नेपालको प्रतिव्यक्ति आय १ हजार ५१७ अमेरिकी डलर
काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १ हजार ५१७ अमेरिकी डलर पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभा बैठकमा पेस गर्दै प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको जनाएको छ । चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान रहेको मन्त्री पौडेलले बताए । उनका अनुसार प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान रहेको उनको भनाइ छ । यस अवधिमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ । उनका अनुसार सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ । बैंक तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत २ हजार ५२७ जनसङ्ख्यामा बैंकिङ सेवा उपलब्ध रहेको उनले बताए । २०८१ फागुनमसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ ।
१० महिनामा निर्जीवन बीमकको व्यवसाय ६.७६ प्रतिशतले बढ्यो, शिखर इन्स्योरेन्सको सर्वाधिक
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाखसम्म) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३५ अर्ब ९ करोड बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले २३ लाख ५८ हजार ५११ वटा बीमालेख जारी गरेर ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । चालु आवको १० महिनामा निर्जीवन बीमकले गरेको व्यवसाय गत आवको सोही अवधिको तुलनामा ६.७६ प्रतिशतले बढेको हो । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले २३ लाख ९३ हजार १८२७ वटा बीमालेख जारी गर्दै ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । सबैभन्दा धेरै व्यापार गर्नेमा शिखर इन्स्योरेन्स चालु आवको १० महिनामा सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्याेरेन्सले गरेको छ । वैशाखसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा र ३.१० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । दोस्रो धेरै व्यवसाय गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले वैशाखसम्ममा ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ कुल व्यवसाय गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ४.०२ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यवसाय गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । सिद्धार्थ प्रिमियरले १० महिनामा कम्पनीले ३ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा ९.१८ प्रतिशतले वृद्धि हो । गत आवको यही अवधिमा कम्पनीले ३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अन्य बीमा कम्पनीहरूमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३ अर्ब ८ करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४२ करोड रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब २५ करोड रुपैयाँ सानिमा जीआइसीले २ अर्ब ९ करोड रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । ४ बीमकको घट्यो व्यापार वैशाखसम्म ४ वटा बीमकको व्यवसाय घटेको छ । समीक्षा अवधिमा युनाइटेड अजोडको व्यवसाय ३.८४ प्रतिशतले घटेको छ । गत आवमा युनाइटेडले २ अर्ब १७ करोड ६१ लाख व्यवसाय गरेकोमा समीक्षा अवधिमा २ अर्ब ९ करोड २६ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीको व्यवसाय १३.१६ प्रतिशतले घटेको छ । गत आवको वैशाखसम्मममा एक अर्ब ३४ करोड रुपैयाँ व्यवसाय गरेको राष्ट्रिय बीमाले समीक्षा अवधिमा १ अर्ब १६ करोड ३७ लाख रुपैयाँको व्यापार गरेको छ । प्रभु इन्स्योरेन्सको व्यवसाय ०.६५ प्रतिशतले घट्दा नेशनल इन्स्योरेन्सले १.४८ प्रतिशतले घटेको छ । प्रभु इन्स्योरेन्सले चालु आवको ११ महिनामा १ अर्ब ४३ करोड ४५ लाख व्यवसाय गरेको छ । गत आवको यही अवधिमा कम्पनीले १ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । नेशनल इन्स्योरेन्सले गत आवमा ९४ करोड ३९ लाख व्यवसाय गरेकोमा चालु आवमा ९२ करोड ९९ लाख रुपैयाँको व्यवसाय गरेको छ । निर्जीवन बीमा कम्पनीको व्यवसाय (रु.लाखमा)