लघुवित्त क्षेत्रमा देखिएका समस्या संवादबाट समाधान गर्छु: गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लघुवित्त वित्तीय संस्थाहरूले वित्तीय क्षेत्रमा खेलेको भूमिकाको तारिफ गरेका छन् । बधाई तथा सफल कार्यकालको शुभकामना दिन मंगलबार राष्ट्र बैंक पुगेको नेपाल लघुवित्त बैंकर्स संघका पदाधिकारीसँगको भेटमा गभर्नर पौडेलले ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा लघुवित्त संस्थाहरूले उल्लेखनीय भूमिका खेलेको बताए । 

पछिल्लो समय लघुवित्त क्षेत्रमा केही समस्या देखिएपनि यसलाई सुधार गर्दै अघि बढ्नु पर्ने गभर्नर पौडेलले बताए । ‘ग्रामीण क्षेत्रमा लघुवित्त संस्थाहरूको योगदान महत्वपूर्ण छ, सामाजिक रुपान्तरण कार्यमा योगदान पुर्याएका छन् । यो कार्यलाई अझै व्यापक विस्तार गर्नुपर्ने देखिन्छ, सुधार गर्नुपर्नेछ,’ उनले भने । 

लघुवित्त संस्थाहरूसँग सम्बन्धी नीति निर्माण गर्दा सबै पक्षसँग संवाद गरेर अघि बढ्ने उनको भनाइ छ । आफूले लघुवित्त क्षेत्रलाई बुझेको बताउँदै उनले भने, ‘संवाद‘ो माध्यमबाट नीतिगत व्यवस्था गर्नेछु । आफूलाई लघुवित्तको योगदान र सामाजिक मूल्यको बारेमा जानकारी छ । सबै पक्षलाई समेटेर अघि बढ्छु ।’’

भेटमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले लघुवित्त संस्थाका समस्या समाधानका लागि सकारात्मक भूमिका खेल्नुपर्ने बताए । साथै नीतिगत व्यवस्था सहज गरी व्यवसाय र पहुँच विस्तारमा जोड दिनु पर्ने उनले बताए । 

भेट कार्यक्रममा संघका पूर्व अध्यक्ष बसन्त लम्साल, उपाध्यक्ष रामहरि दाहाल, महासचिव सञ्जय कुमार मण्डल, कोषाध्यक्ष विनोद आचार्य लगायत प्रमुख कार्यकारी अधिकृतहरू थिए । 

Share News