नामी कलेजकाे पठनपाठन अनलाईनबाटै

काठमाडौं । काेराेना भाइरस (कोभिड १९)को कारण हाल आधा विश्व लकडाउनको अवस्थामा छ । नेपाल पनि गत चैत ११ गते देखि लकडाउनमा रहेको छ ।  यो अवस्था कहिले सामान्य अवस्थामा जान्छ भनेर भन्न सक्ने स्थिति अहिले छैन । यो समयमा धेरै क्षेत्र प्रभावित भएका छन् । शैक्षिक क्षेत्रमा पनि यसको प्रभाव निकै ठूलाे परेकाे छ । तर यस्ता केही शैक्षिक संस्थाहरु छन् जसले अनलाईन कक्षाहरु संचालन गर्दै विद्यार्थीलाई लकडाउनको महसुस गराउन दिएका छैनन् । त्यही मध्ये एक कलेज हो गोकर्णश्वर स्थित नयाँ आयम मल्टी डिसिप्लनरी ईन्स्टिच्युट (नामी) । बेलायतको युनिभर्सिटी अफ नर्थ हेम्पट्नबाट मान्यता प्राप्त नामी कलेजले हाल ब्याचलर्स तहको कक्षा अनलाईनमार्फत सुरू गरेकाे छ । कोरोनाको संक्रमणलाई महामारी घोषणा गरिएसँगै लकडाउन हुने संभावनालाई मध्यनजर गर्दै अनलाईन कक्षा संचालन गर्ने तयारी गरेको कलेजका प्रधानध्यापक संजीव उदासले बताए । मे महिनामा सेमेस्टर जसरी पनि अन्त्य गर्नुपर्ने भएकोले पनि आफूहरु पूर्ण रुपमा तयारी अवस्थामा बसेको उदासले जानकारी दिए । विश्वविद्यालयकै एप मार्फत हाल कलेजले कक्षाहरु संचालन गरिरहेको छ । लकडाउन कहिले खुल्ने तय नभएकोले विद्यार्थीहरुको अन्योलमा पर्ने हुनाले अनलाई कक्षाहरु संचालनमा ल्याईएको उनी बताउँछन् । उदास भन्छन्, ‘ हाल कोरोना भाईरसको कारण लकडाउन भयो, भोलि अर्को के समस्या आईपुग्छ भनेर हामी भन्न सक्दैनौं । त्यसैले अब सबै शैक्षिक संस्थाहरुले अनलाईन कक्षा संचालन गर्ने प्रविधीतर्फ बढ्न जरुरी छ ।’ अनलाईन कक्षा र वास्तविक कक्षाकोठाहरुमा खासै फरक नभएको उनी बताउँछन् । अनलाईन कक्षामा भएको सबै पढाई रेकर्ड हुने र कुनै विद्यार्थीले ईन्टरनेट समस्या भएको कारण कक्षामा सामेल हुने नपाएको अवस्थामा पछि रेकर्ड भएको कक्षाको पढाई दोहोराएर पढ्न पाउने उनले बताए । सन् २०१४ मा स्थापना भएको नामी कलेजले प्लस २ देखि ए लेभल र एमबीए सम्मको कोर्स संचालन गर्दै आएको छ । कलेजमा अहिले ७ सयभन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेका छन् ।

त्रिवि पोस्ट ग्रेजुऐट डिप्लोमाको परीक्षा पनि स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पोस्ट ग्रेजुऐट डिप्लोमाको परीक्षा पनि स्थगित गरेको छ । बिहिबार बसेको विश्वविद्यालयको बैठकले पोस्ट ग्रेजुऐट डिप्लोमाको ३ विषयको परीक्षा स्थगित गरेको त्रिवि अन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यलयका सह- परीक्षा नियन्त्रक पशुपति अधिकारीले बताएका हुन् । त्रिविले अर्का सुचना नआएसम्मको लागि पोस्ट ग्रेजुऐट डिप्लोमा ईन काउन्सिलिङ साईकोलोजी, स्कुल काउन्सिलिङ र पोस्ट गे्रजुऐट वुमन काउन्सिलिङको परीक्षा स्थगित गरेका हो । त्रिविले बुधबार नै स्नातक तह चौथों वर्षको परीक्षा पनि रद्ध गरेको छ । कोरोनाको संभावित संक्रमणलाई लिएर सरकारले चैत ११ गते देखि देशभर लकडाउन गरिरहेको छ । यसअघि शिक्षा मन्त्रलायले चैत ६ गतेको एसईई र सबै विश्वविद्यालयको चैतकाे परीक्षा स्थगित गरेको थियो ।

त्रिवि स्नातक तह चौथो वर्षको पनि सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पनि स्नताक तह चौथों वर्षको सबै परीक्षा स्थगित गरेको छ । बिहिबार बसेको त्रिविको बैठकले अर्का सुचना नआएसम्मको लागि सबै परीक्षा रद्ध गरेको त्रिवि अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यलयका सह- परीक्षा नियन्त्रक डा‍. घनश्याम ठाकुरले बताएका हुन् । त्रिविले अर्का सुचना नआएसम्मको लागि बिएस्सी चौथों वर्ष, बिबिएस चौथों वर्ष र बि.एड चौथो वर्षको परीक्षा स्थगित गरेको हो । त्रिविले बुधबार नै पोस्ट ग्रेजुऐट डिप्लोमा ईन काउन्सिलिङ साईकोलोजी, स्कुल काउन्सिलिङ र पोस्ट गे्रजुऐट वुमन काउन्सिलिङको परीक्षा स्थगित गरेका छ । कोरोनाको संभावित संक्रमणलाई लिएर सरकारले चैत ११ गते देखि देशभर लकडाउन गरिरहेको छ । यसअघि शिक्षा मन्त्रलायले चैत ६ गतेको एसईई र सबै विश्वविद्यालयको चैतकाे परीक्षा स्थगित गरेको थियो ।