बैशाख ९ गतेदेखि एसईई हुने
काठमाडौं । बैशाख ९ गतेदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।
फागुन १ देखि विद्यालय खोल्न सीसीएमसीसीको सिफारिस
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गराउन सिफारिस गरेको छ । सीसीएमसीसीको आइतबार बसेको बैठकले सरकारलाई यस्तो सिफारिस गरेको हो । सीसीएमसीसीले विद्यालयको हकमा चाहिँ १२ वर्ष पुरा भएका बालबालिकाको नियमित कक्षा सञ्चालन गर्ने तर १२ वर्ष भन्दा कम उमेरका विद्यार्थीको हकमा चाहिँ दिनमा आलोपालो कक्षा सञ्चालन गर्न सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले बताइन् ।
पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने
पोखरा । पोखरा विश्वविद्यायले दुई महिना भित्र शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । शुक्रबार पोखरामा विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । विश्वविद्यालयले गण्डकी प्रदेश त्यस आसपासका क्षेत्रका मेडिकल कलेजहरूलाई सम्बन्धन दिने र अन्य विश्वविद्यालयमा पढाइ नभएका विषय समावेश गर्ने छलफल भएको विश्वविद्यालयका रजिष्ट्रार दीपक भण्डारीले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयमा पिजियोथेरापी र अप्टोमेटिप विषयको अध्यापनको तयारी भइरहेकोछ । जसका लागि अहिले भौतिक संरचनाको काम भइरहेको छ । यसअघि बसेको विश्वविद्यालयको सभाले नयाँ विषय र मेडिकल कलेजको सम्बधन दिने विषयमा समेत निर्णय गरिसकेको थियो । छलफलमा मन्त्री पौडेलले मुख्यगरी तीन विषयमा ध्यान दिन आग्रह गरे । उनले भौतिक पूर्वाधार, नयाँ विषय र अन्य विश्वविद्यालयभन्दा फरक कोर्स तयार गर्न सुझाव दिएका छ । विश्वविद्यालय सुधारका लागि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आवश्यक छलफल गर्ने मन्त्री पौडेलको भनाइ छ । ‘विश्वविद्यालय सुधारका लागि अन्य विश्वविद्यालयका पदाधिकारीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘नयाँ योजना र नीतिगत विषयलाई जोड दिनुस्, आवश्यक परे प्रधानमन्त्रीसँग कुरा गर्छु ।’