स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ प्राप्त गरेको छ । आइसीआरए नेपालले बैंकको दीर्घकालीन वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई अत्यन्त सुरक्षित ठहर गर्दै यस वर्ष पनि ‘ट्रिपल ए’ रेटिङ प्रदान गरेको हो । ‘ट्रिपल ए’ रेटिङ प्राप्त गर्नुलाई सबैभन्दा कम क्रेडिट जोखिम भएका अत्यधिक विश्वसनीय वित्तीय संस्थाको सूचक मानिन्छ । आइसीआरए नेपालले दिएको मूल्याङ्कन विवरणमा बैंकको पूँजी सुदृढता, परिसम्पत्ति गुणस्तर, जोखिम व्यवस्थापन अभ्यास र बजार प्रतिस्पर्धात्मकतालाई उच्च प्रशंसा गरिएको छ । २०८२ सालको मध्य अप्रिलसम्म बैंकको पूँजी जोखिम भारित सम्पत्तिको अनुपात १७.४४ प्रतिशत र टियर-१ पूँजी १५.१५ प्रतिशत रहेको छ, जुन नियामक निकाय नेपाल राष्ट्र बैंकद्वारा तोकिएको ११ प्रतिशत र ८.५ प्रतिशतको न्यूनतम सीमाभन्दा धेरै उच्च हो । बैंकको कुल खराब कर्जा अनुपात १.४४ प्रतिशत मात्र रहेको छ । बैंकको कडाइका साथ पालना गरिने कर्जा प्रवाह मापदण्ड, सशक्त जोखिम व्यवस्थापन प्रणाली र प्रतिस्पर्धी कर्जा दर प्रस्ताव गर्ने क्षमताले बैंकको सम्पत्ति गुणस्तर सुदृढ राख्न मद्दत पुर्यारएको आइसीआरएले जनाएको छ । बैंकको १९८७ देखि निरन्तर सञ्चालन हुँदै आएको लामो अनुभव, करिब ७० प्रतिशत स्वामित्व रहेको अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड चार्टर्ड समूहको मातृसहयोग, र उच्च अनुपातमा कम लागतको निक्षेप संकलन गर्न सक्ने क्षमताका कारण पनि बैंकले उद्योगमै सबैभन्दा कम कोष लागत कायम राख्न सफल भएको उल्लेख छ। बैंकको सीईओ तथा हेड अफ कभरेज गोरख राणाले भने, 'हामीले छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ प्राप्त गर्नु भनेको हाम्रो स्थायित्व, उत्कृष्ट सेवा र सरोकारवालाप्रति समर्पणको स्पष्ट प्रमाण हो ।'
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पौने ५ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको पौने ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम संस्थापक सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । कम्पनीको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । यदि उक्त अवधि भित्र हाल कायम संस्थापकले खरिद नगरेमा अन्य लगानीकर्तालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
पियोर इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार हुने
काठमाडौं । पियोर इनर्जीको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सोमबार पियोर इनर्जीको ८० लाख कित्ता साधारण सेयर प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम गरेर सूचिकृत गरिएको नेप्सेले जनाएको छ । सेयर सूचीकृत भएसँगै अब मंगलबारबाट कम्पनीको सेयर कारोबार सुरु हुने छ । कम्पनीको शेयर अंग्रेजीमा Pure सिम्बलबाट कारोबार हुने छ । कम्पनीले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको आईपीओ वैशाख ११ गते बिहीबार बिहान शेयर बाँडफाँड भएको थियो । कम्पनीले सर्वसाधारण तर्फ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमार्फत साधारण सेयर खुल्ला बिक्री आह्वान गरेको थियो । सर्वसाधारण सेयरधनीहरूलाई वितरण गरिएको २० प्रतिशत अर्थात् १६ लाख कित्ता सेयर र कम्पनीको संस्थापक सेयरधनीहरूले लगानी गरेको ८० प्रतिशत अर्थात् ६४ लाख कित्ता सेयरसमेत गरी कुल ८० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।