राष्ट्र बैंकद्वारा ६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै १९ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरिएको जनाएको छ । बोलकबोल आज दिउँसो ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ । सूचनाअनुसार निक्षेप संकलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँ दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ । निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।  

व्यतित बीमालेख नवीकरणमा ब्याज–जरिवानामा ५० प्रतिशत छुट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित (ल्याप्स) भएका बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क अर्थात् ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट जारी भई व्यतित भएका बीमालेखहरूमा असार २५ गतेदेखि ३२ गतेसम्म नवीकरण वा पुनर्जागरण गर्दा उक्त छुट सुविधा उपलब्ध गराइने जनाएको हो । जतिसुकै अवधिदेखि व्यतित भएका बीमालेख भए पनि नवीकरणका क्रममा लाग्ने ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट प्रदान गरिनेछ । कम्पनीले भने यस्तो सुविधा बीमाको अवधिभर एकपटक मात्र उपलब्ध गराइने स्पष्ट पारेको छ । यस्तै, ब्याज-जरिवाना छुट सुविधा उपयोग गरी नवीकरण गरिएका बीमालेख बीमालेख नवीकरण भएको मितिले दुई वर्षभित्र बीमित वा प्रस्तावकले समर्पण (सरेंडर) गर्न चाहेमा नवीकरणका क्रममा छुट दिइएको ब्याज तथा जरिवाना बराबरको रकम कम्पनीले कट्टा गर्ने जनाएको छ ।

रिलायबल नेपाल लाइफको ३ करोड ७१ लाख कित्ता सेयरको लक-इन अवधि सकिँदै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लक-इन अवधि सकिने भएको छ । कम्पनीको संस्थापक सेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लक-इन अवधि साउन ३० गते समाप्त हुने भएको हो ।  नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता रहेको कुल ५ करोड १९ लाख ६८ हजार कित्ता सेयरमध्ये संस्थापक सेयरधनी तथा कर्मचारीको नाममा रहेको सेयरको लक-इन अवधि समाप्त हुन लागेको हो ।  कम्पनीका अनुसार लक-इन अवधिमा रहेको संस्थापक सेयरधनीको सेयर संख्या ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता रहेको छ । यस्तै कर्मचारीलाई बाँडफाँट गरिएको ७ लाख ७९ हजार ५२० कित्ता सेयरको पनि लक-इन अवधि सोही मितिमा समाप्त हुनेछ । सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का रहने स्पष्ट पारेको छ ।