५ महिनापछि आजबाट खुल्दै काठमाडौंका विद्यालय
काठमाडौं । करिब ५ महिनापछि आजदेखि काठमाडौं महानगरभित्र सञ्चालित विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएसगैँ विद्यालय बन्द गरिएको थियो । केही दिन अघिमात्र काठमाडौं महानगरले स्वास्थ्य मापदण्डकोे पालना गर्दै विद्यालय सञ्चालनको अनुमति दिएसगैँ महानगर भित्रका विद्यालयहरु आजदेखि सञ्चालन हुने भएका हुन् । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ । विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरपालिकाले जनाएको छ । शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । लामो समय विद्यालय बन्द रहेको, चाडवाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ । दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले भने अभिभावक अन्योलमा परेका छन् ।
चाँगुनारायणलाई शैक्षिक हब बनाउँंछौं: मेयर मिश्र
काठमाडौं । भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफनो नगरपालिका क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्ने बताएका छन् । नेपाल इन्जिनियरिङ्ख कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको २७ औं स्थापना दिवस समारोहको शनिबार कलेजमा भएको उद्घाटन समारोहमा उनले यस्तो बनाएका हुन् । कलेज व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मिश्रले नेकलाई तीनचार वर्षमा विश्वविद्यालयको रुप दिने बताए । कलेजलाई अझै सार्वजनिक तथा पर्ति जग्गा दिएर भौतिक संरचना वढाउने योजना रहेको उनले सुनाए । स्थापना दिवसको प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए । समारोहको अवसरमा प्रमुख अतिथि प्राडा थापाले २० वर्षदेखि कलेजमा अविच्छिन सेवारत २० जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरे । उनीहरुलाई दोसल्ला ओढाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो । साथै कार्यक्रममा अतिरिक्त क्रियाकलापबाट शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा कलेजमा आइसोलेसन केन्द्र सञ्चालन गर्न विशेष योगदान पु¥याए वापत कलेजका कर्मचारी मनोहर खनाललाई सम्मान गरियो । कलेजको कार्यक्रम हलमा कोभिडको बेला आइसोलेसन सञ्चालन गरिएको थियो । समारोहकै अवसरमा कलेज सञ्चालनका संस्थापकहरु हरिप्रसाद पाण्डे र इन्जिनियर सलिल भट्टराईलाई सम्मान गरेको छ । सोही अवसरमा नेकबाट प्रोफेनल इन्जिनियरिङ्ख सर्टिफिकेट प्राप्त गर्न सफल कलेजमा अध्यापनरत तुसिता चाँंदनी शाह र कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ । सोही अवसरमा कलेजको स्नातक र स्नातकोतर तहमा सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल स्नातक तहका पाँंच जना र स्नातकोतर तहका चार जना विद्यार्थीलाई पनि सम्मान गरेको छ ।
अन्योलबीच विद्यालय खुल्दै
काठमाडाैं । विगत १० वर्षदेखि डल्लुमा बस्दै आएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी अहिले गाउँमा छन् । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निणर्यसँगै काठमाडौँमै अध्ययन गर्ने उनका छोराछोरी गाउँ गएका हुन् । ज्याला मजदुरी गरी दैनिकी चलाउने सरस्वती भने काठमाडौँमै छन् । दोस्रो लहरको कोरोना महामारी सुरु भएसँगै उनका दुई सन्तान गाउँबाटै अनलाइनका माध्यमबाट पठनपाठन गरिरहेका छन् । आइतबारदेखि काठमाडौँ महानगरपालिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्न गरेको निणर्यले भने उनीहरू अन्योलमा छन् । उनले भनिन्, “एकातिर केटाकेटीले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्, अर्कातिर नेपालीको महान् चाड दशैँ शुरु हुन हप्ता दिनमात्रै बाँकी छ, एक हप्ताका लागि आफ्ना छोराछोरीलाई काठमाडौँ ल्याउने वा पढाइ छुटाउने भन्ने विषयमा दोधार भइरहेको छ ।” काठमाडौँको वसन्तपुर निवासी यशोदा थापाले पनि दशैँ अगाडि छोटो समयका लागि भौतिक उपस्थितिमा भन्दा पनि आफ्ना छोराछोरीको पठनपाठन अनलाइनका माध्यमबाट घरबाटै गराउन सहज हुने बताइन्। उनले भनिन्, “कोरोनाको डर कायमै छ, दशैँ आइसक्यो, खोप लगाएको छैन, यो हप्तामात्रै विद्यालय पठाएर के गर्नु ?” उनले कोरोनोको तेस्रो लहर आउने र त्यसबाट बालबालिका नै बढी सङ्क्रमित हुने भनिरहेका सन्दर्भमा सरकारले बालबालिकालाई खोपको व्यवस्था गर्न ढिलाइ गरिरहेको भन्दै गुनासो गरिन् । कोरोना भाइरस महामारीको त्रास कम नभएको र दशैँ शुरु हुन एक हप्तामात्रै बाँकी हुँदा सरस्वती र यशोदा मात्रै होइन, विद्यालय खोल्ने निणर्यले धेरै अभिभावक थप दोधारमा छन् । महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निणर्य बिहीबार गरेको थियो । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरूपमा खोल्ने निर्णय गरिएको थियो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्न अनुमति दिने निणर्य गरेको थियो । विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरपालिकाले जनाएको छ । शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । लामो समय विद्यालय बन्द रहेको, चाडवाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ । स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारले भने, ‘सामान्यतया सङ्क्रमण घटेको छ, तर मानिसको लापरवाहीका कारण जोखिम थप चुलिँदो छ, यस्तो अवस्थामा विद्यालय खोल्नु हुँदैन ।’ उनले कम्तीमा पनि दशैँसम्म सङ्क्रमणको अवस्था विश्लेषण गरेर मात्रै स्थानीय तहले भौतिक उपस्थितिमै विद्यालय सञ्चालनबारे निणर्य लिनुपर्ने बताए । कोरोना संक्रमणको अवस्था स्थिर रहेको, आम मानिसले सोचेजस्तो जोखिम कम नभएको र पूर्ण सावधानीको आवश्यकता उत्तिकै रहेको उनको भनाइ छ । राष्ट्रिय अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यका अझै पनि कोरोना सङ्क्रमणको जोखिममै रहेकाले स्थानीय तहले आ(आफ्नो तरिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्नु हतारको निर्णय भएको टिप्पणी गरे । कोरोना त्रासकै बीच केही दिनअघि कैलालीका केही विद्यालय पुनःसञ्चालनमा आए पनि अहिले बन्द गर्न थालिएको उदाहरण दिँदै उनले अहिले सहरी क्षेत्रका विद्यालय धमाधम खोलेर विद्यार्थीमा थप सङ्क्रमण बढेमा त्यसको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनुपर्ने बताए । उनले भने, ‘कोरोना महामारीको त्रास कायमै छ, वडा दशैँ आइसक्यो, धेरै विद्यार्थी र अभिभावक दशैँपछि फर्किने योजनामा गाउँमै छन, स्वास्थ्य मन्त्रालयको भनाइलाई उल्लङ्घन गर्दै विद्यालय खोल्नु थप जोखिम निम्त्याउनु हो ।’ सरुवा रोग विशेषज्ञ डा। सागर राजभण्डारीले पछिल्लो समय फेरि केही मात्रामा कोरोना सङ्क्रमण बढ्दै गएको हुँदा अहिलेकै अवस्थामा विद्यालय खोल्नु उपयुक्त नहुने धारणा राखे । ‘उपत्यका बाहिरका ग्रामीण भेगका थोरै विद्यार्थी रहेका विद्यालय सञ्चालनमा ल्याए पनि घना बस्ती भएका सहरी क्षेत्रका विद्यालय पुनःसञ्चालनमा ल्याउने समय भएको छैन, त्यसका लागि कम्तीमा तिहारसम्म हेर्नुपर्छ’, उनले भने । काठमाडौँ उपत्यकाभित्रकै थिमि नगरपालिकाले मुख्य चाडवाड नजिक आइरहेको र त्रास पनि कायमै रहेकाले दशैँअघि विद्यालय नखोल्ने जनाएको छ । ललितपुर महानगरपालिकाले यही असोज १ गतेदेखि नै विद्यालय सञ्चालन गर्न अनुमति दिए पनि कोरोना त्रासका कारण पूणर्रूपमा विद्यालय सञ्चालनमा आउन सकेका छैनन् । सो महानगरपालिकाका उपप्रमुख गीता सत्यालले विद्यार्थीको सङ्ख्या बढी भएका विद्यालय भौतिकरूपमा अझै पनि सञ्चालनमा आउन नसकेको बताइन् । ‘तुलनात्मक रूपमा ५० प्रतिशत विद्यालयमात्रै सञ्चालनमा आएका छन्, पूणर्रूपमा सञ्चालनका लागि कम्तीमा दशैँ तिहारसम्म कुर्नुपर्छ’ उनले भने । रासस