आईएमई लाइफद्वारा दृष्टिविहीन विद्यार्थीका लागि ५ लाख सहयोग
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीका अनुसार उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर तथा स्क्रीन रिडर सफ्टवेयरजस्ता आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइनेछ । आईएमई लाइफको सहयोगबाट काठमाडौंको लोलाङ, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । यसले ती विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । समावेशी शिक्षा र समान अवसर समाज विकासको महत्वपूर्ण आधार भएको विश्वाससहित कम्पनीले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताएको छ । दृष्टिविहीन विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराउँदा उनीहरूको शैक्षिक उपलब्धि र आत्मविश्वासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । फेलोसिप सोसाइटी नेपालले सन् २००० देखि दृष्टिविहीन बालबालिकाको शिक्षा र अधिकारका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाको अनुभव र आईएमई लाइफ इन्स्योरेन्सको सहयोगले समावेशी समाज निर्माणमा थप योगदान पुग्ने विश्वास गरिएको छ ।
अनलाइन विडिङमार्फत ४५ अर्ब उठाउने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने आह्वान गरेको छ । विभागले सार्वजनिक सूचना जारी गरेर आजै दिउँसो ३ः०० बजेदेखि अनलाइन विडिङमार्फत बोलकबोलमा सहभागी हुन सक्ने उल्लेख गरेको छ । राष्ट्र बैंकले बोलकबोलको ब्याजदर भने सोही माध्यमबाट हुने जनाएको छ । राष्ट्र बैंकले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने छ । निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्रै सहभागी हुन सक्छन् ।
१२५ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०८ अंकले बढेर २७०५ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १२५ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । बुधबार ३५२ कम्पनीको ८३ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फाइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिलाइन्स स्पिीनिङको १८ करोड, बुंगल हाइड्रोको १७ करोड, सेन्ट्रल फाइनान्सको १६ करोड र आँखु खोलाको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोपन फर्माक्युटिकल्स र एपोलो हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेका छन् ।