सेञ्चुरी कमर्सियल बैंकद्वारा दृष्टिविहीन सहयोग केन्द्रलाई कम्प्युटर हस्तान्तरण
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले महालक्ष्मी, ललितपुरस्थित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई २ थान कम्प्युटर हस्तान्तरण गरेको छ । उक्त कम्प्युटर बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले दृष्टिविहीन सहयोग केन्द्र नेपालका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीलाई हस्तान्तरण गरे । हस्तान्तरण समारोहमा बैंकका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।
नेपाल इन्जिनियरिङ्ग कलेजको साइटिज प्रकाशित
काठमाडौं । नेपाल इन्जिनियरिङ्ग कलेज दुवाकोट भक्तपुरको अनुसन्धान मुलक नयाँ.जर्नल साइटिज प्रकाशित भएको छ । साइटिज (एससीआईटीईसीएच) नेपाल नामक जर्नल प्रकाशित भएको हो । वैज्ञानिक तथा प्राविधिक अध्ययनको जर्नल (जर्नल अफ साइन्टिफिक एण्ड टेक्निकल स्टडिज) प्रकाशित गरिएको हो । पोखरा विश्वविद्यालयका भाइस चान्सलर तथा डिन बुद्धहिरा जोशीले जर्नलको विमोचन एक कार्यक्रमको आयोजना गरी गरे । कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा हरिकृष्ण श्रेष्ठ, उपप्राचार्य दीपक धामी लगायतले जर्नलको विभिन्न पक्षहरुबारे चर्चा गरेका थिए । प्रकाशित यो जर्नल वर्ष १४ अंक १ हो । कलेजले नियमित रुपमा जर्नल प्रकाशित गर्दै आएको जनाएको छ ।
उपत्यका व्यापी स्पेलिंग कन्टेष्टमा बागीश्वरी प्रथम
काठमाडाैं । आठौं एभरेष्ट इन्टर स्कुल स्पेलिंग कन्टेष्टमा बागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंह भक्तपुर प्रथम भएको छ । एभरेष्ट स्कुल भक्तपुरको आयोजनामा बुधबार भएको उपत्यका व्यापी स्पेलिंग कन्टेष्टमा भक्तपुर सल्लाघारी स्थित सैनिक आवासीय माध्यमिक विद्यालय दोश्रो हुन सफल भएको छ । साथै प्रतियोगितामा विद्या संस्कार स्कुल तृतीय हुन सफल भएको छ ।प्रतियोगिताका विजयी स्कुल तथा विद्यार्थीलाई ख्वप कलेज भक्तपुरका प्राचार्य रुपक जोशीले एक कार्यक्रमवीच शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रतियोगिताले विद्यार्थीको विकासमा सहयोग हुने विश्वास लिए । प्रतियोगितामा उपत्यकका विभिन्न १३ वटा स्कुलको सहभागिता रहेको स्कुलले जनाएको छ ।