एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी
काठमाडाैं । चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् । तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५०८ जना सहभागी थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिए । मन्त्री पौडेल नेपाली सेनाको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षणमा गएका थिए । सो परीक्षाका लागि १११ परीक्षा केन्द्र तोकिएको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए ।
सामुदायिक विद्यालय सुधारमा व्यवस्थापन समिति अग्रसर
काठमाडाैं । के गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने ? शिक्षा क्षेत्रमा नियमित उत्पन्न भइरहने यो प्रश्नमा सम्बन्धित विद्यालयका अभिभावक घोत्लिने हो भने समाधानका उपाय निस्कँदै जान्छन् । जसरी बालबालिकाको पहिलो पाठशाला घर मानिन्छ, त्यसैगरी विद्यालय सुधार वा रेखदेखको पहिलो जिम्मेवारी पनि अभिभावककै रहन्छ । संविधानतः स्थानीय तहको मातहतमा रहेका सामुदायिक विद्यालयलाई नियमित र नीतिगत नेतृत्व गर्ने काम विद्यालय व्यवस्थापन समितिले गर्छ । स्थानीय तहकै मार्गदर्शनमा गठन, पुनःगठन हुने व्यवस्थापन समितिमा स्वयंसेवीरुपमा ‘केही गरौँ’ भन्ने भावना बोकेका व्यवस्थापकीय दक्षता भएका अभिभावकले नेतृत्व गरेमा सामुदायिक विद्यालय सुध्रन गाह्रो नहुने उदाहरण काभ्रेको पनौती नगरपालिकामा पनि देख्न सकिन्छ । कुनै बेला बन्दको अवस्थामा पुगेको धनेश्वर माध्यमिक विद्यालय अहिले उल्लेख्य विद्यार्थी सङ्ख्यासहित सञ्चालनमा आउनु, विद्यार्थी सङ्ख्यो घट्दो भएको कुशादेवी माध्यामिक विद्यालयमा आकर्षणसहित विद्यार्थीको उपस्थिति बढ्नु, भालेश्वर माध्यमिक विद्यालयमा शिक्षकले आफ्नो कर्तव्य बोधलाई पुनःजागृत गराउनुले उक्त उदाहरणलाई सहज पुष्टि गर्दछ । आफ्ना पेसागत र व्यावसायिक काम छाडेर व्यवस्थापन समितिका पदाधिकारी शनिबार नगरस्तरीय विद्यालयको सुधारमा आफ्नो भूमिकाको खोजीमा अग्रसर हुँदै इन्द्रेश्वर माध्यमिक विद्यालयमा भेला भएर अनुभव आदान प्रदान गरिरहेका थिए । धनेश्वर माविका अध्यक्ष अनिरुद्र थापाले भने, “भत्ता आउने वा फाइदा हुने काममा मात्रै अभिभावक र शिक्षक सक्रिय हुने प्रचलनलाई अन्त्य गरेर निःस्वार्थ भावनाले लाग्ने हो भने विद्यालय सुधार्न सकिन्छ ।” उनले शिक्षक विद्यालयमा नियमित नआउने, समयमा कक्षाकोठामा नजाने वा चाँडै घर जाने प्रवृत्ति रोक्न पनि समितिले अनुगमन गर्नुपर्ने बताउँछन् । “शिक्षक ढिला आएमा विद्यालय पस्न नदिने र चाँडै भाग्न खोजेमा नदिन गेट बन्द गरेर थुनेको अनुभव पनि छ मसँग, सुधारका लागि यो आवश्यक छ ।” विद्यार्थी नभएर करिब आठ वर्ष बन्द भई खारेजीको स्थितिमा पुगेको धनेश्वर माविमा अनिरुद्रले आफ्ना छोरालाई नर्सरीमा भर्ना गरेर विद्यालय सञ्चालनको थालनी गरेका थिए । भौतिक र पूर्वाधार विकास गर्दै अभिभावका घरघरमा पुगेर विद्यार्थी पठाउन आग्रह गरिएको र सो क्रममा त्यहाँका अस्थायी बासिन्दा रहेका अभिभावकले छोराछोरी पठाएर साथ दिएको थापाले बताए । आफ्नो विद्यालयको तुलनामा कम सुधार भएको देखिएपछि इन्द्रेश्वर माविका प्रधानाध्यापक उमारुद्र बस्नेतलाई सम्झाउँदै त्यहाँ भेला भएका समितिका अध्यक्षले सुधारका लागि उपाय र सुझाव दिए । कोभिड–१९ अगाडिको तुलनामा इन्द्रेश्वरमा विद्यार्थी सङ्ख्या घटेर हाल कक्षा १ देखि १२ सम्म ४१५ जना रहेका छन् । यहाँ कूल शिक्षक २० जना मात्रै हुँदा कुनै शिक्षकले बिदा लिएर कक्षा बन्द गर्नुपर्ने स्थिति छ भने अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक निःशुल्क उपलब्ध नहुने भएकाले तिर्न नसक्ने अभिभावकलाई मार परेको छ । अनिरुद्रका साथ कुशादेवी माविका व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापा, भालेश्वर माविका अध्यक्ष राजेन्द्र केसीलगायतले विद्यालयको परिसरमा रहेका फोहर सरसफाइ गर्न, नियमित पोसाक लगाउन, शिक्षक नआएमा रिपोर्ट गर्न कक्षाकोठामा गएर विद्यार्थीलाई पनि अनुरोध गरे । कुशादेवी माविका अध्यक्ष थापा विद्यालयकै कामका क्रममा खल्तीबाट सवारी भाडा तिरेर, आफैँ चिया खर्च जुटाएर लाग्नुपरेको परिणाम बालबालिकाको शैक्षिक सुधार भएमा आफूहरु त्यसमा सन्तुष्ट हुने बताउँन्। पहिलो बालमैत्री नगर मानिने पनौतीका नगरप्रमुख भीम न्यौपानेका अनुसार नगरभित्र हाल ३४ सामुदायिक विद्यालय रहेकामा तिनमा गुणस्तर सुधारका लागि नीतिगत र बजेटको तर्जुमा गरिएको क्रमशः शैक्षिक सुधार हुँदै गएको छ । रासस
विद्यालयमा व्यावहारिक ज्ञान दिन किबी खेतीः विद्यार्थीको आकर्षण बढ्दो
गलकोट । मङ्गलबार दिनको ठीक १२ बजेको थियो । विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो । कक्षा १० का विद्यार्थी कक्षाकोठामा नभएर किबी बारीमा देखिए । विद्यार्थीले घरबाटै डोकोमा मल बोकेर बारीको छेउमा राखेर धमाघम किबीको बगैँचा खन्दै थिए । एउटा सामुदायिक विद्यालयमा पस्दा फरक माहोल देखिन्थ्यो बागलुङको काठखोला गाउँपालिका–४ तङ्ग्रामस्थित धारा माविमा । कक्षाकोठामा नपढाएर किबी बारीमै बगैँचा गोडमेलका क्रममा परागशेचनका बारेमा विद्यार्थीलाई बुझाउँदै थिए विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्या । सामुदायिक विद्यालयमध्येको अब्बल मानिँदै आएको धारा माविमा दिउँसोको समयमा १ देखि ९ कक्षाका विद्यार्थीले कक्षाकोठामा बसेर पढ्दै थिए भने कक्षा १० का १५ छात्रा बारीमा किबी गोड्दै थिए । उनीहरुले अतिरिक्त क्रियाकलापअन्तर्गत झन्डै तीन रोपनी क्षेत्रमा लगाइएका किबीका बिरुवा गोड्दै थिए । विद्यालयले २०६८ सालमै विद्यालयको जग्गामा परीक्षणका लागि विद्यार्थीहरुले केही सङ्ख्यामा किबीका बिरुवा लगाएका थिए । परीक्षणका लागि लगाइएको बिरुवाले राम्रो उत्पादन दिन थालेपछि क्रमशः किबी खेती विस्तार गरिएको र त्यसबाट विगत तीन वर्षदेखि व्यावसायिक रुपमा नै किबीको उत्पादन भइरहेको विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्याले बताए । ‘उत्पादन दिन थालेकै तीन वर्ष भयो, पाँच वर्षअघि किबीका बिरुवा लगाएका थियौँ, अहिले विद्यार्थीलाई फिल्ड प्राक्टिकलअन्तर्गत किबीका बिरुवामा काम लगाइन्छ, यसै अनुसार विद्यार्थीले अङ्कसमेत पाउँछन्’, उनले भने, ‘किबीको भाले र पोथी बिरुवा तथा यिनीहरु बीचको परागशेचनका विषयमा समेत सिकाउन सहज भएको छ, अहिले किबी काँटछाट गरेर गोडमेल गरिरहेका छौँ ।’ गत वर्ष असिनाले क्षति पु¥याएर जम्मा ५० केजी किबी उत्पादन भए पनि सुरुको वर्षदेखि वार्षिक १५० केजी किबी बिक्री गरिएको शिक्षक पच्याले जानकारी दिए । किबी बिक्रीबाट प्राप्त रकम विद्यालयलाई आम्दानी भइरहेको छ । कक्षा १० को ६ विषयको प्राक्टिकलको नम्बर यही किबी खेतीमा काम गरेबापत पाइने धारा मावि कक्षा १० का प्रथम छात्रा ज्योति पुनले बताए । ‘छ विषयको २५ नंको दरले प्राक्टिकल यही किबी खेतीमा काम गरेअनुसार पाइन्छ’, उनले भने, ‘घरबाट विद्यालयमा मल बोकेर ल्याउने, गोडमेल गर्ने र काँटछाँट गर्ने कामअनुसार सरहरुले नम्बर दिनुहुन्छ, यसले म जस्ता विद्यार्थीलाई कृषि खेतीमा आकर्षणसँगै ज्ञान दिएको छ ।’ विद्यालयमा गरेको कृषि कर्मअनुसार घरमा समेत परिवारलाई सघाउन सहयोग पुगेको विद्यार्थीको भनाइ छ । विद्यालयले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिनका लागि किबी खेतीमा विद्यार्थीलाई लगाइएको धारा माविका प्रधानाध्यापक कमला थापाले जानकारी दिइन् । ‘विद्यार्थीलाई शैक्षिक गुणस्तर वृद्धिका लागि किताबी ज्ञान मात्रै नभएर व्यावहारिक ज्ञान दिनका लागि किबी खेती र विद्यालयका बगैँचालगायतमा काम गराउँदै आएका छौँ’, उनले भनिन्, ‘हामीले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको विद्यालयलाई स्थानीयवासीकै सक्रियतामा क्रमशः नमूना विद्यालय बनाउने अभियानमा छौँ ।’ विद्यार्थीलाई पढाइमा अब्बल बनाउनका लागि विद्यालयले बिदाको दिनमा समेत कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयका प्रधानध्यापक थापाले पढे लेखेकाले कलम मात्र होइन, कुटोकोदालो पनि चलाउन जान्नुपर्छ आफ्नो लागि दैनिक जीवनमा आवश्यक पर्ने तरकारी तथा फलफूल आफैं उत्पादन गर्नुपर्छ भन्ने भावनाको विद्यार्थीमा विकास गराउने उद्देश्यले विद्यालय परिसरभित्रै किवी खेती लगाउने गरेको बताइन् । उनले भनिन्, ‘ग्रेडवृद्धि गर्न मात्र नभई व्यावहारिक सीप र शिक्षा प्रदान गर्न आफूहरु लागि परेको छु ।’ उत्पादित किबीको बिक्रीबाट आएको पैसा विद्यालयको पुस्तकालयका लागि खर्च गरिन्छ । विद्यार्थीले किबी लगाउन थालेपछि विद्यालयको वातावरण नै हरियाली बनेको छ । पढाइसँगै व्यावहारिक शिक्षामा समेत विद्यार्थीलाई अभ्यस्त बनाउन थालेपछि विद्यालयको चर्चा बढेको प्रधानाध्यापक थापाको भनाइ छ । शिक्षक शिक्षिकाको लगाव र विद्यार्थीको परिश्रम गर्ने बानी देखेर यहाँ अभिभावकसमेत खुशी भएका छन् । सिकेको व्यावहारिक ज्ञान घरमै प्रयोग गर्ने जस्ता परिवर्तन यहाँका विद्यार्थीमा आउन थालेको छ । विद्यालयको यो नमूना अभियानले अभिभावकसमेत खुशी भएको विद्यालयका प्रअ थापाले बताइन् । पछिल्लो समय सामुदायिक विद्यालयमा विभिन्न आकर्षणको अभियान ल्याउने लहर चलेको भएपनि उत्पादन र व्यावहारिक शिक्षामा जोडिने शैक्षिक क्रियाकलापले विद्यार्थीले विद्यालयप्रति आकर्षित हुन थालेका छन् । रासस