४ अर्ब ८८ करोड खर्चेर ३२ जिल्लामा अप्टिकल फाइबर, दुई बर्षभित्रै ब्रोडब्याण्ड सर्भिस

काठमाडौं, १२ असोज । नेपाल दुर सञ्चार प्राधिकरण र नेपाल टेलिकमबिच मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार प्राधिकरण अध्यक्ष दिगम्बर झा र टेलिकमकी नव नियुक्त प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले ४ अर्ब ८८ करोड लागतको अप्टिकल फाइबर योजनामा हस्ताक्षर गरेका हुन् । आगामी दुई बर्षभित्र पुष्पलाल मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने सम्झौतामा उल्लेख गरिएको छ । पाँचथरको चियो भज्याङदेखि धादिङको सल्यानटारसम्मको २३७६ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याइनेछ । अप्टिकल फाइबरले सो क्षेत्रमा ब्रोडब्याण्ड सर्भिस उपलब्ध गराउनेछ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्राधिकरणका अध्यक्ष दिगम्बर झाले डिजिटल नेपाल बनाउने अभियानको प्रारम्भका रुपमा मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने कार्यक्रम सुरु गरिएको बताए । दुई बर्षभित्र सो खण्डमा काम सम्पन्न गरेर डिजिटल पुर्व खण्डको सुभारम्भ गरिने पनि उनले बताए । त्यस्तै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामीनी राज भण्डारीले समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिन् । यसरी बिछ्याइएको अप्टिकल फाइबरको पुर्वाधार अन्य दुर सञ्चार सेवा प्रदायक कम्पनीलाई समेत सहप्रयोगका लागि उपलब्ध गराइने व्यवस्था छ । सम्झौता अनुसार आगामी दुई बर्षभित्र प्रदेश नम्बर १, २ र ३ का सबै जिल्ला सदरमुकाम र नगरपालिकासम्म अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न गरिनेछ । टेलिकमले यसै हप्ता प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने कामका लागि टेण्डर आव्हान गर्दैछ । टेलिकमलाई भने सिधै काम गर्नेगरि सम्झौता गरिएको हो ।

सिट क्षमताभन्दा कम्तिमा पनि २० जना बढी यात्रु बोक्न पाउनु पर्ने ब्यवसायीको माग, अग्रिम टिकट बुकिङ रोकियो

काठमाडौं, १२ असोज । यातायात ब्यवसायीले दशैको लागि अग्रिम टिकट काट्न रोकेका छन् । राजधानीवाट दशैको लागि वाहिरिने यात्रु धेरै हुने भए पनि पुन राजधानी फर्कदा यात्रु नपाइने भएकोले सिट क्षमताभन्दा कम्तिमा पनि २० जना यात्रु बढी बोक्न पाउनु पर्ने माग राख्दै ब्यवसायीले यस्तो गरेका हुन् । ब्यवसायीले देखाउनको लागि भने नारायणघाट मुग्लिन सडक विस्तारलाई कारण देखाएका छन् । दशैको लागि २० दिन सो सडक खण्ड विस्तारको कार्य रोक्न सरकार सहमत नभएको र सडकका खाल्डाखुल्डी नपुरेको कारण गाडी चलाउन सक्ने अवस्था नभएकोले अग्रिम टिकट बुकिङ बन्द गरिएको यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘दशैको घटस्थापनादेखि फूलपातीको दिनसम्मको ७ दिनमा कम्तिमा पनि १२ लाख मानिस काठमाडौंबाट बाहिरिन्छन्, यसको लागि ठूलो संख्यामा गाडी चल्नुपर्ने हुन्छ, अहिले नै राम्ररी गाडी चल्न नसकेको नारायणघाट मुग्लिन सडक खण्ड २० दिनको लागि विस्तार कार्य रोक्न सरकार सहमत नभएकोले अग्रिम टिकट बुकिङ रोकिएको हो,’ महासचिव सिटौलाले भने । यस्तै सडकमा भएका खाल्डाखुल्डी पूर्न सरकार तयार नभएको कारण पनि गाडी गुडाउन सक्ने अवस्था नभएको सिटौलाको भनाइ छ । सिटौलाले सिट क्षमताभन्दा २० जना बढी यात्रु बोक्न पाउनु पर्ने माग ब्यवसायीवाट आएको जानकारी दिए । ‘काठमाडौंवाट भैरहवा पुगेर आउदा एउटा गाडीको ४५ हजार रुपैयाँ खर्च हुन्छ, तर एकतर्फी रुपमा सिटभरी यात्रु लिएर भैरहवा पुग्दा ३८ हजार रुपैयाँ मात्रै आम्दानी हुन्छ, एकपटक गाडी चलाउदा ७ हजार रुपैयाँ नोक्सान हुन्छ भने किन गाडी गुडाउने भन्ने ब्यवसायीको तर्क आएको छ, हामी यो विषय पनि सरकारसँग राख्छौं,’ सिटौलाले भने । यसको लागि सरकारले सिट क्षमताभन्दा २० जना बढी यात्रु बोक्न दिनुपर्ने उनको भनाइ छ । सरकारले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने अडान लिएको छ । तर ब्यवसायीले नयाँ गाडी पनि नथप्ने र अहिले संचालनमा रहेका गाडी पनि विग्रिएको भन्दै कम गाडी देखाएर सिट क्षमताभन्दा बढी यात्रु कोच्ने रणनीति लिएका छन् ।

विमानस्थल कार्यालयले उडान अनुमति नदिँदा निगमको दुबई उडान रद्द, ५५ जना यात्रुलाई मध्यरातमा राजस्थान सारियो

काठमाडौं १२, असोज ।  सधै जहाजमा आउने प्राविधिक समस्या र वायुसेवाका सानो कमजोरीले यात्रु उडानमा समस्या हुने गरेको भएपनि मंगलबार राती भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको कमजोरीले वायुसेवा निगमको दुबईउडान रद्द भएको छ । निगमको काठमाडौंबाट दुवाई जाने उडानको समय साढे ११ बजेको भएपनि दुई दिन अगाडि निगमको जहाज आकस्मिक अवतरण गरेपछि यसका उडान प्रभावित हुँदै आएको थियो ।एउटा उडान प्रभावित हुँदा वायुसेवा कम्पनीलाई लाखौ घाटा हुने गरेको छ । उडान तालिम मिलाएर निगमले यात्रुलाई गन्तव्य स्थानमा लैजाने गरेको भएपनि मे विमानस्थल कार्यालयले उडान अनुमति नै नदिएका कारण उडान रद्द भएको निगमको भनाइ छ । मंगलबार रातीको उडान अन्तिम समयमा रद्द भएको कारण दुवाई उड्न ठिक्क परेका ५५ जना यात्रुलाई मध्यरातमा राजस्थान होटलमा लगेर राखिएको छ । यो यात्रुलाई आज बेलुकोको उडानमा दुवाई लैजाने तयारी निगमको छ । त्रिभुवन विमानस्थल सामान्यता रातको १२ बजेपछि बन्द हुने गरेको छ । कुनै वायुसेवाको उडान समय ढिलो भए विमानस्थल कार्यालय, सुरक्षा निकायसहितलाई लिखित आग्रह गरेर उडान समय माग्ने (एयरपोर्ट एक्टेन्सन वाच)हुने गरेको छ । तर, विमानस्थल कार्यालयले मंगलबार निगमको लिखिन आग्रहलाई पनि वेवास्था गर्दे उडान समय नै नदिएको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ । विमानस्थल कार्यालयले अनुमति दिएको अवस्थामा र विशेष परिस्थितिमा रातैभर जहाज उड्न् गरेका छन् । विमानस्थल कार्यालयल अनुमति नै नदिएको कारण निगमको आर २२९ उडान नम्बर रद्द हुन पुग्यो । मंगलबार रातीको उडान रद्दको प्रभाव बुधबार विहानको दिल्ली उडानसमेत प्रभावित भएको छ । निगमले हरेक दिन विहान ८ बजे काठमाडौंबाट दिल्ली उडान गर्ने समय तालिका तय गरेको छ । ‘मंगलबार उडान ढिलो हुने भनेर बुधबार (आज) विहानको ८ बजेको उडान ११ बजेलार्ई राखिएको थियो’, निगम स्रोतले भन्यो । दुवाई उडान नै नभएपछि जहाज काठमाडौंमै भएकोले उडान तालिका मिलाउँन ११ बजेको दिल्ली उडान ९ बजे नै गर्नु लागिएको निगमले जानकारी दिएको छ । निगमका अनुसार दुई दिन अगाडि काठमाडौं अवतरण गर्ने क्रममा निगमको जहाज आकस्मिक अवतरण गर्दा उडान तालिका प्रभावित भएको छ । सोही तालिका मिलाउन हम्मे हम्मे परेको निगमलाई एउटा उडान रद्द भएपनि पुनः व्यवस्थापन मिलाउँन निकै कठीन हुने गरेको छ । यात्रुको सम्पर्क नंम्वर नहुँदा समस्या टिकेटिङ कम्पनी तथा ट्राभल एजेन्सीले यात्रुको सम्पर्क नम्बर नराखी टिकेट काट्दा पनि उडान रद्द हुदाँ र उडान समय सार्नुपर्दा वायुसेवा कम्पनीलाइ निकै तनाव हुने गरेको छ । अहिले पनि निगमले ११ बजेको दिल्ली उडान ९ बजे नै गर्ने तयारी गरिरहेको भएपनि यात्रुलाई खवर गर्न नै समस्या भइहरेको छ । टिकेट काट्दा ट्राभल एजेन्सीले सम्पर्क नम्बर नै नराख्ने गरेकोले उडान तालिका मिलाउने क्रमममा पनि यात्रुलाई नै मार पर्ने गरेको निगमका एक कर्मचारीको भनाइ छ ।