कोरोना कहरकै बीच काभ्रेपलाञ्चोकमा सुरु भयाे पठनपाठन

बनेपा । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् । जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मङ्गलबार र रोशीले बुधबारबाट सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएका हुन् । पाँचखालको नगरकार्यपालिकाले विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सोमबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ । विद्यालय सञ्चालन गर्न यसअघि नगर शिक्षा समितिले शैक्षिक कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकलगायत सरोकारवालासँग छलफल गरी आवश्यक स्वास्थ्य सुरक्षा विधि अपनाएर विद्यालय सञ्चालन गरेको वडा नं ४ लामीडाँडास्थित गोल्मादेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक विद्यालक्ष्मी देउजाले बताए । “हामीले शिक्षण गर्दा भौतिक दूरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी बुधबारबाट कक्षामा पठनपाठन सञ्चालन गरेकामा अझै पनि सबै विद्यार्थीलाई विद्यालयमा नआइसकेकाले सबैलाई ल्याउने प्रयत्न भइरहेको छ”, उनले भने । बन्दाबन्दीका कारण विद्यालय बन्द हुँदा अवरुद्ध रहेको शिक्षण क्रियाकलापलाई असार १४ गतेबाट ‘टोल शिक्षा’को रूपमा टोलटोलमा नै गएर पढाउने र साउन १६ गतेबाट ‘हेलो लर्निङ’ भनेर शिक्षकलाई अनलाइनबाट हप्तामा दुई दिन भए पनि पढाउने व्यवस्था गरेकामा अहिले आएर सोमबारबाट प्रत्यक्षरूपमा कक्षामा नै आएर पढाउन थालेको प्रधानाध्यापक देउजाले बताए । विद्यालय सञ्चालनमा आएपछि पहिलोपटक कक्षाकोठामा बसेर पढन् पाउँदा खुशी लागेको सोही वडास्थित जिरोकिलोमा रहेको इन्द्रेणी विद्यामन्दिर कक्षा ७ का कृष्पा न्यौपानेले बताइन् । “बन्दाबन्दीका बेलामा घरमा बस्दा आफँैले किताबको उदाहरणहरु हेर्दै स्वअध्ययन गरिरहेको थिएँ तर त्यसरी पढ्दा नबुझेका कुराहरुमा धेरै समय अल्झिनुपरेको थियो”, उनले भनिन् । परिस्थिति हिजोको भन्दा सहज नभए पनि मनस्थिति बलियो बनाएर आफूहरुले कक्षा सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल रामहरि सापकोटाले बताए । “पढाउँदा भौतिक दूरी कायम राखेर मास्क अनिवार्य गराएका छौँ”, उनले भने, “कोरोनासँग भागेर होइन, त्यसका विरुद्धमा लड्दै एउटा कक्षामा १० वटा बेञ्च राखेर दैनिक बिहान, दिउँसो र बेलुकाको सत्र बनाएर पठनपाठन शुरु गरेका छौँ ।” सो वडाका वडाध्यक्ष सुन्दर लामाले अभिभावकबाट नै अब पठनपाठन शुरु गर्नुपर्छ भन्ने खालको सुझाव आएपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकसँग छलफल गरेर विद्यालय सञ्चालनमा ल्याएको बताए । विद्यालय सञ्चालनमा आएसँगै नगरप्रमुख महेश खरेलले विद्यालय सञ्चालनको अवस्था र त्यहाँ भएको समस्याहरुका बारेमा अनुगमन गरी जानकारी लिने काम गर्दै आएका छन् । लामो समयसम्म घरमै रहँदा विद्यार्थीमा हुनसक्ने मानसिक तनावलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरेको उनले बताए । नगरभित्र सामुदायिक ३९ र संस्थागत ११ विद्यालय रहेका छन् । उता तेमाल गाउँपालिकामा विद्यालय अनुकूलता हेरेर सञ्चालनमा आएका छन् । वडा नं ७ स्थित भूमेश्वर आधारभूत विद्यालय कुरुवासमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक कर्मचारीको संयुक्त बैठकले मङ्गलबारबाट दिनको तीन सत्रमा चलाउने निर्णय गरिएबमोजिम बिहान, दिउँसो र बेलुका गरी कक्षा सञ्चालन शुरु गरेको छ । विद्यालयका प्रधानाध्यापक कुवाङछु लामाका अनुसार बालकक्षा भने हप्ताको छ दिन नै सञ्चालन गर्ने निर्णय गरेको छ । तेमालका सबै विद्यालय आ–आफ्नो अनुकूलता मिलाएर सिकाइ सहजीकरण कार्यविधिअनुसार कक्षा सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष सलामसिं लामाले विद्यालय क्षेत्रमा पूर्णरूपमा निर्मलीकरण गरेर सबै विद्यालयमा मास्क, स्यानिटाइजर र साबुनलगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेपछि पठनपाठन शुरु गरेको बताए । तेमालमा ४१ विद्यालय छन् । त्यस्तै रोशी गाउँपालिकाले पनि बुधबार सूचना जारी गर्दै गाउँकार्यपालिकोका बैठकले गाउँ शिक्षा समितिले तयार गरेको सिकाइ सहजीकरण निर्देशिका, २०७७ लाई स्वीकृत गर्दै त्यसका आधारमा पठनपाठन शुरु गर्न विद्यालयलाई निर्देशन जारी गरेको छ । सोअनुरुप ३० जनाभन्दा कम विद्यार्थी भएको विद्यालयले सरोकारवालासँगको छलफलमा दैनिक एक सिफ्टमा सिकाइ सहजीकरण गर्ने, ५० र ७५ जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएको विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने, एक सयजनाभन्दा कम भएको विद्यायले तीन सिफ्टमा सञ्चालन गर्ने र एक सयभन्दामाथि विद्यार्थी सङ्ख्या भएको विद्यालयले बारअनुसार दैनिक तीन सिफ्टमा कक्षा सञ्चालन गर्न पाउने गरी निर्देशन जारी गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रामबहादुर तामाङले बताए । विद्यालय सञ्चालन गर्नुपूर्व पालिकाले विद्यालयलाई व्यक्तिगत सुरक्षा सामग्री स्यानिटाइजर र मास्क वितरण गरेको थियो । रासस

तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड-१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका हुन् । मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको जनाए । उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताए । कतिपय जिल्लाका विद्यालयले अहिले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका छन् । सञ्चारविद् डा निर्मलमणि अधिकारीले विपन्न र गरिब विद्यार्थीका लागि निःशुल्क रुपमा उच्चगतिका इन्टरनेट र डाटा उपलब्ध गराउन आग्रह गर्दै मिडिया साक्षरतालाई प्रभावकारी नबनाइए वैकल्पिक सिकाइ प्रणाली सफल नहुने बताए । उनले सूचना, सञ्चार तथा प्रविधि र आमसञ्चारको सदुपयोगका लागि रणनीति तर्जुमा गर्न सुझाव दिए । आसमान नेपालका कार्यकारी निर्देशक नोवलकिशोर यादवले प्रदेश-२ मा गरिएको पछिल्लो अध्ययनले ५१ प्रतिशत बालबालिका वैकल्पिक सिकाइको पहुँचमा पाइएकाले सञ्चारमाध्यमको भूमिका बढाएर पहुँच वृद्धि गर्नुपर्ने बताए । पहुँच वृद्धि हुँदै गए पनि सिकाइको स्तर २० प्रतिशतको हाराहारीमा रहेको अध्ययनले देखाएको छ । उनले आसमान नेपालले समुदाय तहमा युवाहरुलाई स्वयंसेवी परिचालन गरेर करिब १० हजार बालबालिकालाई स्वाध्यायन सामग्री वितरण गरिएको जानकारी दिए । समाजका अध्यक्ष प्रकाश सिलवालले सञ्चारको एउटा धर्म शिक्षा पनि भएकाले वैकल्पिक सिकाइलाई प्रभावकारी बनाउन सूचना र सचेतनामूलक भूमिकाका लागि प्रदेश र जिल्लागत बहश गरिने जनाए । रासस

मासिक ९९ रुपैयाँमा फाेन र इन्टरनेटमा असीमित सुविधा, सरकारी स्कूलकाे अनलाइन कक्षा सस्ताे हुने

काठमाडौं । सरकारी तथा सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावको लागि खुशीको समाचार छ । उनीहरुले मासिक ९९ रुपैयाँमा असीमित फोन र इन्टरनेट सेवा प्रयोग गर्न पाउने छन् । साथै, नेपाल टेलिकमको सीम नहुनेले सित्तैमा सीम पाउने छन् । यी सुविधा सँगै सरकारी स्कूलले चलाउने अनलाइन कक्षाकाे लागत सस्ताे हुने भएकाे छ । प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको क्लोज यूजर ग्रुप (सीयूजी)मा आबद्ध गरी मासिक जम्मा रु.९९ मा क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । साथै, भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट चलाउन ५ जिबी डाटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराइने छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (www.learning.cehrd.edu.np) मा कक्षा १ देखि १० सम्मको सबै पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध हुनेछ । मासिक ९९ रुपैयाँमा भ्याट, टीएससी, ओटी कर थपिने नेपाल टेलिकमले जनाएको छ । सो प्रिपेड सिमकार्डबाट शिक्षक–विद्यार्थी र अभिभावकबीच असीमित कुराकानी गर्न, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेब पोर्टल निशुल्क चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस पठाउन सकिने छ । कर्पोरेट युजर ग्रुप बनाउने प्रयोजनका लागि सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरीलाई एउटा सिमकार्ड तथा सो विद्यालयका प्रत्येक शिक्षकको सिमकार्डको फोन नम्बर संकलन गर्ने, प्रत्येक विद्यालयका यी फोन नम्बरलाई सीयूजी सेवामा आवद्ध गराइने छ । यो सेवा वापतको शुल्कमा नेपाल टेलिकमलाई हुने घाटामा नेपाल सरकारले अनुदान दिने छ । यस सेवाको लागत नेपाल सरकार, प्रयोगकर्ता र सेवा प्रदायकले साझेदारीमा व्यहोर्ने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ । यदि कुनै विद्यालयका विद्यार्थी, शिक्षक र परिवारको एक सदस्यसँग नेपाल टेलिकमको सिम नभएको अवस्थामा माग बमोजिम कम्पनीले सिम निःशुल्क उपलब्ध गराउने छ । यो सेवा अन्तर्गत प्रत्येक विद्यार्थी र शिक्षकले निःशुल्क प्राप्त गर्ने सिमकार्डका लागि शिक्षक र विद्यार्थीको नागरिकता र परिचय पत्रको फोटोकपी, अभिभावकको नागरिकताको फोटोकपी र एकप्रति फोटो उपलब्ध हुनुपर्दछ । विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा पनि लिन सक्नेछन् । विद्यार्थी वा अभिभावकलाई उपलब्ध गराइने ‘पाठशाला सीयूजी सिम’ विद्यालयले रितपूर्वक भरिएको फाराममा स्थानीय निकायबाट सिफारिश लिई नजिकको नेपाल दुरसञ्चार कम्पनीको कार्यालयबाट एकमुष्ट लिन सक्नेछन् । त्यसैगरी कम्पनीले प्राविधिक दृष्टिकोणले सम्भव भएसम्म सहुलियत दरमा टोल फ्रि नम्बर समेत उपलब्ध गराउने छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले इन्टरनेट सेवा नपुगेका सार्वजनिक विद्यालयहरुको गाउँपालिका सहितको नामावली संकलन गरी पठाए पश्चात् नेपाल टेलिकमले विद्यालयमा वैकल्पिक माध्यम वायरलेस ब्रोडब्यान्ड प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध गराउन अध्ययन गरी पाइलटिङ गर्ने र उक्त स्थानहरुमा आफ्नो कार्ययोजना अनुसार मोबाइल र एफटीटीएच विस्तार गर्नेछ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्ने कार्यमा सहयोग पु¥याउनका लागि नेपाल टेलिकमले निकै सस्तो दरमा सेवाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउने प्रयोजनका लागि कम्पनीको प्रिपेड मोबाइल ‘पाठशाला सीयूजी सिम’ निःशुल्क उपलब्ध गराउन लागेको हो ।