ग्लोबल आइएमइ बैंकमा १० बैंक तथा फाइनान्स मर्ज, पूँजी ८ अर्ब नाघ्यो
काठमाडौं, १४ असोज । ग्लोबल आइएमई बैंकले राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । १४ असोजमा भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवालले हस्ताक्षर गरेका हुन् । दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको ग्लोबल आइएमइ बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको चुक्ता पूजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी ८ अर्व रुपैयाँ भन्दा बढी हुनेछ । एक्विजिसन पछि ग्लोबल आइएमइ बैंकको निक्षेप ८८ अर्व रुपैयाँ, कर्जा लगानी ७४ अर्व रुपैयाँ र १ सय ११ वटा शाखा कार्यालय पुग्नेछन् । एक्विजिसन पश्चात नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप निजी क्षेत्रको वाणिज्य बैंकहरुमा कुल चुक्ता पुजी ८ अर्व रुपैयाँ पुग्ने यो बैक दोस्रो हुनेछ । ग्लोबल आईएमई बैंकले यसअघि प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति गरेको छ । यस्तो सहमति गत १ असारमा भएको हो । यो एक्विजिसनको प्रकृयामा रहेको छ । यस भन्दा पहिला साविक कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफलता पूर्वक मर्जर सम्पन्न गरि सकेको छ भने रिलायबल फाइनान्स लि., शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंक लि.सँग मर्जर भै रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड कायम भएकाले यो एक्विजिसन सम्पन्न भए पछि १०वटा बैंक वित्तीय संस्था मर्जर÷एक्विजिसन भै बनेको पहिलो बैंक हुने छ ।
सात बैंक तथा वित्तीय संस्था मर्जर र एक्वायर गरेको प्रभु बैंकको सेयर कारोवार खोल्न राष्ट्र बैंकको स्वीकृति, ७९ हजार सेयरधनीलाई फाइदा
काठमाडौं, १४ असोज । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको सेयर कारोवार खुल्ला गर्नको लागि स्वीकृति दिएको छ । मर्जर र एक्विजिसन प्रक्रियामा रहेका संस्थाहरुको एकिकृत कारोवार लगत्तै तथा मर्जर र एक्विजिसन प्रक्रिया तोडिएर त्यसको १५ दिनभित्रमा सेयर कारोवार खुल्ला गरिसक्न धितोपत्र वोर्डले निर्देशन दिएपछि लामो सयमदेखि सेयर कारोवार रोकिएका दुबै बैंकको कारोवार खुल्ला गर्न राष्ट्र बैंकले स्वीकृति दिएको हो । प्रभुको सेयर कारोवार खुल्ला गर्न राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको पत्र प्राप्त भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सहायक प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । नेप्सेले यस्तो पत्र गत बुधबार पाएको हो । प्रभु बैंकमा ७ ओटा बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिसनको रुपमा विलय भएका छन् । प्रभुसँग किष्ट बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक, जेनिथ फाइनान्स, बैभव फाइनान्स र सम्बृद्धि विकास बैंक मर्ज भएका छन् भने प्रभुले ग्राण्ड बैंकलाई एक्वायर गरेको छ । सेयर कारोवार खुलेसँग बैंकका करिब ७९ हजार सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर विक्री गर्न पाउने भएका छन् । प्रभु बैंकमा सुरुमा किष्ट बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज भएका थिए । सोही मर्जरको कारण तत्कालिन प्रभु विकास बैंक र किष्ट बैंकको सेयर कारोवार ३० चैत २०७० देखि रोकिएको थियो । यी बैंक तथा वित्तीय संस्थाहरुको मर्जर सम्पन्न भएर प्रभु बैंकको नामवाट २९ भदौ २०७१ देखि एकिकृत कारोबार भएको थियो । चारओट बैंक तथा वित्तीय संस्थाविच मर्जर सम्पन्न भएपनि प्रभु बैंकको सेयर कारोवार खुल्ला भएको थिएन । यही विचमा ग्राण्ड बैंकलाई प्रभु बैंकले एक्वायर गर्ने सम्झौता भएपछि ग्राण्डको पनि सेयर कारोवार रोकिएको थियो । ग्राण्ड बैंकको सेयर कारोवार २४ असोज २०७२ देखि रोकिएको थियो । प्रभु बैंकले ग्राण्ड बंैकसँगको एक्वायर सम्पन्न गरेर २९ माघ २०७२ देखि एकिकृत कारोवार संचालन गरेपनि अहिलेसम्म सेयर कारोवार भने खुलेको थिए ।
दशैंमा तरकारीः ७३ प्रतिशत मूल्य बढाएपछि नबढाउने सहमति
काठमाडौं, १४ असोज । चाडबाडको नजिक व्यापारसँगै मूल्य वृद्धि आकाशिनु नेपाली उपभोक्ताको दैनिकी बनिसकेको छ । बजारमा ७३ प्रतिशतसम्म तरकारीको मूल्य वृद्धि गरेपछि बाणिज्य मन्त्रालयले दशैंमा तरकारीको मूल्य नबढाउन व्यवसायीसँग सहमति गरेको छ । मन्त्रालय र तरकारी व्यवसायीबीच बिहिबार दशैंमा तरकारीको मूल्य नबढाउने सहमति भएस्को थियो । तर असोज ७ गतेदेखि असोज १४ सम्ममै आम उपभोक्ताले अत्याधिक उपभोग गर्ने तरकारीको मूल्य ७३ प्रतिशतसम्मले वृद्धि भएको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिमा असोज ७ गतेदेखि १४ गतेकोबिचमा ७३ प्रतिशतसम्मले वृद्धि भएको हो । सो अवधीमा घिउ सीमीको मूल्य ७३ दशमलब शुन्य ८ प्रतिशतले वृद्धि भएको हो । एक हप्तामा भेडे खुर्सानीको मूल्य १९ दशमलब ३२ प्रतिशत, हरियो लसुनको मूल्य २७ दशमलब २७ प्रतिशत र गान्टे मुलाको मूल्य १४ दशमलब ५५ प्रतिशतले बढेको छ । त्यस बाहेक लौकाको मूल्य ४५ दशमलब ४५ प्रतिशत, तोरीको सागको मूल्य १८ दशमलब ८७ प्रतिशतले बढेको हो । पछिल्लो एक हप्तामा १४ वटा तरकारीको थोक मूल्य औषतमा २० दशमलब ७४ प्रतिशतले बढेको छ ।