काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १ हजार ५१७ अमेरिकी डलर पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभा बैठकमा पेस गर्दै प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको जनाएको छ ।
चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान रहेको मन्त्री पौडेलले बताए । उनका अनुसार प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ ।
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान रहेको उनको भनाइ छ । यस अवधिमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ ।
उनका अनुसार सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ । बैंक तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत २ हजार ५२७ जनसङ्ख्यामा बैंकिङ सेवा उपलब्ध रहेको उनले बताए । २०८१ फागुनमसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ ।