सडक विस्तारमा भत्किने घरको क्षतिपूर्ति बढ्दै, प्रति स्क्वायर फिटको ३ हजार पाइने
काठमाडौं । सडक विस्तारका क्रममा भत्काइने घर तथा भौतिक संरचनाहरुको क्षतिपुर्ति रकम बढ्ने भएकोछ । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यका भित्र सडक विस्तारका क्रममा भत्काइने घर तथा अन्य भौतिक संरचनाहरु वापत नागरिकलाई दिइदै आएको क्षतिपुर्ति रकम बढाउने प्रक्रिया अघि सारेको हो । प्राधिकरणले आइतबार क्षतिपुर्तिको नयाँ दर सम्बन्धी प्रस्ताव शहरी विकास मन्त्रालययमा दर्ता गराएको हो ।‘हामीले नयाँ दर रेट निर्धारण सम्बन्धी पत्र मन्त्रालयमा दर्ता गराएका छौं, साउन भित्रै नयाँ दर रेट तय हुन्छ’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले भने । उनले प्रति स्क्वायर फिटको ३ हजार रुपैंयाँ दिने व्यवस्था प्रस्ताव गरेको बताए । हाल प्रति स्क्वायर फिटको २६ सय रुपैंयाँ क्षतिपुर्ति दिने व्यवस्था रहेको छ । ‘अहिले प्रतिवर्ग फुट २६ सय रुपैंयाँ दिने व्यवस्था छ, कन्ट्याक्टर लगाउँदा र रास कट्टी गर्दा १८ सय जति पनि हातमा पर्दैन, त्यसले भत्किएको घर बनाउनै नपुग्ने अवस्था देखेपछि नयाँ दर तोक्न प्रक्रिया सुरु गरेका हौंं’, तिवारीले भने । केहि समय अघि मात्रै काठमाडौं उपत्यकाका तीनै जिल्लाका जन निर्वाचित प्रतिनिधीहरुले सडक विस्तारमा सघाउने प्रतिवद्धता व्यक्त गरेको थिए । तर क्षतिपुर्ति रकम बढाउनुपर्ने उनीहरुको सर्त थियो । ‘जनप्रतिनीधिले सडक विस्तारमा सघाउँछु भनेका छन र क्षतिपुर्ति दर बढाउनुपर्ने माग छ ।’, तिवारीले भने । हालसम्म उपत्यकाका तीन जिल्लामा ३५० किलोमिटर सडक विस्तार सम्पन्न भएको छ । सोमध्ये २६३ किलोमिटर काठमाडौंमा, ५७ किलोमिटर ललितपुरमा र ३० किलोमिटर भक्तपुरमा सम्पन्न भएको हो । काठमाडौंमा १०० किलोमिटर, ललितपुरमा २० किलोमिटर र भक्तपुरमा १० किलोमिटर सडकमा विस्तारका लागि चिनो लगाएर राखिएको पनि उनले बताए । प्राधिकरणले काठमाडौंमा ४०० किलोमिटर, ललितपुरमा १३७ किलोमिटर र भक्तपुरमा १३० किलोमिटर गरि कुल ६३० किलोमिटर सडक विस्तारको योजनामा अनुसार काम गरिरहेको छ । हालसम्म सडक विस्तारकै क्रममा क्षतिपुर्तिका लागि मात्रै २ अर्ब ९४ करोड खर्च भएको तिवारीले जानकारी दिए । सो रकममध्ये ७५ प्रतिशत रकम घरको क्षतिपुर्तिमा लागेको पनि उनले बताए ।
डुवानले बिजुलीको माग भारी गिरावट, उत्पादन आधा मात्र, पूर्वमा विद्युत आपूर्ति गर्न एक साता लाग्ने
काठमाडौं । शुक्रबारदेखिको अविरल वर्षाले आएको बाढीका कारण तराईका जिल्ला डुवानमा परेपछि विधुतको माग घटेको छ । बाढीले तराइ क्षेत्रमा जगमग्न भएपछि माग घट्दा अधिकाँश जलविद्युत आयोजनाबाट आधा भन्दा कम मात्र बिजुली उत्पादन भइरहेको छ । तराइमा धेरै सव–स्टेशन तथा फिडर बन्द भएपछि १४४ मेगावाटको कालीगण्डकी ए बाट १००, ७० मेगावाटको मध्यमस्र्याङ्दीबाट २५, ६९ मेगावाटको मस्र्याङदीबाट ३२ मेगावाट मात्र बिजुली उत्पादन भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । पुर्वाञ्चलनमा ठुलो क्षति भएका कारण विद्युत आपूर्ति गर्न एक साता लाग्ने उनले जानकारी दिए । अन्य क्षेत्रमा पानी कम हुनसाथ विद्युत आपूर्ति सुचारु हुने छ । बालाजु–त्रिशुली ६६ केभी सर्किट ट्रिपिंग भएपछि चिलिमे र त्रिशुली ७÷७ र देबिघाट आयोजनाबाट ५ मेगावाट मात्र बिजुली उत्पादन भएको छ । गण्डक विद्युत्गृह बाढीको कारणले विहान ५ बजेदेखि बन्द छ । ढल्केबर – मुजफरपुर अन्तरदेशिय लाइनबाट लिनुपर्ने १०० मेगावाट मध्ये माग नभएपछि ७ मेगावाट देखि ३३ मेगावाट मात्र आयात भइरहेको उनले जानकारी दिए । माग नभएपछि बिहारबाट हुने सम्पूर्ण आयात बन्द गरिएको छ्र । टनकपुरबाट हुने आयात पनि बन्द गरिएको प्राधिकरणले जनाएको छ । सवस्टेशन बाढीले डुवाएपछि पुर्वी तराईका जिल्लामा विद्युत आपूर्ति पुरै बन्द भएको छ । यस्तै दमक–गोदक प्रसारणलाइन अवरुद्ध भएपछि माईलगायत अन्य करिडोरमा रहेका आयोजनाबाट गरी ५० मेगावाट बिजुली आपूर्ति बन्द भएको प्राधिकरण प्रणाली सञ्चालन विभागका उपप्रवन्धक दीपक धितालले जानकारी दिए । क्षति पुगेका मुख्य प्रसारणलाइन दमक–गोधक खण्डको १३२ केभी लाइनअन्र्तगत चुलाचुलीमा रहेको टावर नम्बर १७ बाढीको कारण ढलेको छ । हेटौडा सव–स्टेशन अन्तर्गतको हेटौंडा सिमेन्ट नजिक ६६ केभी. टावर पल्टिन लागेपछि औद्योगिक फिडर सर्किट नम्बर १,२ बन्द गरिएकको छ । दुहवी सब–स्टेशन, दमकसब–स्टेशन, अनारमनी सव–स्टेशन जलमग्न हुँदा पूर्ण रुपमा बन्द छ । यसैगरी चपुर–पथलैया १३२ केभी. सर्किट नम्बर २, २७ गते रातिदेखि चालु हुन सकेको छैन् । ढल्केबर–चपुर १३२ केभी. सर्किट नम्बर १, २७ गते दिउसोदेखि अबरुद्ध छ । बालाजु–त्रिशुली ६६ केभी सर्किट नम्बर १ र २, २७ गते रातिदेखि बन्द भएको छ । यस्तै नयाँ संरचनामा रक्सौल–परवानीपुर १३२ के.भीको भलुहीमा टावर नम्बर १७ र १६ मा बाढीले बेस खनेपछि आपूर्ति अबरुद्ध भएको छ ।
२२ अर्ब लगानी थप्दै नेपाल टेलिकम, आक्रामक बजार विस्तारसँगै एसएमएस सेवा निःशुल्क
काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले टेलिफोन सेवा र विस्तार र नयाँ सञ्चार प्रविधि जडान गर्न २२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७४/०७५ मा यो रकम लगानी गरेर ग्राहक संख्या १७ प्रतिशत बढाउने लक्ष्य टेलिकमले लिएको छ । टेलिकमका हाल १ करोड ७४ लाख ४२ हजार ग्राहक छन् । चालु आवमा टेलिकमका ग्राहक २ करोड नाघने भएका छन् । फोरजी सेवा,वाइम्याक्स र तारसहितको टेलिफोन सेवा विस्तारमा टेलिकमले लगानी बढाउने प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले यो वर्षदेखि डिजिटल अर्थतन्त्र निर्माणमा टेलिकमले ध्यान केन्द्रीत गर्ने जानकारी दिइन् । यस्तै इन्टरनेट सेवालाई अझ प्रभावकारी बनाउने उनले बताइन् । पुर्वाधार निर्माणतर्फ चालु आवमा टेलिकमले पाँचथरको चियोभन्ज्याङदेखि गोरखाको आरुघाट बजारसम्म ८ सय किलोमिटर लामो सुचना मार्गको निर्माण गर्ने भएको छ । गत आवमा टेलिकमले १५ अर्ब रुपैयाँ खुदनाफा गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत मध्ये सबैभन्दा बढी नाफा टेलिकमको छ । गत आवमा टेलिकमले ४४ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । टेलिकममा ९२ प्रतिशत सरकार र ८ प्रतिशत सर्वसाधारणको सेयर लगानी रहेको छ । अविरल बर्षाका ठुलो धनजनको क्षति भएको भन्दै टेलिकमले आफनो सञ्जालाभित्र मुलुकभर एसएमएस सेवा निशुल्क गर्ने जानकारी दिएको छ । याे सेवा साउन ३१ गते मंगलबारसम्म निशुल्क गर्ने टेलिकमले जनाएकाे छ ।