१० वटा पेट्रोलियम खानीको ग्लोबल टेण्डर अन्तिम चरणमा, शुन्य लगानीमा अधिकतम प्रतिफल
काठमाडौं । मुलुकको बिभिन्न भागमा रहेका १० वटा पेट्रोलियम खानीहरुको ग्लोबल टेण्डरको तयारी सकिएको छ । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले भने,‘हामीले ग्लोबल टेण्डरको सबै प्रक्रिया पुरा गरिसकेका छौं, सबै डकुमेण्ट तयार छन ।’ खनिज नियमावली राजपत्रमा प्रकाशित लगत्तै ग्लोबल टेण्डर निकाल्ने बताए । ‘खनिज नियमावली राजपत्रमा प्रकाशित हुने वित्तिकै ग्लोबल टेण्डर निकाल्न सक्ने अवस्थामा छौं’, रजौरेले भने । उनका अनुसर खनिज नियमावलीले नेपाल सरकारलाई १२ दशमलब ५ प्रतिशत रोयल्टी ग्यारेण्टी गरेको छ । सबै भन्दा भन्दा धेरै प्रतिशत आम्दानीको हिस्सा दिने नेपाल सरकारलाई दिने अन्तराष्ट्रिय कम्पनीलाई उत्खननको जिम्मेवारी दिने व्यवस्था रहेको छ । उनका अनुसार पेट्रोलियम खानीहरुको उत्खननमा नेपाल सरकारलाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन् ।‘हामीले शुन्य लगानीमा अधिकतम प्रतिफल दिने कम्पनीलाई ठेक्का दिने हो, पेट्रोलियम पदार्थ फेला पर्यो भने आम्दानी बाडफाँट हुन्छ नत्र कम्पनी खाली हात फर्कन्छ ’, रजौरेले भने । नेपालका बिभिन्न १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ । गत बर्ष चिन सरकारको स्वामित्वमा रहेको चाईना जिओलोजिकल सर्भको प्राबिधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेको थियो । उनीहरुले नेपालमा पेट्रोलियम पदार्थ रहेको प्रारम्भिक रिपोर्ट तयार पारेको अनौपचारिक जानकारी नेपाल सरकारलाई पठाएका थिए । तर औपचारिक रिपोर्ट भने अझै पठाएको छैन् । परियोजनाले पेट्रोलियम पदार्थको उत्खनन गर्ने अन्तराष्ट्रिय कम्पनीहरुलाई नेपालमा पेट्रोलियम पदार्थ रहेको पुष्टि गर्न आफ्ना अध्ययनका रिपोर्ट, माटो, चट्टानको प्रकृति, चिनियाँ कम्पनीले पठाएको प्रारम्भिक अनौपचारिक रिपोर्ट लगायतका तथ्यांक अघि सारिने पनि स्पष्ट पारे । ‘कुनै पनि कम्पनीले हचुवाका भरमा अर्बाै लगानी गर्दैनन्, उनीहरुलाई कन्भिन्स गर्न हामीले आधारहरु तयार पारिसकेका छौं’, रजौरेले भने ।
बाहिरी चक्रपथले कृषि वैज्ञानिककै डेढ करोडको घर भत्काउने, तत्कालै २ सय वटा घर भत्काइदैँ
फाेटाे स्राेत बाहिरी चक्रपथ अायाेजना काठमाडौं । बाहिरी चक्रपथ आयोजनाले चोभार–सतुंगल खण्डको काम सुरु गर्नुपहिले सतुंगलमा रहेको कृषि बैज्ञानिकका डेढ करोड पर्ने घर भत्काउने भएको छ । सतुंगलमा रहेको नार्कमा कार्यरत ताराबाहादुर घिमिरे र कृषि वैज्ञानिक एकबहादुर सिंहको डेढ डेढ करोडका दुई घर भत्कने भएका छन् । विकास निर्माणको क्रममा हाम्रो घर भत्किएर कुनै चिन्ता छैन तर राज्यले भने उचित क्षतिपूर्ति दिनुपर्ने सिंहले विकास न्युजलाई जानकारी दिए । सिंहले दिएको जानकारी अनुसार उनको आफ्नो साढे ३ आनामा बनेको साढे दुई तलको घरसहितको ३४ आना जग्गा पर्ने भएको छ । उनका अनुसार घरको चारपाँच वर्ष अगाडि नै बनाएको हुँ । बाहिरी चक्रपथ आउँछ मेरै घर पर्छ भन्ने चाहिँ थाहा भएन, उनले भने । उनका अनुसार सँगै रहेको साढे तीन तलाको घिमिरेको घर पनि आयोजना निर्माणको क्रममा भत्कने भएको छ । उनको भन्दा घिमिरेको घर नयाँ र ठूलो भएकोले उनको तुलनामा अझै बढी मूल्यांकन हुँने छ । उनका अनुुसार आफ्नो घर सवा करोडसम्मको रहेको भएपनि घिमिरेको भने डेढ करोडकै मूल्यांकनको अनुमान गरिएको छ । चोभार सतुंगल खण्डको साढे ६ किमी सडक निर्माण अन्र्तगत सतुंगलको एउटा क्षेत्रको संघर्ष समितिका अध्यक्ष पनि हुन सिंह । उनका अनुसार सरकारले बनाउने विकास निर्माणमा हाम्रो कुनै अवरोध र गुनासो हुँदैन । हाम्रो चिन्ता भनेकै उचित क्षतिपूर्ति र समयमा नै हुनुपर्छ भन्ने हो । उनका अनुसार बाटोमा पर्ने घरको उचित क्षतिपूर्ति, भित्रि बाटोको पनि उचित क्षतिपूर्ति, तुरुन्तै क्षतिपूर्ति दिनुपर्ने र बोटविरुवा हुनेको पनि सोही अनुसार मूल्यांकन गरेर क्षतिपूर्ति दिनुपर्नेसहतिको ६ बुँदे माग पनि राखिएको छ । आफ्नो मागका विषयमा आयोजना सकारात्मक रहेको पनि उनको बझुाई छ । आयोजनाका अनुसार यो क्षेत्रमा पहिले जम्मा १४ वटा मात्रै घर पर्ने भएपनि अहिले २ सय वटा पुगिसकेको छ । साढे ६ किमिको यो दुरीको ६ ठाउँबाटै निर्माण गर्ने र छिटो सक्ने हिसावले आयोजनाले प्रक्रिया अगाडि बढाइरहेको छ । आयोजनाका शाखा अधिकृत ध्रुव सापाकोटाका अनुसार यही जेठ भित्रै जग्गा अधिग्रहणको सूचना सार्वजनिक हुने भएको छ । सो सूचनासँगै जग्गा रोक्का हुने पनि उनले जानकारी दिए । आयोजना अहिलेसम्मको उत्कृष्ट विकासको मोडल भएको र स्थानीयको सहयोगले थप सहज रुपमा निर्माण गर्न सकिने उनको बुझाई छ । उनका अनुसार २०६५ सालमा सो क्षेत्रमा जम्मा १४ वटा घर मात्रै थिए । यो खण्डमा १४ हजार कित्ता जग्गा रहेको छ । ती घरहरुको मुआब्जा जम्मा एक करोड ५१ लाख ५७ हजार ७ सय रुपैंयाँ मात्रै थियो । तर अहिले घर संख्या बढेर करिब २ सय वटा भएको छ । समयमा नै निर्माणको प्रक्रिया अगाडि बढाउन नसक्दा लागत बढेको छ । उनका अुनसार यो खण्ड निर्माण गर्न करिब ६ अर्ब खर्चको अनुमान गरिएको छ । यो खण्डमा १४ हजार कित्ता जग्गा रहेको छ । यो पहिलो खण्डको निर्माण पछि आयोजनाले थप खण्डको काम गर्दै जाने र हरके खण्डको काम दुई वर्र्ष भित्रै सक्ने योजना अगाडि सारेको छ ।
शेरबहादुर देउवा बने चौथो पटक प्रधानमन्त्री, पक्षमा ३८८ र विपक्षमा १७० मतदात
काठमाडौं । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । प्रधानमन्त्री चयनको निर्वाचनमा एक मात्र उम्मेदवार रहेका देउवाले ३८८ मत प्राप्त गरेका छन् । उनको विपक्षमा १७० मत परेको थियो । देउवाले खरेको मतको ६९ प्रतिशत र कुल सांसदको ६५ प्रतिशत मत पाएका छन् । हाल संसद्मा कायम कुल ५९३ सांसद रहेकामा ५५८ जनाले मात्र मतदानमा भाग लिएका थिए । ‘सभापति देउवालाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरियोस्’ भनी प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेका थिए । माओवादी केन्द्र र नेपाली काँग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी र नेकपा (संयुक्त) लगायतका दलले देउवाको पक्षमा मतदान गरेका थिए । देउवाको विपक्षमा नेकपा (एमाले), नेकपा (माले) राष्ट्रिय जनमोर्चा, परिवार दललगायतले मतदान गरेका थिए । देउवा प्रधानमन्त्री भएको यो चौथो पटक हो । नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । २०१७ सालदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय देउवा नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य थिए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो गरेका छन् । उनकी धर्मपत्नी डा आरजु राणा देउवा व्यवस्थापिका–संसद् सदस्य छिन् भने उनका एक छोरा छन् । विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित देउवा २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए । विसं २०४८ मा गृहमन्त्री भएका प्रधानमन्त्री देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए । त्यसपछि उनी २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री भए । असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए । प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । राजाले नियुक्त गरी प्रधानमन्त्री बनाएका देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरे । २०५९ सालमा काँग्रेस विभाजन गरी उनले नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन गरे र सभापति भए । विसं २०६४ मा काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी नेपाली काँग्रेसको वरिष्ठ नेता भएका थिए । उनी ढेड वर्षअघि नेपाली काँग्रेसको सभापति भएका हुन ।