कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले शिक्षा र महिला सशक्तीकरणलाई जोड दिँदै सक्षम छोरी कार्यक्रमको घोषणा गरे  ।  सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई लक्षित गरी ल्याइएको यस विशेष कार्यक्रमका लागि सरकारले ७ करोड रुपैयाँ विनियोजन गरेको छ ।  यस कार्यक्रमबाट प्रदेशभरका करिब २ लाख ७५ हजार छात्रा लाभान्वित हुने सरकारको अपेक्षा छ ।  प्रदेश सरकारले प्रस्तुत गरेको कुल बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ र पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा १५ करोड छुट्याइएको छ । सरकारले ल्याएको बजेट चालुतर्फ  कुल बजेटको ३४.५५ प्रतिशत हो । पुँजीगत तर्फ ५१.३२ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ०.३७ प्रतिशत हुन आउँछ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी हो । सरकारले बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाडबाट १२ अर्ब ८७ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड, सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड र समपुरक अनुदानबाट ६४ करोड प्राप्त हुने अनुमान गरेको छ । यसअघि कोशी सरकारले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । स्रोत व्यवस्थापन र खर्चको अवस्थालाई हेर्दै मध्यावधि समीक्षा बजेटलाई घटाएर ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा झारिएको थियो । छात्राहरूको शैक्षिक गुणस्तर सुधार, आत्मबल अभिवृद्धि र विद्यालयमा उनीहरूको निरन्तरता सुनिश्चित गर्न यो कार्यक्रम कोसेढुङ्गा साबित हुने मन्त्री लिङ्थेपले विश्वास व्यक्त गरे ।  यस्तो छ पूर्णपाठ :  

कुमारी बैंकलाई ‘फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम सम्मान

काठमाडौं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘बिजनेस मोडेल इनोभेसन’ विधाअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्दै उक्त सम्मान प्राप्त गरेको जनाएको छ । ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (केवाईसी वर्कफ्लो कम्प्लायन्स) सम्बन्धी नवप्रवर्तनका लागि बैंकलाई अवार्ड प्रदान गरिएको हो । इन्फोसिस फिनाकलद्वारा हरेक वर्ष आयोजना गरिने यस अवार्डले विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरण प्रयासलाई सम्मान गर्दै आएको छ । यस वर्ष विभिन्न विधामा ५०० भन्दा बढी आवेदन परेकोमा कुमारी बैंकले आफ्नो केवाईसी प्रणालीमार्फत उल्लेखनीय प्रदर्शन गर्दै प्लेटिनम अवार्ड जित्न सफल भएको हो । बैंकका अनुसार उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डको पालना गर्न सहयोग पुर्‍याएको छ । साथै, डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरपर्दो बनाउन योगदान पुगेको जनाएको छ । अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप सुदृढ भएको जनाएको छ । आगामी दिनमा पनि डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ ।

कर्णाली डेभलपमेण्ट बैंकका बचतकर्ताको माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका बचतकर्ताहरू सोमबार काठमाडौंमा भेला भई प्रदर्शनमा उत्रिएका हुन् । लामो समयदेखि आफ्नो निक्षेप फिर्ता पाउन नसकेको र सम्बन्धित निकायले मागको सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । प्रदर्शनका क्रममा बचतकर्ताहरूले ‘कर्णाली बैंक घोटालाका दोषीलाई कारबाही गर’, ‘संस्थाहरूको बचत फिर्ता गर’ तथा ‘जनताको निक्षेप तुरुन्त फिर्ता गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बैंकमा भएको अनियमितताका कारण आफ्नो बचत जोखिममा परेको भन्दै उनीहरूले तत्काल रकम फिर्ताको सुनिश्चितता गर्न सरकार र नियामक निकायसँग माग गरेका छन् । साथै, दोषीमाथि छानबिन गरी कडा कारबाही गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।