मर्जरलाई सफल बनाउन कर्मचारी व्यवस्थापनमा जोड

काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सको एकीकृत कारोबारले वित्तीय क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास विभिन्न बैंक तथा वित्तीय संस्थाका छाता संगठनका नेतृत्वले व्यक्त गरेका छन् । 

उनीहरूले मर्जरलाई केवल दुई संस्था एक हुने प्रक्रिया नभई संस्थागत संस्कृतिको समायोजन, जनशक्ति व्यवस्थापन र कार्यक्षमता अभिवृद्धिको अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले पोखरा फाइनान्स र समृद्धि फाइनान्सको एकीकृत कारोबारले आगामी दिनमा वित्तीय क्षेत्रमा नयाँ दिशा दिने विश्वास व्यक्त गरे । 

null

मर्जरबाट संस्थाबीच आवश्यक सिनर्जी सिर्जना हुने उल्लेख गर्दै उनले यसलाई नमुना मर्जरका रूपमा अघि बढाउनुपर्ने र अन्य संस्थाले पनि मार्गदर्शनका रूपमा लिनुपर्ने बताए ।

नेपाल फाइनान्सियल इन्स्टिच्युसन्स एसोसिएसनका प्रथम उपाध्यक्ष रजोजमान श्रेष्ठले मर्जर दुई संस्था एउटै छातामुनि आउनु मात्र नभई फरक–फरक संस्थागत संस्कार र कार्यशैलीलाई सफलतापूर्वक समायोजन गर्ने प्रक्रिया भएको बताए । 

null

मर्जरबाट संस्थागत लागत घट्ने, कार्यक्षमता बढ्ने र कर्मचारीको मनोबल उच्च बनाउने गरी व्यवस्थापनले काम गर्नुपर्नेमा उनले जोड दिए ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले विगतमा हरेक महिना बैंक तथा वित्तीय संस्थाहरूबीच मर्जर हुने गरे पनि पछिल्लो समय यस्तो प्रक्रिया सुस्ताएको उल्लेख गर्दै पोखरा र समृद्धि फाइनान्सको मर्जरलाई सकारात्मक कदमको रूपमा व्याख्या गरे । 

मर्जरका क्रममा विभिन्न वित्तीय सूचक महत्त्वपूर्ण भए पनि कर्मचारी व्यवस्थापन सबैभन्दा संवेदनशील पक्ष भएकाले त्यसलाई सहज र प्रभावकारी ढंगले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले मर्जरपछि सबैभन्दा चुनौतीपूर्ण पक्ष जनशक्ति व्यवस्थापन हुने बताए । कर्मचारीहरूबीच आपसी घुलमिल हुन समय लाग्ने भएकाले उच्च व्यवस्थापन र सञ्चालक समितिले उचित नेतृत्व प्रदान गर्नुपर्नेमा उनले जोड दिए । 

null

उनले सौहार्दपूर्ण कार्य वातावरण निर्माण गरेर मात्र मर्जरलाई सफल बनाउन सकिने बताए।

त्यसैगरी, बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले मर्जर सजिलो प्रक्रिया नभएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको दीर्घकालीन हितलाई केन्द्रमा राखेर निर्णय र व्यवस्थापन गर्नुपर्ने धारणा राखे ।

null

पोखरा फाइनान्सका अध्यक्ष अजय मिश्रले वित्तीय संस्थाहरू सानोबाट ठूलो र सक्षम संस्थातर्फ अघि बढिरहेको बताएका छन् । उनले पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीचको मर्जरले संस्थालाई थप सबल बनाएको पनि उल्लेख गरे ।

null

मिश्रका अनुसार मर्जरपछि संस्था ३८ शाखासहित करिब एक हजार करोड रुपैयाँ निक्षेप रहेको वित्तीय संस्थाका रूपमा स्थापित भएको छ ।

उनले आफ्नो व्यावसायिक जीवनमा हालसम्म नौ वटा मर्जर प्रक्रियामा सहभागी हुने अवसर पाएको पनि बताए । ती अनुभवले वित्तीय संस्थाको दिगो विकासका लागि मर्जर प्रभावकारी माध्यम भएको उनको भनाइ छ ।

अध्यक्ष मिश्रले आफू संस्थाको स्वतन्त्र सञ्चालक भएकाले मर्जर प्रक्रियामा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पारे । संस्थाको दीर्घकालीन हित र वित्तीय प्रणालीको सुदृढीकरणलाई केन्द्रमा राखेर निर्णय गरिएको उनको भनाइ थियो ।

मर्जर सफल बनाउन नियामक निकायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले नेपाल राष्ट्र बैंकले समन्वयकारी भूमिका निर्वाह नगरेसम्म वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया सहज नहुने बताए । पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सफल हुनुमा नेपाल राष्ट्र बैंकको सकारात्मक र समन्वयकारी भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

Share News