साउन १ देखि १० लाख भन्दा बढि नगद कारोबार गर्न नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि १० लाख भन्दा बढिको नगद कारोबारमा रोक लगाएको छ । केन्द्रिय बैंकले बैशाख २८ गते सर्कुलर जारी गरेर साउन १ गतेदेखि १० लाख भन्दा बढि रकमको कारोबार नगदमा नगर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले १० लाख भन्दा बढिको भुक्तानी एकाउण्टपेयी चेक मार्फत गर्नुपर्ने र विभिन्न फर्म तथा संस्थाहरुको नाममा खिचिएका चेक पनि एकाउण्टपेयी हुनुपर्ने जनाएको छ । तर कुनै निक्षेप कर्ता वा वचत कर्ताले कुनै कारण देखाई नगद भुक्तानीका लागि भने निवेदन दिन सक्नेछन् । बैंकलाई त्यस्तो निवेदन मुनासिब लागेमा भने नगद भुक्तानी दिन पनि कुनै बाधा नहुने केन्द्रिय बैंकले जनाएको छ । बैंक तथा वित्तिय संस्थाले १० लाख भन्दा बढि नगद भुक्तानी गरेको विवरण भने मासिक रुपमा नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्नेछ ।
भ्याटको लफडाले सेयर कारोबार बन्द, ब्रोकर भन्छन्-नउठाएको भ्याट कसरी तिर्ने
काठमाडौं । आन्तरिक राजश्व विभागले विगत चार बर्षदेखिको सेयर कारोबारको भ्याट तिर्न पत्र काटेपछि ब्रोकर कम्पनीहरुले सेयर कारोबार बन्द गरेका छन् । विभागले बुधबार ब्रोकर कम्पनीहरुलाई पत्र काटेर विगत चार बर्षदेखिको सेयर कारोबारको भ्याट तिर्न भनेको थियो । विभागले भ्याट, ब्याज, जरिवाना र हर्जनासहितको रकम बुझाउन भनेपछि ब्रोकरहरुले बिहिबार सेयर कारोबार बन्द गरेका हुन् । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले आफुहरुले लगानी कर्तासँग भ्याट असुली नगरेकाले सरकारलाई बुझाउन पनि नसक्ने बताए । ‘हामीले लगानी कर्तासँग भ्याट उठाएकै छैनौं त सरकारी सरकारलाई चार बर्षदेखिको भ्याटकसरी बुझाउने ?’, ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीले भने । आन्तरिक राजस्व विभागले इन्भेष्टमेन्ट म्यानेजमेन्ट र सुन्धारा सेक्युरिटिजलाई २०६९/७० देखिको भ्याट तिर्न बुधबार पत्राचार गरेको थियो ।
धितोपत्र बोर्डलाई अवज्ञा गर्दै बैंक तथा वित्तिय संस्था, हकप्रद सेयर धमाधम खारेज गरिँदै
काठमाडौं । पुँजी बजारको सर्वाेच्च नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई बैंक तथा वित्तिय संस्थाहरुले अवज्ञा गर्न थालेका छन् । बोर्डले दिएका निर्देशन विपरिद गतिबिधी अघि बढाएर बैंक तथा वित्तिय संस्थाहरुले बोर्डलाई अटेर गर्न थालेका हुन् । बैंक तथा वित्तिय संस्थाहरुले बोर्डलाई अवज्ञा गरेको एउटा गतिलो प्रमाण हो– हकप्रद सेयर रद्ध प्रकरण । बोर्डले एउटा साधारण सभा मार्फत हकप्रद सेयर जारी गर्ने निर्णय गरेर अर्काे साधारण सभाबाट त्यसलाई खारेज गर्न नमिल्ने निर्देशन दिएको छ । तर बोर्डको यस्तो निर्देशनको बर्खिलाप हुने गरि बैंक तथा वित्तिय संस्थाले हकप्रद सेयर निष्काशन गर्ने अघिल्लो साधारण सभाको निर्णय धमाधम उल्टाउने प्रक्रिया अघि बढाएका छन् । बोर्डले हकप्रद सेयर जारी गर्ने साधारण सभाको निर्णय उल्टाउन नपाउने व्यवस्था जेठ १२ गते देखि लागु गरेको हो । त्यसको ज्वलन्त उदाहरण हो, राप्तीभेरी विकास बैंक र साहारा विकास बैंक । राप्तीभेरी विकास बैंकले असार १७ गते नेपालगञ्जमा बिशेष साधारण सभा गरेर हकप्रद सेयर निष्काशन गर्ने २०७३ भदौ १७ गतेको निर्णय उल्टाउने बिशेष प्रस्ताव पेश गर्दैछ । राप्तीभेरीले एक बराबर २ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । त्यस्तै, साहारा विकास बैंकले पनि हकप्रद सेयर निष्काशन गर्ने अघिल्लो साधारण सभाको निर्णय उल्टाउन असार ३१ गते बिशेष साधारण सभा बोलाएको छ । साहारा विकास बैंकको २०७३ पुस २९ गते सम्पन्न छैठौं साधारण सभाले एक बराबर २.५० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । धितोपत्र बोर्डले सेयर बजारका लगानी कर्तालाई अन्याय हुने भन्दै हकप्रद सेयर निष्काशन गर्ने साधारण सभाको निर्णय कार्यान्वयन गर्नै पर्ने भनेको छ । तर नेपाल राष्ट्र बैंकले भने हकप्रद सेयर निष्काशन गर्ने निर्णय रद्ध गर्ने सम्बन्धी बैंक तथा वित्तिय संस्थाहरुको निर्णयलाई धमाधम स्विकृति प्रदान गरिरहेको छ । नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले हकप्रद सेयर निष्काशन गर्ने साधारण सभाको निर्णय उल्टाउन नपाउने सम्बन्धी बोर्डको निर्देशन कार्यान्वयनका लागि नीतिगत तहमा छलफल भैरहेको र केहि दिनभित्रै बिशेष व्यवस्था गरिने बताए ।