काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले ग्राहकका लागि नेपालपे कार्ड सेवा सञ्चालनमा ल्याउने भएको छ ।
बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच भएको सम्झौतापछि बैंकले एनसीएचएल–ईएफटी कार्ड स्विचमार्फत नेपालपे कार्ड जारी गर्न सक्ने भएको हो ।
सम्झौतासँगै ज्योति विकास बैंकका ग्राहकले नेपालपे कार्ड प्रयोग गर्न पाउनेछन् । साथै, डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्ड तथा आरयुपे कार्डसमेत स्वीकार गरी नेपालपे कार्ड कारोबार प्रक्रिया सञ्चालन गर्न सकिने बैंकले जनाएको छ ।
एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक सञ्चालन सुरु गरेसँगै डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपाल र विदेशका एटीएम तथा पीओएस टर्मिनलमा पनि नेपालपे कार्ड प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।
हाल एनसीएचएलको ईएफटी सेवामार्फत ११ सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड प्रणाली सञ्चालन गरिरहेका छन् । नेपालपे प्रणालीमा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् । त्यसमध्ये आठ बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गरिसकेका छन् भने ११ भन्दा बढी संस्थाले कार्ड स्वीकार (अक्वायरिङ) सेवा सुरु गरिसकेका छन् ।
ज्योति विकास बैंकले देशभर १२१ शाखा, दुई एक्सटेन्सन काउन्टर र ७५ एटीएममार्फत सेवा प्रदान गर्दै डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकता दिइरहेको जनाएको छ ।