विदेशमा बसेका नागरिकका लागि ग्लोबल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ । बिहीबार बैंकमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेको हो ।  नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरुलाई ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत् सेवा प्रदान गर्नेछ । बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीहरुलाई सम्पूर्ण बैंकिङ सेवाहरु जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरु प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू उपलब्ध गराउने छ ।  विदेशमा रहेका नेपालीहरूलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहकहरुलाई ग्राहक सेवा  नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवाहरु उपलब्ध गराउने छ ।  विभिन्न देशमा रहेका नेपालीहरुको सेवामा सहजीकरणका लागि बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ । बैंकले भविष्यमा यस सेवा कक्षमार्फत् ग्राहकहरुलाई २४ सै घण्टा सेवा प्रदान गर्नेछ ।    सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।  बैंकले विगत दुई दशकमा विश्वव्यापीरुपमा रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैंकिङ सेवाहरुको विकास तथा विभिन्न १० देशभन्दा बढि देशमा रहेका बैंकका कर्मचारीहरुमार्फत् बैंकिङ सेवाहरु प्राथमिकतामा प्रदान गर्दैआएको छ । विदेशमा रहेका ग्राहकहरुले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोध बिना नेपालमा सहज, झन्झटरहित बैंकिङ सेवा पाउनुपर्छ भन्ने बैंकको बुझाइ रहेको छ । विभागको औपचारिक उद्घाटन गर्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारी तथा अन्य कामको शिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको र यस नयाँ विभागबाट बैंकले प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने बताए ।  'यस नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपाली नागरिकहरुलाई उहाँहरुको आवश्यकता अनुरुप पूर्ण बैंकिङ सेवाहरु प्रदान गर्ने छ । यस विभागले विभिन्न सेवामार्फत उहाँहरुको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोड्न सहयोग पुर्याउनेछ । नेपालीहरू जहाँ भए पनि सहज, द्रूत र पारदर्शी रुपमा पूर्ण बैंकिङ सेवा प्रदान गर्ने यो हाम्रो महत्वपूर्ण प्रयास हो,' उनले भने । यसै अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने बताए ।  'यस नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत ग्लोबल आइएमई बैंकले रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमा रहेका नेपालीहरूलाई विदेशमा बस्दाकै बखत नेपालमा लगानी गर्न र उनीहरुको आवश्यकता तथा चाहनालाई पुरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ,' उनले भने । उनले यस पहलसँगै ग्लोबल आइएमई बैंक विदेशमा रहेका नेपाली नागरिकहरुसँग पूर्ण तथा दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।  उक्त शुभारम्भ कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, बरिष्ठ व्यवस्थापकहरुको उपस्थिती रहेको थियो । बैंकले आफूलाई अग्रणी रेमिट्यान्स साझेदार मात्र नभई नेपाली डायस्पोराका लागि भरपर्दोे बैंकिङ सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।  यस विभागको कार्यालय ग्लोबल आइएमई बैंकको काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहने छ । साथै, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नन् रेसिडेन्ट एण्ड ओभरसिज बैंकिङ विभाग मा प्रत्यक्ष फोन, इमेल वा ह्वाट्सएप वा भाइबरको माध्यमबाट सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन् ।     

बीमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि  खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ ।  बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिए । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर खरिद गराउने पाइएकोले त्यस्ता नगर्न /नगराउन सबै अस्पताललाई परिपत्र गरिएको उनले बताए । 'केही अस्पतालले बीमितलाई उपचार गरेसँगै बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएको छ,' उनले भने, 'त्यसैले हामीले त्यसरी बीमितलाई बाहिर औषधि खरिद नगर्न नगराउन निर्देशन दिँदै अस्पताललाई परिपत्र गरेका हौँ ।'  उनका अनुसार अस्पतालले बीमितसँग बिमा सेवका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्री सोही अस्पताल तथा बाहिरका औषधि पसलबाट नगदमा खरिद गर्न लगाउने गरेका छन् । सूचना अधिकारी मल्लले बिरामीलाई बाहिरका औषधि पसलबाट औषधि खरिद गर्न लगाउने अस्पताललाई  स्वास्थ्य बिमा ऐन २०७५, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधि विपरीत रहेको भन्दै त्यस्ता अस्पताललाई स्वास्थ्य बिमा नियमावली २०७५ को नियम १८ को उपनियम (१) को खण्ड (क)  बमोजिम कारबाही गरिनेसमेत बताए ।  स्वास्थ्य बिमा कार्यक्रममा अन्तर्गत पाँचजना परिवारसम्मका लागि तीन हजार ५०० रूपैयाँ बराबरको योगदानको आधारमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रति सदस्य ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।     

१७६ कम्पनीको सेयर मूल्य बढ्यो, १४ अर्बको कारोबार

काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले बढेर २८२० बिन्दुमा झरेको हो । नेप्सेका अनुसार १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३५ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेसनल हाइड्रोपावर कम्पनीको भएको छ । नेसनलको ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको ५६ करोड, कुमारी बैंकको ४४ करोड, हिमाल दोलखाको ४४ करोड र बलेफी हाइड्रोपावरको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  बिहीबार ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर रहेकाे छ ।