कक्षा १२ परीक्षा तत्काल गराऔं: प्याब्सन
काठमाडाैं । प्याब्सनले कक्षा १२ का विद्यार्थीलाई तत्काल खाेप दिएर परीक्षा संचालन गराउनुपर्ने माग राखेकाे छ । निजि तथा आवसिय अर्गनाइजेसन नेपाल(प्याब्सन) ले कक्षा १२ काे विद्यार्थीहरुलाई तत्काल खाेप दिक्ष १५ दिनपछि परीक्षा संचालन गर्नुपर्ने माग राखेकाे हाे । बिहिबार एक विज्ञप्ती जारी गर्दै प्याब्सनले सबैतिर परीक्षा संचालन भइरहँदा कक्षा १२ काे मात्र परीक्षा स्थगित हुँदा लाखाैं विद्यार्थीकाे भविष्य अन्याेलमा भएकाे बताएकाे छ । उनीहरुले सरकारलाई यस विषयमा छिटै निर्णय लिन पनि अनुराेध गरेकाे छ । ‘कक्षा १२ को परीक्षा विद्यार्थीहरुको देश–विदेशका विश्वविद्यालयमा प्रवेश पाउने र मेडिकल, ईन्जिनियरिङ्ग लगायत उच्च शिक्षामा भर्ना हुने अत्यावश्यक खुड्किलो भएको हुँदा उक्त परीक्षा रोकिँदा लाखौं विद्यार्थीहरुको एक शैक्षिक सत्र खेर जाने निश्चित छ र यस सम्बन्धमा उचित निर्णय लिन नसकेको खण्डमा हाम्रो ऐतिहासिक भुल हुने समेत अनुरोध गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ । यसका साथै प्याब्सनले महामारीको संक्रमण कम हुँदै गएको क्षेत्रहरुमा भौतिक रुपमा क्रमशः विद्यालयहरु खोल्ने निर्णय पालिका स्तरमा गर्न सक्ने वातावरण बनाईदिन पनि सरकारलाई आग्रह गरेकाे छ ।
पाेखरा महानगरले हरेक वर्ष २ छात्रालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने
पाेखरा । पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई जनालाई निःशुल्क पढाउने भएको हो । महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत दुईजना छात्रालाई निःशुल्क पढाइने व्यवस्था मिलाइएको बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार अध्ययनका लागि आवेदन दिएपछि एसइई र कक्षा ८ को नतिजाको आधारमा छात्रा छनोट गरिने व्यवस्था छ । महानगरपालिकाले गत वर्षदेखि पोखरा २९ भण्डारढिकमा सञ्चालन गरेको गण्डकी बहुप्रविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इञ्जिनीयरिङको पढाइ हुँदै आएको छ । त्यसैगरि पोखरा महानगरपालिका–१९ ले यो वर्ष एसइई उत्तीर्णमध्ये एक जनालाई वडाको खर्चमा अध्ययन गराउने भएको छ । वडाध्यक्ष शोभामोहन पौडेलका अनुसार वडाभित्र एसइई उत्तीर्णमध्ये गरिब तथा जेहेन्दार एक जनालाई बहुप्राविधिक शिक्षालयमा अध्ययन गराउने भएको हो । पोखरा महानगरपालिका–३० ले पनि थप एक जना छात्रालाई वडाको खर्चमा अध्ययन गराउने भएको वडा नं ३० का अध्यक्ष श्रीराम पोखरेलले बताए । शिक्षालयमा हाल ८३ विद्यार्थी अध्ययनरत छन् भने छोटो अवधिको तालिममा करिब २२० जना सहभागी भइसकेका छन् । रासस
सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्दै स्वास्थ्य मन्त्रालय
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारु भएको जनाएका छन् । उनका अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालय मेडिकल स्कुललाई सार्वजनिक मेडिकल कलेजको रुपमा तोकी चिकित्सा शिक्षा ऐन–२०७५ को प्रावधान अनुसार छात्रवृत्ति कायम गर्ने प्रक्रियासमेत सुरु भइसकेको छ । मन्त्रालयले यस अगाडि विभिन्न मितिमा सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको लागि गरेका सम्झौता कार्यान्वयनका लागि समेत प्रतिबद्ध भएको जनाएको छ । सहप्रवक्ता डा अधिकारीले शिक्षा ऐन–२०७५ को प्रावधान अनुसार विसं २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर–नाफामूलक हुने भएकोले त्यो नीति कार्यान्वयनको लागि मन्त्रालय प्रतिबद्ध भएको बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस भर्ना प्रक्रिया शुरु भइसकेको र गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनको लागि पूर्वाधार अन्तिम चरणमा पुगिसकेको जनाएको छ । उनले कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा २०७३ मा तयार भएको मापदण्ड समय सापेक्ष परिमार्जन गर्नका लागि हाल छलफलको क्रममा रहेकोले उक्त परिमार्जित मापदण्डअनुसार पदाधिकारी नियुक्त प्रक्रिया थालिने समेत जानकारी गराए । यस्तै छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका दोषी ठहर भएका कुनै पनि पदाधिकारीलाई संरक्षण गर्ने नीति मन्त्रालयको नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस