सरकारले खारेज गर्यो आधा दर्जन वस्तुमा लाग्दै आएको कर, यी क्षेत्रलाई राहत

काठमाडौं । सरकारले आधा दर्जन वस्तु तथा सेवामा कर खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न ६ शीर्षकमा कर तथा महसुल खारेज गरेका हुन् । 

अर्थमन्त्री पौडेलका अनुसार काठ तथा काठ जन्य सामग्रीको गुणस्तरीय उत्पादन तथा उपभोग बढाउन काठ सिजनिङ्ग गर्ने उद्योगलाई आवश्यक पर्ने मिल मेशिनरी पैठारी गर्दा १ प्रतिशत मात्र भन्सार महसुल लगाई अन्य कर तथा महसुल खारेज गरेका छन् । 

यस्तै, प्राङ्गारिक र प्राकृतिक मल उत्पादनका लागि मिल मेशिनरी तथा उपकरण पैठारी गर्दा भन्सार महसुल हटाई अन्य कर तथा महसुल खारेज गरेको उनले बताए । 

फुटबल, क्रिकेट तथा बहुउद्देश्यीय रङ्गशालाको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने यन्त्र, उपकरण तथा खेल सामग्रीको पैठारीमा १ प्रतिशत भन्सार महसुल लगाई अन्य कर तथा महसुल खारेज गरेको उनको भनाइ छ । 

अर्थमन्त्री पौडेलले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न समाशोधनगृहको सेवामा लाग्दै आएको मूल्य अभिवृद्धि कर, खाद्यान्न, गेडागुडी, फलफूल लगायत वनस्पतिजन्य, पशुजन्य तथा दूधजन्य पदार्थमा भन्सार विन्दुमा लाग्दै आएको अग्रिम आयकर र श्रवण शक्ति कमजोर भएका व्यक्तिका लागि आवश्यक पर्ने श्रवण यन्त्रमा लाग्ने मूल्य अभिवृद्धि कर खारेज गरेको बताए । 

Share News