द ब्रिटिस कलेजले अनलाइनबाटै पढाउन थाल्याे
काठमाडौं । काठमाडौं थापाथलीस्थित द ब्रिटिस कलेजले अनलाईन कक्षा संचालनमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिइएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको कारण कलेजले आइतबारबाट अनलाईन कक्षाहरु संचालनमा ल्याएको हो । कलेजले विद्यार्थी तथा कर्मचारीहरुको सुरक्षालाई ध्यान दिँदै उक्त निर्णय गरि कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ । नेपाललाई विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेको राष्ट्रको रुपमा लिएको तथा नेशनल हेल्थ सर्भिस (यूके) र नेपाल सरकारले समेत सतर्कता अपनाउन निर्देशन दिएसँगै कलेजले अनलाइन कक्षा गर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो । विद्यार्थी तथा शिक्षकहरु कक्षाकोठामा उपस्थित नभए पनि पठनपाठनमा कुनै प्रभाव नपर्ने कलेजले बताएको छ । यसको लागि प्रध्यापकहरुले विद्यार्थीहरुलाई अनलाईन प्लेटफर्ममार्फत कक्षा दिनेछन् । साथै विद्यार्थीहरुको सेवाको लागि कलेजका हरेक शाखाको हटलाइन नम्बरहरु संचालनमा रहेका छन् । उपलब्ध भएका हरेक शाखाका हटलाइन नम्बरसँगै इमेल, ह्वाट्स एप तथा भाइबरबाट समेत विद्यार्थीहरुले कलेजबाट पाउने सेवा पाउनेछन् । कलेजले हालको अवस्थाको बारेमा सम्बन्धन लिएका विश्वविद्यालयहरुलाई पनि यसबारेमा जानकारी गराई आगामी दिनमा पठनपाठनलाई सहज बनाउने र विद्यार्थीहरुको पढाइको गुणस्तरमा कुनै कमी हुन नदिने दृढता समेत व्यक्त गरेको छ । साथै कलेजले यस अवस्थालाई सबैले बुझ्न तथा अवस्था अनुकुल हुनेवित्तिकै नियमित पढाईमा फर्कने बताएको छ ।
त्रिभुवन विश्वविद्यालयकाे रेक्टरमा डा.भूसाल नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले त्रिविकाे शिक्षाध्यक्ष (रेक्टर)मा डा. शिवलाल भुसाललाई नियुक्त गरेकाे छ । तीन वर्ष अगाडिदेखि त्रिभुवन विश्वविद्यालयमा नै डीनको रुपमा कार्यरत डा.भूसाल गत पुस महिनादेखि निमित्त शिक्षाध्यक्षको रुपमा रहेका थिए । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. भूसाललाई सो पदमा नियुक्त गरेको त्रिविले जनाएको छ । अर्थशास्त्रमा विद्यावारधी गरेका भुसाल लामो समय पाल्पाको त्रिभुवन क्याम्पसमा अध्यापन गरेका थिए ।
सेन्ट जेभियर्सकाे कक्षा १ को भर्ना परीक्षाको नतिजा स्थगित
काठमाडौं । सेन्ट जेभियर्स स्कुलले शैक्षिक शत्र २०७७/०७८ सालको लागि लिएका कक्षा १ को भर्ना परीक्षाको नतिजा स्थगित गरेकाे छ । सारेको छ । विद्यालयले शनिबार एक सूचना सार्वजनिक गर्दै परीक्षाकाे नतिजा स्थगित गरेकाे हाे । कोभिड १९ को संभावित प्रकोपलाई नजर राख्दै स्कुलले नतिजा स्थगित गरेकाे बताएकाे हाे । चैत ५ गते लिइएको कक्षा १ को परिक्षा अर्काे सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरेको विज्ञप्ती मार्फत जनाएको छ । याेभन्दा अगाडि सरकारले सेन्ट जेभियर्स स्कुललाई प्रवेश परीक्षाको नतिजा रोक्न निर्देशन दिएको थियाे । शिक्षा विकास समन्वय इकाइ, ललितपुरका प्रमुख योगेन्द्रप्रसाद बरालले नतिजा रोक्न निर्देशन दिइसकेको जानकारी थिए। सेन्ट जेभियर्स स्कुलले सरकारको निर्देशन विपरीत कक्षा १ मा छात्र तथा छात्राको भर्नाका लागि प्रवेश प्ररीक्षा लिइएको थियो । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत मसान्तसम्म बालविकास केन्द्रदेखि विश्वविद्यालयमा कुनै पनि शैक्षिक गतिविधि नगर्ने निर्देशन दिएको थियो । साेही निर्देशनकाे पालना गर्दै स्कुलले परीक्षाकाे नतिजा स्थगित गरेकाे हाे ।