कामना सेवाले विधार्थीलाई बाँड्यो स्कूल झोला

काठमाडौँ । कामना सेवा विकास बैंकले रुपन्देही जिल्ला वुटवल ६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल झोला बितरण गरेको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले स्कुल झोला वितरण गरेका हुन् । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सीसी क्यामेरा जडानका लागि उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसीप्रसाद आचार्यले रु. २५ हजारको चेक हस्तान्तरण गरे । यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई रु. ९,६०७/– र बेसिशहरका ग्राहक रन्जिता अधिकारीलाई रु. ६७,८१९/– स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको जनाएको छ ।

एभरेष्ट कलेजद्वारा व्यक्तित्व विकास र उद्घोषण प्रशिक्षण सम्पन्न

काठमाडौं। एभरेष्ट कलेले बिबिए चौथो सेमेष्टरका विद्यार्थीहरूको व्यक्तित्व विकास एवम् उद्घोषण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पूर्व मिस नेपाल तथा चर्चित सञ्चारकर्मी माल्भिका सुब्बाको प्रत्यक्ष निर्देशन र नेतृत्वमा सञ्चालित सो कार्यक्रममा ६४ जना छात्रछात्राहरूले विभिन्न १२ शीर्षकहरूमा प्रतिभा प्रदर्शन गरेका थिए । साप्ताहिक रूपमा दश दिनसम्म सञ्चालित उक्त कार्यक्रममा साल्सा नृत्य, उद्घोषण प्रशिक्षण र साजसज्जाका लागि क्रमशः स्रोत व्यक्ति रियाज श्रेष्ठ, सञ्चारकर्मी सञ्जय गुप्ता र मेकअप आर्टिस्ट स्वस्तिका राजभण्डारीले सहजीकरण गरेका थिए। उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरूले वक्तृत्वकलाका साथै व्यक्तित्व विकासका विविध क्रियाकलापमार्फत आफ्नो क्षमता प्रदर्शन गरेका थिए । प्रशिक्षणको अन्तिम दिनमा विद्यार्थीहरूले प्रदर्शन गरेको प्रतिभालाई सञ्चारकर्मीद्वय माल्भिका सुब्बा र विवेक सिंहले मूल्याङ्कन गर्नुभएको थियो । सीप र प्रतिभाको मूल्याङ्कनबाट छनोट भएका विद्यार्थीहरूलाई कलेजका सिइओ विष्णुहरि पाण्डेले पुरस्कृत गरेका थिए। उनले कार्यक्रममा बोल्दै कलेजद्वारा बेलाबेलामा आयोजना गरिने यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूको पढाइका साथै व्यक्तित्व र वक्तृत्वकलाको विकासमा मद्दत पुग्ने बताए। सो प्रशिक्षणमा सहभागी विद्यार्थीहरूमध्येबाट क्रमशः उत्कृष्ट समूहका लागि निस्ता सुनुवार, विकेन्द्र खुलाल बस्नेत, प्रिति के.सी. र प्रकृति पोखरेल, उत्कृष्ट विजयी उद्घोषक निस्ता सुनुवार र जान्वी जैसी, उत्कृष्ट उद्घोषक फस्ट रनरअप सुप्रिया कार्की र बिकेन्द्र खुलाल बस्नेत, उत्कृष्ट उद्घोषक सेकेन्ड रनरअप प्रिति के.सी. र अनु गिरी, प्रशिक्षणको सुरुदेखि अन्त्यसम्ममा विशेष परिवर्तनका साथ क्षमता प्रदर्शनका निम्ति उत्कृष्ट इभोलुसन अवार्ड लिजा डोङ्ग तामाङ्ग, उत्कृष्ट ब्लगका निम्ति रेबिका राना मगर, उत्कृष्ट श्रव्यदृश्य मन्तव्य (भिडियो स्पीच) का लागि जान्वी जैसी, उत्कृष्ट विज्ञापनका निम्ति अनु गिरी, दलबहादुर जीटी, ईशा अधिकारी र अनिश राउत र उत्कृष्ट समीक्षकका लागि सुप्रिया कार्की पुरस्कृत भएका थिए । विगत २१ वर्षदेखि सञ्चालित एभरेष्ट कलेजमा कक्षा ११, १२ र त्रि.वि. बाट सम्बन्धन प्राप्त बिबिए, बिबिएम, बिसिए, बिबिएस र एमबिएसका कक्षाहरू सञ्चालन गरिएका छन् । विद्यार्थीहरूलाई कक्षाशिक्षणका अतिरिक्त अन्य क्रियाकलापमा संलग्न गराउँदै आएको हुनाले नै कलेज विद्यार्थीहरूका निम्ति अध्ययन र व्यक्तित्व विकासका लागि उचित गन्तव्य बन्दै आएको छ । त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त एभरेष्ट कलेज व्यवस्थापन विषय मात्र अध्ययन–अध्यापन हुने शिक्षण संस्थाका रूपमा स्थापित र सञ्चालित छ ।

प्रधानाध्यापकको नियुक्ति नहुँदा शिक्षकले पाएनन् तलब

बेझाड । राजनीतिक विवादका कारण राधाकृष्ण माध्यमिक विद्यालय निस्दी गाउँपालिका–१ बाकामलाङ्मा प्रधानाध्यापक नियुक्त हुन सकेको छैन । प्रधानाध्यापक नियुक्त नहुँदा शिक्षक कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् । प्रधानाध्यापक पीताम्वर भण्डारीले अवकाश लिएपछि २०७५ चैत २८ गतेदेखि निमित्त प्रअको कार्यभार प्रावि तहका स्थायी शिक्षक हुमबहादुर रानालाई दिइएको छ । नयाँ प्रअ नियुक्ति राजनीतिक विवादले विद्यालयले व्यवस्थापन गर्न सकेको छैन । समितिका अध्यक्ष मीनबहादुर पुलामीले शिक्षा ऐन नियमावलीअनुसार नभई सहमतिमा प्रअ नियुक्ति गर्ने प्रयास गरेको र समितिभित्रै सहमति हुन नसक्दा समस्या भएको बताएका छन् । “ऐन नियमावलीभन्दा पनि सहमतिबाटै टुङ्ग्याउने कोसिस गरेका हौँ, यस विषयमा ८÷१० पटक समितिको बैठक बस्यो तर निष्कर्षमा पुग्न सकिएको छैन”, उनले भने । प्रअको दाबेदारका रुपमा मावि तहमा कार्यरत स्थायी शिक्षक भेषबहादुर अधिकारी, अशोक सिं, निमावि तहमा कार्यरत स्थायी शिक्षक खडानन्द पाण्डेय, जगनाथ लम्साल र प्रावि तहका स्थायी शिक्षक (हाल निमित्त प्रअ) हुमबहादुर राना रहेका छन् । विद्यालयको नाममा चौमासिकको तलब आइसकेको छ तर प्रअको टुङ्गो नलाग्दा शिक्षकले असार मसान्तभित्रै बुझ्ने तलब अहिलेसम्म बुझ्न नपाएको शिक्षक भेषबहादुर अधिकारीले बताए । “लामो समयसम्म समितिले राजनीतिक द्वन्द्व गरेर प्रअको टुङ्गो लगाउन सकेको छैन, शिक्षा ऐन नियमावलीबमोजिम प्रअ नियुक्ति हुनुपर्छ, नियम र कानून मिचेर नियुक्ति गर्न पाइने छैन”, उनले भने । विद्यालयको नाममा रहेको खातामा छात्रवृत्ति, शैक्षिक सामग्रीका लागि आएको रकम पनि झिक्न पाइएको छैन । लेखापाल गोविन्द पाण्डेय र अध्यक्ष मीनबहादुर पुलामीको नाममा खाता सञ्चालन गरेर शिक्षक कर्मचारीलाई तलब खुवाउने मौखिक जानकारी भएको थियो पछि फेरि समितिमै विवाद परेपछि रकम झिक्न समस्या परेको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख नरबहादुर थापाले प्रअ नियुक्तिको बारेमा शाखाले पटकपटक अनुरोध गरिरहेको र लामो समय बितिसक्दा पनि राजनीतिक विवादमा समिति अल्झिरहेको बताए । विद्यालयमा प्रअ नियुक्तिका विषयमा दुई पटकसम्म कार्यालयबाट पत्र पठाइ सक्दा पनि नियुक्ति प्रक्रियामा आलटाल भइरहेको र शिक्षा ऐन नियमावलीअनुसार नै कार्यरत शिक्षकको विशिष्टताको आधारमा नै प्रअ नियुक्ति हुनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए । राजनीतिक विवाद गरेर समिति अल्झनभन्दा शिक्षा ऐन नियमावलीअनुसार काम गर्न वडा कार्यालयले पनि समितिलाई अनुरोध गरिरहेको र समितिको विवादले शिक्षक कर्मचारीले समयमा नै तलब बुझ्न नपाएको निस्दी गाउँपालिका– १ का अध्यक्ष पूर्णबहादुर खाँणले बताए । विद्यालयमा १९ जना शिक्षक कर्मचारी कार्यरत छन् । रासस