सिप्रदीयन र टाटा ट्रस्टको सहकार्यमा विद्यालय भवन हस्तान्तरण

काठमाडौं । सिप्रदीयन सहायता संस्था र टाटा ट्रस्टको सहकार्यमा सिन्धुपाल्चोकमा नवनिर्मित विद्यालय हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको वलेफी गाउपालिका ४ नवनिर्मित विद्यालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जालपादेवी माध्यमिक विद्यालयको उक्त नवनिर्मित भवन अत्याधुनिक भुकम्प प्रतिरोधी तथा अपाङ्ग मैत्रि रहेको छ । १२ कोठे उक्त भवनमा पुस्तकालय, विज्ञान प्रयोगशाला, अपाङ्गमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था समेत गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननिय गिरिराजमणि पोखरेलको उपस्थितिमा सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष शम्भुप्रसाद दाहाल, सिप्रदी कम्पनिजका सि.ई.ओ. राजनबाबु श्रेष्ठ, सि.ओ.ओ. राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा टाटा मोर्टसका म्यानिफ्याक्चरिङ हेड ( कर्पोरेट भेइकल विजनेस युनिट ) अजयलाल र टाटा ट्रस्टका सि.ओ.ओ. हरिसकृष्ण स्वामीको उपस्थिमा उक्त विद्यालय भवन हस्तारण गरिएको छ । टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा नेपाल अर्थक्युयिक रिह्याविटेसन ईनिसिएटिभको समन्वयमा सातवटा विद्यालय र स्वास्थ्य चौकि पुनर्निमाणमा सहयोग गर्दै आइरहेको छ । शारदा उच्च माध्यमिक बिद्यालय र जालपादेवी माध्यमिक बिद्यालय निर्माण सम्पन्न भईसकेको छ भने अन्य विद्यालयहरु क्रमश कुपकन्या माध्यमिक विद्यालय, मार्मिङ आधारभुत बिद्यालय, तपी नारायण आधारभुत बिद्यालय, जनज्योति आधारभुत बिद्यालय, र पुल्पिङकट्टि स्वास्थ्यचौकिको पुनर्निमाण अन्तिम चरणमा पुगिसकेको छ ।

प्रदेश २ मा रद्द भएको एसइई परीक्षा चैत २२ देखि, कुन विषयको परीक्षा कहिले ?

भक्तपुर । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसइईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए । लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिने भएको हो । प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते तथा सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुने अर्यालले बताए । अन्य विषयमध्ये चैत २४ गते जनसङ्ख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ ।

प्रश्नपत्र बाहिरिएको बारे छानबिन शुरु, चैत भित्रै परीक्षा गर्न आइतबार नयाँ तालिका सार्वजनिक हुँदै

लहान । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले प्रदेश २ मा एसईईको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको विषयमा छानबिन शुरु गरेको छ । प्रदेश २ अन्तर्गत सप्तरीबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको आशङ्कामा सिआइबीको अनुसन्धान टोलीले आइटी विशेषज्ञको सहयोग लिएर सप्तरीलाई केन्द्रबिन्दु बनाई छानबिन शुरु गरेको हो । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा खटिएको चार सदस्यीय टोलीले सप्तरीबाट काम शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । सिआइबीको अनुसन्धानबाट घटनाको सत्यतथ्य खुल्ने विश्वास गरिएको छ । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा सबै विषयको परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । चैत भित्रै परीक्षा, आइतबार नयाँ तालिका यता, राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा स्थगित एसईई चैतभित्रै गर्न तयारी अघि बढाएको छ। बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले प्रदेश २ मा स्थगित र रद्द भएका परीक्षा चैत महिनाभित्रै गर्न समयतालिका निमार्णको गृहकार्य गरिरहेको जानकारी दिए । ‘आइतबार परीक्षा तालिका सार्वजनिक गछौँ, उनले भने, चैतभित्रै परीक्षा सकेर उत्तरपुस्तिका परीक्षण थाल्छौँ ।’ बोर्डले सातवटै प्रदेशको नतिजा एकैदिन प्रकाशित गर्ने पनि जनाएको छ । चैत १० गते शुरु भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) देशभर चैत २१ गते सकिने समयतालिका थियो । प्रदेश २ मा चैत १४ गतेको विज्ञान विषयको प्रश्नपत्र परीक्षाभन्दा पहिल्यै बाहिरिएपछि रद्द गरिएको हो ।