ब्याज आम्दानीमा ४० प्रतिशत गिरावट, सरकारी ऋणपत्रमा ३५ अर्ब थप्दा बैंकमै थुप्रियो २३ अर्ब

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३१ करोड ६१ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कोषले ३१ करोड ४३ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा कोषको खुद नाफा ०.५७ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कोषले ५५ करोड ८१ लाख ४० हजार रुपैयाँ कुल आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५३ करोड ७२ लाख ३ हजार रुपैयाँ थियो । यसअनुसार कोषको कुल आम्दानी ३.९० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी ४०.०३ प्रतिशत घटेर ५ करोड ८२ लाख ९७ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा ९ करोड ७२ लाख १२ हजार रुपैयाँ ब्याज आम्दानी गररेको थियो ।

त्यस्तै, सेवा शुल्क तथा कमिसन आम्दानी बढेर ४६ करोड ९६ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४२ करोड ७४ लाख ३३ हजार रुपैयाँ थियो । 

विविध आम्दानीसमेत १४०.६५ प्रतिशतले बढेर ३ करोड २ लाख १९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको असोज मसान्तसम्म यस्तो आम्दानी १ करोड २५ लाख ५७ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा व्यवस्थापन खर्च २०.५७ प्रतिशत बढेर ९ करोड ४८ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च ७ करोड ८६ लाख ७७ हजार रुपैयाँ थियो । 

त्यस्तै, खर्च व्यवस्था शीर्षकमा ४ करोड ७ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ । गत वर्ष यस्तो खर्च ३ करोड ९२ लाख ९७ हजार रुपैयाँ थियो ।

यस अवधिमा कोषको कुल खर्च १४.९७ प्रतिशत बढेर १३ करोड ५६ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुल खर्च ११ करोड ७९ लाख ७४ हजार रुपैयाँ थियो । 

कोषले आयकर व्यवस्थाका लागि १० करोड ६३ लाख ९१ हजार रुपैयाँ छुट्याएको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम १० करोड ४९ लाख रुपैयाँ थियो । 

कोषको चुक्ता पुँजी ६ अर्ब ८० करोड ५७ लाख ९८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १५ अर्ब १४ करोड ११ लाख ७० हजार रुपैयाँ सञ्चित रहेको छ ।

३ खर्ब ४२ अर्बभन्दा बढी लगानी

चालु आर्थिक वर्षको असोज मसान्तसम्म नागरिक लगानी कोषको विभिन्न क्षेत्रमा लगानी १५.८० प्रतिशत बढेर ३ खर्ब ४२ अर्ब ५७ करोड रुपैयाँ लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोषको कुल लगानी २ खर्ब ९५ अर्ब ८२ करोड रुपैयाँ थियो । 

कोषले नेपाल सरकारको ऋणपत्रमा ९६८.६४ प्रतिशत बढेर ३८ अर्ब ८१ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो लगानी ३ अर्ब ६३ करोड रुपैयाँ मात्रै थियो । 

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको लगानी भने घटेको छ । गत वर्षको असोज मसान्तसम्म १ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ रहेको यस्तो लगानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १ खर्ब ४० अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ । मुद्दती निक्षेपमा रहेको लगानी १३.८३ प्रतिशतले घटेको हो ।

कोषको समयकालीन कर्जा लगानी ६.७० प्रतिशत बढेर २८ अर्ब १५ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो लगानी २६ अर्ब ३८ करोड ५३ लाख रुपैयाँ थियो । सहायक कम्पनीमा कोषको लगानी २ अर्ब ७२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

सहभागी सापटी तथा आवास कर्जामा कोषले ७३ अर्ब ८८ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो लगानी ६३ अर्ब ९४ करोड १० लाख रुपैयाँ थियो । 

त्यस्तै, ट्रेजरी बिलमा कोषको लगानी ४३२.८३ प्रतिशत बढेर २३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको असोज मसान्तसम्म यस्तो लगानी ४ अर्ब ३२ करोड ९७ लाख रुपैयाँ मात्रै थियो । 

सङ्गठित संस्थाको सेयरमा समेत कोषले लगानी बढाएको छ । गत वर्षको असोज मसान्तसम्म ३२ अर्ब २७ करोड १९ लाख रुपैयाँ रहेको यस्तो लगानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३५ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा कोषको बैंक मौज्दात ७०२.९७ प्रतिशत बढेर २३ अर्ब ४ करोड ९२ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो मौज्दात २ अर्ब ८७ करोड ५ लाख रुपैयाँ मात्रै थियो । 

कोषका अनुसार असोज मसान्तसम्म विभिन्न कोष तथा योजनामा रहेको खुद कोष मौज्दात ३ खर्ब ५५ अर्ब ४९ करोड २९ लाख १ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो मौज्दात ३ खर्ब ३७ अर्ब ५४ करोड ४६ लाख ४४ हजार रुपैयाँ थियो । 

कोषअन्तर्गत कर्मचारी बचतवृद्धि अवकाश कोषको आकार २ खर्ब ४० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, नागरिक एकाङ्क योजनाक २ अर्ब १८ करोड रुपैयाँ, उपदान कोष योजना ७३ अर्ब ५९ करोड रुपैयाँ, लगानीकर्ता हिसाब १२ अर्ब ७१ करोड रुपैयाँ र राष्ट्रसेवक कर्मचारीको बीमा कोषको आकार ७ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। 

त्यसैगरी, नार्क बीमा कोष १६ करोड ४७ लाख रुपैयाँ र नागरिक पेन्सन योजना ७६ करोड ८ लाख रुपैयाँ पुगेकोे कोषले जनाएको छ ।

कोषको प्रतिसेयर आम्दानी गत वर्षको असोज मसान्तमा १९ रुपैयाँ ४० पैसा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १८ रुपैयाँ ५८ पैसा कायम भएको छ । यसअनुसार प्रतिसेयर आम्दानी ४.२२ प्रतिशतले घटेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ११ पैसा रहेको छ ।

बजारमा अधिक तरलता रहेका कारण मुद्दती निक्षेपको ब्याजदरमा आएको गिरावट, मुद्दती निक्षेपप्रतिको माग घट्नु तथा कर्जाको माग न्यून रहनुले कोषका विभिन्न कार्यक्रम तथा योजनाको वित्तीय अवस्थामा असर पारेको छ । यी चुनौती व्यवस्थापन गर्न कोषले सफ्टवेयरलाई नियमित रूपमा अद्यावधिक गरी सबै कार्यक्रममा लागू गर्ने, सेवाहरूलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने र बैंक हिसाब मिलान कार्यलाई चुस्तदुरुस्त बनाउने रणनीति अघि सारेको जनाएको छ । 

Share News