गर्नु पर्ने करिव १२० प्रतिशत पुँजीवृद्धि बोनस सेयरबाट गर्न सकिने बताएका थिए ।’ ‘हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ७६ लाख रुपैयाँ छ । तीन आर्थिक वर्षको नाफा कम्तिमा साढे ६ अर्ब रुपैयाँ हुन्छ । घाम जतित्तै छर्लङ छ कि नविल बैंकले बोनस सेयर जारी गरेर चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउँछ, जसले पनि बुझ्न सक्छ, भन्न पर्ला जस्तो मलाई लाग्दैन’ उनले भनाई थियो ।

६ फाइनान्स कम्पनीको चुक्ता पूजी बृद्धिको योजना यस्तो छ

काठमाडौं, ५ असोज । संचालनमा रहेका ६ फाइनान्स कम्पनीले राष्ट्र बैंकले तोकेको समयभित्रमा मर्जर, हकप्रद सेयर जारी र बोनस सेयर प्रदान गरेर चुक्ता पूजी बृद्धि गरिसक्ने कार्ययोजना बनाएका छन् । गत भदौ मसान्तभित्रमा पूजी बृद्धि गर्ने कार्ययोजना पेश गरिसक्न राष्ट्र बैंकले निर्देशन दिएकोमा ४७ कम्पनीले योजना पेश गरिसकेका छन् । यसरी कार्ययोजना पेश गरेका कम्पनीमध्ये नारायणी नेसनल, काठमाडौं, पश्चिमाञ्चल, गुडविल, श्रीइन्भेष्टमेन्ट र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको कार्ययोजना प्राप्त भएको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत न्यूनतम चुक्ता पूजी बृद्धि गरी राष्ट्रियस्तरका फाइनान्स कम्पनीको चुक्ता पूजी कम्तिमा पनि ८० करोड रुपैयाँ पुर्याउनु पर्ने ब्यवस्था गरेको थियो । यसरी पूजी बृद्धि गर्नको लागि योजना बनाएर भदौ मसान्तभित्रमा पूजी बृद्धिको योजना पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । कुन कम्पनीले कसरी बृद्धि गर्दै छन् चुक्ता पूजी ? राष्ट्रियस्तरको फाइनान्स कम्पनी नारायणी नेसनलले चुक्ता पूजी बृद्धि गरी अवको २ बर्षभित्रमा ८० करोड २२ लाख रुपैयाँ पुर्याउने योजना तयार पारेको छ । गत बर्षसम्मको नाफावाट १२ करोड २३ लाख रुपैयाँ बराबरको बोनस सेयर प्रदान गरेपछि चुक्ता पूजी ८० करोड २२ लाख रुपैयाँ पुग्ने कार्ययोजना कम्पनीले तयार पारेको छ । अघिल्लो आर्थिक बर्षसम्म कम्पनीको चुक्ता पूजी ६७ करोड ९८ लाख रुपैयाँ थियो । काठमाडौं फाइनान्सले मर्जर र हकप्रद सेयर जारी गरेर चुक्ता पूजी ८० करोड रुपैयाँ पुर्याउने प्रश्ताव गरेको कम्पनी स्रोतको भनाइ छ । सो कम्पनीको अहिले १८ करोड ३७ लाख रुपैयाँ चुक्ता पूजी छ । कम्पनीले चालु आर्थिक बर्षमा अहिले भए बराबरकै हकप्रद सेयर जारी गर्ने र १९ करोड ८२ लाख रुपैयाँ बराबरको पूजी मर्जरवाट जुटाउने कार्ययोजना बनाएको छ । यसो गर्दा कम्पनीको चुक्ता पूजी ५६ करोड ५८ लाख रुपैयाँ पुग्ने र बाँकी रहेको २८ करोड २८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर अन्तिम बर्षमा जारी गर्ने कार्य योजना कम्पनीको छ । यसो हुदा कम्पनीको चुक्ता पूजी ८४ करोड ८७ लाख रुपैयाँ पुग्ने छ । पश्चिमान्चल फाइनान्स कम्पनीले पनि चुक्ता पुजी ८० करोड रुपैयाँ पुर्याउने कार्ययोजना तयार पारेको छ । कम्पनी स्रोतले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा ३१ करोड रुपैयाँ बराबरको पूजी मर्जरवाट जुटाउने र बाँकी पूजी बोनस सेयरवाट पुर्याउने योजना कम्पनीको छ । कम्पनीले गत बर्षको नाफावाट बोनस सेयर प्रदान गरेपछि कम्पनीको चुक्ता पूजी ३६ करोड ५३ लाख रुपैयाँ पुग्ने छ । गुडविल फाइनान्सले पनि तोकिएको समयभित्रमा चुक्ता पूजी ८० करोड रुपैयाँ पुर्याउने कार्ययोजना तयार पारेको छ । कम्पनी स्रोतले दिएको जानकारी अनुसार आगामी आर्थिक बर्षमा ३० करोड ७३ लाख रुपैयाँ बराबरको पूजी हकप्रद सेयर जारी गरेर जुटाउने र बाँकी पुजी बोनस सेयर प्रदान गरेरै पुर्याउने कार्ययोजना कम्पनीको छ । सो कम्पनीको अहिले ३३ करोड रुपैयाँ चुक्ता पूजी छ । श्रीइन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले भने बोनस सेयर, मर्जर र हकप्रद सेयर जारी गरेर पूजी बृद्धि गर्ने योजना तयार पारेको छ । कम्पनी स्रोतले दिएको जानकारी अनुसार सो कम्पनीले चालु आर्थिक बर्षमा १३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने बाँकी रकम बोनस सेयरवाट पुर्याउने योजना कम्पनीको छ । गत आर्थिक बर्षको नाफावाट बोसन सेयर प्रदान गरेपछि कम्पनीको चुक्ता पूजी ६० करोड ७५ लाख रुपैयाँ पुग्नेछ । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले बोसन सेयर र हकप्रद जारी गरेर चुक्ता पूजी ८० करोड रुपैयाँ पुर्याउने कार्ययोजना बनाएको छ । कम्पनी स्रोतले दिएको जानकारी अनुसार आगामी आर्थिक बर्षमा २५ करोड ४४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने तथा गत आर्थिक बर्षदेखि आर्थिक बर्ष २०७३र ७४ सम्म बोनस सेयर प्रदान गर्ने कार्ययोजना बनाएको छ । बाँकी नपुग रहेको ३२ करोड ५६ लाख रुपैयाँको लागि मर्जर गर्ने वा हकप्रद जारी गर्ने कार्ययोजना कम्पनीको छ । गत आर्थिक बर्षको नाफावाट बोनस सेयर प्रदान गरेपछि कम्पनीको चुक्ता पूजी अहिले ४१ करोड २५ लाख रुपैयाँ पुग्दै छ ।