पाल्पा क्याम्पसका विद्यार्थी– ‘बुहारी–आमा’
रामपुर । पूर्वी पाल्पाको पहिलो क्याम्पस शहीद बहुमुखी क्याम्पसले ‘बुहारी–आमा’ क्याम्पसको पहिचान बनाएको छ । विद्यालयको पढाइ सकेका अधिकांश छोरी–बुहारी तथा आमा यसै क्याम्पसमा अध्ययन गर्ने भएका कारण यसले ‘बुहारी–आमा’ क्याम्पसका रूपमा आफ्नो चिनारी बनाएको हो । यहाँ भर्ना भएका कूल विद्यार्थी सङ्ख्यामध्ये ८१ प्रतिशत विद्यार्थी छात्रा नै छन् । तीमध्ये पनि अधिकांश बुहारी तथा आमा बनिसकेका छन् । स्नातकोत्तर तहसम्मका कक्षा सञ्चालन गर्दै आएको यस क्याम्पसका अधिकांश विद्यार्थी छोरी, बुहारी र आमाहरु छन् भने स्नातकोत्तर तहमा पढ्ने विद्यार्थीमा त धेरैजसो बुहारी र आमा नै भेटिन्छन् । विसं २०४६ को जनआन्दोलनपश्चात् गण्डकबेँसीका नागरिकलाई शिक्षाको अवसर प्रदान गर्न यहाँका स्थानीयवासीको जोडबलमा चन्दा उठाएर क्याम्पस सञ्चालनमा ल्याइएको थियो । साविक रामपुर गाउँ विकास समितिको मातहतमा रहेको ५० रोपनी सार्वजनिक जग्गामा क्याम्पस सञ्चालन गरिएको हो । मानविकी सङ्कायको प्रविणता प्रमाणपत्र तहको मात्र पठनपाठन शुरु भएको यस क्याम्पसमा हाल स्नातकोत्तर तहसम्मकै पठनपाठन हुने गरेको छ । क्याम्पसबाट पूर्वी पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका नागरिकलाई शिक्षा आर्जन गर्ने राम्रो अवसर मिलेको छ । विशेषतः गाउँघरमा पुरानो सोचाइ र संस्कारले गर्दा माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि तत्कालीन समयमा छोरी तथा बुहारीलाई उच्च शिक्षका लागि अन्यत्र नपठाउने चलन थियो । गाउँघरमा क्याम्पस नभएपछि छोरी–बुहारीलाई बाहिर राखेर शिक्षा दिनुपर्छ भन्ने सोचाइ त्यस समयमा कमैले मात्र राख्थे । अर्को कुरा बाहिर शहरबजारमा बसेर पढ्न आर्थिक समस्याले गर्दा पढ्ने मन हुँदाहुँदै पनि बीचमै पढाइ छाड्नुपर्ने बाध्यता धेरैको थियो । यस्तो परिस्थितिमा रामपुरमा नै क्याम्पस तहको पठनपाठन शुरु भएपछि गण्डकीबेँसीका धेरै नागरिकले सहजरूपमा शिक्षा आर्जन गर्ने अवसर पाएका हुन् । अहिले नै पनि बुहारी तथा आमाहरुले स्नातक तथा स्नातकोत्तर तहको शिक्षा आर्जन गर्ने चाहना राखे पनि विभिन्न बाधा व्यवधानले गर्दा अन्यत्र पढ्न पठाउने चलन कमै छ । घरायसी कामधन्दा, बालबच्चाको स्याहारसुसार गरेर केही समय क्याम्पसको पढाइमा दिएर शैक्षिकस्तर उकास्न यहाँका बुहारी तथा आमा कस्सिएका छन् । रामपुर नगरपालिका वडा नं ७ बस्ने गीता पौडेलले दुई सन्तानको रेखदेखसँगै गाउँमा नै स्नातकोत्तर तहसम्मको पढाइ सक्नुभयो । गाउँमै स्नातकोत्तर तहसम्मको पठनपाठन भएपछि आफूले स्नातकोत्तर तह पढ्ने इच्छा पूरा गर्न पाउँदा उनी खुशी छिन् । ‘‘बिहे भए पनि घरमा सबै परिवार शिक्षित नै हुनुहुन्थ्यो, छोरी–बुहारीलाई पनि राम्रो शिक्षा दिनुपर्छ भन्ने परिवार थियो तर आमा बनिसकेपछि थप जिम्मेवारी बढ्यो, छोरी बुहारी हुँदै आमा बनियो, आफैँलाई बाहिर बसेर पढ्न अप्ठ्यारो प¥यो, घर नजिकै क्याम्पस थियो त्यसैकारण पढ्ने इच्छा पूरा भयो’’ उनले भनिन् । उनी अहिले सामाजिक क्षेत्र र जागिरमा आवद्ध छिन् । गाउँमा बिहे भएर आएका आफूजस्तै अन्यत्र बुहारीहरुलाई पनि पठनपाठन गर्न एक प्रेरणाका स्रोत बनेकी छिन् । पौडेलले काखे छोरा घरपरिवारको साथमा छोडेर बिहानमा स्नातक तहको कक्षा लिने गर्थिन् । आमा बनिसक्दा पनि स्नातक तह पढ्ने चाहना पुरान गरेकी पौडेल पुनः दोस्रो सन्तानका रुपमा छोरी जन्मिसकेपछि पनि स्नातकोत्तर तहमा भर्ना भएर अध्ययन पूरा गरेकी हुन् । रामपुर नगरपालिका–४ खोप्टार बस्ने देवी रिमालले घरमा बच्चाको रेखदेख गर्ने मान्छे नभएको समय आफैँले क्याम्पसमा साथमै लिएर कक्षा लिन जाने गर्छिन् । उनी भन्छिन्, “गाउँमै क्याम्पस सञ्चालन भएपछि परिवारका सदस्य कहिलेकाहीँ अन्यत्र गएका समयमा पनि बालबच्चालाई लिएर भए पनि कक्षा लिन पाइएको छ, सबैभन्दा ठूलो कुरा हामी बुहारी आमाहरुलाई पढ्ने वातावरण मिलेको छ, हामी शिक्षित भयौँ भने छोराछोरीको भविष्य राम्रो बन्नेछ भन्ने लाग्दछ ।” उनले कक्षामा आफू साथमा नै छोरालाई राखेर पढिरहेको देख्दा प्रध्यापकहरुमा पनि खुशीयाली छाएको छ । बालबच्चा र घरायसी कामलगायत विविध समस्याले बाहिर गएर पढ्ने चाहना राखेपनि झट्ट पढ्न जाने वातावरण सहज नहुँदा बुहारी तथा आमालाई समस्या पर्ने गरेको छ । घरबाटै बुहारी क्याम्पस पढ्न गएको देख्दा सासु–ससुरा तथा परिवारका सदस्य निकै खुशी छन् । हिजोका दिन छोरी–बुहारीलाई शिक्षा दिन पछि हट्ने समुदाय तथा परिवार अहिले भने समय मिलाएर पढ्नुपर्छ भन्ने धेरैमा परिवर्तन आएको पाइएको छ । बुहारी बिहान उठेर क्याम्पस पढ्न गएको देख्दा पनि रमाइलो लाग्ने गरेको कुलप्रसाद गौतम बताउँछन् । छोराले बरु धेरै पढेनन् तर बुहारीले स्नातकोत्तर तह पढ्न थालेपछि परिवारमा खुशीयाली छाएको छ भन्छन् उनी । “हामीले पढिएन, छोराहरुले पनि पढाइ बीचमै छाडेर विभिन्न क्षेत्रमा रोजगार छन्, बुहारीले पढेपछि सके त जागिर नै खालिन् नत्र पनि बुहारी शिक्षित भइन् भने हाम्रो परिवार शिक्षित बन्छ भन्नेमा हामी खुशी छौँ”, उनले भने, “अब जन्मने सन्ततिलाई उचित शिक्षादिक्षा दिन, अनुशासनमा बस्न, राम्रो मान्छे बनाउन सकिन्छ, समयअनुसार शिक्षा दिन धेरै सजिलो हुनेछ ।” कुनै समय छोरी बुहारीलाई पढाउनुपर्छ भन्ने सोचाइ नराख्ने हाम्रो समाजमा अहिले छोरी–बुहारी तथा आमा विद्यार्थी नियमित कक्षामा सहभागी भएर पढिरहेको देख्दा राम्रो लागेको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले बताउँछन् । “पढ्ने चाहना भएकाले घरायसी काम गरेर भए पनि इच्छा पूरा गरिरहेका छन् भने पछिल्लो समय स्नातकोत्तर तह पढ्ने समाजमा कमै भेटिन्थे भने अहिले धेरै रहेका छन् र त्यसमा पनि हामीकहाँ स्नातकोत्तर तहमा बुहारी तथा आमा समूहको बर्चस्व छ”, उनले भने । विसं २०५४ मा स्नातक तहमा अङ्ग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र, नेपाली विषयका कक्षा शुरु गरियो भने विसं २०५५ मा तत्कालीन उच्च माध्यमिक शिक्षा शुरु गरियो । विसं २०६० मा स्नातक तहमा शिक्षा सङ्काय विषय, विसं २०६६ मा व्यवस्थापन र विसं २०६७ मा स्नातकोत्तर तह शुरु गरिएको थियो । हाल राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, शिक्षा विषय समूह, त्रिभुवन विश्वविद्यालयतर्फ स्नातक तहमा व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्काय, स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्कायतर्फको नेपाली शिक्षा र शिक्षा योजना तथा व्यवस्थापन विषय सञ्चालन भइरहेको छ । हाल यस क्याम्पसमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यस क्याम्पसका पूर्वाधारमा दुईतले एउटा कार्यालय भवन, दुई कच्ची भवन, विश्वविद्यालय अनुदान आयोगको सहयोगमा निर्माण भएको दुईतले छ कोठे भवन, रामपुर नगरपालिकाको सहयोगमा दुईतले चारकोठे पक्की भवन छन् । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत रु ६० लाख बजेट सहयोगमा निर्माणाधीन चारकोठे भवन, सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ सरकारबाट प्राप्त रु ४० लाख सहयोगमा दुईतले चारकोठे भवन निर्माणाधीन छ । करिब १०० मानिस अट्ने क्षमताको एक सभाहल छ । पूर्वी पाल्पामा क्याम्पस नहुँदा माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि गण्डकीबेँसीका नागरिकलाई पाल्पा सदरमुकाम तानसेन, बुटवल, पोखरा, नारायणगढ, काठमाडौँलगायतका शहरमा जानुपर्ने बाध्यता थियो । आर्थिक अवस्था राम्रो भएका परिवारले मात्रै अन्यत्र गएर पढ्ने गरेपनि धेरैजसोले बीचमै पढाइ छाड्नुपर्ने बाध्यता थियो । क्याम्पस तहको पठनपाठन रामपुरमा नै सञ्चालन गर्न समुदाय नै लागि परेपछि स्वीकृत भई क्याम्पस सञ्चालन गर्न सफल भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा संस्थापक देवराज ढकाल बताउँछन् । विसं २०४६ को जनआन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका रामपुरका शहीद सूर्यप्रसाद घिमिरेको नामबाट क्याम्पस सञ्चालन गरिएको हो । बुहारी आमा बनिसकेपछि पायक पर्ने ठाउँमा क्याम्पस नहुदा पढ्ज जान अप्ठ्यारो पर्ने प्राध्यापक तथा पूर्वविद्यार्थी रेखा काफ्ले बताउँछिन् । उनी पनि बुहारी आमा बनेपछि मात्र स्नातक तथा स्नातकोत्तर तहको पढाइ पूरा गरेकी छिन् । “परिवार पढेलेखेको थियो, श्रीमान् आफैँ शिक्षण पेशामा आवद्ध हुँदा सबैले पढ्नुपर्छ भन्नुहुन्थ्यो, काखको बच्चा छाडेर बाहिर गएर पढ्न जान म आफैँलाई समस्या थियो, कोठा नजिकै क्याम्पस हुँदा जसोतसो दुःखसुखसँग स्नातक तहको पढाइ यहीँ पढ्ने इच्छा पूरा गर्न पाएँ, दुःख गरेर पढाइ सकाएँ, पहिले यस क्याम्पसमा म आमा–बुहारी विद्यार्थी थिएँ भने अहिले प्राध्यापन गरिरहेको छु”, उनले भनिन् । यस क्याम्पसमा गुणस्तरीय शिक्षा, भौतिक सुविधा राम्रो, क्याम्पसको मित्रवत व्यवहार, बिहान पढेर दिउँसो रोजगार गर्ने अवसर, विभिन्न विषयको पठनपाठन, पर्याप्त खेलमैदान, खानेपानी, शौचालयको सुविधा, मोटरसाइकल तथा स्कुटर पार्किङ, चमेनागृहको राम्रो प्रबन्ध, फूलबारी रहेको छ । स्नातकोत्तर तहका लागि बिहान ५ः४० देखि ८ः४० बजेसम्म र अन्य कक्षा बिहान ६ः०० देखि ११ः०० बजेसम्म सञ्चालन गरिएको छ । यहाँ प्राध्यापकसहित ३४ कर्मचारी छन् । जसमा पूर्णकालीन १२, शिक्षणतर्फ २८ जना छन् । प्रशासन शाखामा छ, विषय करार १४, आंशिक शिक्षक दुई जना छन् । एक दशकयता क्याम्पसले शैक्षिक तथा भौतिक क्षेत्रमा राम्रो फड्को मार्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत शैक्षिक तथा भौतिक सुधारका कार्यहरु गरिरहेको यस क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको चक्र पूरा गरी आफूलाई क्युएए प्रमाणीकरण क्याम्पसको रूपमा स्थापित गर्न प्रयत्नरत छ । विश्वविद्यालय अनुदान आयोगको गुणस्तर अभिवृद्धि तथा प्रत्यायन (क्युएए) विगत चार वर्षदेखि चलिरहेको छ । आयोगमा क्युएएको ड्राफ्ट पनि बुझाइसकिएको छ । क्युएए प्रमाणीकरण गर्न खोजेको, समयअनुसार गुणस्तरीय र प्राविधिक शिक्षा, विद्यार्थी सङ्ख्या बढाउने क्याम्पसको लक्ष्य रहेको सञ्चालक समितिका सदस्य दिवाकर देवकोटा बताउँछन् । रासस
अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्नेलाई कारवाहीको माग
काठमाडाैं । १३ विद्यार्थी सङ्गठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ । तेह्र विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरिरहेको भन्दै भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाहीको माग गर्ने निर्णय गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए । बैठकले कक्षा १२, क्याम्पस तथा विश्वविद्यालय तहका नियमित तथा रोकिएका परीक्षा सञ्चालनको ठोस् मापदण्ड र योजना बनाइ परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ । कोभिड–१९ तत्काल नियन्त्रण नहुने र अझै एक दुई वर्ष रहने प्रक्षेपण गरिएको, वैकल्पिक सिकाइ प्रभावकारी नभएको र शैक्षिक सत्र खेर जाने देखिएकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सबै विद्यालय क्याम्पस र विश्वविद्यालयको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न सरकारसँग अनुरोध गरिएको छ । बैठकले कोरोनाका कारण अलपत्र परेका विद्यार्थी, गरिब तथा विपन्न मजदूरको कोठा भाडा र राहत प्याकेज घोषणा गर्न, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलबको व्यवस्था गर्न सरकारसँग मागसमेत गर्ने निर्णय गरेको छ । विद्यार्थी सङ्गठनले कोभिड–१९ नियन्त्रणका लागि औषधि खरिद, क्वारेन्टिन र अन्य व्यवस्थापनमा भएको भनिएको अनियमितता तथा भ्रष्टाचारको छानबिन गरी अनियमितता र भ्रष्टाचारमा संलग्नलाई कार्यवाही गर्न माग गरेका छन् । पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वनलगायत विश्वविद्यालयमा पदाधिकारी नहुँदा सम्पूर्ण काम अस्तव्यस्त भएकाले ती विश्वविद्यालयमा खुला प्रतिस्पर्धाका आधारमा तत्काल पदाधिकारी नियुक्ति गर्न अनुरो समेत गरिएको लामिछानेले बताए । बैठकले छात्रवृत्तिलाई दोब्बर वृद्धि गरी वैज्ञानिक र व्यवहारिक मापदण्ड बनाइ पारदर्शी ढङ्गले कार्यान्वयन गर्न माग गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले प्रवेश परीक्षा नलिई जिपिएका आधारमा भर्ना गर्ने सूचना जारी गरेको र त्यसबाट सरकारी विद्यालयका विद्यार्थी भर्नाबाट वञ्चित हुने देखिएकाले सरकारी विद्यालयका ८० प्रतिशत तथा निजी विद्यालयका २० प्रतिशत विद्यार्थी भर्ना लिने व्यवस्था गर्न माग गरिएको छ । विद्यार्थी सङ्गठनले बन्दाबन्दी (लकडाउन) खुलेपछि यातायातमा ५० प्रतिशत भाडा वृद्धि गरिएको प्रति आपत्ति जनाउँदै भाडा वृद्धि तत्काल खारेज गर्न तथा विद्यार्थी सहुलियतलाई कडाइपूर्वक कार्यान्वयन गर्न माग गरेको लामिछानेले जानकारी दिए । बैठकले महँगी र कालोबजारी नियन्त्रण गर्नसमेत सरकारसँग माग गरेको छ । बैठकमा अनेरास्ववियुका संयोजक ऐन महर, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल (छैटौं)का अध्यक्ष विमल पोखरेल, अखिल (पाँचांै)का अध्यक्ष धनश्याम मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठलगायत १३ विद्यार्थी सङ्गठनका अध्यक्षको सहभागिता थियो । रासस
क्वेस्ट कलेजका विद्यार्थीले कामना सेवा विकास बैंकमा इन्टरशिप पाउने, भयो समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । कामना सेवा विकास बैंक र ग्वार्को स्थित क्वेस्ट इन्टरनेशनल कलेजबीच बैकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र क्वेस्ट कलेको तर्फबाट प्रिन्सिपल उदय राज पौडेलले हस्ताक्षर गरेका हुन् । २०६४ साल देखि आफ्नो वित्तीय कारोबार शुरु गरेको यस बैंकले देशका विभिन्न स्थानमा १२४ वटा शाखा तथा केन्द्रीय कार्यालय मार्फत नौ सय बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । साथै, क्वेस्ट इन्टरनेशनल कलेज सन् २००९ मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन तर्फ बिबिए, बिएचएम र एमबिएका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको एउटा प्रतिष्ठित संस्था हो । हाल यस कलेजमा सात सय बढी विद्यार्थी अध्यनरत छन् । कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्य क्षमता, दक्षता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने अवसर प्रदान गर्ने क्रममा क्वेस्ट कलेजले अध्यापन, अनुसन्धान तथा तालिम मार्फत उक्त लक्ष्यमा योगदान पुराउने र कामना सेवा बैंकले क्वेस्ट कलेजका विद्यार्थीलाई इन्टरशिपको व्यवस्था गर्ने यस समझदारी पत्रको प्रमुख उद्देश्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । यो समझदारी मार्फत बैंकका कर्मचारीले क्वेस्ट कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा विशेष सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्था गरिएको कलेजका प्रिन्सिपल उदय राज पौडेलले बताए । यो समझदारीलाई मानव संसाधन विकासमा शैक्षिक क्षेत्र र उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रबीच देखिएको खाडल क्रमशः पुर्दै जाने अभियानको शुरुवाती कदमको रुपमा लिइएको छ ।