शिक्षा क्षेत्रमा लगानी बढाउने वातावरण सिर्जना गर्दैछाैं: राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षा क्षेत्रमा लगानीको वातावरण बढाउने गरी कानूनी व्यवस्था गर्ने बताएका छन् । शनिबार काठमाडौंको सानो भर्‍याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रेष्ठले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षासम्बन्धी छुट्टाछुट्टै कानुन बनाउन लागेको जानकारी दिए । ती कानुन बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्ने उनको दाबी छ । राज्यमन्त्री श्रेष्ठले भने, ‘अब संघीय कानुन बनिसकेपछि तीन वटा कानुन बन्दैछ । एउटा स्कुल लेभलको कानुन । टेक्निकल शिक्षाको कानुन र उच्च शिक्षाको काननु बन्छ । त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी बन्छ । त्यो कुराको अपेक्षा गरौं । यस कुरामा म तपाईंहरुलाई आश्वस्त पनि गराउन चाहन्छु ।’ राज्यमन्त्री श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्याउने काममा सरकार लागिपरेको पनि बताए ।

विद्यालय खोल्न दिन निजी विद्यालय सञ्चालकको माग

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले विद्यालय भौतिक रुपमा खोल्न माग गरेका छन् । निजी तथा आवासीय विद्यालयका संचालकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भएको छलफलमा यस्तो माग गरेका हुन् । मन्त्रालयमा प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीसँग पौडेलले शैक्षिक सुधारका विषयमा छलफल गर्ने क्रममा संचालकहरुले यस्तो माग राखेका हुन् । उनीहरुले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न दिनुपर्ने बताएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण हाल विद्यालयहरु बन्द छन् ।

ब्रिटिस कलेजद्वारा दुई विद्यार्थीलाई ओएचसीटी छात्रवृत्ति प्रदान

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिक सत्र २०२१/२२ को लागि दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले पहिलोपटक विद्यार्थीहरुलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो । ब्रिटिस कलेजले नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई मद्दत गर्ने उदेश्यका साथ योग्य स्नातक आवेदकहरुका मध्ये दुईजनालाई लागि यो छात्रवृत्ति प्रदान गरेकाे हो । छात्रवृत्ति पाउनेमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए)मा अध्ययनरत सिन्धुपाल्चोकका दावा लामा तामाङ र बीएससी (हन्स) कम्प्युटिङमा अध्ययनरत सिन्धुलीकी रोशना ढकाल रहेकी छिन् । दुवै जना विद्यार्थीहरुले पठन–पाठनको लागि हुने सम्पूर्ण खर्च प्राप्त गर्नेछन् । जसमा सम्पूर्ण चार वर्षको शिक्षण शुल्कहरू, सबै परीक्षा र विश्वविद्यालय रजिष्ट्रेशन दर्ता शुल्क समावेश हुनेछन् ।