शिक्षामा बजेट बढाउन आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षामा बजेटका आकार बढाउने विषयमा छलफल गरेका हुन् । छलफलका क्रममा मन्त्री पौडेले विद्यालय शिक्षा, उच्च शिक्षा,प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक बजेट नभएको भन्दै शिक्षामा २० प्रतिशत बजेटको आकार बढाउन आग्रह गरे । मन्त्री पौडेलले विद्यालय शिक्षामा सबै माध्यमिक विद्यालयमा पुस्ततकालय, विज्ञान प्रयोगशाला र सूचना तथा प्रविधि, सबै शिक्षकका लागि तालिमको व्यवस्था, विपन्न छात्रवृत्तिको दायरा र रकममा वृद्धि, सात प्रदेशमा नमुना आवसिय केन्द्रीय विद्यालय स्थापना, विद्यालयको नक्शांकन, अंग्रेजी, गणित र विज्ञानको लागि ३ हजार शिक्षकका लागि दरबन्दी श्रृजनालगायतका कार्यक्रम मन्त्रालयले योजनामा राखेका बताए । ‘शिक्षाको बजेट धेरै तलबमा जान्छ अहिले कोभिडको असरपनि विस्तारै कम हुँदै गएको छ,’ मन्त्री पौडेलले भने, ‘शिक्षालाई जोड दिँदै मन्त्रालयले तोकेका प्राथमिकताका लागि बजेटको आकार बढाउन प¥यो ।’ उनले बालविकास शिक्षाका सहजकर्ताहरुले तलब भत्ता केन्द्रबाट उपलब्ध गराउने, अस्थायी र उमेर हद नाघेका शिक्षकहरुको लागि गोल्डेन हयन्सेक कार्यक्रम लागू गर्ने मन्त्रालयको योजना रहेको सुनाउँदै बजेटको आकार बढाउन आग्रह गरे । यस्तै उच्च शिक्षामा ५० प्रतिशत सरकारी र सामुदायिक कलेजहरुको भवन निर्माण गर्ने, गुणस्तरीय शिक्षक उत्पादनका लागि शिक्षक तयारी पाठ्क्रम तथा पठनपाठनमा सुधार र शिक्षा विषय अध्ययन गराउने कलेजहरुको स्तरोन्निति, प्राविधिक धार (९–१२)को शैक्षिक कार्यक्रम ७ सय ५३ स्थानीय तहमा पुर¥याउने लक्ष्य रहेको मन्त्री पौडेलले बताए । शिक्षा मन्त्रालयले दिएको विषय सकारात्मक भएको बताउँदै योजना आयोगका उपाध्यक्ष पौडेलले गत आर्थिक वर्षमाभन्दा शिक्षामा बजेट थप गर्ने बताए । ‘म शिक्षामा बजेट थप गर्ने विषयमा सहमत छु’ उनले भने, ‘शिक्षामा बजेट थपिँदा सुदुरपश्चिम, कर्णालीका विद्यालयको गुणस्तर पनि वृद्धि हुनप¥यो ।’ शिक्षामा संविधानले २० प्रतिशतको ग्यारेन्टी गरेको बताउँदै डा. पौडेलले यो वर्ष शिक्षामा बजेट थप्ने विषयमा आफू सकारात्मक रहेको बताए ।
दुबईमा खुल्याे ब्रिटिस एजुकेशन ग्रुपको ‘द उलविच इन्स्टिच्युट’
दुबई । द ब्रिटिस एजुकेशन ग्रुपले दुबईमा ‘द उलविच इन्स्टिच्युट’को उद्घाटन गरेको छ ।दुबईको नलेज भिलेजका रुपमा परिचित स्थानमा साे कलेज रहेको छ । द ब्रिटिस एजुकेशन ग्रुपले आफ्ना विद्यार्थीहरुलाई नेपाल, दुबई र लण्डनमा क्रेडिट ट्रान्सफर गर्दै अन्तर्राष्ट्रिय अनुभव दिनका निम्ति यी सहरहरुमा सेमेष्टर अनुसार ट्रान्सफर गर्दै पढ्न पाउने अवसर प्रदान गर्न गरिएको यो एउटा नयाँ पहल रहेकाे जनाएकाे छ । दुबईमा कलेज स्थापना गर्नु टिबिसी र द ब्रिटिस एजुकेशन ग्रुपका लागि विशेष गौरवको क्षण भएकाे र यसले नेपाली विद्यार्थीहरु लाभान्वित हुने कलेजका सिइओ राजन कडेँलले बताए । द ब्रिटिस एजुकेशन ग्रुप सन् २००३ देखि सञ्चालनमा रहेको छ । काठमाडौंको द ब्रिटिस कलेजसहित लण्डन र नेपालमा द ब्रिटिस एजुकेशन ग्रुपले शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको छ । उक्त नलेज भिलेजमा विश्वका आधा दर्जनभन्दा बढी विश्वविद्यालयहरु सञ्चालनमा आएका छन् । त्यस स्थानका विद्यार्थीहरु खेल्ने, मनोरञ्जन गर्ने तथा अतिरिक्त नलेज लिने ठाउँ एउटै व्यवस्था भएको हुँदा उलविचमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि ती सबै युनिभर्सिटीका विद्यार्थीहरुसँग अन्तर्राष्ट्रिय अनुभवको साटफेर हुनबाट लाभान्वित हुने देखिएकाे सिइओ कडेँलले बताए ।
सिल्भर माउण्टेन स्कुलले सुरु गर्यो स्नातकमा बिआइसिएको पढाई
काठमाडौं । सिल्भर माउन्टेन स्कूलअफ होटल म्यानेजमेन्टले अन्तर्राष्ट्रिय पाककला बिआइसिएमा स्नातक कार्यक्रम सुरु गरेको छ । बेलायतको क्वीन मार्गरेट विश्वविद्यालयसँग सम्बन्धन प्राप्त सो कार्यक्रमलाई शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेकाे छ । लामो समयको अनुसन्धान र गृहकार्य पछि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले नेपाल पहिलो र विशेष कार्यक्रमको कार्यक्रम सुरु गरेको जनाएको छ । ‘युवाहरूलाई करियर उन्मुख डिग्री हासिल गर्ने मात्र होइन, प्रामाणिक नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने खाली ठाउँ पनि पूरा गर्नकै लागि नया कार्यक्रम ल्याएका हौ,’ सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टका अध्यक्ष समिर थापाले भने । होटेल उद्योगमा विशेष खण्डहरूमा आफ्ना विद्यार्थीलाई व्यावसायिक र शैक्षिक रूपमा विकास गर्नु कलेजकाे लक्ष्य रहेको उनी बताउँछन् । यो चार–वर्षे कार्यक्रम विशेष गरी खाद्य उत्पादनमा विशेषज्ञता हासिल गर्न चाहाने विद्यार्थीहरूका लागि डिजाइन गरिएको उनले बताए । ‘यो पाठ्यक्रम अत्यन्त सफल पाठ्यक्रमहरू मध्ये एक हो । यसले पाक कलाको संसारमा उत्कृष्ट शेफ पाक विशेषज्ञ र उद्यमीहरू उत्पादन गरेको छ । खाना पकाउने पक्षहरूमा विशेषज्ञताको साथसाथै यो डिग्रीले अनुसन्धान, स्थिरता, उद्यमशीलता, नेतृत्व र उत्पादन , प्रमुख आतिथ्यता लगायत कम्पोनेन्ट पनि समावेश गर्दछ,’ उनले भने ।