काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूले २ खर्ब रुपैयाँ बढीको व्यापार भित्र्याउन सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले एक वर्षमा १ करोड १८ लाख ५० हजार ३९१ बीमालेख जारी गरेर २ खर्ब १ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
अघिल्लो आव २०८१/८२ को तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार १२.४३ प्रतिशले वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले १ खर्ब ७७ अर्ब ९० करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए ।
बीमा कम्पनीहरूले असार महिनामा मात्रै ५ लाख ८२ हजार ४०७ रुपैयाँ बीमालेख जारी गरेर २८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा १३ कम्पनीको व्यापार बढेको छ भने एउटा कम्पनीको घटेको छ ।
समीक्षा वर्षमा सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ भने व्यापार ग्रोथको हिसाबले आइएमई लाइफ अगाडि रहेको छ ।
एक वर्षको अवधिमा नेपाल लाइफले ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
अघिल्लो आवमा कम्पनीले ४७ अर्ब ७९ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार १२.३४ प्रतिशतले बढेको छ ।
दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । एक वर्षको अवधिमा कम्पनीले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष कम्पनीले २२ अर्ब २२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । समीक्षा वर्षका कम्पनीको व्यापार ११.०६ प्रतिशतले बढेको छ ।
तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) रहेको छ । एक वर्षमा कम्पनीले २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको व्यापार ६.५७ प्रतिशतले बढेको छ ।
त्यसैगरी, एक वर्षको अवधिमा हिमालयन लाइफले १८ अर्ब ५६ करोड ५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड ६७ लाख रुपैयाँ, एसियन लाइफले १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड ५ लाख रुपैयाँ, सिटिजन लाइफले ९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ अर्ब ९९ करोड ४२ लाख रुपैयाँ र आइएमई लाइफले ७ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको ५.१६ प्रतिशत, सूर्यज्योति लाइफको १६.५९ प्रतिशत, एसियन लाइफको १३.५३ प्रतिशत, सिटिजन्स लाइफको २४.९३, सानिमा रिलायन्सको १६.५९ र आईएमई लाइफको ३७.९६ प्रतिशतले बढेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको २.१९ प्रतिशतले व्यापार घटेको छ ।

त्यसैगरी, मेट लाइफले ६ अर्ब ८६ करोड ३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ६५ अर्ब ४२ करोड ८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६ अर्ब ३३ करोड ६९ लाख रुपैयाँ र सन नेपाल लाइफले ४ अर्ब ६३ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। । अघिल्लो आवको तुलनामा मेट लाइफको ९.६२ प्रतिशत, रिलायबल नेपालको २४.१८ प्रतिशत, प्रभु महालक्ष्मीको २१.३२ र सन नेपालको १६.८० प्रतिशतले व्यापार बढेको छ ।