द ब्रिटिस मोडल कलेजका चार जना विद्यार्थी ‘उत्कृष्ट क्याम्ब्रिज लर्नर्स’ अवार्डबाट सम्मानित
काठमाडौं । द ब्रिटिस कलेजको भगिनी स्कुल द ब्रिटिस मोडल कलेजका चार जना विद्यार्थी ए लेभलमा अध्ययनरत विद्यार्थीहरु उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित भएका छन् । मार्च २०२१ सिएआइई परीक्षाको सेरिजमा चार जना विद्यार्थीहरुले टप गर्न सफल भएका हुन् । क्याम्ब्रिज अवार्डबाट सम्मानित हुनेमा राज थापा (एएस लेभल केमिस्ट्री), सुदीप अग्रहरी (एएस लेभल इकोनोमिक्स), अस्मिता लामा (एएस लेभल बिजनेश) र दिप्ती भट्टराई (एएस लेभल एकाउन्टिङ) रहेका छन् । कलेजकाे ए लेभल्सका प्रमुख राजन कुमार राईले विद्यार्थीहरुले प्राप्त गरेको यो अविश्वसनिय सफलताप्रति ब्रिटिश मोडेल कलेजलाई धेरै गर्व भएको बताए । द ब्रिटिस मोडल कलेज उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड २०१८ बाट सम्मानित भएको थियो ।
अब जनकपुरमा ‘ब्याचलर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी’ काे पढाइ हुने
काठमाडाैं । काठमाडाैं विश्वविद्यालयले जनकपुरधाममा ब्याचलर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी (बीटेक. एडआईटी) नामक ४ वर्षे स्नातक कार्यक्रमको सुरुवात गरेको छ । जानकी कलेज फर प्रोफेशनल स्टडीजको सहकार्यमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा विश्वविद्यालयले उक्त कार्यक्रम सुरु गरेको हो । जनकपुरधाममा यसको औपचारिक घोषणा गर्दै प्रमुख अतिथी मुख्यमंत्री लालबाबु राउतले बीटेक। एडआईटीले मधेश प्रदेशलाई नेपालको प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकसित गर्ने बताए । उनले यस कार्यक्रममार्फत सुचना प्रविधी जस्तो अपार संभावना रहेको क्षेत्रमा दक्ष जनशक्तिको उत्पादनले मधेश प्रदेशको विकासमा ठूलो टेवा पुग्ने बताए । जानकी कलेज नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहयोगी संस्था हो । बीटेक. एडआईटी कार्यक्रमको उद्देश्य सुचना प्रविधीको क्षेत्रमा प्राविधीक शिक्षक तयार गर्नु रहेको कलेजका अध्यक्ष पंकज जलानले बताए । चार वर्षे बीटेक. एडआईटीको कार्यक्रमलाई आठ सेमेस्टरमा विभाजित गरिएको छ । कार्यक्रमको कुल भार १३८ क्रेडिट आवर रहेको छ । यो कार्यक्रम जनकपुरधामको पहिलो स्मार्ट विद्यालय अक्षर विद्या मन्दिरको परिसरमा सञ्चालन हुनेछ । यस कार्यक्रममा भर्ना हुने विद्यार्थीले इन्टर्नर्सिपकोलागी दोश्रो वर्षदेखि नै विद्यालयहरुमा अध्यापन गराउन जानुपर्ने छ । चार वर्षे बीटेक. एडआईटीमा भर्ना हुनको लागी कुनै पनि संकायबाट १२ कक्षा वा सो सरह वा सिटिइभीटीले सञ्चालन गरेको ३ वर्षे डिप्लोमा उत्तिर्ण गरेको हुनुपर्ने छ । विद्यार्थीहरुको छनौट काठमाण्डौं विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परिक्षाको आधारमा गरिने छ । कलेजका अध्यक्ष जलानका अनुसार मधेश प्रदेशको साक्षरता र शैक्षिक स्तरमा वृद्धि गर्नका लागि जानकी कलेजको स्थापना यस प्रदेशको शिक्षाको क्षेत्रमा नयाँ युग हुनेछ । ४ वर्षे पढाइ पुरा गरे पश्चात मधेश प्रदेशको शैक्षिक संस्थामा अध्यापन गर्न पाउने अवसर भएकोले ’ब्रेन ड्रेन’ को समस्याबाट विस्तारै पुरै देशलाई नै बचाउन असम्भव नभएकाे उनले बताए ।
इसेवाबाट स्कुलको फि भुक्तानी गर्दा नि:शुल्क इन्टरनेटदेखि अन्य धेरै अफर
काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ । इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको नि:शुल्क इन्टरनेट प्राप्त गर्नुको साथै मेरो स्कुलको ३ महिनाको र किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको नि:शुल्क सब्क्रिब्सन पाउन सकिनेछ । इसेवा मार्फत देशभरबाट ४ हजारभन्दा बढी स्कुलको शुल्क भुक्तानी गर्न सकिन्छ । हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब १ लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ५० लाख पुगिसकेका छन् । इसेवामा हाल मर्चेन्टको संख्या २ लाख बढि रहेका छन् ।