डिशहोमले टेलिभिजनबाटै विद्यार्थीलाई पढाउने, बैशाख २० गतेदेखि क्लास शुरू

काठमाडौं । डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै क्लास कार्यक्रम सुरु गर्ने भएकाे छ । डिशहोम र डियरवाल्क लर्निङ सेन्टरको सहकार्यमा यहि वैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा प्रशारण गर्दैछ । डिशहोमको च्यानल नं. ११४ मा कक्षा १० को, च्यानल नं.११५ मा कक्षा ९, ८ र ७को र च्यानल नं.११७ मा कक्षा ६, ५ र ४ को पाठ्यक्रमहरु विहान ८ बजेदेखी बेलुकी ८ बजे सम्म प्रशारण हुनेछ । यसका साथै विगत ६ महिनाभन्दा बढि समयदेखि विभिन्न कारण बस डिशहोम रिचार्ज नगरेका पुराना ग्राहकहरुकालागि डिशहोमले बैशाख २१ गते देखिलागू हुने गरी ३० दिन सम्मका लागि सम्पुर्ण २०८ च्यानलहरु निःशुल्क उपलब्ध गराएको छ । यस सुविधाले लकडाउनको अवधिमा ग्राहकहरुको आफ्नो परिवारसंगको बसाईलाई रमाईलो बनाउन अझ बढी सहयोग गर्नेछ भन्ने डिशहोमको आशा रहेको छ । डिसहोमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन् ।

सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गरौं: शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलले सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ । उक्त सुझावलाई मन्त्री पोखरेलले उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठकमा जानकारी गराउने बताएका छन् । रासस

विद्यालयले सामाजिक सञ्जालबाटै लिन थाले नयाँ भर्ना

काठमाडाैं । नयाँ शैक्षिक सत्रका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयले गत आइतबारदेखि भर्ना शुरु गरेका छन् । सामाजिक सञ्जाल, फोन तथा म्यासेञ्जरबाट नयाँ भर्ना लिन शुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। दुई हप्ताअघि गाउँपालिकाका सबै सामुदायिक विद्यालयले अनलाइनबाटै कक्ष १ देखि ९ सम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए । ‘अहिले भर्ना भएका विद्यार्थीलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घर घरमा पुगेर उनीहरुलाई किताब र पोशाक पुर्याउनुपर्ने भएकाले भर्ना अभियान शुरु गरिएको हो, उनले भने । यसअघि बसेको पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा समितिको बैठकमा कोभिड-१९ को जोखिमलाई मध्यनजर गरी सम्बधित वडाका वडाध्यक्षसँग समन्वय गरी विद्यालयले भर्ना अभियान शुरु गर्ने निर्णय भएको थियो । सो जोखिमबाट बच्न सामाजिक दूरी कायम गरी नियमित विद्यालय प्रशासन सञ्चालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै तीन हजार विद्यार्थी अध्ययनरत छन् । रासस